स्थानीय उत्पादन: कतै लहड, कतै निरूत्साहित
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू) ले गएको वैशाखमा सेनिटाइजर उत्पादन गर्न सुरु ग¥यो । कोरोना भाइरसलाई लक्षित गरेर सेनिटाइजर उत्पादन गर्न थालेको विश्वविद्यालयले सुरुमा भनेको थियो, ‘अध्ययन अनुसन्धानलाई उत्पादनसँग जोडिनेछ ।’ एमयूको उक्त समाचारले स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यमसम्म राम्रै स्थान पायो । केही दिन लगाएर झण्डै दुई सय लिटर मात्रै सेनिटाइजर उत्पादन गरेको विश्वविद्यालयले त्यसयता उत्पादन गरेन । उतिबेला उपकुलपति प्रा.डा. नन्दबहादुर सिहंले सेनिटाइजरलगायतका स्वास्थ्य सावधानीका सामग्रीहरू उत्पादन गरेर विश्वविद्यालयको जनशक्तिलाई उद्यमशिलतासँग जोड्ने बताएका थिए । उनको योजना भने एक साता पनि टिक्न सकेन । उत्पादन गरिएका केही नमुनाहरू उनले व्यक्ति तथा संस्थाहरूलाई निःशुल्क हस्तान्तरण गरे । समाचार बने ।
त्यतिबेला बजारमा सेनिटाइजर, मास्क जस्ता सामग्रीको निकै अभाव थियो । एमयूले नै यस्ता सामग्री उत्पादन गर्ने भनेपछि धेरैले प्रशंसासमेत गरे । दुई दिन चर्चा बटुलेको विश्वविद्यालयले तत्कालै सेनिटाइजर उत्पादन गर्न छोडेको हो । विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईंले कोरोनाकै कारण सेनिटाइजरको उत्पादन रोकिएको जिकिर गरे । विश्वविद्यालयले आगामी दिनमा यसको निरन्तरताको लागि व्यवस्थापकीय पाटो मिलाइरहेको उनको भनाइ छ । निरन्तरता दिन नसकेपछि विश्वविद्यालय पदाधिकारीलाई चर्चामा आउन उत्पादनको स्वाङ दिएको भन्ने आरोप समेत लाग्यो ।
सुुर्खेतमै पहिलो पटक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उत्पादन थालियो । कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरूका लागि पीपीई अति आवश्यक थियो । बजारमा अभाव उस्तै थियो । सामाजिक विकास मन्त्रालयलको समन्वयमा मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले पीपीई सेटको उत्पादन सुरु गरेका थिए । मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले सुरुमा राम्रो माग भएर उत्पादन गरिए पनि अहिले बाहिरबाट सामग्री आउन थालेपछि उत्पादन बन्द गरिएको बताए । ‘स्थानीय उत्पादन ओझेलमा परेको छ’ उनले भने, ‘हामीले जेठ महिनासम्म मात्रै पीपीई उत्पादन ग¥यौं ।’ त्यसबेला बनाइएका पीपीई अझै बिक्री नभएपछि उत्पादन नै बन्द गर्नुपरेको उनी बताउँछन् ।
मुनाल गार्मेन्टले सात सय सेट पीपीई उत्पादन गरेर थियो । त्यसमध्ये केही बिक्री भए भने केही थान अझै गोेदाममै थन्किएका छन् । उत्पादनका लागि समन्वय गरेको मन्त्रालयले समेत बिक्रीका लागि वातावरण तयार नगरेको हो । बजार पाउनै छोडेपछि उत्पादन रोक्न बाध्य हुनुपरेको सञ्चालक खड्काले बताए ।
