सन्दर्भः ज्येष्ठ नागरिक दिवस: ज्येष्ठ नागरिकप्रतिको दायित्व

इन्द्रप्रसाद अधिकारी

ज्येष्ठ नागरिक दिवसका लागि यस वर्ष ‘महामारीमाः बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने नारा तय गरिएको छ । ‘पितृ देवो भवः मातृ देवो भवः’, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’, ‘आमाबुवाको माया छोराछोरीमाथिः छोराछोरीको माया ढुङ्गामुडामाथि’ जस्ता उखानटुक्काहरू प्रशस्त रूपमा हाम्रो समाजमा प्रचलनमा रहेको पाइन्छ । जुन उखानटुक्काहरू ज्येष्ठ नागरिकहरूको सम्मानका सन्दर्भमा केहीहदसम्म तय गरिएका मानिन्छन् ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ बमोजिम ‘ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिक सम्झनुपर्दछ’ भनी उल्लेख गरिएको पाइन्छ । त्यस्तै ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ बमोजिम ज्येष्ठ नागरिकलाईः (१) ६० वर्ष उमेर पूरा गरी ७० वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक, (२) ७० वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक, (३) असहाय ज्येष्ठ नागरिक, (४) अशक्त ज्येष्ठ नागरिक, (५) एकल ज्येष्ठ नागरिक भनी वर्गीकरण गरिएको पाइन्छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हक उल्लेख गरिएको छ, जहाँ ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने लेखिएको छ ।

यस्तै ज्येष्ठ नागरिकका हकहित सुनिश्चितताको लागि ज्येष्ठ नागरिक सम्बन्धी विभिन्न समयमा राज्यस्तरबाटै नीति, नियम, निर्देशिका, कार्यविधिहरू कार्यान्वयनमा आएको वर्तमान अवस्था रहेको छ । अहिलेको अवस्थामा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमै ‘आशीर्वाद जोगाऔं’, ‘हाम्रो शिरमाथिका ओत’ जस्ता आख्यानहरूमा चासो र चिन्ता बढ्न थालेको पाइन्छ । ज्येष्ठ नागरिक सम्बन्धी विश्व सम्मेलन पनि भइसकेको अवस्था छ । पहिलो सम्मेलन सन् १९८२ जुलाई २६ देखि अगष्ट ६ सम्म अष्ट्रियाको भियनामा भएको थियो । विश्व सम्मेलन, राष्ट्रिय सम्मेलन तथा विभिन्न समयमा हुने भेला र समूहको घोषणा तथा कार्ययोजनाले विश्वभर ज्येष्ठ नागरिकको लागि आर्थिक तथा सामाजिक कल्याणकारी कार्य सम्पन्न गर्नमै केन्द्रित भएको पाइन्छ । सन् १९९९ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष मनाइयो, हरेक वर्ष अक्टोवर १ लाई ज्येष्ठ नागरिक दिवस, जुन १५ लाई ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्ध दिवसको रूपमा पनि मनाइँदै आइएको छ ।

मानिसको सोच्ने प्रवृत्तिमा भिन्नता आएको पाइन्छ । आधुनिकताको नाममा आजको पिँढीले पुरानो मान्यतालाई गलत ठान्ने र पूराना पुस्ताले नयाँ युगको सोचाईलाई गलत मान्ने देखिएकाले नयाँ र पुरानो सोचमा अन्तर देखा परेको छ । फलस्वरूपः सन्तान र आमाबुवाको बीचमा जुन किसिमको सौहार्दपूर्ण व्यवहार हुनुपर्ने हो त्यो हुन सकेको छैन । हामी पनि एकदिन ज्येष्ठ नागरिक हुन्छौं यो कुरा सबैले मनन् गर्नुपर्ने आवश्यक रहन्छ । राज्यतर्फको बजेट विनियोजनमा पनि सामाजिक उत्तरदायित्व बढ्ने र त्यस्तो उत्तरदायित्व निर्वाह गर्ने क्रममा आर्थिक भार बढ्ने हुनाले गरिव मुलुकले ज्येष्ठ नागरिकहरूलाई सुरक्षित र मर्यादित जीवनयापनका लागि आवश्यक सामाजिक सुरक्षाको उचित प्रबन्ध गर्न सकेको छैन । विशेष गरी मुलुकको राष्ट्रिय बजेट नै वैदेशिक सहायतामा निर्भर रहनुपर्ने हाम्रो नेपाल जस्ता अतिकम विकसित मुलुकहरूले आर्थिक कठिनाइकै कारण सामाजिक सुरक्षामा खासै उल्लेखनीय बजेट विनियोजन गर्न सकेको पाइंदैन ।

