‘सञ्चारमाध्यम आवाजविहीनको आवाज’

सञ्चारमाध्यम न्याय नपाएकाहरूको आवाज भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित मिडियासँग सहकार्य तथा न्यायमा पहुँच परियोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले सञ्चारमाध्यमले सूचना सम्प्रेषण गरेकै आधारमा धेरैले न्याय पाउने गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै पत्रकार गणेश विशुले सञ्चारमाध्यमले एक जनाको मात्रै समस्या बाहिर ल्याइदिए त्यस्ता धेरै पीडितहरूले न्याय पाउन सहज हुने बताए । एक जना सञ्चारकर्मीले हजारौं नागरिकलाई सुसूचित गर्ने हैसियत राख्ने भन्दै उनले सञ्चार माध्यमले सिमान्तकृत समुदायलाई धेरै हदसम्म न्याय दिन सक्ने जिकिर गरे ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले अब न्याय दिनेहरू नै बढी सक्षम हुनुपर्ने औंल्याए । ‘महिला, दलित लगायतका सिमान्तकृत समुदायलाई मिडियाका क्षेत्रबाट समेत न्याय दिने प्रयत्न हुन्छ,’ उनले भने ‘सञ्चार माध्यमले प्रत्यक्षभन्दा अप्रत्यक्ष न्याय दिइरहेका हुन्छन् ।’ पीडितहरू पहिला प्रहरी र अदालतमा जाने केही गरी न्याय नपाए मात्रै मिडियामा आउने गरेको उनले सुनाए ।

कार्यक्रममा बोल्दै यूएनडीपीका प्रतिनिधि सीमा धामीले एक जना असल सञ्चारकर्मीले हजारौं पीडितहरूलाई न्याय दिनसक्ने हैसियत राख्ने बताइन् । उनले पीडितलाई न्याय दिने मात्रै नभइ सही सूचना समयमै दिने काम सञ्चार माध्यमले गर्ने भएकोले मिडियाप्रति जनविश्वास बढेको तर्क गरिन् । सञ्चारमाध्यमले आचारसंहिता भित्र रहेर काम गर्न सके पीडितलाई न्याय दिलाउन मदत पुग्ने कार्यक्रमका सहभागीहरूले बताएका थिए । कार्यक्रम सोसेक नेपालको आयोजना तथा यूएनडीपीको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १४ आश्विन २०७७, बुधबार ०९:३१