उद्योग चलाउन चुनौतीका चाङ
वीरेन्द्रनगर–६ मा लगनशील कोसेली टेक्सटायल उद्योग सञ्चालनमा छ । कोरोना भाइरसका कारण लामो समयको बन्दाबन्दीमा यो उद्योग पनि पूर्णरूपमा बन्द रह्यो । लकडाउन खुल्यो । ढाकाका कपडा उत्पादन गर्दै आएको उक्त उद्योग पनि सञ्चालनमा आयो । तर, कच्चा पदार्थ र जनशक्तिको अभाव तथा बजार नपाउने समस्याले उद्योगले गति लिन सकेको छैन । ‘माग कम हुन थालेपछि उत्पादन घटायौं । उद्योगमा अहिले तीन जना मात्रै कार्यरत हुनुहुन्छ,’ उद्योगका सदस्य कौशिला थापाले भनिन् । लकडाउनअघि सात जना कामदार कार्यरत थिए । उद्योग सञ्चालनमै चुनौती आएपछि कर्मचारीसमेत कटौती गर्नुपरेको उनी बताउँछिन् ।
उद्योगले १० जनालाई नियमित सीपमूलक तालिमसमेत दिँदै आएको थियो । हाल तालिमका कार्यक्रमहरू पनि स्थगित छन् । ‘व्यापार राम्रोसँग भएको छैन । कच्चा पदार्थको अभाव उस्तै छ । उत्पादित सामग्री बिक्री नभएपछि कामदार पनि घटाएका छौं,’ थापाले भनिन् । घरभाडा र भएका कर्मचारीलाई पनि पारिश्रमिक दिन समस्या भएको उनले सुनाइन् ।
वीरेन्द्रनगर–२ मा अर्को घरेलु उद्योग सञ्चालनमा छ, निकास ढाका उद्योग । यो उद्योगलाई पनि अहिले कच्चा पदार्थको अभाव छ । केही कामदारहरू घरमै रहेर काम गरेका छन् भने केहीले उद्योगमै आएर काम गर्छन् । बाहिरबाट कच्चा पदार्थ ल्याउन सहज नभएको उद्यमी गंगा चौधरीले बताइन् । हाल आठ जनाले उद्योगमा काम गरिरहेका छन् । पहिलेको तुलनामा उत्पादन निकै घटेको छ ।
यी अहिले सबै साना तथा घरेलु उद्योगले झेलिरहेका साझा समस्या हुन् । कर्णालीमा ठूलो लगानीका उद्योग छैनन् । साना तथा घरेलु उद्योगसमेत धरासायी बन्दै गएपछि त्यहाँ कार्यरत मजदुरहरूको रोजगारी मात्रै गुमेको छैन उद्योगीहरूसमेत पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रदेशकै एक मात्र वीरेन्द्रनगरको औद्योगिक क्षेत्रभित्र २७ वटा उद्योग छन् । तीमध्ये २१ वटा उद्योग मात्र हाल सञ्चालनमा छन् । सञ्चालनका रहेका उद्योगले पनि राम्रोसँग उत्पादन र व्यापार गर्न सकेका छैनन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालय प्रमुुख जीवनारायण बन्जाडेले उद्योगहरू सञ्चालनमा थुप्रै चुनौती रहेको बताए । ‘कतिपयले राम्रै उत्पादन गरिराखेका छन् । अधिकांश उद्योग भने जनशक्ति, कच्चापदार्थ र बजारको समस्या छ,’ बन्जाडेले भने । औद्योगिक क्षेत्रमै रहेको सिद्धार्थ उड इन्ड्रष्टीका सञ्चालक हरि थापा उत्पादन भएको सामग्री पनि पहिलेको तुुलनामा कम खपत हुने गरेको बताउँछन् । महिना पुग्न बित्तिकै बैंकमा किस्ता र ब्याज तिर्नुपर्छ । व्यापार ठप्पप्रायः छ । कच्चा पदार्थ पनि हामीले सहज रूपमा पाएका छैनौं,’ काठका सामग्री उत्पादन गर्दै आएका थापाले भने ।
दैलेखमा अगरबत्तिको उद्योग सञ्चालन गर्दै आएकी टीका जैसीले कच्चा पदार्थ नभएकै कारण अहिले उद्योग बन्द भएको बताइन् । जैसीलाई लकडाउनअघि बजारको माग अनुसार उत्पादन गर्न धौ–धौ हुन्थ्यो । उद्योगका लागि आवश्यक समाग्री बाहिरबाट ल्याउन समस्या हुँदा उत्पादन गर्न नसकिएको उनी बताउँछिन् । अगरबत्ति उत्पादनका लागि लेबल र सेन्टलगायतका कच्चा पदार्थ आवश्यक पर्छ । अगरबत्तिको माग बढ्न थालेपछि सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने योजना भए पनि कोरोनाका कारण अलपत्र परेको उनले बताइन् ।
झण्डै सात महिनायता अधिकांश व्यापार–व्यवसाय घाटामा चलिरहेका छन् । कोरोना महामारीका कारण सबै क्षेत्र उत्तिकै प्रभावित बनेको हो । मानिसहरूको आवागमन पातलो हुँदा व्यापार–व्यवसायमा झनै गिरावट आएको छ । दैलेख उद्योग वाणिज्य संघकी सदस्य राधा ज्ञवालीले दैलेखमा उद्योग व्यवसाय घाटामै चलिरहेको बताइन् । कोरोनाको जोखिम बढ्दै गएकाले पनि उद्योग सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ ।
गएको चैत महिनादेखि देशभर लकडाउन भयो । उद्योग कलकारखाना बन्द रहे । बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो प्रभाव प¥यो । उद्योग कारखाना बन्द हुँदा धेरैको रोजगारीसमेत गुमेको छ । लकडाउन असारदेखि खुलेपनि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न भनेको छ । तर, यी क्षेत्रलाई पहिलेकै अवस्थामा आउन भने हम्मे–हम्मे परिहरेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले लकडाउनपछि कुनै पनि उद्योग व्यवसाय फस्टाउन नसकेको बताए । ‘बाहिरबाट सहजरूपमा सामान आउने अवस्था छैन । उद्योग व्यवसाय खुलेपनि व्यवसायीहरू घाटाको व्यापार गर्न बाध्य छन्,’ रावतले भने । उद्योगीलाई बैंकको ब्याज, किस्ता, घरभाडा तिर्न परेको उनी बताउँछन् । सरकारले संकटमा रहेका साना तथा घरेलु उद्योगहरूलाई उकास्न विशेष कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष रावतको भनाइ छ ।
कर्णालीमा २१ हजार नौ सय ३६ वटा लघु तथा घरेलु उद्योग दर्ता छन् । यहाँ ठूला र मझौलास्तरका उद्योगहरू छैनन् । साना उद्योगहरूबाटै धेरै नागरिकहरू रोजगार र स्वरोजगार बनेका छन् । उद्योग व्यवसाय यो अवधिमा सञ्चालन खर्चसमेत उठाउन नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगी बताउँछन् । कोरोनाका कारण प्रभावित उद्योगहरू अझै पनि प्रतिकुल अवस्थामै रहेको उनले बताए । उनले भने, ‘हामीले अनुगमनका क्रममा कच्चा पदार्थको अभाव, बजारीकरणको समस्या, प्रविधि र केही उद्योगमा जनशक्तिको अभाव पायौं ।’ निर्देशक योगीले उद्योगहरू पुरानै अवस्थामा फर्किन समय लाग्ने जनाए ।
प्रकाशित मितिः २१ आश्विन २०७७, बुधबार १०:०७
मुना हमाल ।