अन्तर्राष्ट्रिय सुरक्षामा कोरोनाको चुनौती
कोरोना भाइरस (कोभिड–१९) कारण विश्व समुदाय आक्रान्त छ । चीन–अमेरिका व्यापार युद्धदेखि कोभिड–१९ सम्म आइपुग्दा विश्व राजनीति नै नराम्रोसँग प्रभावित भएको छ र कोरोना भाइरसको प्रभावले गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेको छ । विश्वव्यापी शक्तिसन्तुलनमा हुने हेरफेरका कारण सुरक्षा खतरा समेत उत्पन्न भएको छ । सुरक्षा भनेको एउटा बहुआयामिक विषय हो, जसले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत समेटेको हुन्छ । राष्ट्रले अपनाएको विदेश नीति, आन्तरिक शान्ति सुव्यवस्था सम्बन्धी नीति, सामाजिक सुरक्षाका विषयमा स्पष्ट धारणा तथा कार्यान्वयन लगायतका विषयहरूले राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । आ–आफ्नो देशका नागरिकहरूलाई हरतरहबाट सुरक्षा गर्ने र राष्ट्रिय स्वार्थहरूका सन्दर्भमा मनासिब गोपनियता कामय राख्ने विषयलाई समेत सुरक्षाले समेट्छ । सामान्यतः सुरक्षा भन्नाले राज्यका नागरिकहरूमा त्रास, दरिद्रता र गरिबीबाट उन्मुक्तिको प्रत्याभूति गराउनु हो । अभाव र भयबाट मुक्तिजस्ता पक्षबाट नागरिकहरूको हित र जीवनको संरक्षण गर्नु सुरक्षा हो ।
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र राष्ट्रिय स्वाधिनताको रक्षा, आर्थिक, सामाजिक, वातावरणीय एवम् सांस्कृतिक तŒवहरूको जगेर्ना तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति, आर्थिक साझेदारितामा छिमेकीका अपेक्षाहरूसँग सन्तुलन मिलाउँदै राष्ट्रिय स्वार्थको संरक्षण गर्नु नै सुरक्षा हो । सुरक्षाको परम्परागत धारणा सेनालाई स्रोत निर्धारणको विशेषाधिकार प्राप्त हुन्छ भन्ने थियो तर आधुनिक मान्यताले सुरक्षाको स्तरको गम्भीरतालाई महत्व दिएको छ । सुरक्षाको केन्द्र राज्य सँगसँगै मानवलाई प्राथमिकता दिएको छ ।
संयुक्त राष्ट्रसंघको बडापत्रमा भएको व्यवस्था :
संयुक्त राष्ट्रसंघ विश्व शान्ति, राष्ट्रहरूबीच आपसी सम्बन्ध, स्वाधिनता र न्यायका लागि स्थापित एक अन्तर्राष्ट्रिय संस्था हो । सन् फ्रान्सिस्कोमा सन् १९४५ जुन २६ को बडापत्रमा हस्ताक्षर गरिएकोमा सन् १९४५ अक्टोबर २४ देखि यो बडापत्र लागु भएपछि यसको औपचारिक स्थापना भएको हो । यसको प्रधान कार्यालय अमेरिकाको न्यूओर्कमा रहेको छ र यसका १९३ सदस्य राष्ट्र छन् । संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १ मा निम्नलिखित उद्देश्यहरू उल्लेख गरिएको छ :
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने ।
राष्ट्रहरूकोबीच मित्रवत् सम्बन्ध विकास गर्ने ।
आर्थिक, सामाजिक, सांस्कृतिक वा मानवीय चरित्रका अन्तर्राष्ट्रिय समस्याको समाधान तथा सबैको लागि आधारभूत स्वतन्त्रताको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने ।
