प्रारम्भिक बाल शिक्षामा बाधा

सरकारले यतिबेला वैकल्पिक माध्यमबाट विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्ने नीति लिएको छ । कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न जटिल परिस्थितिका कारण विद्यालयमा पठनपाठन सम्भव नभएपछि वैकल्पिक सिकाइलाई प्रोत्साहन गरिएको हो । गएको चैतदेखि विद्यालयहरू बन्द छन् । लामो समयदेखि शैक्षिक संस्था बन्द हुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । वैकल्पिक माध्यम रेडियो, टेलिभिजन र अनलाइनबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण भइरहेका छन् । यद्यपि यो माध्यममा सबै विद्यार्थी भने सहभागी हुन पाएका छैनन् । सरकारले तोकेका माध्यमको पहँुचमा सबै विद्यार्थी छैनन् । विद्यालयहरूले सञ्चालन गरिरहेका वैकल्पिक कक्षामा केही विद्यालय तहका विद्यार्थीले सहभागिता जनाएर सिक्ने अवसर पाए पनि प्रारम्भिक बाल विकास उमेर समूहका सबैजसो बालबालिका भने सिकाइ सहजीकरण प्रक्रियाबाट वञ्चित छन् ।

खेल्दै सिक्दै गर्ने उमेरका बालबालिका घरमै छन् । छोराछोरीलाई बाल विकास केन्द्र तथा मन्टेश्वरीहरूमा पठाउन नपाएका अभिभावक उनीहरूको शैक्षिक भविष्यलाई लिएर चिन्तित देखिएका छन् । वीरेन्द्रनगर–४ की सीता खड्काले छोरीलाई बाल विकास केन्द्रमा लगिरहेकी थिइन् । लकडाउन भएपछि बन्द भएको बाल विकास केन्द्र कहिले खुल्ने कुनै टुङ्गोसमेत छैन । उनी भन्छिन्, ‘घरमा छोराछोरी त्यसै बस्छन् । हामी पनि काममै व्यस्त हुन्छाँै । घरमा सिक्न खोज्दैनन् । ठूला विद्यार्थीको अनलाइन कक्षा हुन्छ रे ! यीनीहरूलाई सिकाउने माध्यम नै केही छैन ।’ स्कूलजस्तो घरमा सिकाइको वातावरण नहुने हुँदा छोराछोरीको भविष्यप्रति चिन्ता लागेर आउने उनले सुनाइन् ।

माथिल्लो तहका विद्यार्थीलाई निजी विद्यालयहरूले ‘जुम एप’ को सहायतामा अनलाइनमार्फत अध्यापन गराइरहेका छन् । प्रारम्भिक कक्षाका बालबालिकालाई सिकाइ प्रक्रियामा सहजीकरण गर्न चुनौती छ । वीरेन्द्रनगर–६ की शर्मिला सुनारले पनि छोराछोरीलाई अहिले घरमै सिकाउने प्रयास गरिरहेकी छन् । घरमा पढाउन खोज्दासमेत छोराछोरी सिक्न नखोज्ने समस्या रहेको उनी बताउँछिन् । ‘कोरोना जोखिम दिनदिनै बढ्दो छ । यस्तो बेलामा स्कूल खुुलिहाले पनि कसरी पठाउनु । घरमै पनि कसरी सिकाउनु,’ शर्मिला भन्छिन् ।

प्रारम्भिक बाल शिक्षा दिँदै आएका बाल विकास केन्द्र र निजी क्षेत्रबाट सञ्चालित मन्टेश्वरीहरूमा शैक्षिक सामग्रीमार्फत विशेष प्रारम्भिक कक्षा हुँदै आएका थिए । खेल्दै सिक्दै शिक्षण विधिले बालबालिकालाई सिकाइ प्रक्रियामा सहज भएको थियो । ध्वनि सचेतना, गाउने, नाच्ने, बुक कर्नर, अक्षर गोटी, शब्दपत्ति लगायतका विधिबाट उनीहरूलाई सिकाउने गरिएको छ ।

वीरेन्द्रनगर–६ स्थित प्रगति सामुदायिक बाल विकास केन्द्रका सहजकर्ता लंका योगीले बाल विकास केन्द्रहरू बन्द भएपछि सहजीकरणको कार्यक्रम केही हुन नसकेको बताइन् । सिकाइसम्बन्धी सामग्री बालबालिकालाई वितरण गर्ने तयारी भने गरिएको योगी बताउँछिन् । ठूला बालबालिकाले अनलाइन, टेलिभिजन र रेडियोबाट पढिहाल्ने भए पनि साना उमेरका बालबालिकालाई उक्त विधिबाट सिकाइ प्रक्रियामा सहभागी गराउन सम्भव नहुने उनले बताइन् ।

