जसीप्रसादका प्रतिबद्धता र कार्यान्वयनको अवस्था

यस श्रृंखलामा आज हामी कालीकोट जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको चुनावी प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाको अध्ययन विश्लेषण गरेका छौं ।

कालीकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कणर्ाली अञ्चलको प्रवेशद्वार समेत हो । यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग किलोमिटर रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार खाँडाचक्र नगरपालिकाको कुल जनसंख्या २० हजार दुई सय ८८ रहेको छ । नगरपालिकामा कुल ११ वटा वडाहरू रहेका छन् ।

२०७४ वैशाख ३१ गते भएको स्थानीय तहको चुनावबाट खाँडाचक्र नगरपालिकाको प्रमुखमा तत्कालीन नेकपा एमालेका जसीप्रसाद पाण्डेले २२०८ मत ल्याएर निर्वाचित भएका थिए भने नगरपालिकाको उपप्रमुखमा एमालेकै विजया विष्ट १९८७ मतका साथ विजयी भइन् ।

पाण्डेका चुनावी प्रतिबद्धताहरूः

१. खाडाँचक्र नगरपालिकालाई राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ ।

२. एक वडा एक स्वास्थ्यचौकी र एक वडा एक खेलकुद मैदान कार्यक्रम सञ्चालन गरी निर्माण सम्पन्न गर्नेछौं ।

३. हरेक वडामा स्थानीय स्रोत साधनलाई ध्यानमा राखेर स-साना उद्योग स्थापना गर्नेछौँ र युवालाई आफ्नै गाउँमा रोजगारी दिइनेछ ।

४. हरेक वडामा विभिन्न चरणमा व्यावसायिक तालिम दिएर धेरैभन्दा धेरै रोजगारीको अवसर सिर्जना गरिनेछ ।

५. खाँडाचक्र नगरपालिकालाई बालश्रम, बालविवाहमुक्त नगरपालिका बनाउने छौं । शारीरिक अपाङ्गता भएकालाई रोजगारमा विशेष प्राथमिकता दिइनेछ ।

६. जटिल रोग क्यान्सर, एड्स, मुटुरोग, स्पाइनल इन्जुरी, डाउन सिन्ड्रोम, किड्नी रोगजस्ता समस्या भएका बिरामीलाई नगरपालिकाबाट विशेष सहयोग गरिनेछ ।

७. यस नगरपालिकाभित्रका विद्यालयमा अनुगमन संयन्त्रले नियमित अनुगमन गरी समस्या समाधान गरिनेछ । शिक्षालाई सर्वसुलभ बनाइनेछ ।

८. आधुनिक कृषिका निम्ति मल, किटनाशक, झारनाशक जस्ता रसायनको व्यवस्था कृषि संकलन केन्द्रमा गरिनेछ । सिँचाइ कुलो निर्माण गरिनेछ । मौसमी बेमौसमी बिउ-बिजनको व्यवस्था त्यस केन्द्रमा गरिनेछ ।

९. सरकारी कार्यालयमा वाइफाईको व्यवस्था गरी चुस्त दुस्त प्रशासनिक सेवा प्रदान गरिनेछ ।

१०. यस नगरपालिकालाई बन्द हड्ताल जस्ता कार्यक्रमबाट मुक्त गर्न राजनीतिक दलसँग समन्वय गरी समृद्ध खाँडाचक्र निर्माण गरिनेछ ।

 

कति कार्यान्वयन भए ?

चुनावअघिको प्रतिबद्धता कति कार्यान्वयन भए वा भएनन् भनेर हामीले नगरपालिकाका प्रमुख पाण्डेलाई सोधेका छौं । प्रस्तुत छ उनको भनाइ बुँदागत रूपमाः

(१) खाँडाचक्रमा विद्युतको राष्ट्रिय प्रसारणलाइनमा जोड्नका लागि टेण्डर भइसकेको छ । पोलहरू नगरपालिकाको बजार क्षेत्रसम्म आइसकेको छ । प्रत्येक वडाहरूमा पोलको काम भइरहेको छ । प्रसारणलाइनको कोरोनाको कारणले गर्दा ठेकेदारले ढिलासुस्ती गरेरमात्रै हो । तारको काम पनि धेरै ठाउँमा भइरहेको छ । ट्रान्समिटर राख्ने ठाउँसम्म पोल पुराइसकिएको छ । मेरो कार्यकालभरीमा सबै वडाहरूमा बत्ती बल्छ ।

