निगरानी

प्रश्नसहितको जवाफदेहिता

लक्ष्मीप्रसाद पौडेल (अनुरागी)

हामी हामीले धेरै पटक सुनिरहेको शब्द हो, जवाफदेहिता । नेपाली शब्दकोशको अर्थअनुसार जवाफदेही हुनु भनेको पारदर्शी हुनु हो, उत्तरदायित्व बहन गर्नु, जिम्मेवारी पूरा गर्नु हो । अर्थात् आफ्नो दायित्व वा जिम्मेवारीबाट नपन्छिएर कर्तव्य पूरा गर्नुलाई बुझौं ।

एक सचेत नागरिकको हैसियतमा हामी सबैले जवाफदेहिताका कुरा गर्ने गर्छौं । जवाफदेही हुनुपर्ने वकालत गर्छौं । तर विडम्बना के छ भने हिजोसम्म जवाफदेहिता खोज्ने व्यक्तिहरू नै जब सत्ता वा शक्तिमा पुग्छन् तब बिर्सिन्छन् जवाफदेहिता । अर्थात् जो जवाफदेही हुनुपर्ने हो उनीहरू नाजवाफ हुन्छन् । अनि जरूरी हुन्छ खबरदारी । अनि आवश्यक पर्छ प्रश्न ।

लोकतन्त्र प्रश्नविना अधुरोजस्तै हुन्छ । तर सत्ता वा शक्तिमा पुगेकाहरू न त कुशलतापुर्वक जिम्मेवारी पूरा गर्छन् न नागरिकको प्रश्नहरूको उत्तर नै दिन्छन् । दायित्वबाट भाग्नेहरूसँग नागरिकले जवाफ माग्छन् वा प्रश्न गर्छन् । तर शासकहरू प्रश्नलाई वास्ता गर्दैनन् । थामथुम गर्छन् । प्रश्न र दायित्व दुवैबाट भाग्ने प्रयत्न गर्छन् ।

हाम्रा सार्वजनिक निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जवाफदेही बनाउन र आºनो जिम्मेवारीबाट पन्छिन नदिन नागरिकको निरन्तर खबरदारी अनिवार्य छ । नागरिकले शासकलाई निरन्तर प्रश्न गर्न जरूरी छ । यदि शासकले नागरिकको प्रश्नको उत्तर दिन सके भने जवाफदेहिता रहन्छ ।

शासक भनेर हामीले ती व्यक्तिलाई बुझौं जसलाई हामीले एक भोट खर्चिएर हाम्रै भलाइका लागि काम गर्न निर्वाचित गराएका हुन्छौं । अर्थात् शासक भनेर हामीले हाम्रा वडा सदस्य, वडा अध्यक्षदेखि देशको प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई बुझौं । अनि सार्वजनिक निकाय भनेर हामी हाम्रो देशका सबै सरकारी निकायहरूलाई बुझौं । जो हामीप्रति जवाफदेही हुनुपर्छ । कानुनले व्यवस्था गरेअनुसार हाम्रो कार्यसम्पादन गरिदिनुपर्छ । हामीले मागेका हरेक प्रश्नको उत्तर दिनुपर्छ । अर्थात् ती सार्वजनिक निकाय र व्यक्तिहरू हामीप्रति जवाफदेही हुनुपर्छ ।

जवाफदेहिताको विषय हामीले हाम्रो सबैभन्दा नजिकैको सरकारको प्रसङ्गबाट सुरू गरौं । संविधानले व्यवस्था गरेअनुरूप हाम्रो नजिकै सरकार छ, स्थानीय सरकार । हाम्रो वरिपरि हामीले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरू छन् । हाम्रै ठाउँमा जिम्मेवार सार्वजनिक निकायहरू छन् । तर हाम्रो जति नै नजिक रहे पनि न सार्वजनिक निकाय जवाफदेही छन् न हाम्रा राजनीतिक दलहरू जिम्मेवार छन् । हामीले चुनेका शासकहरू नै हामीप्रति जवाफदेही छैनन् । उनीहरू नाजवाफ छन् । उनीहरूलाई प्रश्नको ओइरो जरूरी छ । नागरिक र सरकारबीच निरन्तर संवाद जरूरी हुन्छ ।

सञ्चारकर्मी विनय शेखरले एउटा आलेखमा लेखेका छन् ‘जब शासकले आधारहीन, हावादारी गफ दिन्छन्, पूरा हुन नसक्ने सपना बाँड्छन् र जनमतलाई खिल्ली उडाउँछन्, त्यही दिनदेखि उनीहरूप्रतिको विश्वसनीयता ओरालो लाग्छ । अर्को चुनावसम्मका लागि शासकको दिनगन्ती सुरु हुन्छ । किनभने शासक या प्रशासक जो हुन्, उनीहरू नागरिकको दुःख, श्रम र पसिनाको कमाइबाट पालिएका हुन्छन् । नागरिकले तिरेको करबाट क्षणिक मोज गर्न सकिएला, तर त्यो दीर्घकालका लागि पछुतो हुनेछ ।’ उनले भन्न खोजेको कुरा शासकहरूले नागरिकको करमा मस्ती गरिरहेका शासकहरूले जनताका आकांक्षा पूरा गर्नेतर्फ लाग्नु नै उनीहरू जवाफदेही हुनु हो । यदि नेताहरूले जनताको जवाफ स्पष्ट दिन्छन्, आकांक्षा पूरा गर्छन् वा बोल्नभन्दा बढी काम गर्छन् । तब उनीहरू जवाफदेही मानिन्छन् । नागरिकले अर्कोपटक पनि उनीहरूलाई नै चुन्छन् ।

