असोजमा पनि ‘असारे झरी’
तीन दिनदेखि परिरहेको झरी अझै रोकिने छाँटकाट छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवारसम्म झरी निरन्तर परिरहने छ । नेपालमा सिँचाइ सुविधा नभएकाले बर्खामा खेत रोप्न किसानहरू निधारमा हात लगाएर आकाशतिर बादल हेर्छन् पानी कहिले पर्छ भनेर । यसपालि जुन १२ मा नेपाल पसेको मनसुनले औषत वर्षा भएको थियो । समयमै वर्षा भएकाले धान खेती हुने १३ लाख ७१ हजार हेक्टरमध्ये १३ लाख ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । अहिले धान पसाउने र पाक्ने बेलामा परिरहेको झरीले भने किसानलाई फाइदाभन्दा नोक्सान बढी गर्छ ।
मनसुनको सम्बन्ध कृषिसँग मात्रै छैन कतिपयका लागि यो समय जीवन–मरणसँग जोडिएको छ । किनकी वर्षामा पहाडमा पहिरो आउँछ, तराईमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त हुन्छ । कतिले ज्यान गुमाउँछन् । कोही घरबार । थातथलो छोडेर विस्थापित हुन बाध्य हुन्छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार यसपालि मनसुन सुरू भएयता देशका विभिन्न भागमा खसेको पहिरोमा दुई सय ७३ जनाको मृत्यु भएको छ भने ६५ बेपत्ता छन् । त्यस्तै बाढीले ३६ जनाको ज्यान लिएको छ भने ३९ जना अझै बेपत्ता छन् । पहिरो आउने क्रम अझै रोकिएको छैन ।
केही दिनदेखि नेपालमा झरी पर्नुको मुख्य कारण भारतको छत्तीसगढमा बनेको र पछि सर्दैसर्दै माथि आएको न्यूनचापीय क्षेत्रका कारणले हो । न्यूनचापीय क्षेत्र बन्दा कुनै ठाउँको वायुमण्डल चिसिन्छ र यताउताको तातो हावा आफूतिर तान्छ । यस्ता न्यूनचापीय क्षेत्र ठाउँ–ठाउँमा बनेर जोडिए त्यसलाई न्यूनचापीय रेखा भनिन्छ । अहिले त्यस्तै न्यूनचापीय रेखा मध्यप्रदेश हुँदै बिहार र उत्तर प्रदेशमा आइपुगेको छ । बंगालको खाडीबाट वाष्पयुक्त मनसुनी वायु आफूतिर तानिरहेको छ । त्यही वाष्पयुक्त मनसुनी वायुका कारण यो क्षेत्रमा निरन्तर झरी परिरहेको हो ।
बिहीवार दिउँसोसम्म पूर्वी र मध्य नेपालका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । बिहीवारदेखि भने पश्चिम नेपालमा पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिवार साँझदेखि मात्रै पश्चिम नेपालबाट विस्तारै पानी पर्न रोकिने छ । हिजोआज परिरहेको झरीको कारण छत्तीसगढमा बनेको न्यूनचापीय क्षेत्र भए पनि नेपालमा पछिल्ला वर्षहरूमा मनसुन सकिनु पर्ने बेला सकिएको छैन । सामान्य हिसाबले मनसुनी गतिविधि भएको भए यतिबेला नेपालबाट मनसुनी वायु बाहिरिइसक्नु पर्ने हो । नेपालमा औषतमा जुन १० मा मनसुनको आगमन हुने र सेप्टेम्बर २३ मा बाहिरिने गथ्र्यो । तर पछिल्ला वर्षहरूमा त्यो सिलसिला बिग्रिएको छ । मनसुन ढिला आउँछ र ढिलै जान्छ ।
प्रकाशित मितिः ९ आश्विन २०७७, शुक्रबार १०:१९
साझा बिसौनी ।