यी साझा उद्देश्यहरू हासिल गर्न राष्ट्रहरूको कार्यमा तालमेल मिलाउने केन्द्र हुने ।
अन्तर्राष्ट्रिय सम्बन्धमा सुरक्षाको धारणालाई रणनीतिक अध्ययन अन्तर्गत व्याख्या वा विश्लेषण गरिन्छ । दिन प्रतिदिन अन्तर्राष्ट्रिय सुरक्षामा विभिन्न प्रकारका चुनौतीहरू थपिएका छन्, थपिरहने छन् । विभिन्न चुनौतीहरू मध्ये विभिन्न समयमा विश्वव्यापी रूपमा फैलिएका महामारीहरू पनि पर्दछन् ।
अहिलेको कोभिड–१९ महामारी विश्व जनस्वास्थ्यको मात्र चुनौती होइन, यसको असर वृहत् क्षेत्रमा पर्नेछ । यसले सामाजिक–आर्थिक क्षति पु¥याउने छ, सामाजिक–राजनीतिक असर पु¥याउने छ, सुरक्षा चुनौती थप्नेछ, विश्वको कुटनीतिक फेरबदल गरिदिनेछ । यसले संकटको व्यवस्थापनमा ढिलासुस्तीको वातावरण सिर्जना गर्नेछ । परिणाम स्वरूप दिन प्रतिदिन सामाजिक–अर्थतन्त्र धरासायी बनिरहेको छ भने सामाजिक–राजनीतिमा पनि खतराको घण्टी बजिसकेको छ । विश्वशक्ति अमेरिका, दोस्रो ठूलो अर्थतन्त्र चीन, अन्य मझौला शक्तिराष्ट्रहरू लगायत नेपालजस्ता विकासशील मुलुकहरूको अहिलेको साझा अवधारणा भनेको संकटको सामना गर्दै क्षेत्रीय तथा विश्व समुदायसँग भाइरसविरुद्ध सहकार्य गर्ने नै हो ।
चीनमा कोरोना भाइरसको महामारीको विकराल रूप लिएको बखत संयुक्त राज्य अमेरिकी राजनीतिक नेतृत्वले आफ्नो देशलाई सो सङ्क्रमणले केही प्रभाव पार्न नसक्ने दम्भ प्रदर्शन गरेका थिए । उनीहरूले चीनमाथि विभिन्न लाञ्छना लगाएर संक्रमणको दोषी चिनियाँ स्वयम् भएको दोषारोपण गरेका थिए । तर भूगोल, राजनीतिक सिमाना, विचारधाराको बन्देज नमान्ने भाइरसले आज विश्वका शक्तिशाली अमेरिकादेखि सारा विश्वलाई आच्छुआच्छु बनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवले भनिसकेका छन्, ‘नयाँ कोरोना भाइरसले समाजको मर्ममै प्रहार गरिरहेको छ, यसले आममानिसको जीवन र जीविकोपार्जन खोस्दैछ । यसले विश्व अर्थतन्त्रमा लामो समयसम्म असर गर्नेछ, प्रत्येक मुलुकलाई नाजुक बनाउनेछ’ । जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस महामारीलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो संकट भनेकी छन् । अहिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले अनपेक्षित संकटको सामना गरिरहेको छ ।
कोरोना महामारी विश्वभरका मानव जातिमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक हर क्षेत्रमा धक्का दिइरहेको छ । संक्रमणको नियन्त्रणका प्रयासस्वरूप संक्रमण प्रभावित तथा सम्भावित धेरै मुलुकले आफ्नो मुलुकभरि वा मुख्य सहरहरूमा ‘लकडाउन’ ‘सोसल डिस्टयान्सिङ्’ को घोषणा गरेका छन् । कलकारखाना, उद्योगधन्दा, व्यापार, स्कुल कलेज, यातायात लगायतका सबै प्रायः क्षेत्र ठम्प छन् । दिनदिनै प्रसारण गरिएका बढ्दो कोरोना प्रभावको आँकडा र