कम्युनिष्ट अभ्युदय र उल्झन

ध्रुवकुमार अधिकारी

विषय प्रवेश

नेपालको कम्युनिष्ट आन्दोलनमा वि.सं. २००६ साल वैशाख १० गतेलाई विशेष ऐतिहासिक दिनको रूपमा स्मरण गरिन्छ । भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द बैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी संस्थापक रहेको नेपालको पहिलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको दिन । नेपालको राजनीतिक इतिहासमा क्रान्तिकारी र बलिदानीका भावमा सुरुमा कम्युनिष्ट देखिएको इतिहास पढ्न पाइन्छ । तर पछिल्लो समयमा यसमा प्रश्न चिन्ह पनि खडा भएको छ ।

इतिहासमा शासन व्यवस्था र कम्युनिष्ट सहभागिता

विश्वमा भएका दुईवटा नरसंहारकारी विश्वयुद्धले विश्वलाई दुईवटा ध्रुवहरूमा विभाजित ग¥यो । त्यसको प्रभाव नेपालमा पनि धेरथोर परेको मानिन्छ । तर पनि नेपालमा भने पहिलो आन्दोलनको रूपमा विराटनगर जुट मिलको आन्दोलनलाई लिन सकिन्छ जसको गुप्तरूपमा मनमोहन अधिकारीको नेतृत्व थियो । एजेण्डामा मजदुर युनियनले उचित पारिश्रमिक र काम गर्ने राम्रो वातावरणको माग राखेको थियो । यो आन्दोलन कम्युनिष्ट नेतृत्वको वर्गीय आन्दोलनको एक रूप भएको दावी पनि गरिन्छ ।

कोतपर्वपछि राणाहरूले निरंकुश शैलीमा शासन गरिरहे । त्यो शासन प्रणालीको स्वरूप कहीँ कतै पूँजीवादी भए पनि खास सामन्ती नै थियो । त्यतिखेरकोे अर्थतन्त्र आत्मनिर्भर प्रकारको थियो । किसानहरूले आफूलाई चाहिने सबै वस्तु आफै उत्पादन गर्ने गर्दथे । उनीहरूको जमिन एकदमै कम थियो । त्यसैले किसानहरूले अधियाँ र ज्यावलको रूपमा उत्पादन गर्ने गर्दथे । उत्पादनको तीन चौथाईसम्म कर तथा अधियाँको रूपमा मालिकहरूलाई बुझाउनु पथ्र्यो । यसरी किसानबाट उठाएको तिरो राणा, जमिन्दार, ठालु र सामन्तीहरूले आफ्नो व्यक्तिगत मोजमजामा नै लगाउने गर्थे । यो कुरा क्रान्तिकारी स्वभावका कसैलाई पनि मन पर्दैनथ्यो । यस्ता धेरै अन्यायहरूको विरोध गर्ने पार्टी खासै थिएनन् । पछि नेपाल कम्युनिष्ट पार्टी जनताको प्रिय पार्टी बन्न गयो । वि.सं. २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव मनमोहन अधिकारी भए । वि.सं. २०१४ जेठमा नेकपाको दोस्रो महाधिवेशन भयो । केशरजंग रायमाझी महासचिव बने । उनी राजा निकट भएका कारण वि.सं. २०१७ साल पछि पहिलो पटक कम्युनिष्ट पार्टी विभाजन भयो ।

वि.सं. २०१९ सालमा पार्टीको तेस्रो महाधिवेशन भयो । उक्त महाधिवेशनमा अन्तरजोन सामञ्जस्य समितिका मन्त्री तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित भयो । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीमा टूटफूटको स्थिति सिर्जना हुन थाल्यो । केही कम्युनिष्ट युवाहरूले वि.सं. २०२८ सालमा झापा विद्रोह गरेका थिए । वि.सं. २०३५ साल साउनमा पुष्पलालको निधन भयो । यही वर्षको पौषमा सिपी मैनालीको नेतृत्वमा नेकपा माले गठन भयो । पछि २०३६ सालको जनमत संग्रह नेकपा मालेले बहिष्कार गरेको थियो । तर मनमोहन अधिकारीको पार्टीले भने बहुदलको पक्षमा चुनावमा भाग लियो । वि.सं. २०४७ सालमा नेकपा एमालेको स्थापना भयो । वि.सं. २०४६ सालको जनआन्दोलन पछि मदन भण्डारी महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (माले) र मनमोहन अधिकारी महासचिव रहेको नेकपा (माक्र्सवादी) बीच भएको एकीकरणपछि नेकपा एमाले बनेको हो ।