(२) हाम्रा सबै वडाहरूमा स्वास्थ्य संस्था छन् । मैले पहिलो नगरसभामा नै स्वास्थ्य इकाई राख्नुपर्छ भन्ने कुरा राखेको थिएँ । अहिले सरकारको नीति भएर पनि स्वास्थ्य इकाई स्थापना भएर सञ्चालन भइसकेका छन् । हाम्रा तीन वटामा स्वास्थ्यचौकी छ, नेपाल सरकारले नीति लिनुभन्दा अगाडि नै मैले पहिलो नगरसभामार्फत यो कामलाई अगाडि बढाएको थिएँ । सामुदायिक स्वास्थ्य इकाईहरू स्थापना भइसकेको छ । वडामा खेलकुद मैदानका लागि बजेट हामीसँग साँघुरो थियो । खेलकुदकै लागि भनेर बजेट कम छ । भू-भाग पनि यहाँको मिलेको छैन । एक वडामा एक खेलमैदान अलिकति अप्ठ्यारो भएको छ । खेलमैदान भएका विद्यालय छन् तर यहाँ पठनपाठनमा समस्या हुन्छ । संघीय सरकारले एक पालिका एक खेलकुद मैदानको अवधारणा अगाडि ल्याएको जसमा स्थानीय तहले ३५ प्रतिशत र संघीय सरकारले ६५ प्रतिशत बजेट छुट्याउनुपर्छ । खेलमैदानका लागि बजेट धेरै लाग्ने भएकाले समस्या परेको हो । यसको व्यवस्थापनको विषय चिन्ताको विषयको रूपमा छ ।

(३) युवा रोजगारीको हकमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवाहरूलाई रोजगारीमा समेट्ने खालको बजेट आएको छ ।

साना-साना उद्योग स्थापनाका लागि विद्युत अपरिहार्य भएकोले जस्तै कम्प्युटर, सिलाइ कटाई आदिका लागि बत्तीको समस्या छ । साना-साना उद्योग स्थापनाका लागि पनि बत्तीको अवरोध रहेको छ । समुदायबाट पनि लगानी गर्ने विषयमा सोचका छौँ । बत्ती जडान हुनेबित्तिकै रोजगारी सिर्जना र उद्योग स्थापनाको काम मेरै कार्यकालभित्र हुनेछ । मेरो घोषणा-पत्रमा लेखिएको कुरा भएकाले म यसको लागि प्रतिबद्ध छु ।

(४) रोजगारीका लागि तालिम दियौं । लघु उद्यमबाट पनि हाम्रो नगरपालिकामा धेरै तालिमहरू भएका छन् । तालिम लिइसकेकाहरूलाई उनिहरूको सीपअनुसारको काम कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । अपाङ्गता भएका, लक्षित वर्षहरूलाई सिलाइकटाई, कम्प्युटर आदिको तालिम दिएका छौं । तालिको सदुपयोग गर्नको लागि उनीहरूको तथ्याङ्क संकलन गरेर हामीले सहुलियत ऋणजस्ता कार्यक्रममा ध्यान दिन्छौं । वार्षिक चार प्रतिशत ब्याज लाग्ने ऋणको व्यवस्था गरेर लगानीको वातावरण वनाउने र नगरपालिकाले सहुलियत दिन सक्ने जति ठाँउमा सहुलियत दिएर अगाडि बढ्ने छौं । हामी आत्मनिर्भरताको लागि लागिरहेका छौं ।

(५) अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिममा पहिलो प्राथमिकता हुन्छ र बजेट पनि विनियोजन भइरहेको छ । कृषिको तालिममा, घरेलु उद्योगको तालिममा उहाँहरूलाई पहिलो प्राथमिकता दिने गरेका छौं । अपाङ्गताको प्रकृतिअनुसार नै सीप सिकाउने गरि अगाडि बढेका छौं । हातको अपाङ्गता भएका व्यक्तिहरूलाई खुट्टाले गर्ने काम सिकाउने, खुट्टाको अपाङ्गता भएकालाई हातले गर्ने काम सिकाउने काम गरेका छौं । यहाँका धेरै वडाहरू बालविवाहमुक्त घोषणा गरिसकेका छौं । यहाँ बालश्रम पनि अन्त्य गर्ने प्रयासमा छौं । समस्याको कुरा के छ भने घरायसी रूपमा हुने बालश्रम अन्त्य गर्न कठिन छ । यस्तो बालश्रम पहिचान गर्न नै कठिन छ । बालबालिकालाई अर्काकोमा काम गर्न लगाउनुहुन्न भन्ने सचेत गराएका छौं । राज्यको जिम्मेवार निकायमा रहेकाहरूले सबै बालबालिका आफ्ना हुन भन्ने सोच्नुपर्छ त्यहीअनुसार हामीले सोचेका छौं ।