अनिश्चितताको सूचनाले मानिसलाई अत्याइरहेको छ । यस अवस्थामा विश्वका आम मानिसहरू खाद्य पदार्थ लगायतका अत्यावश्यक सामग्रीको अभाव र महंगीको सम्भावनाले चिन्तित छन् । आर्थिक तथा सामाजिक विकासको गतिरोधको रूपमा प्रकट भएको यो महामारीको मार सबभन्दा बढी वृद्धवृद्धा, महिला, गरिब तथा अन्य पिछडिएका वर्ग, श्रमिक र साना व्यवसायीले नै व्यहोर्नु परेको छ । कोरोना महामारीको नियन्त्रणका निम्ति अपनाइएका अनेकन् उपायका कारण मानिसको मनोरञ्जन र संस्कृतिमा समेत नकारात्मक प्रभाव पारेको छ । शिक्षा र स्वास्थ्य क्षेत्र मानव विकास र मानव संशाधन विकासको महŒवपूर्ण वाहकमा समेत नकारात्मक असर पुगेको अवस्था छ ।
स्वास्थ्य क्षेत्रमा असर :
संक्रमणको कारण बिरामी हुने र मृत्यु हुनेबाहेक कोभिड–१९ को महामारीको जनस्वास्थ्यमा अन्य थुप्रै असर पर्ने हुन्छ । एक मनोचिकित्सक जोस्हुवायस मोर्गन्स्टिन् भन्छन्–‘कसैकसैका लागि भोकै रहँदाभन्दा सामाजिक आवद्धताको अभावले बढी प्रभाव पार्छ’ । मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार, महामारी नियन्त्रणको निम्ति प्रभावकारी हुन सक्ने भए पनि लामो समयसम्मको अलगावले मानिसको मानसिक स्वास्थ्यमा समस्या पैदा गर्छ । मेडिकल जर्नल लान्सेटले सार्स, इबोलालगायतका संक्रामक रोगको समयमा गरिएका २४ वटा अध्ययनको समीक्षामा क्वारेन्टाइनमा राखिएका व्यक्तिमा तनाव, मानसिक थकान, बेचैनी, अनिन्द्रा, दुव्र्यसनजस्ता अल्पकालीन र दिर्घकालीन मानसिक स्वास्थ्य समस्या देखिएको उल्लेख गरेको छ । अहिलेको महामारीको बेला पनि लकडाउन, सोसल डिस्टयान्सिङ्, क्वारेन्टाइन, सेल्फ आइसोलेसनजस्ता कारणबाट मानिसको मानसिक स्वास्थ्यमा यस्ता नकारात्मक असर परेको अवस्था छ ।
कम सुरक्षा व्यवस्थाका साथ नयाँ संक्रमणसम्बन्धी परीक्षण र उपचारमा संलग्न चिकित्सक र त्यस्ता कक्षमा काम गर्ने अन्य कामदारमा रोग संक्रमणको भय र त्राससहित मानसिक समस्या पैदा हुनसक्ने सम्भावना हुन्छ । सार्स संक्रमणको बेला बेइजिङ्मा ५४९ जना अस्पतालका कामदारमा गरिएको एक अध्ययनमा क्वारेन्टाइन वा उच्च जोखिमको स्थितिमा काम गर्ने कामदारहरूमा तीन वर्षसम्ममा अन्य कम जोखिममा काम गर्नेहरूभन्दा बढी रक्सीको लतमा लागेको पाइएको थियो भने लामो समयसम्मको व्यावसायिक गरिरोधले कतिपय व्यवसायी र श्रमिकमा बेचैनी, परेसानी, सनक र खिन्नता, अस्थिर र दुव्र्यसनजस्ता मानसिक अस्वस्थता पैदा गर्नसक्छ भने आत्मबल कमजोर हुनेहरू त झन आत्महत्याको परिस्थितिसम्म पनि धकेलिन सक्छन् ।
