बुढ्यौलीका दिन: उमेरले लखेट्छ, आफन्त टाढिन्छन्

कपाल मेरो लामो–लामो तोरी तेल घस्दैन, अहिले बर्खा रोई–रोई काँटे हिउँद म बस्दैन
कति पैसा प¥यो होला कालो बरखीलाई, मेरो माया मान्ने भए छोड्देउ घरकिलाई

लछीमाकुमारी गौतम (६३) ले सुनाएको गीतको टुक्का हो यो । उनलाई अचेल पूराना दिन खुबै याद आइरहन्छन् । उमेरमा गरेको रमाइलो सम्झन्छिन् । जो भेट्छिन् दुई टुक्का सुनाइहाल्छिन् । अनुहारको चाउरीपनाले बुढ्यौलीको प्रष्टै संकेत दिन्छ । लछीमाले पनि बैंसमा तोरी तेल लपक्कै लाउँथिन् । कोरीबाटी गर्थिन् । उनले भनेका टुक्का झैं कपाल पनि कालै थियो । लामै थियो । जस्तो जवानीमा जो–कोहीको हुन्छ । ‘समयको चक्र त भइगयो नानी कपाल सेतै भयो । कोरीबाटी गर्ने जाँगर पनि चल्दैन । अब बुढो भइएछ,’ उनले जिन्दगीको मोटामोटी हिसाब लगाइन् ।

विगत सम्झन्छिन् मन भारी भएर आउँछ । आफूसँगैका अरुलाई हेर्छिन् आँखिर चित्त त बुझाउनै छ । ‘अब उ दिन फर्किने नाइँ यस्तै त रै’छ मान्छेको चोला,’ लछीमाले यी शब्द मनमै सोचेकी थिइन् सायद मसिनो आवाज बनेर निस्किहाले । उसो त सुख–दुःख जे परेको होस् केही ठट्यौली गीतका टुक्का उनले गाइरहन्छिन् ।

होचो कदको मोटो शरीर । उनलाई बसेपछि उठ्नै धौ–धौ हुन्छ । पश्चिम सुर्खेतको बराहतालकी उनको आमाले सानैमा विहे गराइदिइन् । यति कलिलो उमेर थियो कि उनलाई कति वर्षमा विहे भएको थियो भन्नेसम्म याद छैन । उतिबेला अहिलेजस्तो विहे हुन्थेन, गराइन्थ्यो । उनको पञ्चपुरीमा विहे गराइयो । बुहारीले काम गर्न सकिन भनेरै परिवारले घर बस्न दिएनन् । सानो जोडतोडले घर गरिखान महिलालाई उस्तै मुस्किल पर्ने जमाना जो थियो । समाजमा आज पनि यही चिन्तन कहीँ कतै बाँकी नै छ । यस्तै निहुँमा महिलाहरू घरेलु हिंसा खेपिरहेकै छन् ।

आमाले विहे गरी पठाइदिएको घर उनको आफ्नो हुन सकेन । आमाकै आँगनमा फर्कनुको उनीसँग विकल्प पनि थिएन । माइतीमा बस्दै आएकी उनले दोस्रो विवाहको बारेमा भने कहिल्यै सोचिनन् । एउटै विहेले भाँचिएको मन अर्को विहेका लागि कहिल्यै उर्छिएन् । ‘आमा–बुवा जिउँदो हुँदासम्म त माइती मै बसेँ,’ उनले भावुक हुँदै विगत सुनाइन्, ‘आमा–बुवाले दिने माया कसैबाट नपाइने रहेछ ।’ उनका दाजुभाइ र दिदीबहिनी नभएका होइनन् । भएर के गर्नु उनका पनि त आफ्नै समस्या होलान् । लछीमा आफूले गरिखान नसक्ने भएपछि अरुले पनि रेखदेख गर्न छोडे । कसैले नहेरेपछि विगत सात वर्षदेखि उनी वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा आश्रय लिइरहेकी छन् ।

त्यहाँ उनका उमेरका अरु पनि छन् । उनले यसरी नै दिनहुँ गीतका टुक्का सुनाएर दौतरीलाई हसाउँछिन् । अरु वृद्धवृद्धाका पनि उनका जस्तै भोगाइ छन् । उस्तै सुख–दुःख बाँड्दा उनीहरू कहिल्यै हाँस्छन्, कहिले गहभरी आँशु बहाउँछिन् । उनीहरूका व्यक्तिगत सपना केही छैनन् । न कसैसँग कुनै अपेक्षा नै छन् । उनीहरूलाई लागेको एउटै कुरा छ, सरकारले बेसाहारा ज्येष्ठ नागरिकलाई खान–बस्नको राम्रो व्यवस्था गरिदेओस् बस् ।

