बलात्कार एक सामाजिक मनोरोग

विनोद न्यौपाने

समाजमा केही घटना यस्तो पनि भइदिन्छन्, जसले एक पटक चिमोठेर आफैलाई झस्काउन मन लाग्छ, के साँच्चै हामी मान्छे नै हौं र ? के हामीभित्र पनि मानवियता भन्ने चिज छ र ? के नैतिकताका पाठ पढेकै छौं त हामीले ? साँच्चै पढेकै छौं र बुझेकै छौँ भने किन यस्ता निच स्वभावका हर्कतहरूले सम्पूर्ण मानव जातिलाई लै तुच्छ तुल्याउने घटनाहरू समाजमा भइरहेका छन् ?

बिहानै–बिहानै बहिनीको जन्मदिनको शुभकामना दिन भनेर फेसबुक खोल्नासाथ मेरो औंलाहरू एउटा समाचारको वालमा टक्क अड्किए । समाचारको शीर्षक पढ्नेवित्तिकै मुटुमा ढुकढुकी बढ्न थालीहाल्यो । पूरा समाचार पढ्दासम्म त आँखाबाट आँशु बग्न सुरु भइसकेका रहेछन् ।

करिब दुई वर्ष अगाडि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको निर्ममतापूर्वक बलात्कार गरी हत्या भएको थियो । सरकारले अपराध गर्नेलाई खोजिरहेको दावी गरिरहेकै छ तर अहिलेसम्म निर्मला र उनको परिवारले न्याय पाएको छैन । यही बीचमा हालै अर्को एक घटना सार्वजनिक भएको छ । घटना हो, बझाङको । १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको छ । यस्ता घटना सुन्दा र हेर्दा सोचमग्न बनाउँछ । मनमा अनेक प्रश्नहरू उब्जन्छन्, हाम्रो समाजकहाँ जाँदैछ ? देशभित्र पनि कानुन छ र ? प्रहरी प्रशासन छ र ? स्वच्छ न्यायपालिका छ र ? नरपिचास प्रवृत्तिका व्यक्तिहरूले सिधै शासन व्यवस्थालाई ठाडो चुनौती दिँदा पनि किन मौन छ त सरकार ?

एक जना निर्मलाको हत्याराले सजाय नपाउनुको परिणाम नै हो आज १२ वर्षीया सम्झना कामीको बलात्कार हुनु । सायद बेलैमा निर्मलाको हत्याराले सजाय पाएको भए आज फेरि एक पटक सम्झनालाई बलात्कार गर्न खोज्नेहरूको मुटु काप्थ्यो होला । दण्डहिनताले कसरी अपराधलाई प्रोत्साहित गरेको छ यसका अनेक दृष्टान्त छन् । यस्ता कुकर्महरूको जिम्मा कसले लिने अनि यस्ता राक्षस प्रवृत्तिका दानवहरूले सजाय कहिले पाउने ?

बलात्कार जघन्य अपराध हो । बलात्कार मात्रै होइन बलात्कारपछि हत्याजस्ता क्रूर कार्य गर्न मानिस अग्रसर भइरहेका छन् । यस्ता अपराधकर्ममा सक्रियहरूलाई दण्ड दिन कुनै वहाना बनाउनु वा कन्जुस्याई गरिनु हुँदैन । अपराध निरुत्साहित गर्ने विकल्प नै दण्ड हो । कानुन बमोजिमको दण्ड अपरिहार्य छ ।

बलात्कारका घटना घट्नुपर्नेमा बढिरहेका छन् । सञ्चारमाध्यममा हरेक दिनजसो बलात्कारका घटनाहरू समाचार बनेर आइरहेका छन् । यो निकै गम्भीर कुरा हो । त्यसैले बलात्कारका घटना हुन नदिन यसका कारणहरू पहिचान गरेर त्यसलाई नियन्त्रण गर्नु आवश्यक छ । बलात्कार हुनुको प्रमुख कारण अतृप्त यौन मानसिकता नै हो । यसका साथै बलात्कार हुने अरु कारणहरू पनि छन् । फितलो कानुनी व्यवस्था र राजनीतिक संरक्षणले यसलाई प्रोत्साहन गरेको छ । शक्ति र पहुँचका भरमा अपराध गर्नेहरू उम्किने अवस्थाले यसलाई बढावा दिएको छ । मलाई कसले के गर्न सक्छ र ? भन्ने आपराधिक सोचले पनि बलात्कारजस्ता अपराधहरूलाई अझै बढवा दिइरहेको पाइन्छ ।

