गाइज

हाय संघीयता !

महेश नेपाली

‘हेलो गाइज, आउँदै गरेका दीपावली र छठ पर्वको शुभकामना है सबैलाई’ आइतेले शुभकामनासहित संवाद सुरु ग¥यो ।

‘हाइ आइते’ जुमबाट आइतेले गरेको अभिवादनको प्रतिउत्तरमा अरु बोले ।

‘के शुभकामना मुखैले दि’रा ? यस्सो सानोतिनो फोटो कार्ड बनाएर फेसबुकमा पोष्ट गर्दिए भइहाल्यो नी । नभए यस्सो अरूले बनाएको भिडियो, सिडिओ पठाएनी हुने । तर त्यो अमेरिका जस्तै शक्तिशाली हुनु…, चार जनाले तपाईंको बारेमा सोध्दै थिए.., कोरोनाको जस्तो चर्चा हुनु… लेखेका चार पेजको शुभकामना पनि छँदैछन् पठाउलाई त हे..हे.. ।’ रहिनाले हालको शुभकामना दिने स्टाईलमाथि सटायर हानी ।

‘कुरो त ठिकै हो । तर के गर्नु, सबैले त्यही गर्छन् । जमाना कपि–पेष्ट छ । आफूले पनि त्यही नगरि सुख भएन । देश अनुसारको भेष भन्ने उखान झुटो होइन है । आखिर बगिरहेको धारमा बग्नैपर्छ’ महाशंकरले एक लाइन लेक्चर दियो ।

आफ्नो मोबाइलको स्क्रिनलाई दायाँ हातले ईश गर्दै रहिनाले प्रतिवाद गरि, ‘वास्तवमा यो टुप्पी जतिको प्रतिगामी हाम्रो ग्रुपमा कोही छैन । यो परिवर्तन नचाहने मान्छे हो । अझ भनौं यो मरेको मान्छे हो । खासमा हामी मरेको लाससँग संगत गरिरहेका छौं ।’

बीचमा रोक्दै बक्राम बोल्यो, ‘अरे ! भयो के यार ? कति हतारिएर झगडा गर्न कसिन्छेस् हँ ? मलाई त लाग्छ महाशंकरलाई तँ खान्छेस क्या ! बोल्दै दिन्नस् त ।’

‘या बे ! बोल्न त तैँले मलाई दिइरहेको छैनस् । तैँ खान्छस् के मलाई त । तँ मुर्ति चाहिने बेलामा बोल क्या । बेकारमा यो टुप्पीको सपोर्टर किन पल्टिरा नी ? चलन अनुसार चल्लै प¥यो भन्नूको अर्थ के हो ? बगिरहेको धारमा बग्नु के हो ? हामी किन ग्रुपमा छौं ? किन हामी सकेसम्म विकसित परिस्थिति र नयाँ विषयमा छलफल गर्छाैं ? किन हामी फरक खालको धरणा बनाउँछौं ? किन विचारलाई परिपक्व बनाउने कोसिस गरिरहेका छौं ? हामी रुकम हत्याकाण्डको विपक्षमा किन बोल्यौं ? किन अन्तरजातीय विवाहलाई ठिक भन्यौं ? के यो सब देश अनुसारको भेष र बगिरहेको धारमा बग्नु थियो ?

साथिहरू अलि विचार गरौं, बगिरहेको धारमा त मरेको माछा पनि बहन्छ ? उल्टो बहनलाई माछा जिउँदो हुनपर्छ । हामी समाजले चलाएका हरेक नीति नियमको सहि र गलत के कति छन् त्यसको कारण खोज्छौं । हरेक कुरामा प्रश्न गर्छाैं  । सकेसम्म विज्ञानको आखाँबाट हेर्नुपर्ने विषयमा सोच्छौं । आखिर यो सब के का लागि ? बगरिरहेको धारमा बहनलाई हो ? ठिक छ हो भने आजैबाट यो हाम्रो अनौपचारिक गफगाफ विगठन गर्न सक्छौं । मेरो मञ्जुरी छ ।’

