जोखिम मोलेरै मजदुरी

भिडभाडमा काम, छैन स्वास्थ्य सावधानी

वीरेन्द्रनगर नगरपालिका–७ स्थित सामाजिक विकास मन्त्रालयको पश्चिमपट्टि यतिबेला चौहानपार्क निर्माणको काम चलिरहेको छ । एक करोड ७१ लाखको लागतमा पार्क र पर्खाल निर्माणको काम थालिएको हो । निर्माणाधीन पार्कको प्राविधिक पाटो हेर्दै आएका इन्जिनियर विशाल अधिकारीका अनुसार उक्त संरचना निर्माणको काममा २५ जनाभन्दा बढी कामदार कार्यरत छन् । तर, कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला यहाँ कुनै पनि मजदुरले स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरेको देखिँदैन । भौतिक दूरी र मास्कको प्रयोग नगरेरै उनीहरूले धमाधम निर्माणका काम गरिरहेका हुन् । मजदुर कन्स्ट्रक्सन प्रालिलाई उक्त कामको जिम्मा दिएको छ ।

त्यस्तै वीरेन्द्रनगर–६ हटियालाइन, इत्रामको शिवालयचोक र टेलिकम लाइन लगायतका क्षेत्रमा सडक र नाली निर्माणको काम भइरहेको छ । पूर्वाधार विकास निर्देशनालयले श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालिलाई दुई वटा प्याकेजमा एउटा सात करोड २९ लाख र अर्को नौ करोड २५ लाखमा सम्झौता भइ कामको जिम्मा दिएको छ । उक्त निर्माणको प्राविधिक पक्ष हेरिरहेका इन्जिनियर हरि शर्मा धितालका अनुसार हटियालाइन क्षेत्रमा बर्दियाका ६० जना र अन्य क्षेत्रमा दैलेखका करिब २९ जना मजदुरले काम गर्दै आएका छन् । ती मजदुरहरूले पनि स्वास्थ्य सुरक्षाका सामग्री भने प्रयोग गर्ने गरेका छैनन् । कार्यस्थलमा भौतिक दूरी कायम गरिएको पाइदैन । उनीहरूले अन्य स्वास्थ्य सावधानी समेत अपनाएका छैनन् ।

भिडभाडबाट कोरोना संक्रमणकोजोखिम उच्च हुने चिकित्सकले बताएका छन् । त्यो मजदुर र रोजगारदाता दुवै पक्षलाई जानकारी नभएको होइन । तर, जोखिमको प्रवाह न मजदुरलाई छ न त रोजगारदातालाई नै । उसो त मजदुरका आफ्नै बाध्यता पनि छन् । दैनिक गुजारा चलाउन मजदुरी नगरी पुग्दैन । भिडमै काम नगरी हातमुख जोड्ने अर्को उपाय पनि छैन । यसरी भिडभाडमा काम गर्दा कोरोनाको जोखिम छ । जोखिम हुँदा–हुँदै परिबन्दमा परेर काम गर्न बाध्य भएको मजदुरहरू बताउँछन् ।

कोरोनाका कारण रोकिएका पूर्वाधार विकासका कामहरू लकडाउन खुकुलो भएसँगै फेरि सुरु गरिएको छ । लामो समय ठप्प रहेका विकासका कामले पछिल्लो समय विस्तारै गति लिन थालेका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक निर्माण, स्तरोउन्नति तथा नाला निर्माणलगायतका कामहरू अहिले धमाधम सञ्चालन भइरहेका छन् । प्रदेशमा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गए पनि कामदारहरूले भने स्वास्थ्य सावधानी नअपनाएका हुन् । सरकारले विकास निर्माणका काम आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्रै गर्न भनेको छ । तर, निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी र कामदारहरूले जोखिमको बेवास्ता गर्दै काम गरिरहेका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले मजदुरहरू कोरोनाको उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार संक्रमित हुने मजदुरहरूको छुट्टै तथ्याङ्क नराखिए पनि सुर्खेतमा मात्रै हालसम्म ४० भन्दा बढी मजदुरहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ । ‘मजदुरहरूले दैनिक मास्क फेरेर लगाउनुपर्ने हुन्छ,’ उनले भने ‘यसको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने हो ।’ काम गर्ने क्रममा भौतिक दूरी कायम गर्ने कुरामा समेत मजदुरहरूले ध्यान नदिने गरेको उनले बताए ।

ठेकेदार कम्पनी श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालिका पदम खड्काले कामदारहरू ल्याउँदा क्वारेन्टाइन राखेरै ल्याउने गरेको बताए । ‘उहाँहरूबाट संक्रमण सर्ने जोखिम देखेरै हामीले क्वारेन्टाइन बस्न लगाएर मात्रै काममा ल्याएका हौं, खड्काले भने, ‘कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाउन पनि बारम्बार भन्ने गरिएको छ ।’ मजदुरहरूलाई सोही अनुसारको व्यवस्थापन समेत मिलाएको उनले दाबी गरे । ‘सुरुमा हामीहरूले मजदुरहरूलाई मास्क वितरण गरेका थियौं,’ उनी भन्छन् ‘अहिले सावधानी नअपनाएको भए हामी सुधार गर्नेछौं ।’ उनका अनुसार श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालिले बर्दिया र कैलालीबाट करिब ६० भन्दा बढी कामदारहरू ल्याइ निर्माणका काममा लगाएको छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७७, बुधबार ०९:३५