एकीकृत पार्टीका अध्यक्ष मनमोहन अधिकारी भए भने महासचिव मदन भण्डारी भएका थिए । धेरै जसो कम्युनिष्ट पार्टीले वि.सं. २०४८ को आमनिर्वाचनमा भाग लिए । तर डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको संयुक्त जनमोर्चाले संसदलाई ‘खसीको टाउको राखी कुकुरको मासु बेच्ने थलो’ भन्दै निर्वाचन बहिष्कार गरेको थियो ।

वि.सं. २०४९ सालमा सम्पन्न एमाले महाधिवेशनबाट नेकपा–एमालेले जनताको बहुदलीय जनवादलाई ग्रहण गरेको हो । वि.संं. २०४८ को आम चुनावबाट नेकपा–एमाले नेपालको दोस्रो ठूलो पार्टी बन्यो भने वि.सं. २०५१ मा नेकपा–एमाले पहिलो पार्टी बन्यो । तर विडम्बना वि.सं. २०५० साल जेठ ३ गते नेकपा–एमाले महासचिव मदन भण्डारीको जीप दुर्घटनामा निधन भयो । पछि कम्युनिष्ट लोकप्रियता बढ्दै नेपालको इतिहासमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट पार्टीको सरकार बन्यो वि.सं. २०५१ सालमा । त्यो सरकार नै हालसम्मको सर्वाधिक लोकप्रिय र परिणाममुखी सरकार मानिन्छ । त्यसपछि वि.सं. २०६५ सालमा पुष्पकमल दाहाल (प्रचण्ड), २०६६ सालमा माधवकुमार नेपाल, २०६७ मा झलनाथ खनाल, २०६८ सालमा डा. बाबुराम भट्टराई, २०७२ र वर्तमान चुनावी अवधिमा केपी शर्मा वली गरी ६ जना कम्युनिष्ट पार्टीका नेताको नेतृत्वमा कम्युनिष्ट सरकार समेत बने ।

त्यसअघि अर्को कम्युनिष्ट घटक तत्कालीन नेकपा (माओवादी) ले वि.सं. २०५२ साल फागुन १ गतेदेखि ऐतिहासिक जनयुद्धको घोषणा ग¥यो । जुन घटक मोटो मशाल, पातलो मसाल, एकता केन्द्र, संयुक्त जनमोर्चा जस्ता अनेक रूप र रंग हुँदै अन्ततः वि.सं. २०५२ सालमा जनयुद्ध थालनी गर्ने बेला नेकपा (माओवादी) बन्न पुगेको थियो ।

अर्कोतर्फ नेकपा–एमाले भने संसदीय अभ्यास र सत्ता भागबन्डामा असन्तुष्टिका कारण वि.सं. २०५४ सालमा फुटे पनि पछि वि.सं. २०५८ सालमा आत्मआलोचन सहित एकिकृत भएको इतिहास छ । वि.सं. २०६२÷२०६३ को जनआन्दोलन पछि नेकपा माओवादी पनि संसदीय अभ्यासमा आयो । पछिल्लो समयमा नेकपा एमाले र एकिकृत नेकपा माओवादीसहित धेरै साना कम्युनिष्ट पार्टीहरू एकीकृत भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बने । वि.सं. २०७४ सालको संसदीय चुनाव जितेर अहिले सरकारमा रहेका छन् ।

