मासुको व्यापार न्यून

जे.बी. मिट सेल एण्ड सप्लायर्सका सञ्चालक जनक थापा दैनिक दुई क्वीण्टलभन्दा बढी खसीको मासु बेच्थे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिनुभन्दा अघि यहीँ हाराहारीमा मासु बिक्री गरिरहेका उनको केही महिनायता व्यापार निकै खस्किएको छ । ‘मासु व्यवसाय पहिलो जस्तो छैन,’ मासु व्यवसायी संघ सुर्खेतका पूर्वअध्यक्ष समेत रहेका थापाले भने, ‘अहिले दिनमा जम्मा ४० केजीको मात्रै व्यापार हुने गरेको छ ।’ मासु खपत हुने मुख्य ठाउँ होटल हो । लामो समयदेखि होटेलहरू ठप्प प्रायः छन् । थापा भन्छन्, ‘कोरोनाले गर्दा व्यवसाय नै चौपट भयो । दशैंमा समेत मासुको व्यापार भएन ।’

वीरेन्द्रनगरका ठूला होटेलहरूमा खसीको मासु सप्लाई गर्नेहरू होटल व्यवसाय नै नचलेका कारण मारमा परेका हुन् । यतिबेला व्यापारीहरूले साविकको कर्णालीबाट भेडा, च्याङ्ग्रा र खसी खरिद गरेर वीरेन्द्रनगर ल्याएका छन् ।

दसैँलाई लक्षित गरी ल्याइए पनि बजारमा मासुको माग भने न्यून छ । वर्षेनी दसैँमा मात्रै दुई सयभन्दा बढी खसी यहाँका व्यापारीले काठमाडौं र पोखरालगायतका सहरमा पठाउँथे । कोरोनाका कारण यो दसैँमा व्यापारीहरूले खसि बोकाको कारोबार गर्न नपाएका हुन् । मासुको कारोबार हुने मुख्य चाड दसैँमा समेत यो पटक मासु खपत नभएको हो । अहिले ठूला सहर बजारमा पनि मासुको माग कम भएको व्यवसायीहरू बताउँछन् ।

वीरेन्द्रनगर–६ हटियालाइनमा रहेको भण्डारी मासु पसलकी सञ्चालक सन्तोषी भण्डारीले यो पटक दसैँ सुरू भइसक्दा पनि ब्यापार बढ्ने छाँट देखेकी छैनन् । ‘दशैमा खसीको मासुको बढी माग हुन्थ्यो, उनले भनिन् ‘तर यो पटक मासु पसल सुनसान छन् । व्यापार नै छैन ।’

सुर्खेत उद्योग वाणिज्य संघ वस्तुगत समिति अन्तर्गत मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले यो पटकको दसैँमा मासुको माग न्यून रहेको बताए । विगतका वर्षमा वीरेन्द्रनगरमा मात्रै यो सिजनमा करिब १० क्वीण्टल हाराहारीमा मासु खपत हुने गरेको उनी बताउँछन् । शाहीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा मासुको व्यापार ५० प्रतिशतले घटेको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७७, मंगलवार १२:२०