यस महामारीबाट बढी पीडित हुनेहरूमा वृद्धवृद्धा, महिला, अशक्त, अपाङ्ग, गरिब र घरबारविहीन पर्दछन् । स्वास्थ्यकर्मीको क्षेत्रमा करिब ७० प्रतिशत महिला भएका र उनीहरू अधिकांश अग्रपंक्तिका स्वास्थ्यकर्मीको रूपमा काम गर्ने भएकाले संक्रमणको हिसाबले महिला बढी जोखिममा परेका छन् । घरपरिवारको हेरचाह गर्ने काम पनि मुख्यतयाः महिलाले नै गर्ने भएकाले पनि उनीहरूमा संक्रमणको सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ । कतिपय अविकसित समुदायमा स्वनिर्णयको अधिकार नुहँुदा महामारीको बेला स्वास्थ्य सेवा प्राप्तिमा पनि उनीहरू पछाडि पारिन सक्छन् ।
अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव :
हरेक विश्वव्यापी संकटले अन्तर्राष्ट्रिय प्रणाली, संरचना र संस्थालाई गम्भीर असर गर्छ । भनिन्छ, ‘केही पनि फेरि सधैँ उस्तै रहँदैन ।’ कोरोनापछि
अन्तर्राष्ट्रिय राजनीतिमा आउन सक्ने परिवर्तनको प्रस्ट तस्विर अझै उस्तै रहँदैन । यो महामारी कहिलेसम्म रहला ? यसले कुन क्षेत्रमा कति धक्का देला ? र यसका पराकम्पन कहिलेसम्म बाँकी रहला भन्ने विषयले यसको बुहुआयामिक प्रभाव निर्धारण गर्नेछ । युभल नोहा हरारी, अर्मत्यसेनहरूले कोभिड–१९ लाई स्वास्थ्य संकटकै रूपमा लिनुपर्ने दावी गरे पनि ब्रुनो मेसाइसजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले यसलाई महायुद्धकै रूपमा लिइरहेका छन् । यो महायुद्ध नभए पनि परिणामका हिसाबले यो तेस्रो विश्वयुद्ध नै हो । विश्व राजनीतिमा कोभिड–१९ ले ल्याउने परिणाम महायुद्ध सरह नै हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धलाई बहुविषयगत र अन्तरनिर्भरताको विधा मानिएको छ । यस कारणले कोरोना संकटले मानव जातिमाथि पार्ने प्रभाव अन्तर्राष्ट्रिय सम्बन्धसँग अभिन्न रूपले जोडिन्छ । कोभिड–१९ को फैलावट प्रभाव न्यून गर्न सबै देशले ध्यान केन्द्रित गरिरहेको परिप्रेक्ष्यमा स्थानीय, क्षेत्रीय र वैश्विक राजनीतिको अन्तर्निहित गतिशीलता र यसलाई आकार दिने विदेश नीतिलाई पनि यसले गहिरो प्रभाव पार्दछ । यसले विश्वका हरेक मुलुकलाई राष्ट्रिय स्वार्थ मजबुत बनाउन आवश्यकताका आधारमा बहुपक्षीय वा द्विपक्षीय सम्बन्धमा ध्यान केन्द्रित गराएको छ । त्यसैगरी विश्वभर संरक्षणवाद हाबी हुने संकेत देखा परेको छ । परिणाम स्वरूप कोरोना प्रभावले अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यावहारिकताको नयाँ शिरातर्फ धकेलेको छ । यस महामारीले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय राजनीतिमा निम्न लिखित प्रभाव पार्ने देखिएको छ ।
(१) तत्कालीन प्रभावमा अन्तर्राष्ट्रिय सिमाना बन्द तथा स्थानीय देशहरूमा लकडाउन भएको छ । स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको देशले यसको फैलावट कम गर्नमा सफलता हात पारेका छन् भने केही प्रतिबन्धका रूपसमेत विश्वव्यापी रूपमा देखा परेका छन् ।
(२) मध्यकालीन प्रभावमा देशहरूले नयाँ वा अस्थायी साझेदारी खोज्न थाल्नेछन् । जुन कुरा महामारीको रोकथाम र नियन्त्रणसँग पनि जोडिएर आउँछ । त्यसैगरी आधारभूत आवश्यकता पूरा गर्न छिमेकीले भूमि, सीमा र आपसी सहयोगमा व्यापार सुरु गर्न सक्छन् ।