अहिलेसम्मको तथ्याङ्कहरूलाई केलाउँदा विशेषगरी कि त शिक्षित भनिएकै व्यक्तिहरूबाट बलात्कार भएको देखिन्छ कि त आफूले सबैभन्दा बढी विश्वास गरिएकै व्यक्तिबाट भएका छन् । शिक्षकले विद्यार्थीलाई, बाबुले छोरीलाई, दाइले बहिनीलाई, हाकिमले आफ्नै कर्मचारीलाई बलात्कार गरेका घटना प्रशस्त छन् । पद र पहुँचमा हुनेहरूबाट अझ बढी बलात्कार भइरहेका छन् ।

दैनिकजसो बलात्कारको घटनाहरू बढिरहेकै देखिन्छ । केही समयको तथ्याङ्कको आधारमा भन्ने हो भने नेपालमा प्रतिदिन औषतमा ६ जना महिलामाथि बलात्कार हुने गर्दछ । यसभित्र पनि करिब ८० प्रतिशतभन्दा धेरै बलात्कार आफ्नै चिनेजानेको व्यक्ति होस् वा विश्वास गरेकै व्यक्तिबाट हुने गर्दछन् । अरुको शरीरलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लगेर जबजस्तीकरणी गर्दाको पीडा त भोग्नेलाई मात्रै थाहा हुन्छ होला । अरुलाई यस्तो पिडा दिएर आफू सन्तुष्ट हुनु भनेको दानव प्रवृत्ति हो । यो एउटा रोग हो जसमा मानिस अरुलाई पीडा भएको हेर्न चाहन्छ ।

नेपालमा बलात्कार बढ्नुको कारण ठ्याक्कै यही हो भन्ने त कुनै अनुसन्धान भएका छैनन् तर केही मनोवैज्ञानिकहरूको तर्कको आधारमा भन्ने हो भने हाम्रो समाजमा यौनशिक्षामा कमी हुनु नै हो । यौन जुनसुकै सजिव प्राणीको जैविक आवश्यकता हो । गाँस, बास र कपास जस्तै यौन आवश्यकता पनि हामीलाई जरुरी हुन्छ । तर हाम्रो पुरातनवादी सोचका कारणले धेरैजसो मानिसहरू आफ्नो यौन आवश्यकता पूरा गर्न सक्दैन र आत्म नियन्त्रण गुमाउँछ अनि बलात्कार जस्ता भयानक दुर्घटनाहरू निम्तिन्छन् ।

यौनका विषयमा हाम्रो समाज संकुचित छ । जसले यौनलाई जटिल बनाएको छ । खुलेर कुरा गर्नु बन्देजजस्तै छ । यसले गर्दा पनि यौनप्रतिको धारणा संकीर्ण छ । यस्तो सोचमा सुधार ल्याउन जरुरी छ । कुनै कुराको अभाव वा कसैको प्रभावमा नपरी दुवैजनाको आपसी सहमतिमा हुने यौनलाई राज्यले प्रतिबन्ध गर्नु हँुदैन । यदि कुनै सुरक्षित स्थानमा उमेर पुगेका युवायुवतीहरूले यौन सुख प्राप्त गर्न चाहन्छन् भने त्यसलाई सरकारले बन्देज लगाउनु पर्ने कारण चाहिँ के छ ? कुनै लोभ, लालच, दबाब वा कसैको प्रभावमा नपरी स्वतन्त्रतापूर्वक आपसी सहमतिमा गरिने यौन गतिविधिमा राज्यले आँखा लगाउनुपर्ने आवश्यकता त म देख्दिन । यसरी यौनलाई सरलीकृत गर्न सकेको खण्डमा पनि बलात्कार घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।