(६) अस्पतालमा विपन्न वर्गका नागरिकहरूलाई नेपाल सरकारको तर्फबाट प्राप्त हुने सेवा सुविधाहरू अन्तर्गत तुरून्त निःशुल्क उपचार सहयोगका लागि सिफारिस गरेर पठाउने गरेका छौं । यसो सिफारिस समितिको अध्यक्षमा म नै रहेको हुन्छ । सिफारिस त गरिन्छ नै, यसको साथै उनीहरूलाई जाने आउने क्रममा खर्च नपुग्ने भएमा हामीले यातायात खर्चको समेत व्यवस्थापन गरेका छौं ।

(७) मेरो पृष्ठभूमि पनि शिक्षा नै हो । मैले ३२ वर्ष शिक्षा क्षेत्रमा काम गरेको हुँ । यो वर्ष नगरको शिक्षा ऐन पनि पास भएको छ । बीचमा अनुगमन मूल्याङ्कन पनि भयो, अनुगमन पनि भयो । अनुगमनबाट आउका विषयवस्तुलाई लिएर नगर शिक्षा योजना पनि बनाइसक्यौं । वडामा अध्यक्षले अनुगमन गर्नेखालको योजना बनाइयो । तर कोरोनाले अहिले कोरोनाले विद्यालय बन्द भएका छन् । विद्यालय सुचारु भएपछि लागू हुन्छ । जे होस् लगानीको अनुसारको प्रतिफल शिक्षामा हुनुपर्छ भनेर हामी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । मेरो आफ्नो कार्यकालसम्ममा शिक्षा क्षेत्रमा सुधार हुनेछ ।

(८) साविकका ३ वटा गाविसमा एउटा कृषि संकलन केन्द्र र पशु केन्द्र स्थापना भएको छ । बिउविजन वितरणको काम भएको छ । कागती, आँप, स्याउ, केरा आदिको पकेटक्षेत्र घोषणा भएको छ । फलफूलका बिरुवा, पाल वितरणको काम भएको छ । कृषिलाई प्राथमिकता दिएर आर्थिकस्तरमा नागरिकलाई उचाल्ने योजनामा छौं । कृषि र पशुपालन मार्ट आयआर्जन गर्ने वातावरण गराउने कुरामा हामी ध्यानरत छौं ।

(९) लगभग सबै वडा कार्यालयमा वाइफाइको व्यवस्था छ । यही कार्यकालमा सबै वडामा इन्टरनेट पुर्‍याउने गरि काम गरिरहेका छौँ । भौगोलिक जटिलता, विद्युतको समस्या आदिले गर्दा यो काममा गति दिन सकिएको छैन । अब बिजुलीको समस्या समाधान भएसँगै इन्टरनेट विस्तार पनि व्यापक रूपमा हुन्छ । सदरमुकाम क्षेत्र मान्ममा सबै स्थानमा इन्टरनेट सुविधा छ ।

(१०) राजनीतिक दलले बन्द हड््ताल, राजनीतिक दलको लागि सार्वजनिक र विद्यालयका भवन र मैदान प्रयोग गर्न दिएका छैनौं । सानो-सानो विषयमा पनि सडक बन्द गर्ने नराम्रो परम्परा छ यहाँ । विषयहरूको सुनुवाइ गर्ने निकायहरूले पनि आन्दोलन नगरेसम्म कुरा नसुन्ने भएकाले यस्तो विवाद धेरै आएको छ । हामीले सकेसम्म छिटो छरितो मानिसहरूको कुरा सुन्ने, विवाद समाधान गर्ने र बन्द हड्ताल गर्न नपर्ने वातावरण बनाउन लागिपरेका छौं ।

प्रकाशित मितिः   १९ कार्तिक २०७७, बुधबार ०८:४१