रहिनाको कुरा सुनेपछि आइते बोल्यो, ‘हैट मेरो शुभकामनाले कुरा यहाँसम्म पुगायो । फिर्ता लिएँ है ।’

‘कुरा तेरो शुभकामनाको होइन आइते । कुरा त सोचको हो । चिन्तनको हो । सहि र गतल छुट्याउनलाई तिमीहरू पनि सक्षम छौ । यत्ति हो हामीले कसको पक्ष लिने ?’ रहिना हरेकसँग प्रतिवाद गर्न तयार छे ।

‘ठिक छ तेरो कुरा मैले मानँे । तर हामी छलफल पनि त काल परिवेशकै गर्छाैं नी । होइन र ? मैले भन्न खोजेको यत्ति हो, तँ नरिसा न ।’ महाशंकर स्पष्टीकरण दिन्छ ।

‘कुरा त गर्छाैं नी । तर त्यसमा हामी आफ्नो खालको धारणा पनि बनाउँछौं । जस्तो अहिले कर्णाली प्रदेशको राजनीतिलाई नै लिउ न । जे भइरहेको छ त्यो ठिक बेठिक भनेर मात्र हुन्छ कि संघीयताको जरोसम्म पुग्नुपर्छ ?’

‘हो ट्रयाक बल्ल समातियो । अब दुर्घटना हुन्न । लौ त आज छलफलको विषय कर्णालीका मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव र विकसित राजनीति बारे बनाउँ न । यो विषयमा दिदिले नै बोल्नुभयो भने बेस हुन्छ । बुझ्न पनि सजिलो । कस्सो साथिहरू ? दिदी अहिलेसम्म बोल्नुभएकै छैन ।’

झुमा जुनियर साथिहरू बोल्न लाग्दा सकेसम्म चुप लागेर बसिदिन्छ । उनीहरू झगडिदा मन्द हाँसेर दर्शक बनिदिन्छ । जब गम्भीर विषयमा कुरा हुन्छ अनि उसको परिपक्व विचार आउँछ ।

‘महाशंकर सुर्खेत बसिरहेका छौं । सकभर तिमी नै बोल । तिमीले जानेको कुरा गर । अनि केही कुरा म पनि गरौंला ।’

झुमाले जिम्मेवारी दिएपछि ऊ अनकनाउँदै बोल्न थाल्छ, ‘मलाई अविश्वासको प्रस्ताव नै अनौठो लागिरहेको छ । आफ्नै पार्टीबाट यस्तो हुनु नै राजनीतिक गतिविधि हो जस्तो लाग्दैन । त्यसमाथि केन्द्र हावी भयो ।

संघीयता भनेको निर्णय आफै गर्न पाउने भनेर बुझेको । यो त संघीयता जस्तो पनि लागेको छैन । अविश्वास त प्रतिपक्षले गर्नुपर्ने । प्रतिपक्षले जनताको भाषा बोल्नुपर्ने नी ? म बडो कन्फ्युज्ड भइरहुको छु भन्या ।’

‘यो प्रष्ट भएन । दिदी नै भन्नुस् न ।’ आइतेले फेरि आग्रह ग¥यो ।

‘ठिक छ अब मै भनौंला । पहिलो कुरा आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आयो । प्रस्ताव ल्याउनेले जनताको लागि वर्तमानमा सरकारले केही नगरेको भनेपनि भित्री कुरा आफूले भाग नपाउनु नेै हो । जस्तो अहिले नेपाल समूहले केही पाउने चर्चा छ । उ चुप लागिसक्यो । कँडेलको मुख्यमन्त्री हुने दाउ हो उनी लागिरहेका छन् ।