(३) दिर्घकालीन प्रभावमा देशहरूबीच गठबन्धन र रणनीतिक सहयोगका नयाँ परिदृश्य देखिन सक्छन् । परिणाम स्वरूप नयाँ राजनीतिक जग निर्माण हुन सक्छ । प्रथम विश्वयुद्धपछि लिग अफ नेसन र द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघ गठन भएजस्तै नयाँ संगठन बन्न सक्छन् ।
विशेषगरी अमेरिका र चीनबीच चलिरहेको ‘प्रोक्सी वार’ले कोरोनाका कारण विश्वको शक्ति सन्तुलनमा फेरबदल आउने सम्भावना देखा पर्दैछ । सहयोग र खुला द्वन्द्वको दुईधारे नीतिको चक्रमा अमेरिका र चीन उद्यत भइरहेका छन् । सहजै अनुमान गर्न सकिन्छ की चीन र पश्चिमी राष्ट्रबीच भविष्यमा वैचारिक विवाद झनै तीव्र बढ्नेछ । नवउदारवाद कि एसियाली मूल्यमा आधारित समाजवाद भनेर विश्वभरि बहस चल्नेछ । विश्वका हरेक देशहरूले अँगालेका राज्यका स्वरूप, शासन प्रणाली र सामाजिक सम्बन्धबारे फरक–फरक दाबी देखिनेछन् । उत्कृष्ट देखिन हरेकबीच तीव्र प्रतिस्पर्धा चल्नेछ । आइपिएस र बिआरआईजस्ता विश्वव्यापी प्रभाव भएका नीति नयाँपन दिन बाध्य हुनेछन् ।
दुवै विश्वयुद्धमा पूँजीवाद र समाजवादको अदृश्य द्वन्द्व चलेको थियो । विश्वयुद्धपछि तत्कालीन सोभियत संघ बलियो हुने त होइन भन्ने गहिरो चासो र चिन्ता पश्चिमा देशहरूमा थियो । विद्यमान समयमा समेत सोही परिदृश्य पुनः दोहोरिएको आभास भइरहेको छ । विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको बदलाव, जलवायु परिवर्तनमा देखिएको नयाँ सम्भावना, मानवजातिको दैनिकी, कार्य व्यवहार र संस्कृतिमा आएको फरकपनाले नयाँ विश्व व्यवस्थाको बहस सुरु गरेको छ । एकातर्फ पूँजीवादमाथि अनगिन्ती प्रश्नहरू उत्पन्न भएका छन् र उनीहरू नाजवाफ भएका छन् भने अर्कातर्फ दुईवटा विश्वयुद्धमा हतियार बेचेर शक्तिशाली बनेको अमेरिकालाई कोरोना युद्धमा चीनले विश्वभरि औषधि र स्वास्थ्य सामग्री बेचेर उछिन्ने त होइन भन्ने चुनौती खडा भएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा देखापर्ने जटिलता र त्यसले सिर्जना गर्ने अवस्थाले विश्वको शक्ति सन्तुलनमा फेरबदल ल्याउने निश्चित छ । परिणाम स्वरूप अब संसारका हरेक विकासक्रम कोरोना अघि र कोरोना पछिमा विभाजित हुनेछन् । कोरोना समयले मुख्यतया विश्व बहुध्रुवीय दिशामा अघि बढेको कुरा स्पष्ट भएको छ । तीव्र संक्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्धमा कोभिड–१९ को विश्वव्यापी आघातले बहुआयामिक असर गर्नेमा दुईमत छैन ।
वातावरणमा पारेको प्रभाव :