हाम्रो आफ्नै आमाबुवाहरू वृद्धावस्थामा के कसो गर्ने होला भनी चिन्तित हुन थालेको देख्न पाइन्छ । जुन कारण भनेकै ज्येष्ठ नागरिकका सन्दर्भमा राज्यको उपस्थितिको वर्तमान परिणाम हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, ज्येष्ठ नागरिक महासंघ, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू ज्येष्ठ नागरिककै सवालहरूमा कार्य गरिरहेको पाइन्छ । तथापि उचित सहयोग, सहकार्य, समन्वयको अभावमा प्राप्त गर्नुपर्ने प्रतिफल ज्येष्ठ नागरिकले प्राप्तगर्न नसकेको अवस्था छ ।

सरकारले घोषणा गरेका सामाजिक सुरक्षा भत्ता अपेक्षित हुन नसक्नु तथा कतिपय अवस्थामा वितरण गर्न नसकिनु, दुर्गममा कतिपय अवस्थामा भत्ता नै नपाउनु, ज्येष्ठ नागरिक सम्बन्धी सरकारी कार्ययोजना प्रभावकारी कार्यान्वयनको अभाव रहनु, शिक्षा स्वास्थ्य तथा अन्य सामाजिक सेवामा छुटको व्यवस्था भएता पनि प्रभावकारी हुन नसक्नु, वृद्धाश्रम सञ्चालनको मापदण्ड अक्षरश पालना नहुनु, ज्येष्ठ नागरिकको सीप, ज्ञान र अनुभवको प्रभावकारी उपयोग हुन नसक्नु, ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने गैससहरूको पारदर्शितामा प्रश्न चिन्ह खडा हुनु, ज्येष्ठ नागरिकमैत्री वातावरणको अभाव खड्किनु, अनुगमन मूल्याङ्कन जस्ता कार्यहरू प्रभावकारी नहुनु जस्ता समस्याहरू ज्येष्ठ नागरिकहरूको उचित व्यवस्थापनको सन्दर्भमा देखिएका समस्याहरू हुन् ।

वृद्धावस्थामा मानिस केवल शारीरिक रूपमा मात्र कमजोर नभइ मानसिक रूपमा पनि कमजोर हुने हुनाले सन्तानको कर्तव्यलाई पूरा गर्दै उनीहरूको इच्छा, आकांक्षाहरूको कदर गर्न सकेमा हाम्रो समाजका वृद्ध आमाबुवाहरूलाई आफ्नो वृद्धावस्थामा के गर्ने कसो गर्ने भन्ने भ्रम हट्ने तथा ज्येष्ठ नगारिकका सन्दर्भमा राज्यको उपस्थिति तथा आफ्नो सन्तानप्रतिको माया, ममता तथा स्नेहमा सकारात्मकता बढ्ने देखिन्छ । ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवको भण्डार र अर्ती उपदेशका मूलस्रोत तथा खानी हुन् । तर आवश्यक हेरचाह, बसोबास, औषधि, मनोरञ्जनको अभाव र मानसिक सन्तुष्टिको पक्ष कमजोर हुँदा ज्येष्ठ नागरिक जोखिममा देखिन्छन् । ज्येष्ठ नागरिकलाई बोझ नभइ बरदानको रूपमा स्वीकार्नुपर्ने यथार्थ मनन गर्न सकियो भने घरपरिवार, समाज र राज्यकै लागि पनि गहन उपलब्धि हुन सक्दछ ।

(लेखक चिङ्गाड गाउँपालिका, सुर्खेतका लेखा अधिकृत हुन् ।)

प्रकाशित मितिः   १५ आश्विन २०७७, बिहीबार ०८:२६