रहेनन् ‘हाड हेर्ने’ हरि

सम्झना

दिनेश गौतम

म वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होमको आकस्मिक कक्षको बेडमा छु । र पर्खिरहेको छु, डा.हरी सापकोटालाई । एउटा दुर्घटनामा परेपछि मलाई देउती नर्सिङ्ग होमको इमर्जेन्सी कक्षमा पु¥याइएको थियो । बाँया खुट्टाको जोर्नी फुटेको थियो । त्यसको पीडा असैह्य थियो । घाउ दुखिरहेको थियो, मनमा छटपटि बढिरहेको थियो ।

देउतीमा लैजानुअघि छरछिमेकले ‘सुर्खेतमा उपचार राम्रो हुँदैन’ भनेर मलाई नेपालगञ्ज लैजान सिफारिस गरिरहेका थिए । तर बुवा भने सुर्खेतमै उपचार गर्न दृढ हुनु हुन्थ्यो । नेपालगञ्ज लैजान सिफारिस गर्नेहरूलाई नै सम्झाउँदै उहाँले भन्नुभयो, ‘नेपालगञ्जजत्तिकै राम्रो गर्ने डाक्टर यहीँ छन्, हरि सापकोटा ।’

सुर्खेतमा उपचार गर्दा खर्च कम हुन्थ्यो । घरबाट नजिक पनि हुने र डाक्टर पनि भरासिला । त्यसैले मलाई उपचारको लागि सुर्खेतमै राखियो । बुवालाई डा. हरिको भरोसा थियो, मलाई बुवाको ।

म आकस्मिक कक्षको बेडमा उनै डा. हरिको प्रतिक्षामा थिएँ । उनी आएर हेरेपछि के भएको रहेछ भन्लान्, अब के गर्ने भन्ने विषयमा पनि त केही न केही निक्र्याेल होला ।

अन्ततः साँझ ६ बजे डाक्टर आए, मलाई हेरे, ‘दुख्याछ ?’ भनेर सोधे । मैले मुन्टो हल्याएर दुखेको जनाउ दिएँ । ‘केही छैन, सब ठीक हुन्छ’ उनले थप भरोसा दिलाए, ‘सामान्य चोट हो, भोलि बिहान अप्रेसन गर्नुपर्छ निको भइहाल्छ ।’

हरिले केही औषधी लेखिदिए र बाहिरिए । अर्को दिनको बिहान करिब तीन घण्टा लगाएर मेरो खुट्टाको अप्रेसन भयो । त्यही दिनदेखि उनीसँग लगातार २९ दिन मेरो भेट भइरह्यो, दैनिक दुई पटक ।

म बसेको कोठा न. ११ मा तीन वटा बेड थिए । त्योबीचमा धेरै बिरामीहरू आए–गए । धेरै बिरामीहरू निको भएर फर्किए, एकजनाको त निधन पनि भयो ।

हामी आ–आफ्नो बेडमा हुन्थ्यौं तर सबैलाई उनै डाक्टरको प्रतिक्षा हुन्थ्यो । हाम्रा भरोसा उनै थिए । अरु बिरामी पनि भन्थे ‘हरि डाक्टर यहीँ भ’को भ’र नेपालगञ्ज गइएन ।’

डाक्टर हरि आउँथे, उनी आउँदा बिरामीहरूको अनुहार उज्यालिन्थ्यो । भरोसाले आँत भरिन्थ्यो । विश्वासले आँट थप्यो । उनी आफ्नो सहयोगी नर्ससँग बिरामीको बारेमा जानकारी लिन्थे । बिरामीसँग हालखवर सोध्थे । ‘घर जान मन ला’को छ कि के छ ?’ भन्थे । बिरामीको कुरुवालाई ‘नआत्तेर बस्नुस्’ भनेर सम्झाउथे अनि जान्थे ।

मेरो सन्दर्भमा चाँही अलिक फरक अनुभव पनि रह्यो । बिरामी भइसकेपछि म बेडबाट हल्लीन सक्दिनथेँ । समय बिताउन निकै कठिन हुन्थ्यो, त्योबेला मोबाइल पनि थिएन, भर्खर–भर्खर त प्रचलनमा आएको थियो । एउटा सानो रेडियो थियो, त्यहि सुनेर बस्थेँ ।