दोस्रो कुरा केन्द्रको हस्तक्षेप स्वभाविक वा अस्वाभाविक भन्ने हो । धेरैको नजरमा अश्वभाविक भन्ने छ । एकछिनलाई यो कुरा थाती राखेर पहिला संघीयताको विषयमा छलफल गरी बुझ्ने कोसिस गरौं न ।

संघीयताको माग किन हुन्छ ? उत्तर धेरै होलान तर मुख्य कुरा त निर्णय गर्ने

अधिकार विकेन्द्रीकरण गरिनु हो नी । जस्तो त्रिभुवन विश्वविद्यालयले दिने ट्रान्स्किप्ट लगायतका प्रमाणपत्र पाउन जुम्ला क्याम्पसको विद्यार्थी पचास हजार खर्च गरेर काठमाडौं धाउनुपर्छ तर त्यति सानो काम जुम्लामै हुने भयो भने अधिकार प्रत्यायोजन भयो भन्ने हो । तर यतिका लागि संघीयता चाहिँदैन । स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिदा हुन्छ । युरोपका धेरै देश र चीनले गरेको अभ्यास यही हो । तर हाम्रो देशमा संघीयताकै कुरा उठ्यो । मतलब जनताको घर आगनको सरकार, एक प्रति फोटोकपि सिंहदरबार ।

भनेपछि निर्णय गर्न पाउने अधिकार गाउँसम्म पुगोस । त्यसैले देश संघीयतामा गयो । तर कर्णालीमा अविश्वासको प्रस्ताव आएपछि फेरी केन्द्रकै पेट दुख्छ भने त्यो संघीयता कसरी भन्ने ?

मुख्यमन्त्री बनाउने काम नै केन्द्रले गरेको हुनाले यो प्रक्रियालाई अस्वभाविक भन्ने कुरा पनि आएन । आज हाम्रा वडा, गाउँ वा नगरपालिका, प्रदेश जतिपनि संघका इकाईहरू छन् ती सबैको नेतृत्व चयन जनताको मतले गर्ने भएपनि त्यहाँ आउने उमेदवार पार्टीको केन्द्रले चयन गर्छ भने हामी नाम मात्रको संघीयतामा छौं भन्ने हो नी ।

जस्तो हरेक पार्टीका वडादेखि केन्द्र सम्मका समिति छन् । वडा अध्यक्ष र सदस्य बनाउने काम वडा समिति, नगर र गाउँ पालिकाको प्रमुख बनाउने, प्रदेशको सांसद वा मुख्यमन्त्री बनाउने काम सम्बन्धित समितिले गर्नुपर्ने हो नी । भन्ने बेला केन्द्रीय सदस्य भन्ने अनि प्रदेशको मुख्यमन्त्री बन्नलाई केन्द्रको पावर लाउने हो भने हामीले गरिरहेको नाटक मञ्चनले संघीयतामा छौं कसरी भनोस् त ?

यदि मुख्यमन्त्री प्रदेशको समितिले बनाएको भए यो मामला प्रदेशकै हुन्थ्यो । भागबण्डाको आधारमा संघीयताको नाटक गरेपछि त्यसलाई बुझेका मान्छेले कसरी पत्याउने ?

एक वाक्यमा बुझौं न । हामी संघीयताको नाटक बाहेक अरु गरिरहेका छैनौं । यस्तो बेला ओलीहरू प्रदेशलाई प्रशासनिक एकाई भन्दा ठूलो कसरी देख्छन् त ?’

‘ल अहिले भने कुरा बुझियो है ।’ बक्राम सन्तुष्ट देखिन्छ ।

‘टुप्पी जी मान्छे जिउँदो कसरी हुन्छ थाहा भयो कि ? नेपालगन्जबाट रूपइडिहा चल्ने टाँगामा भएको घोडा जस्तो एकोहोरो नहुनु ल !’ रहिनाको बचन वाँणसँगै जुमको समय सकिन्छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७७, शनिबार ०९:४२