अपराधविरुद्धको एकता
बलात्कार जघन्य अपराध हो । तर मुलुकभर यही जघन्य अपराधका घटना बढ्दै छन् । अबोध बालिकाहरू बलात्कृत भएका छन् । युवतीदेखि वृद्ध महिलासमेत बलात्कारको शिकार भइरहेका छन् । दण्डहिनताको अवस्थाले यस्ता अपराध वृद्धिमा टेवा पु¥याइरहेको बुझ्न गाह्रो छैन । किनभने पीडितले न्याय पाउन नसकेका यस्ता धेरै उदाहरण छन् । अपराध गर्नेले सजाय नपाएर उन्मुक्ति पाउँदा अन्य आपराधिक मनोविज्ञान भएका व्यक्तिहरूलाई प्रोत्साहन मिल्ने गरेको छ । जसका कारण थप यस्ता घटना हुन्छन् । एकै व्यक्ति पटक–पटक बलात्कारमा संलग्न हुनुले पनि यसलाई पुष्टि गर्दछ ।
आजको समाजमा पनि महिलाहरू बलात्कृत हुनुपर्ने विडम्वना दुखद् छ । मानिस शिक्षित हुँदैछ । समाज बदलिँदै छ । सबै क्षेत्रमा परिवर्तनहरू देखा परिरहेका छन् । तर महिलाहरू बलात्कृत भइरहने अवस्थाको अन्त्य हुन सकेको छैन । बलात्कारका घटना दिन प्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसाङ्ख्यिक विवरण, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मानस्थिति, पुरुषप्रधान समाज, प्रहरी तथा कानुनी निकायको असक्षमता, सामाजिक सञ्जालको दुरूपयोग लगायतलाई प्रमुख कारण मानिन्छ । नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । अझ भनौँ महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ । जब एक महिला बलात्कृत हुन्छे, उसले न आफ्नो परिवारलाई भन्न सक्छे न त अरू कसैलाई । जब उसले म बलात्कृत भए भन्छे, उसले आफ्नो परिवारको इज्जत फाल्छे, समाजको नजरमा । यसकारण बलात्कृत महिलाहरू आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन् । सीमित घटनाहरू मात्रै सार्वजनिक हुन्छन् । न्यायिक निकायसम्म पुग्छन् । तर न्याय पाउन भने सजिलो छैन । जसले गर्दा पीडितहरू थप पीडामा परिरहेका हुन्छन् । महिलाहरू बलात्कारपश्चात् प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । कतिपय अवस्थामा प्रहरीहरूले पीडितको बयान विश्वास नगर्ने र उजुरी नै नलिने गरेको समेत हुने गर्छ । जब प्रहरी प्रशासनको उच्च ओहोदामा बस्ने व्यक्तिले बलात्कारबाट पीडित व्यक्तिको पीडा र मनोभावना बुझ्न सक्दैन, त्यही व्यक्तिले न्याय दिने सम्भावना न्यून हुन्छ ।
बलात्कारजन्य अपराध नियन्त्रण गर्न नसकिने होइन । सामाजिक चेतनाको विकास अपराध नियन्त्रणको एक महŒवपूर्ण खुड्किलो हो । विद्यालय तहदेखि नै यौन शिक्षामा सुधार गर्नु महŒवपूर्ण छ । विद्यालय तहमा छात्र र छात्रालाई फरक फरक यौन शिक्षाको खाँचो हुन्छ । कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानविन तथा पीडितलाई न्याय, सहज चुस्त दुरुस्त र संरक्षित महिलामैत्री उजुरी प्रक्रिया बनाउन सकेमा अपराध न्यूनीकरण गर्न सकिन्छ । पीडित र पीडितका परिवारलाई मनोसामाजिक परामर्श दिनु जरुरी हुन्छ । पीडितलाई परिवार र समाजमा पुनस्र्थापनामा गर्ने वातावरण बनाउन जरुरी छ । यो अपराध महिलाहरूको मात्रै सरोकार होइन । बलात्कारविरुद्धको अभियानमा सबैको साथ जरुरी छ । जबसम्म हरेक व्यक्ति बलात्कारविरुद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन ।
प्रकाशित मितिः २९ आश्विन २०७७, बिहीबार ११:३८
साझा बिसौनी ।