पत्रिका पनि पढ्थेँ । सँगै किताब पढ्न थालेँ । त्योबेला एकजना साथीले मलाई दुई वटा किताब ल्याइदिएका थिए । त्यो पढेँ अनि पत्रपत्रिका पनि पढ्न थालँे । प्रायः साँझ डाक्टर आउँदा म केही न केही पढिरहेको हुन्थेँ । डाक्टर हरिले भन्थे, ‘गुड, यसरी पढेर पो समय बिताउने हो । भाइले खुब किताब पढ्छ कि क्या हो ?’ म हाँसे । त्यसदिनदेखि डाक्टर हरिले अझै माया गरे । प्रत्येक दिन साँझ मेरो बेडमा आउँदा उनले त्यो दिनको राष्ट्रियस्तरका चार–पाँच वटा पत्रिका बोकेर आउथे अनि मलाई दिन्थे । ‘मैले त पत्रिका पढ्न पनि फुर्सद पाइन, भाइले सबै पढ्ने अनि के–के भएको रहेछ मलाई भोलि बिहान भन्ने ल’ उनी भन्थे । म हास्थँे ।

अर्को दिन उनले सोध्लान् भनेर पनि पत्रिकाका सबै समाचारदेखि लेखहरू समेत पढेर भ्याउँथे, र डाक्टरले सोध्दैनथे । यो क्रम म २०६८ जेठ २५ गते अस्पतालबाट डिस्चार्ज नहुन्जेसम्म चलिरह्यो ।

डिस्चार्ज भएपछि पनि म दुई वर्षसम्म निरन्तर डाक्टरकहाँ गइराख्थेँ । उनले मजैले चिन्थे, हालखवर सोध्थे र पढाइ कहाँ पुग्यो पनि भन्थे । म निको भएँ । त्यसपछि केही वर्षसम्म डाक्टर हरिसँग मेरो भेट भएन ।

तर, २०७४ सालमा म फेरि अर्काे दुर्घटनामा परेँ । फेरि जानु त त्यहीँ थियो । मलाई देउतीमै लगियो । त्यो बेला पनि उनैले मेरो अप्रेसन गरे । अप्रेसनको समयमा उनी केही न केही कुरा गरिरहेका हुन्थे, बोलिरहेका हुन्थे । आंशिक अचेत बनाए पनि म उनको कुरा सुनिरहेको हुन्थेँ ।
त्यसपछिका दिनहरूमा पटक–पटक म उनीकहाँ पुग्थेँ । सामान्य हाडजोर्नी वा नशाको समस्या पर्दा उनैकहाँ गएर उपचार गरियो । र, मेरो अन्तिम भेट एक महिना अगाडि त्यहीँ देउती नर्सिङ्ग होममा भएको थियो ।

म जति पटक बिरामी भएँ, उपचारका लागि सधै उनैकहाँ गएँ । पटक–पटक उपचारमा गइरहँदा मानिसहरू डाक्टरको प्रतिक्षा गरिरहेका हुन्थे । अस्पतालका कर्मचारीलाई सोधिरहेका हुन्थे, ‘हाड हेर्नी हरि डाउटर अझै आएनन् ?’

करिब दुई हप्ता अगाडि प्रदेश अस्पताल सुर्खेतले विज्ञप्ती प्रकाशित गरी प्रदेश अस्पतालका केही डाक्टर तथा कर्मचारीमा कोरोना देखिएको कारण सेवा प्रभावित हुने बताएको थियो । त्यो सँगै आएका समाचारमा कोरोना लागेका डाक्टर हरि पनि हुन् भन्ने पढेको थिएँ । तर कोरोनासँग त्यति डराउनु पर्ने जस्तो लागेको थिएन । संक्रमितहरू लगभग सबै निको भइरहेका थिए ।

केही दिनपछि डाक्टर हरि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएको समाचार आएको थियो, त्यो पनि सामान्य नै लागेको थियो । पक्कै निको भइहाल्छन् नी, डाक्टर पो हुन त भन्ने लागेको थियो । तर रोगले डाक्टरलाई छाडेन । दुईहप्ता अस्पतालमा बाँच्न अधिक प्रयास गरेका डाक्टर हरिको अवस्था नाजुक बन्दै गएको रहेछ । एक्कासी उनको निधन भएको नमिठो खबर आयो । मन अमिलियो । पीडाबोध भयो । भरोसाको एउटा डोरी कतै चुँडिएजस्तो भयो ।

बिरामी त फेरि पनि भइएला । समस्या आउलान्, आफूलाई वा आफ्नालाई । तर अब त्यति सजिलै जाने ठाँउ रहेन । भरोसाको एउटा बलियो खम्बा रहेन । त्यो हसिँलो अनुहार अब देखिने छैन, भेटिने छैन  । त्यति धेरै माया गर्ने डाक्टर रहेनन् । हाडजोर्नी र नशा रोगमा कर्णालीको एउटा ख्याति अस्ती असोज १५ गतेदेखि अस्ताएको छ ।

तिक रूपमा डाक्टर त अस्ताए, तर उनले दुई दशक कर्णालीमा बसेर उपचार गरि निको बनाएको बिरामीहरूको मनबाट उनी कहिल्यै अस्ताउने छैनन् । अलविदा डाक्टर हरि !

प्रकाशित मितिः   १७ आश्विन २०७७, शनिबार ०९:२९