विभिन्न कालखण्डमा कहिले राजाको कदमलाई लिएर फुट, कहिले चीनलाई मान्ने कि रुसलाई मान्ने भन्ने विषयमा फुट, कहिले साम्यवाद कि समाजवाद भन्ने विषयजस्ता कुराहरू नेपालको कम्युनिष्ट पार्टीका फुटका मुद्दा बने । बुलेट कि ब्यालेट, प्रतिगमन कि अग्रगमन, बहुदलीय जनवाद कि नौलो जनवाद जस्ता विषयले पनि नेपालको कम्युनिष्ट आन्दोलन आफैंमा तरङ्गित भइ नै रहयो । तर पनि नेपालको राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तन र जनचेतनाको दृष्टिकोणले कम्युनिष्ट पार्टीको योगदानलाई कम आँकलन गर्न सकिन्न । यो मूलप्रवाहमा नै रहेको देखिन्छ । नेपालमा निरंकुश पञ्चायती शासन व्यवस्थाविरुद्धको लडाइँ तथा बहुदलीय प्रणालीको स्थापना, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संविधान निर्माणमा कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिका नै रहेको छ ।

पछिल्लो समयमा सानो एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरिरहेको छ । पार्टी स्थापना पछि अर्को सानो घटक नेपाल मजदुर किसान पार्टी सत्ताको स्वाद नचाख्ने पार्टीको रूपमा देखिएको छ । पछिल्लो समयमा नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकिकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यसलाई विशाल एकता मानिएको छ । सरकारको नेतृत्व पनि यसैले गरेको छ । यसरी हाल नेपालमा नेकपा, नेकपा–माओवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, विभिन्न माओवादी समूह लगायतका दर्जनौँ कम्युनिष्ट पार्टीहरू रहेका छन् ।

अब विगतलाई सम्झेर सकिन्छ पार्टी एकता सकिदैन कार्यगत एकता गरेर सबै कम्युनिष्ट पार्टीहरूले देश विकास र जनसरोकारका विषयमा हातेमालो गरेर अघि बढ्नु नै अबको बुद्धिमत्ता र परिपक्व निर्णय हुन्छ । तर हालका दिनमा पार्टीहरूमा बढ्दै गएको गुटबन्दी, व्यक्तिवादी अराजकता, आर्थिक अनियमितता, शक्तिको र सत्ताको दुरूपयोग, दबाब र धम्कीद्वारा पद प्राप्तिले अन्यौलता सिर्जना गरेको छ । अर्कोतिर बढ्दो दौडधुप, अस्तव्यस्तता, अधिकारमुखी, कर्तव्य विमुख, पलायनवादन्मुख जस्ता कुरा हालका चिन्ताका र सोचनीय विषय हुन् । अवसारवाद, कमिसनको दौडधुप, कार्यकर्ता प्रशिक्षणको अभाव, पूँजीमा आधारित चुनाव प्रणालीले समेत अप्ठ्यारो बनाएका छन् ।

उपसंहार

कम्युनिष्ट पार्टीको इतिहास नेपाली राजनीतिमा महŒवपूर्ण, रोचक, रहस्यमय र संघर्षशील देखिन्छ । अबको परिवेशमा सबै कम्युनिष्ट पार्टीहरूले साझा धारणा बनाएर संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन, देश निर्माण र विकासको लागि राष्ट्रिय सहमति र सन्तुलित परराष्ट्र नीति कायम गरी सुशासन कायम गर्नु आजको जनअपेक्षा र आवश्यकता पनि हो । यसका अतिरिक्त स्वदेशी तथा विदेशी लगानीको लागि उपयुक्त वातावरण तयार गरी हाम्रा स्रोत र साधनको विनाशर्त अधिकतम सदुपयोग गर्ने साझा एजेण्डा सबै कम्युनिष्ट पार्टीले तय गर्नुपर्छ । यस्तै संकल्पले मात्र हाम्रो देश समृद्ध बन्न सक्छ । राष्ट्रिय एकता बलियो हुन सक्छ । समाजवादको गन्तव्य भेटिन सक्छ ।

प्रकाशित मितिः   १६ आश्विन २०७७, शुक्रबार १०:११