कोरोना संक्रमितको सन्देश

‘नडराऔं, तर सावधानी अपनाऔं’

कोरोना संक्रमितको सन्देश


कोरोना भाइरस (कोभिड–१९) समुदायस्तरमा फैलिसकेको छ । कर्णाली प्रदेशका दश वटै जिल्ला र लगभग सबै स्थानीय तहहरूमा संक्रमण पुगेको छ । कोरोनाले प्रभावित नभएको वर्ग, क्षेत्र र भूगोल छैन । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिक दलका नेता तथा सामाजिक अभियान्ता जो–सुकैलाई यसको संक्रमणले भेटिसकेको छ । बढ्दो संक्रमणका कारण नागरिकहरूमा कोरोना त्रास पनि बढ्दो छ । एकातिर संक्रमणको त्रास छ भने अर्कोतिर संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणका कारण नागरिकहरू चिन्तित छन् । कोरोनाभन्दा समाजको दुव्र्यवहार खेप्नुपर्ने हो कि भन्ने आम नागरिकमा चिन्ता छ । संक्रमित मात्रै नभएर संक्रमितको परिवारलाई समेत दुव्र्यवहार हुने गरेको छ । प्रस्तुत छ, यही सन्दर्भमा संक्रमण पुष्टि भएर उपचाररत तथा संक्रमणमुक्त भएका विभिन्न क्षेत्रका व्यक्तिहरूका अनुभवः


संक्रमणबाट जोगिने हो दुव्र्यवहार गर्ने होइन

कृष्ण जिसी (सचिव– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत)

मैले भदौ १७ गते स्वाब दिएको थिएँ । रिपोर्ट अलि ढिला नै आयो, भदौ २२ गते । लक्षण देखिएर होइन जाँच गरिहालौ न त भनेर स्वाब दिएको हुँ । संक्रमणको शंका थिएन । संक्रमण पुष्टि हुन्छ जस्तो लागेको पनि थिएन । मैले कसैको ‘कन्ट्याक्ट टे«सिङमा परेर परीक्षण गरेको पनि होइन । तै पनि रिपोर्ट पोजेटिभ आयो । परीक्षणमा कोरोना देखिएपछि पत्याइ करै लाग्यो । म अरुको घर भाडामा लिएर बस्छु । यस्तो बेला भाडामा बस्नेहरूलाई सबैभन्दा बढी गाह्रो हुने रहेछ । संक्रमित भएपछि कहाँ बस्ने भन्ने अन्योल भयो । परिवारसँगै बस्ने कुरा पनि भएन । त्यसले अरूलाई पनि संक्रमण हुने खतरा रहन्थ्यो । वीरेन्द्रनगरस्थित आइसोलेसनको रूपमा प्रयोग गरिएको होटलमा बसे । कोरोनालाई आफैले अनुभूति गरियो । जुन खालको हाउगुजी थियो त्यस्तो भने अनुभूति भएन । सायद सबै संक्रमितलाई एकै खालका लक्षण र समस्या नहुन सक्छन् । मलाई कोरोनाका कुनै लक्षण देखिएनन् । स्वास्थ्य अवस्था सामान्य नै रह्यो । मनौवैज्ञानिक रूपमा समाजमा कोरोनाको आतङ्क छ । संक्रमण देखियो भन्दैमा विभेद गर्नु हुँदैन ।

संक्रमणबाट जोगिने हो तर संक्रमितलाई दुव्र्यवहार गर्नु हुँदैन । सावधानी अपनाएर स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर संक्रमणबाट बच्न सकिन्छ । मलाई धेरै साथीहरूले सहानुभूति दिनुभयो । तर, केही साथीहरू जो दुई महिना अगाडि भेट भएको थियो उहाँहरूले फोन गरेर मलाई पनि भयो कि भन्ने खालको मजाक गर्नुभयो । म भदौ ३१ गते कोरोनामुक्त भएर घर फर्किएको छु । तर नेगेटिभ भएर घर फर्कदा समेत बोल्न डराउने, नजिक नआउने खालको व्यवहार छर–छिमेकबाट मैले पाएँ । त्यसो कसैलाई नगरौं । कोरोना सामाजिक अपराध होइन यो एक संक्रमण मात्रै हो ।


जडीबुटी खाएरै निको भएँ

दीनबन्धु श्रेष्ठ (कर्णाली प्रदेशसभा सदस्य)

कोरोनालाई त्यति हल्का रूपमा पनि नलिऔं किन की यसले विश्वलाई प्रभावित पारिसकेको छ । तर, संक्रमितहरूले आत्मबल बलियो बनाउने, खानपानमा विशेष ध्यान दिने हो भने कोरोना सजिलै जितिन्छ । मलाई खास लक्षण केही देखिएको थिएन । गृह जिल्ला जुम्ला गएको समयमा भदौ २१ गते स्वाब दिएको थिएँ । संक्रमण देखियो । अहिले म संक्रमणमुक्त भइसकेको छु ।

