बालअधिकार र अभिभावकत्व

बालअधिकार सम्बन्धी महासन्धि अनुसार १८ वर्षमुनिका व्यक्तिहरूलाई बालबालिका भनिन्छ । नेपालको कानुन अनुसार जन्मदेखि १६ वर्षसम्मका व्यक्तिहरूलाई बालबालिका भनिन्छ  । यद्यपि १८ वर्ष मुनिकालाई बालिग मानिएको छैन । सारमा बुझ्दा जन्मदेखि वयस्क अवस्था प्रवेश नगरुञ्जेलको अवधि नै बाल अवस्था हो ।

बाल अधिकार वकालतको सुरुवात एक बेलायती फोटो पत्रकार एग्लानटाइन जेबले गरेकी थिइन् । सन् १९२४ मा उनले बाल अधिकारको मस्यौदा–पत्र तयार गरिन् जसलाई लिग अफ नेसनको जेनेभा बालअधिकार घोषणा–पत्र (१९२४) भनि चिनिन्छ । १९१९ मा गठित लिग अफ नेसनले पाँच वर्षपछि पारित गरेको उक्त बालअधिकार घोषणा–पत्रले बालअधिकार स्थापनाको जग बसाएको मानिन्छ । यसै कारण पनि प्रथम विश्वयुद्ध (२०१४–२०१८) पछि सन् १९२३ मा बेलायतबाट बालअधिकार जुर्मुराएको भन्न सकिन्छ । नेपालमा भने तत्कालीन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिनको अवसर पारेर भारतको सिको गरी २०२१ भाद्र ४ गतेदेखि समाज सेवाको नाममा बाल दिवस मनाउने कार्य सुरु गरेकि थिइन् । तर २०६३ देखि भने नेपालले बाल अधिकार सम्बन्धि महासन्धि (२० नोभेम्बर, १९८९) पारित गरेको दिन अर्थात् १४ सेप्टेम्बर (भाद्र २९) लाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन सुरु गरिएको हो ।

१९२३ लाई आधार मानेर हिसाब गर्दा ९७ वर्ष लामो समय इतिहासमा कैद भइसकेको छ । यस अवधिमा विश्वमा भएका ठूला चमत्कारिक परिवर्तनले विश्व धेरै अगाडि बढी सकेको देखिन्छ । भविष्यको मेरुदण्डको रूपमा परिभाषित गरिने बालबालिकाको अनिवार्य आवश्यकता तथा भोलिको निमित्त तयार हुने आधार खोज्ने हो भने गणितीय साक्षरता र संख्यात्मक दस्तावेजका प्रतिवेदन बाहेक खासै उल्लेखनिय पक्ष भेटिदैँनन् । बालबालिकाको पहिलो र महŒवपूर्ण संरक्षण गृह (घर) र अविभावकहरू हुन् । तिनिहरूको अभावमा बालबालिकामा विभिन्न जोखिमहरू मोल्नुपर्ने, अनावश्यक यातना र श्रम शोषणमा पर्ने, चोरी तथा डकैती गर्ने, आर्थिक प्रलोभनमा परेर बेचबिखन हुने, यौन दुव्र्यसनीमा लाग्ने, गम्भीर किसिमका अपराधहरूमा संलग्न हुने, कतिपय गलत निर्णयको कारण जीवन थप कष्टकर हुनसक्ने आदि समस्याहरू देखिन्छन् ।