कर्णाली प्रदेशमा बाल विकास केन्द्रहरूको संख्या दुई हजार सात सय १९ छ भने झण्डै एक सय हाराहारीमा मन्टेश्वरी छन् । कोरोना कहरले सानो उमेरका बालबालिकाको सिकाइ प्रक्रियामा झनै असर परेको छ । प्रदेशका अधिकांश क्षेत्रमा अझैं पनि इन्टरनेट, टेलिभिजनजस्ता माध्यमको पहुँच पुगेको छैन । स्व–अध्ययनका सामग्रीको पहुँचमा समेत सबै विद्यार्थी छैनन् ।

दैलेखमा असोज ७ गतेदेखि विद्यालय खुलेपछि बाल विकास केन्द्रहरूमा पनि पढाइ सुरू भएको थियो । कोरोना जोखिम बढेपछि अहिले सबै विद्यालय बन्द छन् । प्रारम्भिक बाल विकास सुधार समिति दैलेखकी टीका थापाले विद्यालय बन्द भएपछि बाल विकास केन्द्रहरू पनि बन्द गरिएको बताइन् । सरकारले तय गरेको स्वास्थ्य मापदण्डअनुसार खुलेका विद्यालय पुनः बन्द गरिएको हो । सरकारले स्थानीय प्रशासन, स्थानीय तह र विद्यालयको समन्वयमा जोखिम कम रहेका स्थानमा विद्यालय खोल्न सक्ने भनेको थियो । कोरोना संक्रमणको जोखिम बढेको भन्दै असोज २२ गतेदेखि प्रशासनले विद्यालय नखोल्न भनेपछि दैलेखमा अहिले सिकाइका कार्यक्रम रोकिएको हो ।

निजी विद्यालयमा पनि प्रारम्भिक कक्षा अध्ययन गर्ने बालबालिकाको संख्या ठूलो छ । सरकारीकै हाराहारीमा त्यहाँ पनि बालबालिका छन् । साना बालबालिकालाई सिकाइ सहजीकरण गर्न समस्या भएको वीरेन्द्रनगरस्थित प्रतिक्षा मन्टेश्वरीका प्रिन्सिपल प्रतिमा मल्लाह बताउँछिन् । सानो उमेरका बालबालिका जिद्दी स्वभावका हुन्छन् । कोरोनाको यस्तो महामारीमा उनीहरूलाई स्कूलमा ल्याएर पढाउन पनि सम्भव नभएको उनले बताइन् । यो समयमा उनीहरूको सिकाइ प्रक्रियामा अभिभावकको ठूूलो भूमिका रहने उनको भनाइ छ ।

नेपाल मन्टेश्वरी एशोसियसन कर्णाली प्रदेशकी संयोजक समेत रहेकी मल्लाहले अहिले मन्टेश्वरीले होमवर्क दिने, अभिभावकसँग समन्वय गर्ने र अभिभावकलाई कसरी बालबालिकालाई घरमै सिकाउन सकिन्छ भन्नेबारे सल्लाह गरिरहेको बताइन् । यतिबेला विद्यालय, शिक्षक र अभिभावक मिलेर उनीहरूको सिकाइमा सहजीकरण गर्नुपर्ने उनले सुझाइन् । ‘अहिले बालबालिका मोबाइलमा मात्र झुण्डिन थालेका छन् । अभिभावकले मोबाइलबाहेक अरू केही नगर्ने गरेको गुनासो गर्नुहुन्छ । अब अभिभावकले घरमै प्रारम्भिक शिक्षा दिनुपर्छ । यसका लागि सहकार्य हुन आवश्यक छ,’ मल्लाहले भनिन् ।

प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दीपा हमाल साना बालबालिकालाई वैकल्पिक माध्यम प्रभावकारी नहुने बताउँछिन् । अभिभावकले घरमै पनि सामान्य लेखपढ गराएर उनीहरूको सिकाइमा सहजीकरण गर्न सकिने हमालले बताइन् । ‘बालबालिकाहरूलाई पढ्न भन्दा पनि पढ्नका लागि तयारी गराउने उमेर अवस्था हो यो,’ उनले भनिन्, ‘उनीहरूलाई घरमै अभिभावकले सिकाउन सक्छन् ।’

