चाडबाडमा सचेत बनौं

यस वर्षको दसैँ सुरू भइसकेको छ । यतिबेला मानिसहरू सहरबाट धमाधम गाउँघर फर्किरहेका छन् । जाने–आउनेको चाप थामिनसक्नु छ । सवारी साधनमा भीड लागेको छ । गाउँमा जमघट बढेको छ । १ कार्तिकदेखि सुरु भएको हिन्दु नेपालीहरूको मुख्य चाड दसैँ १५ गते सकिनेछ । दसैँ लाग्नुभन्दा एक महिना अघिदेखि नै बजारमा किनमेल गर्नेको भिडभाड लाग्छ । सुविधा र रोजगारीको खोजिमा गाउँ छोडेकाहरू चाडबाडका बेला मूलघर फर्कन्छन् । गाउँघरमा समेत यो बेला मानिसको चाप अधिक हुन्छ । तिहार पनि नजिकिँदै छ । यो नेपालीहरूको अर्को ठूलो चाड हो । चाडपर्व भित्रिएसँगै गाउँघरमा चहलपहल ह्वात्तै बढ्छ । कामको शिलशिलामा घर बाहिर रहेकाहरू गाउँ फर्किन्छन् । यस पटकका चाड विगतका जस्ता विशेष भने हुने छैनन् । किन कि यसपालि जमघट गरेर हर्षोल्लासले चाडपर्व मनाउने वातावरण छैन । कोरोना कहरकाबीच सचेत भएर चाड मनाउनु पर्ने छ । भेटघाट, जमघट र भिडभाड गरेर रमाइलो गरिने दसैँ–तिहार जस्ता पर्वहरूमा मानवीय दूरी कायम गर्नुपर्ने भएको छ । अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सतर्कता अपनाउनु पर्ने बेला हो ।

विश्वभर कोरोना संक्रमणको महामारी छ । झण्डै एक वर्षदेखि विश्वलाई आतंकित बनाइरहेको कोरोनाले नेपालीहरूको दैनिकीमा पनि ठूलो असर पारेको छ । आफन्त, साथीभाइ अझै भनौ परिवारसँगै नजिकिन र निर्धक्क भेट्न जोखिम छ । सहर बजारमा मात्रै होइन, गाउँमा समेत कोरोना संक्रमणको त्रास छ । सहरी क्षेत्रबाट गाउँ फर्कनेहरूले संक्रमण भिœयाउने जोखिम बढी रहन्छ । जहाँ कोरोना संक्रमण ब्यापक छ । संक्रमण समुदायस्तरमा फैलिसकेको छ । गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन् । गाउँघरमा चहलपहल बढेसँगै स्थानीय त्रसित छन् । बाहिरबाट आएको मानिस देखेर डराउनुपर्ने अवस्था त्यहाँ छ । कर्णालीका दश वटै जिल्ला र अधिकांश पालिकामा कोरोनाको संक्रमण पुगेको छ । प्रदेशमा हालसम्म पाँच हजार बढीलाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १३ जनाको ज्यान गइसकेको छ । संक्रमण दर दिन प्रतिदिन बढ्दो छ । प्रदेशमा कोरोना संक्रमण देखिएको सुरूवाती चरणमा सीमा नाका र अन्तरजिल्ला आवतजावतमा कडाइ गरिएको थियो । संक्रमण नियन्त्रणका लागि अपनाएका यस्ता पूर्वसावधानीले केही हदसम्म जोखिम घटाएको पनि हो । तर, पछिल्लो समय विना चेकचाँज मानिसहरूको आवागमन भइरहेको छ ।

अहिले बाहिरबाट आउनेहरू सिधै घर गएका छन् । परिवार र समुदायमा घुलमिल भइरहेका छन् । महामारीका बेला यो हेलचक्य्राइँको हद हो । चाडबाडमा कोरोना संक्रमणले भयावह रूप लिन सक्ने संकेत पनि हो । यतिबेला घर फर्कनेहरूले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षामा समेत सजकता अपनाएको पाइँदैन । यस्तो लापरबाहीले परिवारका अन्य सदस्यसमेत असुरक्षित छन् । अत्याधिक संक्रमित रहेका भारत तथा देशभित्रकै काठमाडौंलगायतका सहरबाट फर्कनेहरू सिधै परिवारसँग घुलमिल हुँदा संक्रमण फैलने जोखिम उच्च हुने नै भयो । एक महिनायता सरकारीस्तरबाट पनि बेवास्ता हुन थालेको छ । प्रदेश र स्थानीय तहहरूले कोरोनाको जोखिम हटिसकेको जस्तो व्यवहार गर्न थालेका छन् । जुन दुर्भाग्यपूर्ण छ । आवतजावतमा कडाइ, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भए÷नभएको अनुगमन, स्वास्थ्य पूर्वाधार र सम्भावित जोखिमको आँकलन गर्न छाड्नुले यी निकाय संवेदनशील छैनन् भन्ने पुष्टि गर्छ । दसैँको दबाव सामान्य बेलाको जस्तो हुँदैन । दशैं यस्तो चाड हो, भीडभाड नियन्त्रण गर्न निकै चुनौती हुन्छ । यस्तो सामाजिक यथार्थका बीच यतिबेला व्यक्ति, समुदाय र सबै तहका सरकारले सजकता अपनाउन आवश्यक छ ।

प्रकाशित मितिः   ५ कार्तिक २०७७, बुधबार ११:१२