जरिवानाबाटै करोडौं राजस्व
सवारी नियम पालना नगर्ने सवारी चालकहरूले वर्षेनी करोडौं रकम जरिवाना तिर्दै आएका छन् । सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने गरेका हुन् । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेशभर १९ हजार सात सय ६४ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ लाख ६४ हजार तीन सय राजस्व उठेको हो । सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् । ट्राफिक नियम विपरीत चलेका ६ हजार तीन सय १८ मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गर्दा ५६ लाख ९४ हजार राजस्व संकलन भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले चालकहरूको अटेरीपनको कारण कारबाहीमा पर्ने गरेको बताए । चालकहरूलाई सवारी तथा ट्राफिक नियमबारे जानकारी हुने भए पनि प्रहरी छल्न खोज्ने प्रवृत्तिले गर्दा उनीहरू कारबाहीमा पर्ने गरेको प्रहरी निरीक्षक चौरासिया बताउँछन् । ‘अञ्जानमा भन्दा पनि ट्राफिक नियम जानाजान उल्लंघन गर्ने गरेको पाइन्छ,’ उनले भने ‘सवारी साधन चलाउँदा सुरक्षाको लागि ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने ज्ञान चालकलाई हुनैपर्छ ।’ सवारी साधनका कागजात नबोक्ने, हेल्मेट नलगाउने, ओभर स्पिड गर्ने, क्षमताभन्दा बढी भार बोक्ने लगायतका कारणले चालकहरू कारबाहीमा पर्ने गरेको भन्दै उनले चालकका यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम समेत रहने औंल्याए ।
गत आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेशभर १९ हजार सात सय ६४ सवारी कारबाहीबाट एक करोड ७२ लाख ६४ हजार तीन सय रूपैयाँ राजस्व उठेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गएको आर्थिक वर्षमा नियम विपरीत चलेका दुई हजार तीन सय ५८ वटा ट्रक कारबाहीमा परेका छन् । सो वापत २० लाख ३१ हजार दुई सय राजस्व संकलन भएको छ । यस्तै, दुई हजार सात सय ६६ बसलाई कारबाही गर्दा २४ लाख २१ हजार दुई सय राजस्व जम्मा भएको छ । प्रहरीले गत वर्ष तीन हजार दुई सय ३७ जीप तथा भ्यानलाई सवारी नियम उल्लंघन गरे वापत कारबाही गरेको छ । ती सवारी साधनका चालकलाई ३१ लाख ३६ हजार चार सय रूपैयाँ जरिवाना तिराएको छ । सवारी नियमको बेवास्ता गर्ने यात्रुबाहक सवारी मात्रै छैनन् मालबाहक गाडीहरू पनि उत्तिकै छन् । कर्णालीमा एक वर्षको अवधिमा दुई हजार ९२ ट्याक्टरले सवार नियम उल्लंघन गरेका छन् । जसको कारबाहीबाट १७ लाख ८४ हजार पाँच सय राजश्व उठेको छ । गएकै वर्ष दुई हजार पाँच सय ९३ टेम्पो पनि प्रहरीको कारबाहीमा परेका छन् । टेम्पो चालकले २१ लाख ९७ हजार जरिवाना बुझाएका छन् ।
गत वर्ष सवारी नियम उल्लंघन गर्ने चालकबाट विभिन्न शीर्षकमा ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ७० लाख ५२ हजार आठ सय रूपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले ३२ लाख ९१ हजार पाँच सय, दैलेखले १७ लाख ५२ हजार, रुकुम–पश्चिमले १४ लाख १५ हजार पाँच सय, जुम्लाले नौ लाख ४० हजार पाँच सय, कालीकोटले पाँच लाख तीन हजार राजस्व संकलन गरेका हुन् । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले १४ लाख ६३ हजार पाँच सय, मुगुले ८७ हजार, डोल्पाले सात लाख ५८ हजार पाँच सय रूपैयाँ जरिवाना वापतको राजस्व उठाएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गंगा विकका अनुसार २०७६ सालको साउन महिनामा सवारी कारबाहीमार्फत प्रदेशभर १३ लाख ५६ हजार सात सय राजस्व संकलन भएको थियो । भदौ महिनामा १८ लाख १९ हजार नौ सय, असोजमा १८ लाख ४१ हजार सात सय, कार्तिकमा १९ लाख ६३ हजार, मंसिरमा १९ लाख ३२ हजार पाँच सय, पुसमा १६ लाख ७३ हजार, माघमा १९ लाख २२ हजार, फागुनमा १९ लाख ९७ हजार र चैत्रमा सात लाख ५९ हजार पाँच सय रूपैयाँ जरिवाना वापत राजस्व संकलन भएको थियो । २०७७ वैशाख महिनामा एक लाख ५२ हजार पाँच सय, जेठमा पाँच लाख ५१ हजार पाँच सय र असारमा १२ लाख ९५ हजार रूपैयाँ राजस्व उठेको हो ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को दुई महिनामा मात्रै सवारी कारबाहीमा प्रदेशभर २० लाख ४४ हजार पाँच सय रूपैयाँ जरिवाना संकलन भएको छ । साउन र भदौ महिनामा उक्त राजस्व संकलन भएको हो । साउनमा १० लाख ६६ हजार पाँच सय र भदौमा नौ लाख ७८ हजार राजस्व जम्मा भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो दुई महिनामा दुई हजार तीन सय १२ सवारी साधन कारबाहीमा परेका छन् । सवारी चालक अनुमति–पत्रको म्याद सकिएको, सवारी साधनको लाइट नभएको, ब्लूबुक नबोकेको, नम्बरप्लेट मेटिएको वा नभएको तथा गलत साइडमा पार्किङ्ग गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना तिराउँदै आएको छ ।
प्रकाशित मितिः ९ आश्विन २०७७, शुक्रबार १०:१६
सीता वली ।