जोखिममा मजदुर

चार महिना लामो लकडाउन खुलेसँगै विकास निर्माणका गतिविधि धमाधम अघि बढेका छन् । कोरोनाका कारण रोकिएका पूर्वाधार विकासका कामहरू लकडाउन खुकुलो भएसँगै फेरि सुरु गरिएको छ । लामो समय ठप्प रहेका विकासका कामले पछिल्लो समय विस्तारै गति लिन थालेका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक निर्माण, स्तरोउन्नति तथा नाला निर्माणलगायतका कामहरू अहिले धमाधम सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशभित्र पनि अहिले निर्माण कार्यले तीव्रता पाएको छ । कामविहीन बनेका मजदुरहरूले रोजगारी पाएका छन् । तर सँगसँगै जोखिम पनि बढेको छ । मदुरहरूको स्वास्थ्य जोखिमलाई भने बेवास्ता गरिएको देखिन्छ ।

विकास निर्माण सामूहिक कार्य हो । धेरै जनाको सहभागितामा हुने हुँदा भिडभाड हुन्छ । यद्यपि आवश्यक सावधानी अपनाएर पनि जोखिम कम गर्न नसकिने होइन । तर सुर्खेतका विभिन्न स्थानमा निर्माण भइरहेका सडक र अन्य विकास कार्यस्थलमा भने त्यस्तो सतर्कता अपनाइएको छैन । उदाहरणका लागि वीरेन्द्रनगर नगरपालिका–७ स्थित सामाजिक विकास मन्त्रालयको पश्चिमपट्टि यतिबेला चौहानपार्क निर्माणको काम चलिरहेको छ । एक करोड ७१ लाखको लागतमा पार्क र पर्खाल निर्माणको काम थालिएको हो । उक्त संरचना निर्माणको काममा २५ जनाभन्दा बढी कामदार कार्यरत छन् । तर, कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला यहाँ कुनै पनि मजदुरले स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरेको देखिँदैन । भौतिक दूरी र मास्कको प्रयोग नगरेरै उनीहरूले धमाधम निर्माणका काम गरिरहेका हुन् । त्यस्तै वीरेन्द्रनगर–६ हटियालाइन, इत्रामको शिवालयचोक र टेलिकम लाइनलगायतका क्षेत्रमा सडक र नाली निर्माणको काम भइरहेको छ । जहाँ करिब ९० जना मजदुरले काम गर्दै आएका छन् । ती मजदुरहरूले पनि स्वास्थ्य सुरक्षाका सामग्री भने प्रयोग गर्ने गरेका छैनन् । कार्यस्थलमा भौतिक दूरी कायम गरिएको पाइदैन । उनीहरूले अन्य स्वास्थ्य सावधानी समेत अपनाएका छैनन् । यी त उदाहरण मात्रै हुन् अहिले सञ्चालन भइरहेका सबैजसो आयोजनाहरूमा यस्तै हेलचक्य्राइँ भइरहेको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

लकडाउन खुले पनि कोरोनाको जोखिम कम भइसकेको छैन । नयाँ संक्रमित भेटिने क्रम रोकिएको छैन । दिनप्रति दिन संक्रमित थपिँदैछन् । सुर्खेतमा पनि पछिल्लो समय संक्रमित संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस्तो जोखिमकाबीच हेलचक्य्राइँ गर्नु उचित हुँदै होइन । सावधानी अपनाउनु जरुरी छ । भिडभाडबाट कोरोना संक्रमणको जोखिम उच्च हुने चिकित्सकले बताएका छन् । त्यो मजदुर र रोजगारदाता दुवै पक्षलाई जानकारी नभएको पनि होइन । तर, जोखिमको प्रवाह न मजदुरलाई छ न त रोजगारदातालाई नै । उसो त मजदुरका आफ्नै बाध्यता पनि छन् । दैनिक गुजारा चलाउन मजदुरी नगरी पुग्दैन । भिडमै काम नगरी हातमुख जोड्ने अर्को उपाय पनि छैन । यसरी भिडभाडमा काम गर्दा कोरोनाको जोखिम छ । तर आवश्यक सतर्कता अपनाएर काम गर्न मजदुरलाई प्रोत्साहन गर्न भने जरुरी छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७७, बिहीबार ०८:२१