यसपालिको दसैँ : रौनकभन्दा त्रास बढी

चाडपर्व भित्रिएसँगै गाउँघरमा चहलपहल बढ्दो छ । मुख्य चाड दसैँ सुरू भइसकेको छ । तिहार नजिकिँदै छ । कामको शिलशिलामा घर बाहिर रहेकाहरू धमाधम गाउँ फर्किदैं छन् । कोरोना कहरले यस पटकका चाड विगतका जस्ता विशेष हुने छैनन् । जमघट गरेर हर्षोल्लासले मनाउने वातावरण पनि छैन । यसपालि ठूला चाडवाडले रौनकता ल्याउन सकेनन् । सहरमा होस् या गाउँमा पर्वको उल्लासभन्दा कोरोना संक्रमणको त्रास बढी छ । सहर बजारबाट गाउँ फर्कनेहरूले संक्रमण भिœयाउने जोखिम पनि उत्तिकै छ । सहर सुनसान र गाउँमा चहलपहल हुने समय हो, यो । भेटघाट र भिडभाड गरेर रमाइलो गरिने यी पर्वहरू मानवीय दूरी कायम गरेर मनाउनु पर्ने भएको छ ।

यतिबेला मूल घर फर्कनेहरूले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षामा समेत सजकता अपनाएका छैनन् । जसले गर्दा गाउँघरमा बढेको चहलपहलले संक्रमण फैलने खतरा देखिएको छ । कोरोना संक्रमण व्यापक रहेका भारत तथा देशभित्रकै काठमाडौंलगायतका सहरबाट फर्कनेहरू सिधै गाउँमा आएकाले जोखिम बढेको हो । भेरीगंगा नगरपालिका–१३ का नरबहादुर जिसीले केही दिनयता गाउँमा निकै चहलपहल बढेको बताए । भारतबाट आएका केही मात्रै क्वारेन्टाइनमा बसे पनि अन्य सहर बजारबाट आएकाहरू सिधै घरमै जाने गरेका छन् । गाउँमा संक्रमणको जोखिमसँगै त्रास उत्पन्न भएको जिसी बताउँछन् । ‘चाडपर्वमा रमाइलो हुनुपर्ने हो,’ उनी भन्छन्, ‘यो पटक त्यस्तो वातावरण रहेन । मानिसहरू रमाउनै सकेका छैनन् । गाउँमा कोरोनाको त्रास छ ।’

कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको छ । गाउँगाउँमा कोरोना संक्रमित भेटिन थालेका छन् । गाउँघरमा चहलपहल बढेसँगै स्थानीय त्रसित बन्न थालेका हुन् । कर्णालीका दश वटै जिल्ला र अधिकांश पालिकामा कोरोनाको संक्रमण पुगेको छ । प्रदेशमा हालसम्म पाँच हजार बढीलाई संक्रमण पुष्टि भइसकेको छ । सक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ठूलै भए पनि जोखिम भने अझै उच्च छ ।

चौकुने गाउँपालिका–७ का पूर्णचन्द्र जैसी दसैँ मनाउन घर आएका छन् । भारतमा रोजगारी गर्ने उनले केही दिन पहिले घर फर्किएको बताए । ‘चाडपर्व मनाउने भनेर आएको हो,’ उनी भन्छन्, ‘परिवारसँगै घुलमिल हुन गाह्रो छ । पहिले सीमा नाकामा कोरोना जाँच हुन्थ्यो । ढुक्क भइन्थ्यो । अहिले सिधै घर आइएको छ ।’ उनले आफू भने होम क्वारेन्टाइनमा रहेको बताए । संक्रमणको सुरूवाती चरणमा सीमा नाका र अन्तरजिल्ला आवतजावतमा कडाइ गरिए पनि पछिल्लो समय विना चेकचाँज आवागमन हुने गरेको छ ।

लेकवेशी नगरपालिकाका कार्यपालिका सदस्य चाडपर्व खगीसरा नेपालीले कार्तिक लागेयता गाउँ फर्कनेहरू बढेको बताइन् । उनका अनुसार लेकवेशी भित्रिनेहरू होम क्वारेन्टाइनमै बस्ने गरी सिधै घर जाने गरेका छन् । नगरपालिकाको क्वारेन्टाइन भने खाली छ । गाउँमा आउनेहरू परिवार तथा समुदायसँग घुलमिल हुने हुँदा कोरोना संक्रमणको जोखिम बढेको उनी बताउँछिन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभर तीन सय ५३ स्थानमा क्वारेन्टाइन छन्् । २२ हजार सात सय ८६ बेड क्षमताका ती क्वारेन्टाइन रित्ता छन् । अहिले प्रदेशभर झण्डै पाँच सय जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् ।

पछिल्लो समय गाउँपालिकाहरूले आवतजावतमा कडाइ गर्न छोडेका छन् । स्थानीय तहले चाडपर्वमा हुने जोखिमको आँकलन समेत गरेका छैनन् । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बाहिरबाट आएका व्यक्तिहरूलाई निगरानीमा राख्ने गरिएको दाबी गरे । ‘बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न भनिएको,’ उनले भने, अधिकांश व्यक्तिहरू त्यसरी नै बसेका छन् ।’ पालिका फर्कनेको संख्या दैनिक बढ्दै गएकाले जोखिम भने उच्च रहेको उनी बताउँछन् । पालिकाहरूले बाहिरबाट आएका नागरिकको खोजी–नीति गर्न छोडेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएको एक सातामा भारतबाट दुई हजार दुई सय ६८ नागरिक कर्णाली फर्किएका छन् । असोज दोस्रो सातायता देशका अन्य प्रदेश तथा मुख्य सहरहरूबाट ३० हजार ५१ जना कर्णाली भित्रिएको प्रहरीको तथ्याङ्क छ । संक्रमणको जोखिम टरिनसकेको भन्दै सरकारले दसैँ जहाँ बसेको छ त्यहीँ मनाउन आग्रह गरेको छ । तर चाडपर्व मनाउन यतिबेला गाउँ फर्कनेको घुइँचो छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७७, मंगलवार १२:१८