सार्वजनिक निकाय, राजनीतिक दल र शासकहरू जवाफ दिनेहरू हुन् । यसर्थ आमनागरिकहरू भने जवाफदेहिता खोज्नेहरू हुन् । अर्थात् सत्ता वा शक्तिमा हुनेहरूले जवाफ दिनु, जिम्मेवारी पूरा गर्नु दायित्व हो । उनीहरूको दायित्वबाट पन्छिन नदिन निरन्तर खबरदारी गरी प्रश्न गर्ने जिम्मा भने नागरिकको नै हो ।

नागरिकहरूले आफ्नो नाममा के काम भइरहेको छ ? भन्ने कुराको खोजी गर्न जरुरी छ । शासकले तिमीहरूका लागि यो काम भइरहेको छ भनेर बिरलै भन्छन् । त्यसैले त नागरिकले प्रश्न तेस्र्याएर उत्तर खोज्न जरुरी हुन्छ । विकास निर्माण परिवर्तनका लागि स्रोत–साधन र शक्ति कसरी प्रयोग भइरहेको छ भन्नेबारे तथा नागरिकसामु गरिएको वाचा पूरा कति भएको छ भन्नेबारे जब शासकहरूले नागरिकहरूलाई जानकारी दिँदैनन् तब नागरिकले प्रश्न गर्न पाउने अधिकारको उपयोग गरी जानकारी लिनुपर्छ ।

सार्वजनिक पदाधिकारीको आचरण कस्तो छ ? भन्नेबारे पनि आम नागरिकको चासोको विषय हुन जरूरी छ । जब कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले नै अनैतिक र पदीय मर्यादाविपरीतको कार्य गर्दछ । त्यहाँ न नैतिकताको अस्तित्व रहन्छ न त उनीहरूको जवाफदेहिताको नै । नागरिकमा प्रश्न उब्जिन्छन् । ठूला मान्छेले जे पनि गर्न पाइन्छ ? र नैराश्यता पनि सँग–सँगै । यसर्थ हाम्रा स्थानीय सरकारका पदाधिकारीहरू जवाफदेही अलि कम बनेको पाइन्छ । आफूले गर्नुपर्ने पदीय जिम्मेवारी र कर्तव्यबाट पन्छिनु त छँदैछ । नागरिकहरूको गुनासो वा प्रश्नहरूमाथी बेवास्ता गर्छन् । कुनै एउटा सर्वसाधारणले आफ्नो स्थानीय तहको बजेटबारे सूचना माग गर्न हिम्मत राख्दैन । किनकि हाम्रा शासक र सार्वजनिक निकायहरूले प्रश्न गर्नेहरूलाई उत्तर दिन हैसियत खोज्छन् । अर्थात् भनौ हाम्रो सत्ता वा शक्तिमा पुगेकाहरू हैसियत भएका नागरिकहरूप्रति मात्रै उत्तरदायी र जवाफदेही हुन्छन् । कुनै सर्वसाधारणले आफ्नो शासक वा सार्वजनिक निकायबाट पाउने न्यूनतम सूचना पाउन सार्वजनिक सञ्चारमाध्यम नै हुनुपर्ने जटिल परिस्थिति सिर्जना भएको छ । अनि सर्वसाधारणप्रति स्वयम् जवाफदेही नहुने, उनीहरूका प्रश्नहरूलाई टालटुल वा ढाकछोप गर्ने शासकहरू कसरी जवाफदेही छन् भनौं ।

जनप्रतिनिधिहरूले आफूले बोलेका कुरा पूरा गरेनन् भने नागरिकले प्रश्न गर्न जरुरी छ । राजनीतिशास्त्री हरि शर्माले नागरिकले हरेक सार्वजनिक सरोकारका विषयमा नागरिकलाई चित्त नबुझेको अवस्थामा प्रश्न गर्नुपर्ने बताउँछन् । शासकहरू प्रश्नलाई सकेसम्म टालटुल गर्ने प्रयत्न गर्छन् । तर त्यसमा अर्को नागरिकले प्रश्न गर्नुपर्ने हुन्छ । प्रश्नको उत्तर आएर समाधान नहुने बताउँदै उनले प्रश्नले प्रतिप्रश्न जन्माएर नागरिक र सरकारबीच संवादको अवस्था उत्पन्न हुने बताउँछन् । तर अहिले हाम्रो सार्वजनिक निकाय र नागरिकबीच संवादहिनताको अवस्था छ । नागरिकहरू सत्ता र शक्तिमा बसेकाहरूलाई हाउँगुजी सम्झिन बाध्य छन् । त्यसैले नागरिकहरूले सार्वजनिक निकाय वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू जवाफदेही नभएको आँखैअगाडि देख्दा समेत चुप लाग्न बाध्य छन् । त्यसैले हाम्रा सार्वजनिक निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जवाफदेही बनाउन र आफ्नो जिम्मेवारीबाट पन्छिन नदिन नागरिकको निरन्तर खबरदारी अनिवार्य छ । नागरिकले शासकलाई निरन्तर प्रश्न गर्न जरूरी छ । यदि शासकले नागरिकको प्रश्नको उत्तर दिन सके भने जवाफदेहिता रहन्छ । त्यसैले त जबसम्म प्रश्न गरिँदैन जिम्मेवार निकाय र व्यक्तिले मनमौजी गर्छन् । जवाफदेहिताको अस्तित्व रहँदैन ।

प्रकाशित मितिः   ३० भाद्र २०७७, मंगलवार ०६:०४