जीवित र निर्जीव वस्तुको समष्टिगत रूप नै वातावरण हो । भूमि, हावा, पानी, सौर्यशक्ति, मानव प्राणी, जीवजन्तु, बिरुवा, जंगल र अन्य वस्तु सबै प्राकृतिक परिवेश समेतलाई वातावरण भनिन्छ । मानवजातिको जीवनशैली सँगसँगै रहेको भूमि, हावापानी, बोटबिरुवा, जीवजन्तु, जंगल आदि सबै मिलेर बनेका प्राकृतिक एवम् पर्यावरणीय विविधतालाई पनि वातावरण भनिन्छ । संक्षेपमा भन्ने हो भने वातावरण प्राकृतिक सम्पदा हो ।
भाइरस धेरै प्रकारका हुन्छन् । कोरोना पशुपंक्षी, मुसा, चमेरो र जंगली जनावरको शरीरमा पाइने भाइरस हो । यसले कुुखुरा, चरा, सुँगुर तथा अन्य पशुपंक्षीमा रुघाखोकी गराउँछ । पशुपंक्षीमा देखा पर्ने प्रयाजसो भाइरस मानिसको सम्पर्कमा आउने गर्छ । भाइरसले आफ्नो आनुवंशिक रूपमा परिवर्तन गर्दै जाँदा नयाँ भाइरसको विकास हुन्छ । अनुसन्धाकर्ताहरूका अनुसार मानवले वातावरणप्रति देखाउने अव्यावहारिकताका कारण नयाँ–नयाँ प्रजातिका विषाणु तथा किटाणु उत्पन्न हुनेगर्छ । कोभिड–१९ पनि यस्तै वातावरणीय असन्तुलनको परिणाम हो । गरिब होस् या धनी सुविधा सम्पन्न भए पनि वातावरणमा पारेको असरबाट आज यस्तो भयावहको स्थिति आएको हो । कोभिड–१९ पनि यस्तै नयाँ प्रजातिको भाइरस हो । हाल देखा परेको भाइरस यसभन्दा पहिले देखा परेका भन्दा नयाँ प्रकारको भएकोले नोवेल कोरोना भाइरस भनिएको हो । यो भाइरस जीवजन्तुबाट मानिसमा सरेको अनुमान गरिएको छ । यो कोभिड–१९ नयाँ प्रजातिको भाइरस भएकोले संसारका मानिसको शरीरमा रोगविरुद्ध लड्ने रोगप्रतिरोध क्षमता कमजोर देखिएको हो । परिणाम स्वरूप यो भाइरस विश्वव्यापी महामारीको रूपमा फैलिएको हो । विश्वभर सबैले आफ्नो स्रोत, साधन प्रयोग गरी आ–आफ्नै तरिकाहरू अपनाएर कोभिड–१९ महामारी रोकथाम र निवारण गर्न पर्यत्न गरिरहेका छन् ।
प्रकृति, वातावरण र मानिस एक अर्कोमा फरक देखिए पनि यी एकै हुन् । यिनीहरूबीच एक–अर्कासँग अन्योन्याश्रित सम्बन्ध रहन्छ । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास भएको छ, जसले प्रकृतिमै असन्तुलन कायम गर्छ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरणबीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्छ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयम् संकटमुक्त हुनु हो । प्रकृतिविरुद्धमा कोही पनि जान सक्दैन । यति कुरा थाहा हुँदाहुँदै पनि मानव प्रकृतिमाथि विजय प्राप्त गर्ने नाममा गलत कार्य गर्न उद्धत छ । प्राकृतिक सन्तुलन विथोल्ने काम केवल मानवले मात्र गरेको पाइन्छ । अन्य प्राणी त प्राकृतिक सुन्दरतामै रमाइरहेका हुन्छन् । मानवले मात्र प्राकृतिक वातावरणलाई आफ्नो अनुकूल बनाउने कोसिस गरेका कारण प्रकृति नै विनाश गर्न अग्रसर देखिन्छ । परिणाम स्वरूप विश्वमा विभिन्न कालखण्डमा ठूलठूला महामारीको सामना गर्नु परिरहेको छ ।
कोरोनाले सिर्जना गरेको असुरक्षा :