प्रविधिमा आएका नाटकीय परिवर्तनहरूले अभिभावक र केटाकेटीको दूरी तुलनात्मक रूपमा बढेको प्रष्ट महसुस गर्न सकिन्छ । पहिले बालबालिकालाई रोएको बेला फकाउन खेलौना दिँइन्थ्यो तर हिजो आज बच्चाले केही कुरा नमान्ने हो भने फकाउने सजिलो तरिका मोबाइल फोन, टेलिभिजनमा कार्टुन र सम्भव भएसम्म पैसा अनि बजारको बच्चाहरूलाई मनपर्ने खानाको प्रयोग गरिन्छ । हामी राम्रो या नराम्रो केही पनि नसोची गर्ने यस्ता कार्यले बालबालिकालाई हिजोआज सिर्जनात्मक तथा नैतिकवानको सट्टा केही कठोर बनाउँदै गएको देखिन्छ । भनिन्छ, ‘जस्तो व्यवहार चाहनुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस् ।’ यद्यपि केटाकेटी फकाउने सवालमा यो कथन अव्यवहारिक मात्र होइन अभिसाप नै सावित हुन सक्छ । आफ्नो बच्चा फकिन नमानी झिजो गरेपछि अभिभावकहरू अनेक उपाय लगाउँछन् । तर केही नलागेपछि अन्तमा चाउचाउ वा यस्तै खानेकुरा किन्नको लागि पैसा दिएपछि मात्र बच्चा फकिन्छ । परिणाम स्वरूप केही अभिभावकहरू यसलाई बच्चालाई मनाउने सही सूत्रको रूपमा अवलम्बन गर्दछन् । यद्यपि उनिहरूले आफ्नो सन्तानको स्वास्थ्यमा मडारिएको कालो बादलको सुरुवाती रूप पहिचान गर्न र रचनात्मक भूमिका खेल्न सकेका छैनन् । यसप्रकार बालअधिकार अभिभावकमाथिको बाल नियन्त्रणमा रूपान्तर हुँदै गएको देखिन्छ ।

बजारका तयारी खानेकुरा खान थालेपछि घरमा बनेको खाना बच्चाले नरूचाउन सक्छन् । यस्तो हुनुको पछाडि प्राकृतिकभन्दा कृत्रिम उत्प्रेरक बढी प्रभावकारी र छिटो काम गर्नुलाई मानिएको छ । यसैको परिणाम स्वरूप बालबालिकाहरू कुपोषण तथा जण्डिस लगायतका रोगको सिकार हुने सम्भावना व्यापक रहन्छ । त्यसैगरी आफूले बच्चा फकाउन किनेको थोरै खानेकुराको भुक्तानी अभिभावकहरूलाई समेत आजीवन पछुतोको रूपमा गर्नुपर्ने हुन सक्छ । एकातिर स्वास्थ्यका लागि सर्वोत्तम चिजको ख्याल नगर्ने र अर्कोतिर बाल चरित्र टार्न खोज्ने बानिले दोहोरो खर्चको वृद्धि हुनेतर्फ सबै आमा बाबुहरू र बाल संरक्षकहरू सचेत रहनुपर्छ ।

हाम्रो सानो लापर्वाहिलाई समयमा नियन्त्रण गर्न सकिएन भने ‘बाह्र छोरा, तेह्र नाति, बुढाको धोक्रो कानै माथि’ भन्ने उखान चरितार्थ नहोला भन्ने आधार छैन । अविभावकसँगै हुनु, पर्याप्त स्याहारको व्यवस्था हुनु, आवश्यक सबै वातावरण हुँदा पनि बच्चाको चिन्ताले आफूलाई पनि सन्तोषको आभास नहुने र बच्चा पनि निरोगी नहुने परिस्थितिको सिर्जना हुन कुनै आइतवार लाग्दैन । त्यसैले आमा र बुबाको कर्तव्य छोरा र छोरीलाई खुशी पार्ने मात्र होइन । उनीहरूलाई निरोगी तथा स्वस्थ राख्न उचित व्यवहारको साथ सन्तुलित तथा रचनात्मक नियन्त्रण गर्नु पनि हो । नैतिक र गुणस्तरिय शिक्षा दिन पनि त्यत्तिकै आवश्यक छ जुन आजको प्रमुख चुनौतिको रूपमा देखापरेको छ । यसर्थमा हाम्रा आनिबानी र अन्य गतिविधिहरूबाट बालबालिकामा पर्न सक्ने दीर्घकालीन नकारात्मक असरप्रति सबै अभिभावकहरू सचेत र सजग हुनुपर्दछ । कालान्तरमा यही नै विपद्मा बालअधिकार सुनिश्चितताको साझा र सही प्रतिबद्धता हुन सक्छ ।