डाक्टरहरूको सल्लाह बमोजिम म केही दिनका लागि अझै होम आइसोलेसनमा बसेको छु । कोरोना समुदायस्तरमा व्यापक फैलिसकेको छ । हरेक नागरिकले स्वास्थ्य सुरक्षाको विधि अपनाउन जरूरी छ । म होम आइसोलेसन बस्दा विभिन्न जडिबुटी तथा तातोपानी खाएँ । मलाई सामाजिक रूपमा त्यस्तो विभेद त भएन । सुन्नमा भने धेरै आएको छ । विभेद गरेरभन्दा हौसला दिएर संक्रमितको आत्मबल बढाऊ । भावनात्मक होइन भौतिक दूरी कायम गरौं । यसले कोरोना जितिन्छ । संक्रमण फैलने जोखिम कम हुन्छ । मैले कार्यकर्ता तथा आफन्तहरूसँग संक्रमित भएको अवस्थामा पनि भौतिक दूरी कायम गरी भेटघाट गरेँ । मलाई खास अप्ठ्यारो भएन । सावधानी अपनाएको खण्डमा कोरोना सामान्य हो ।


कोरोनाभन्दा समाजको डर

देवीराम देवकोटा (पत्रकार)

कोरोना सामाजिक अपराध होइन तर मेरो भोगाइ त्यस्तै भयो । मैले स्वाब दिएको राति ११ बजे नै शंकास्पद छ है भन्ने खबर पाइसकेको थिएँ । परिवारभन्दा अलगै कोठामा सुतेँ । रातभरी निन्द्रा लागेन । मनमा कोरोनाकोभन्दा समाजको डर थियो सायद । रातभरी फेन लगाएर सुतेकाले होला बिहान उठ्दा सामान्य रूघा लाग्ला जस्तो भएको थियो । रिपोर्ट शंकास्पद मात्रै भनिएको भएपनि मैले झोला प्याक गरेँ र डेराबाट निस्किएँ । हामी संक्रमित केही साथीहरूले यसलाई लुकाउनु हुँदैन भनेर सार्वजनिक ग¥र्यौं । तर मेरो घरमा घरबेटीलगायत छिमेकीहरू मेरो रिपोर्ट पोजेटिभ भएपछि आतङ्कित हुनुभएछ । त्यसको प्रत्यक्ष पीडा मेरी श्रीमतीले भोग्नुप¥र्यो । छर–छिमेकीहरूले टाढै बस भन्ने, पसलमा पैसा लिन नमान्ने खालको व्यवहार भएछ । तत्काल कन्ट्याक्ट टे«सिङ्का आधारमा परिवारका सबैको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।

समाजमा कोरोनालाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ । यसलाई चिर्नु जरुरी छ । आज तपाईं अरुलाई कोरोना संक्रमित भयो भनेर दुव्र्यवहार गर्नुहुन्छ भोलि तपाईंलाई कोरोना संक्रमण नहोला भन्ने ग्यारेण्टी के छ ? त्यसैले भौतिक दूरीका नाममा दुव्र्यवहार गर्नु हुँदैन । मलाई अहिलेसम्म सामान्य रूघाखोकी बाहेक कुनै पनि खालको लक्षण देखिएको छैन । पूर्ण सावधानी अपनाई होम आइसोलेसनमा बसेको छु ।


साथीभाइले हौसला दिनुभयो

खगेन्द्रप्रसाद शर्मा (सामाजिक अभियान्ता, वीरेन्द्रनगर–१२, सुर्खेत)

कोरोना खास केही हो जस्तो मलाई लागेन । समाजले यसलाई बढी नै हाउगुजीको रूपमा लिएको छ । म कन्ट्याक्ट ट्रेसिङ्मा परेको हुँ । असार २७ गते मेरो स्वाब दिए पनि असार ३० गते रिपोर्ट आयो । वीरेन्द्रनगरको बसपार्क आइसोलेसनमा ११ दिन बसेँ । मलाई कुनै पनि लक्षण देखिएको थिएन । साथीभाइहरूले बारम्बार फोन गरेर हौसला दिनुहुन्थ्यो । तर, घर–परिवारलाई छर–छिमेकीहरूले देखे भने दौडिएर भित्र पस्ने गर्दा रहेछन् । सावधानी अपनाउनुको साटो दुव्र्यवहार गर्ने खालको व्यवहार भएछ ।

कोरोना जसलाई जतिबेला पनि हुन सक्छ । आज अरूलाई दुव्र्यवहार गर्ने नै भोलि संक्रमित हुनसक्छ । त्यसैले सुरक्षा विधि अपनाउनु राम्रो तर दुव्र्यवहार गर्नु नराम्रो हो । मेरो परिवारका अरू सबैको रिपोर्ट नेगेटिभ आयो । मेरो रिपोर्ट नेगेटिभ आएपछि पनि म एक हप्ता होम आइसोलेसनमा बसेँ । अहिले त काममा फर्किसकेको छु । मलाई कोरोना सामान्य रूघाखोकीबाहेक केही होइन जस्तो लाग्छ । तर त्यसो भन्दैमा लापरबाही चाहीँ गर्नु हुँदैन । आत्मविश्वास, खानपान र सरसफाइमा विशेष ध्यान दिन सके कोरोना जितिन्छ ।

प्रकाशित मितिः   १ आश्विन २०७७, बिहीबार ०६:०४