युवतीहरूले छोटो लुगा लगाउनाले पनि बलात्कार बढेको भनेर चर्चा गर्ने जमात ठूलै छ । तर के कुरा बिर्सनु हुँदैन भने निर्मला र सम्झना छोटो लुगा लगाएर बलात्कृत भएका थिएनन् । अझ कतिसम्म भने ६–८ वर्ष उमेरका नाबालिकाहरू बलात्कृत भएका थुप्रै घटना छन् । त्यसकारण लुगालाई दोष दिएर गरिने चर्चा कमजोर बुझाइ हो । यदि कुनै युवतीले छोटो लुगा लगाएकै कारणले बलात्कार बढ्छ भन्ने ठ्याक्कै आधार पनि त छैन ।

देशको कानुनी व्यवस्था पनि निकै फितलो छ । अपराध गर्नेले राजनीतिक संरक्षणको आडमा खुलम खुल्ला रूपमा अपराध गर्ने हिम्मत राख्ने भएकाले पनि बलात्कारका घटनामा कुनै कमी आउन नसकेको हो । अपराध गर्ने व्यक्ति जोसुकै पनि अपराधी हो । चाहे देशको उच्च पदमा रहेको व्यक्ति होस् या सामान्य नागरिक, सबैलाई समान सजायको व्यवस्था हुनु पर्दछ । केही तथ्याङ्कहरूलाई केलाउने हो भने बलात्कृत हुनेमा गरीब, दलित, निमुखा, जसको आवाज बोलिदिने कोही छैन, जसको राज्यको माथिल्लो निकायसम्म पहुँछ छैन त्यस्ता व्यक्ति वा परिवार छन् । पीडक पक्ष भने शिक्षित ठानिएको, पहुँचवाला नै हुने गरेका छन् । जसले पैसा र शक्तिको आडमा आफ्ना अपराध सकेसम्म लुकाउने कोशिस गर्ने गरेका छन् ।

विगतका वर्षहरूमाभन्दा प्रत्येक वर्ष बलात्कारको घटना बढिरहेको देखिन्छ । तर पहिला यस्ता घटनाहरू पीडित पक्षले गुपचुप राख्ने, केही घटनाहरू गाउँघरमै मिलाउने प्रचलन थियो तर अहिले भने सबैजसो घटना पुलिसका चौकी आउने भएकाले यो घटना भएको हो भनेर प्रशासनले बताउने गरेको छ । बलात्कार गरी हत्या गर्ने जोसुकैलाई पनि फाँसीको सजाय हुनुपर्ने माग चौतर्फी उठिरहेको छ । कतिपय देशमा यस्तो अपराध गर्नेलाई फाँसीको सजाय दिएको प्रशस्तै उदाहरण छन् । तर हाम्रो संविधानले फाँसीको परिकल्पना गरेको छैन । तर अन्य कानुनी दण्ड र सजायका लागि व्यवस्था गरिएको छ । सोही कानुनलाई बलियो र प्रभावकारी बनाउन सकेमा पनि अपराध नियन्त्रणमा सघाउ पुग्नेछ । राज्य संयन्त्रले यस विषयमा जरुर ध्यान पु¥याउन आवश्यक देखिन्छ । अपराध गर्नेले कुनै जात, धर्म, लिङ्ग नभनी अपराध गर्ने भएकाले अब अपराधीलाई पनि सजाय दिलाउन सक्ने न्याय संयन्त्र विकास होस् । कुनै पनि राजनीतिक शक्तिको आडमा अपराधी छुट्ने पीडकले अझै अन्याय गर्दै जाने पीडित पक्षले भने सधैं अन्याय सहिरहनु पर्ने व्यवस्थाको अन्त्य होस् । सचेत नागरिकहरूले यसका विषयमा खुला बहस गरेर राज्यकाई उचित कानुन निर्माण गर्नमा चौतर्फी दबाब सिर्जना गरेमा पक्कै पनि देशमा हामीले चाहेको कानुन निर्माण हुने छ ।

अन्त्यमा, अबदेखि देशमा निर्मला र सम्झना जस्ता कोही पनि चेलीहरूले बलात्कार जस्तो अपराधको सिकार हुन नपरोस्, कोही कसैको हत्या नहोस् । राज्यले त्यस्ता घटनाहरूलाई निकै गम्भीरतापूर्वक छानविन गरि दोषीलाई कारबाही गरेको खबर सुन्न पाइयोस् ।

प्रकाशित मितिः   १४ आश्विन २०७७, बुधबार ०९:३०