विश्वलाई नै निकै चुनौती दिइरहेको कोरोना भाइरसले विश्वका विविध क्षेत्रहरूमा व्यापक प्रभाव पारेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य सङ्गठनको पछिल्लो रिपोर्टहरूले स्थिति भयावह हुने कुराको आँकलन गरिसकेको छ । यसै परिदृश्यलाई हृदयंगम गरी यसले विश्वव्यापी बहुआयामिक रूपमा सिर्जना गरेका असुरक्षा निम्नानुसार रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ ।
सामाजिक सद्भाव, सहिष्णुता, सामाजिक सम्बन्ध, सांस्कृति अभ्यासहरू पश्चिमी सभ्यता र पूर्वीय सभ्यतामा फरक–फरक छन् । आज विश्वभरि एक–आपसमा भेट हुँदा हात मिलाउने, अंकमाल गर्ने, गाला जुटाउने क्रियाकलाप नगरी पूर्वी सभ्यतानुसार नमस्कार गरी आदर र सद्भाव गर्ने खालका संस्कृतिको अभ्यास भइरहेको छ ।
कोरोना भाइरसले विश्वको पूरै आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । विश्व आर्थिक मन्दीमा फस्न सक्ने खतराका संकेतहरू देखिन थालेका छन् ।
कोरोना भाइरसका कारण समग्र विश्वको पर्यटन क्षेत्र धरासायी बनेको छ ।
कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये रोजगारी प्रमुख क्षेत्र हो । विश्वमै हेर्दा अमेरिकामा अहिले बेरोजगार भत्ता लिन करिब डेढ करोड मानिसहरूले आवेदन दिएका छन् भने छिमेकी भारतमा झन्डै एक करोड मानिसहरूले रोजगार गुमाएको समाचारहरू प्रकाशित भइरहेका छन् तथा नेपालजस्ता कमजोर मुलुकको स्थिति के होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
कोरोना भाइरसका कारण अहिले प्रायः औद्योगिक क्षेत्रहरू ठप्प छन् भने अन्तर्राष्ट्रिय व्यापार, पारवहन, लगानीका क्षेत्रहरू, आयात निर्यातजस्ता सबै क्षेत्रहरू प्रभावित भएकाले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ ।
वर्डफ्लू, स्वाइन फ्लू, इबोला, हालको कोरोना भाइरसजस्ता संक्रमणहरू कुनै न कुनै रूपमा वातावरणसँग जोडिएका छन् ।
निष्कर्ष :
कोरोना भाइरसको विश्वव्यापी प्रभावले हरेक क्षेत्रमा असर परेको छ । विश्वको जियो पोलिटिकल अवस्थादेखि आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, मानिसको मनोवैज्ञानिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, यातायात, बैंक तथा वित्तीय क्षेत्रहरू लगायत मानिसहरूको आधारभूत क्षेत्रहरूसम्म जताततै कोरोनाको प्रभाव परेको छ । सारा विश्वको देशहरू कोरोनाको डिफेन्समा लागेका छन् । अब संसारका हरेक विकासक्रम कोरोना अघि र कोरोना पछिमा विभाजित हुनेछन् । मानव इतिहासमा सबै जसो महामारी वा संकट विश्व व्यवस्थामा युगान्तकारी परिवर्तनका कारक बनेका छन् । कोरोना महामारी हाम्रो पुस्ताको यस्तै गेम चेन्जर बन्ने स्पष्ट संकेत गरेको छ । दोस्रो विश्वयुद्धपछि निर्वाध रहेको अमेरिकी शक्ति र विश्व नेतृत्वको क्षमतालाई कोरोनाले क्रमभङ्ग गरिदिएको छ ।
(लेखक कानुन व्यवसायी हुन् ।)
प्रकाशित मितिः २६ आश्विन २०७७, सोमबार १२:१८
साझा बिसौनी ।