गुराँस गाउँपालिका–६ जोरेबाँझ दैलेखका डम्बरबहादुर बुढाक्षेत्री उमेरले ७८ पुगे । उमेर हुँदा र शरीरले साथ दिँदासम्म उनलाई कोहीको सहारा कहिल्यै चाहिएला जस्तो लाग्थेन । लामो समयसम्म भारतका विभिन्न ठाउँमा नोकरी गरे । सँगै लगेकी श्रीमतीको बेवास्ता गरे । उनले श्रीमतीलाई हेरचाह गरेनन् । एक छोरीकी आमा उनले श्रीमान्को साथ नपाएपछि अर्को विवाह गरेर गइन् । डम्बरबहादुरलाई उमेर हुञ्जेल जीवनसाथीको साथको अभाव खट्किएन । रूपैयाँ पैसाको अभाव पनि भएन । कमाएको पैसा मोजमस्तीमा र सरसापटमै सके । उनलाई उतिबेला बुढो भइएला लागेकै थिएन । जब बुढेसकाल सुरु भयो जीवनसाथी र पैसाको खाँचो खड्कियो । ‘मैले ६० वर्षको उमेरमा अर्को विवाह गरेको हुँ,’ उनले भने ‘काम गर्न सकुञ्जेल दाइभाइका छोराहरूसँग बसेँ । केही गर्न नसकेपछि हेला भइँदो रहेछ । हामी दुवै बुढाबुढी अहिले आश्रममा छौं ।’ डम्बरबहादुर श्रीमती देवीकलासँगै वृद्धाश्रममा बस्दै आएका छन् । ‘श्रीमती पनि सँगै छिन् यसैमा खुशी छु,’ उनी मुस्कुराए ।

आश्रममा आश्रित अर्का ज्येष्ठ नागरिक हुन् दैलेख घर बताउने वीरबहादर थापा । उनले जीवनमा नगरेको पेसा र व्यवसाय उनकै शब्दमा केही छैन । ‘कपडा सिलाएँ, घर निर्माणको काम गरेँ । ज्यालामजदुरीदेखि व्यापार व्यवसाय सबै क्षेत्रको अनुभव लिएका उनले करिब २० वर्ष होटेल व्यवसाय नै गरे । ‘मेरो १३ वर्षमा विहे भएको हो । विवाह गरेकै साल बुवा स्वर्गीय हुनुभयो । रुचाएर विहे गरेकी श्रीमतीलाई परिवारले रुचाएन । नचाहँदा नचाहँदै दुई जना छुट्टियौं । १८ वर्षको हुँदा आमा गुमाए । २० वर्षमा अर्को विहे गरेँ । सात सन्तान जन्मिए । एउटी छोरी मात्रै बाँचिन् अरु सबैको जन्मदै मृत्यु भयो । उमेर हुञ्जेल जेनतेन गुजारा चलाइयो । बस्ने बास र खाने गास नभएपछि अहिले आश्रममा आएको हुँ,’ उनले जिन्दगीका उतारचढाव एक सासमै सुनाए ।

 

७१ वर्षीय मंगलमाया घिमिरेको घर काभ्रेपलाञ्चोक हो । उनका नजिकका आफन्त कोही छैनन् । बालखैमा टुहुरो बनेकी उनी खानकै लागि घरेलु कामदार बनेन् । विहे गरिन् । पाँच वर्ष नपुग्दै श्रीमान्को निधन भयो । उनले भन्छिन् ‘फेरि मेरो जीवन घरेलु कामदार कै रूपमा बित्यो ।’ सकुञ्जेल अर्काको घरमा काम गरेर पेट पालेकी उनी बुढेसकालमा भने अलपत्र परिन् । उनीलाई पनि बाँकी दिन गुजार्ने आश्रय चाहिएको थियो । प्रशान्तिमा आइन् । अहिले उनका आफन्त यही छन् । मनका बह पोख्ने दौतरी पनि । आश्रममा मिठो मसिनो खान पाइएको छ । त्यहाँ हरेक दिन भजनकिर्तन चल्छ । वृद्धवृद्धाहरूको आश्रमको जीवन मंगलमायाको नाम जस्तै मंगल छ, माया छ । आखिर कोही नहुनेको पनि त कोही हुँदो रहेछ !

प्रकाशित मितिः   १५ आश्विन २०७७, बिहीबार ०८:४५