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ मा यो उमेर समूहका बालकालिकालाई अभिभावकले जीवनोपयोगी, परम्परागत तथा सामाजिक व्यवहार, कुशल सीपहरू सिकाउने र सिक्न प्रेरित गर्न सकिने भनिएको छ । त्यस्तै प्रारम्भिक बाल विकास उमेर समूहको लागि सिकाइ सहजीकरण स्थानीय तह र विद्यालयले रेडियो, टेलिभिजन, अनलाइन तथा छपाइ सामग्री प्रयोग गरी पनि गर्न सक्ने उल्लेख छ । निर्देशिकामा सहयोगी कार्यकर्ता र अभिभावकमार्फत ‘होम स्कूलिङ’को रूपमा कार्यक्रम सञ्चालन गर्न सक्ने बताइएको छ ।

प्रारम्भिक कक्षामा पढाइ बलियो हुनु भनेको विद्यालय तहका लागि राम्रो जग हो । तर लामो समयदेखि उनीहरूको सिकाइ प्रक्रिया रोकिँदा अभिभावकहरू चिन्तित बनेका छन् भने सरकारी तथा निजी बाल विकास केन्द्रहरूले समेत सिकाइ प्रक्रियालाई सहज रूपमा अघि बढाउन सकिरहेका छैनन् । बाल विकासको क्षेत्रमा क्रियाशील कतिपय व्यक्ति र संस्थाहरूले यतिबेला बालबालिकालाई घरमै सिकाउने अवसर आएको भन्दै केही समय बाल विकास केन्द्रहरू बन्द रहदैमा उनीहरूको सिकाइ प्रक्रियामा असर नपर्ने तर्क गरेका छन् ।


‘अभिभावकले सिकाउने अवसर’

डा. मिनाक्षी दाहाल शिक्षाविद्

बालबालिकालाई घरमै सिकाइको वातावरण सहज गराउन अभिभावको महŒवपूर्ण भूूमिका रहन्छ । प्रारम्भिक बाल विकास उमेरका बालबालिकालाई पढाउने भन्दा पनि उनीहरू स्वास्थ्यलगायत सबै पक्षमा सक्रिय हुनुपर्ने उमेर भएकाले त्यसका लागि यस्तो समयमा अभिभावककै भूमिका महŒवपूर्ण हुन्छजस्तो मलाई लाग्छ । म हरेक हिसाबमा ठिक छु भन्ने विश्वास बालबालिकालाई हुनुपर्छ । यो कसरी भयो भनेर प्रश्न गर्ने र जिज्ञासु बन्ने हुनुपर्छ । यसका लागि बाल विकास केन्द्रले सहयोग गरे पनि अहिले बालबालिका घरमै छन् । अभिभावक आफ्नै काममा व्यस्त भएको हामी पाउँछौँ । यो समयमा झन अभिभावकले उनीहरूको विकासमा बढी ध्यान दिनुपर्छ । यो खालको वातावरण अभिभावकले बनाउन जरुरी छ । छोराछोरीले अहिले पूरै समय आमाबुबासँग बिताउन पाएका छन् ।

अभिभावकले पनि यो समयलाई अवसरको रूपमा लिएर बालबालिकाको विकासका लागि सहज वातावरण बनाउनु पर्छ । यो एउटा अभिभावकका लागि महŒवपूर्ण अवसर हो भन्ने मलाई लाग्छ । यति गर्न सक्यौं भने एक वर्ष बन्द भए पनि साना बालबालिकालाई असर गर्दैन । हाम्रो चलन के छ भने बालबालिका अलि ठूलो भयो भने विद्यालय पठाइ हाल्ने चलन छ । खासमा चार वर्ष पुगेपछि बाल विकास केन्द्रमा भर्ना गर्ने हो । ढाई–तीन वर्ष पुग्न लागेपछि विद्यालय पठाइदिने चलन छ । छोराछोरीले छिट्टै एबीसीडी भन्न सकून् भन्ने चाहना अभिभावकमा छ । एक वर्ष बाल विकास केन्द्रमा राख्ने र पाँच वर्ष पुगेपछि कक्षा १ मा भर्ना गर्ने हो । अहिले कोरोना भाइरसको संक्रमणको त्रास छ । बालबालिकामा यस्तो बेलामा डरको मनोविज्ञानमा नराम्रो अवसर गर्न सक्छ । यस्तो बेला शिक्षकले पनि अभिभावकलाई सहजीकरण गर्नुपर्छ ।

प्रकाशित मितिः   २९ आश्विन २०७७, बिहीबार ११:३२