रोजगारी गुमाएकालाई स्वरोजगार बनाइँदै

वीरेन्द्रनगर–१ सुर्खेतकी कर्णा बयलकोटीको आम्दानीको मुख्य स्रोत नै ज्याला मजदुरी हो । दैनिक मजदुरी गरेरै उनको परिवारले जीविकोपार्जन गर्दै आएको छ । तर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै कर्णाले आम्दानीको स्रोत गुमाइन् । संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनको रोजगारी पनि गुम्यो, काम पाइनै छोड्यो । उनको परिवारलाई दैनिक छाक टार्नै मुस्किल हुन थाल्यो ।

लकडाउन खुलिसकेपछि पनि पहिले जसरी काम पाउन मुस्किल छ । यही संकटसँग जुधिरहेको कर्णाको परिवार यतिबेला भने लसुन खेतीको तयारीमा जुटेको छ । अन्तरनिर्भर समाज सुुर्खेतले लसुनको बिउ सहयोग गरेपछि उनीहरू त्यसकै खेती गर्ने तयारीमा छन् । ‘एक कठ्ठा जग्गा छ’ उनले भनिन्, ‘अब यही जग्गामा लसुन लगाउने तयारी गरेका छौं ।’ लसुन खेती गरेर स्वरोजगार बन्ने उनको योजना छ ।

कर्णाजस्तै गोमा बिसीको परिवार पनि कोरोना कहरले च्यापियो । दैनिक ज्याला मजदुरी गर्ने उनीहरूलाई काम पाउन छोडेपछि घर खर्च चलाउन समेत समस्या छ । यही समस्याबाट मुक्ति पाउन उनीहरू तरकारी खेती गर्न जुटेका छन् । थोरै भए पनि आफ्नो जग्गामा तरकारी खेती गर्ने तयारी गरेको बिसीले बताइन । ‘संस्थाले बिउ दिएको छ । यही उत्पादन गरेर बच्ने सोच छ’ उनले भनिन् ।

सोही ठाउँका अमरबहादुर सुुनारले भारतमा मजदुरी गरेर हुने कमाइले आफ्नो परिवार पाल्दै आएका थिए । कोरोना महामारीका कारण स्वदेश फर्किएका उनी अहिले कामविहीन भएका छन् । बेरोजगार भएर बस्दा खर्च धान्नै मुस्किल परिरहेको छ । अन्तरनिर्भर समाजमार्फत लसुनको बिउ निःशुल्क पाएपछि उनी पनि व्यावसायिक रूपमा खेती गर्ने तरखरमा जुटेका छन् ।
‘भएको अलिकति जग्गामा लसुन खेती गर्छु’ उनले भने ।

अन्तरनिर्भर समाज सुुर्खेत, यूएनडीपी र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका परिवारलाई लक्षित गरेर वीरेन्द्रनगरका चार वटा वडामा कोभिड–१९ रेस्पोन्स र सामाजिक तथा आर्थिक रिकभरी परियोजना लागू गरिएको छ । सोही परियोजनामार्फत कोरोनाका कारण रोजगार गुमाएका विपन्न परिवारलाई बिउका साथै प्राविधिक सहयोग गरिएको हो ।

वीरेन्द्रनगरको वडा नं. १, १०, ११ र १२ वडामा आलु, टमाटर, लसुन खेतीका साथै कुखुरापालनमा सहयोग गरिएको संस्थाले जनाएको छ । यसबाहेक आरन व्यवसाय गर्नेलाई पनि सहयोग गरिने जनाइएको छ । उक्त कार्यक्रमबाट चार सय ५९ परिवार लाभान्वित हुुने कार्यक्रमका कृषि प्राविधिक अधिकृत दिनेश सापकोटाले जानकारी दिए । विशेष गरेर भारतबाट फर्किएका र रोजगार गुमाएका परिवारलाई प्राथमिकता दिएर सहयोग गरेको उनको भनाइ छ । उनले बिहीवार वडा नं. १ का २० परिवारलाई लसुनको बिउ वितरण गरिएको जानकारी दिए । आफ्नो जग्गा भएकाले आफ्नै जग्गामा खेती गर्ने र नभएकाले वडा कार्यालयले भाडामा लिएको जग्गामा खेती गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मितिः   ९ आश्विन २०७७, शुक्रबार १०:२०