सुर्खेतमै सञ्चालित अर्को गार्मेन्ट देउती होजियारीले पनि पीपीई उत्पादन थालेको थियो । सञ्चालक लक्ष्मीप्रसाद ढकालका अनुसार अहिले उक्त उत्पादनको काम बन्द भइसकेको छ । सुरुवातमा करिब एक हजार पाँच सय सेट पीपीई बिक्री गरेको गार्मेन्टले बाहिरको समान आएपछि बिक्रीको समस्या देखेर उत्पादन रोकेको हो । ‘हाम्रो उत्पादन खपत भएन । बजारको समस्याका कारण उत्पादन नै बन्द गरियो,’ ढकालले भने ।
मन्त्रालयले नै भनेर उत्पादन गर्न सुरु गरेपनि पछि गुणस्तर नहुने भन्दै मन्त्रालयले खरिद नगरेको गार्मेन्ट सञ्चालकहरूको गुनासो छ । ‘सुरुमा हामीले केही जोखिम हुुन्छ की भनेर बनाउँदैनौँ भनेको थियौं । मन्त्री आफैले बनाउनु हामी लिन्छौं भन्नुुभयो । अहिले बाहिरको सामान आउन थालेपछि गुणस्तर छैन भन्न थालियो,’ ढकालले भने । बाहिरबाट आयातित सामग्रीलाई प्राथमिकता दिँइदा आफ्नो उत्पादनले बजार नपाएको उनले बताए । यहीको उत्पादनलाई थप गुणस्तरीय बनाउन सकिने हुँदाहुँदै त्यसतर्फ सरकारी निकायले समेत बेवास्ता गर्दा आफूहरू निरूत्साहित भएको उनले बताए ।
अहिले गाउँ–गाउँमा स्थानीय सरकार छन् । त्यहाँ पनि उद्यमीहरूले केही न केही उत्पादन सुरु गरिरहेका छन् । तर, स्थानीय तहहरूले ती उद्यमलाई प्रोत्साहन भने गरेको पाइँदैन । कतै लहड त कतै चर्चा बटुल्न मात्रै उत्पादन सुरु गरेको जस्तो मात्रै देखिन्छ । दैलेखको गुराँश गाउँपालिकाले केही संस्थासँग समन्वय गरेर गाउँमै मास्क बनाएर नागरिकलाई वितरण ग¥यो । अहिले मास्क उत्पादन रोकिएको छ । गाउँपालिकाले सबै नागरिकलाई मास्क वितरण गरेर मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन खोजेकाले अहिले उत्पादन नगरेको अध्यक्ष खेमराज वली बताउँछन् । उनका अनुसार त्यो सन्देश दिनु मात्रै थियो । ‘हामीले सन्देश दिनका लागि आफै मास्क उत्पादन गरेर वितरण गरेका थियौं’ उनले भने, ‘स्थानीयस्तरमै सधै उत्पादन गर्न सकेको भए राम्रो भने हुनेथियो ।’
त्यस्तै, सल्यानको त्रिवेणाी गाउँपालिकाले पनि कपडाको मास्क तयार गरेको थियो । गाउँपालिकाले आफै उत्पादन गरेर स्वास्थ्य शाखाहरूमार्फत नागरिकलाई वितरण गरेको हो । अहिले त्यहाँ पनि मास्क उत्पादन गर्न बन्द गरिएको पालिकाका सूचना अधिकारी पहलमान वलीले बताए ।
बजारमा मास्क अभाव भएपछि स्थानीय तहहरूले आफै मास्क बनाएर नागरिकलाई वितरण गरेका थिए । अहिले कोरोना जोखिम झन बढ्दै गएको छ । बजारमा आयातित मास्क पाउन थालेपछि स्थानीय उत्पादनमा कसैको चासो गएको छैन । विभिन्न जिल्ला तथा पालिकाहरूमा थालिएका यस्ताखाले उत्पादन बन्द भएका छन् । कोरोनाको जोखिम कम भएका बेला मास्क उत्पादन गरेर वितरण गरेका स्थानीय तहहरूले अहिले उत्पादन झनै आवश्यक पर्ने बेला उत्पादन गर्न छोडेका हुन् ।
कर्णालीमा ठूला उद्योग छैनन् । घरेलु तथा साना लगानीका उद्योगहरूले क्षमता अनुसारको उत्पादनका लागि प्रयास गरेपनि सरकारी निकायबाट प्रोत्साहन पाउन सकेका छैनन् । जसका कारण साना उद्योगीहरू मर्कामा पर्दै आएका छन् भने परनिर्भरता झनै बढ्दै गएको छ ।
प्रकाशित मितिः १७ आश्विन २०७७, शनिबार ०९:२४
साझा बिसौनी ।