वीरेन्द्रनगरमा औषधि अभाव
वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिको अभाव भएको छ । नगरमा आठ वटा सहरी स्वास्थ्य केन्द्र र सात वटा स्वास्थ्यचौकी छन् । यहाँका अधिकांश स्वास्थ्य संस्थाहरूले औषधिको अभाव झेल्दै आएका हुन् ।
नगरका स्वास्थ्य केन्द्र तथा चौकीहरूमा सामान्य औषधिसमेत नहुँदा बिरामीहरू खाली हात फर्कने गरेका छन् । वीरेन्द्रनगरजस्तो सुगम र प्रदेशको राजधानीसमेत रहेको ठाउँका नागरिकले सरकारले उपलब्ध गराउने निःशुल्क औषधि पाउन नसकेका हुन् । स्वास्थ्यकर्मीहरूका अनुसार नगरका कतिपय स्वास्थ्य संस्थाहरूमा सिटामोल, जीवनजल लगायतका सामान्य औषधिसमेत नपाइने अवस्था छ । यतिबेला नगरका स्वास्थ्यचौकीहरूमा गर्भनिरोधक पिल्स, कण्डम, डिपो लगायतका अत्यावश्यक औषधि छैनन् ।
नगरका अधिकांश स्वास्थ्य केन्द्र र चौकीमा गर्भनिरोधक पिल्स, कण्डम, डिपो, सिटामोल र जीवनजल लगायतका औषधिसमेत छैनन् ।
नेपाल सरकारले स्वास्थ्यचौकीहरूबाट ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँछ । वीरेन्द्रनगरमा भने त्यस्ता औषधि नपाइने गरेको हो । गएको आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाले नगरका स्वास्थ्य संस्थामा वितरण गर्न ४५ लाख ५० हजारको औषधि खरिद गरेको थियो ।
जर्बुटा स्वास्थ्यचौकीका प्रमुख नविन भुषालले पिल्स, कण्डम, डिपो, आइरन, दम, सुगर तथा प्रेसरको औषधि आफूहरूसँग नभएको बताए । ‘नभइ नहुने औषधिको अभाव सधैं झेल्नु परेको छ,’ उनले भने ‘माग अनुसारको औषधि कहिल्यै आएको छैन ।’ स्वास्थ्य संस्थाहरू स्थानीय तहको मातहतमा गएपछि झनै समस्या हुने गरेको उनले बताए । ‘स्वास्थ्यको समस्या जनप्रतिनिधि र प्रशासनका अन्य कर्मचारीले नबुझ्ने उनी बताउँछन् । ‘हरेक वर्ष स्वास्थ्य क्षेत्रका जनशक्तिसँग कुनै पनि छलफल नगरी न्यून बजेट विनियोजन हुन्छ,’ उनले भने ।
त्यस्तै स्वास्थ्यचौकी गढीमा पनि औषधिको अभाव छ । स्वास्थ्यचौकी प्रमुख गंगा श्रेष्ठका अनुसार त्यहाँ यतिबेला परिवार नियोजनका अस्थायी साधनको बढी अभाव छ । उनले भनिन् ‘यो समयमा स्वास्थ्यचौकीमा परिवार नियोजनका अस्थायी साधनको अभाव छ । पिल्स, डिपो र सिटामोल लगायतका औषधिको माग अहिले बढी छ ।’ नेपाल सरकारले स्वास्थ्यचौकीलाई तोकेको औषधिबाहेक आवश्यकताको आधारमा आफूहरूले अन्य औषधिसमेत खरिद गरी वितरण गर्ने गरिएको उनले बताइन् । स्थानीयतहमार्फत औषधि प्राप्त गर्ने प्रक्रिया लामो र मागको आधारमा अत्यन्त न्यून मात्रामा दिने गरिएको उनको गुनासो छ ।
वडा नं. १६ को सानीलेख स्वास्थ्य चौकीका प्रमुख भरतकुमार पुरीले सिटामोल, डिपोलगायतका औषधिको अभाव रहेको जनाए । स्वास्थ्य चौकीमा औषधि नहुँदा अस्थायी साधन प्रयोगकर्ता तथा बिरामीहरूले निजी स्वास्थ्य संस्थाबाट किनेर लैजाने गरेको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले स्वास्थ्य चौकीहरूलाई वितरण गर्नको लागि पुग्ने गरी औषधि नभएको स्वीकार गरे । ‘पर्याप्त मात्रामा औषधि नै छैन,’ उनले भने ‘भएको औषधि वितरण गरिरहेकै छौं ।’ नगरले औषधि खरिद गर्दा टेण्डरमार्फत गर्ने गरेको छ । टेण्डर प्रक्रिया गर्दा बजारभाउ माग गरी मूल्याङ्कनको आधारमा गरिने गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले औषधि खरिदको लागि २० लाख बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाले ३५ लाख र संघीय सरकारले १५ लाख ५० हजार सशर्त अनुदान दिएको थियो । चालु आर्थिक वर्षका लागि नगरले ५० लाख बजेट विनियोजन गरेको छ ।
सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्यचौकीमा ३८ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस्तै खर्चिला र जटिल प्रकृतिका आठ किसिमका कडा रोगहरू क्यान्सर, मुटु, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि सरकारले सहुलियत प्रदान गर्दै आएको छ ।
प्रकाशित मितिः ३० भाद्र २०७७, मंगलवार ०६:०१
साझा बिसौनी ।