अभिभावकहरू आफ्ना बालबालिकालाई आफ्नो आदेश पालना गरेको हेर्न चाहन्छन् । तर बालबालिकालाई विभिन्न स–साना काममा लगाउँदा बाल मस्तिष्कमा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे अभिभावक खासै सचेत भएको पाइँदैन । फलस्वरूपः आफ्ना नानीहरूलाई धुम्रपान तथा मधिराजन्य पदार्थ किनमेलमा लगाउने, उनीहरूको अघि धुम्रपान तथा मदिराको सेवन गर्ने, सिकाइको नाममा गृहकार्यमा बढी जोड दिने, आदि कुराहरू प्रशस्त पुनरावृत्ति भइरहेका छन् । यसका पछाडि राज्यले अङ्गालेको ‘शिक्षा नै बालअधिकार’ भन्ने नाराले अभिप्रेरित गरेको देखिन्छ । कुन कुराले कस्तो सिकाइ हुन्छ भन्ने ज्ञानको अभावमा आफ्ना नानीहरूलाई अभिभावकहरूले कहिलेकाहीँ मनोमानी गर्न दिने त कहिले गैरप्रजातान्त्रिक ढाँचामा नियन्त्रण गरिरहेको पाइन्छ । बालबालिकामा सकारात्मक प्रभाव छोड्नु भनेको उनीहरूको जीवनमा त्यसको छाप पार्नु हो । त्यसैले हामीले काँचो माटो मुछ्दा जति सतर्कता अपनाउँछौं त्यति नै सतर्कता कलिला बालबालिकाको भविष्य निर्माणमा पनि अपनाउनु पर्छ ।

नेपालमा कतिलाई राम्ररी खान पनि पुग्दैन । जनताहरू, जो गरिबीको चरम खाडलमा परेका छन्, त्यहाँ समस्याको चाङ अझ भयानक छ । ती मध्ये पाँच सयको श्रमलाई दुई सयमा बेच्दा पनि काम नपाएको पीडा, चुँहिने र हावा लाग्दा उडाउने छाना मुनिको बास बस्नुको बाध्यता, बढ्दो बाल हिंसाको त्रास, प्रकृतिको हातमा रहेको अनिश्चित मृत्यु, मानवताले लाग्ने ममताको पासो, बाढी–पहिरोबाट भएको क्षतिको पीडा, सबै यसै बस्तीभित्र अटाएका छन् । हाल महामारिको रूपमा देखिएको कोभिड–१९ भाइरस यस प्रकारका गरिबहरूको समुदायमा प्रवेश गरे हुने बाल मृत्युको क्षति बेहोर्न तिनका अभिभावकहरू तयार छैनन् जुन अझै राज्यले महशुस गरिसकेको छैन । भूपि शेरचनले उनको कविता ‘मेरो चोक’ मा लेखेका छन्, ‘मेरो सानो गल्लीमा एउटा चोक छस् त्यहाँ भोक, रोग र अनिकाल सबै थोक छ ।’ अहिलेसम्म यस्तो सुन्दर र सबै चिजले समृद्ध बस्तीमा देशका बागडोरेहरूको नजर झुक्किएर पनि परेको छैन । त्यसैले होला ति ठाउँहरू चर्चित छैनन् । त्यहाँका चुलामा आगो पनि सानो र थोरै समय बल्छ ।

यस प्रकारका गाउँ बस्तिको कथा बाँझिएको छ खोट नदेखिने महिनौ लगाएर तयार पारिएको यस वर्षको बाल दिवसको नारा ‘विपद्मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ सँग । किनकि त्यहाँ राज्यको भौतिक नजर समेत राम्ररी पर्दैन । यसैकारण अङ्क गणितीय र ज्यामितीय ज्ञानको ज्योति निकै कमजोर छ । नतिजामा ती बस्तीमा सुमधुर खुशीको संगीत अझैसम्म गुञ्जिन सकेको छैन । यसर्थ वर्षमा एक पटक त्यो पनि सजिएका हल तथा प्राङ्गणमा जतिसुकै सभ्य र भव्य समारोहमा जे कुरा गरेपनि राज्यले दिनुपर्ने वास्तविक अधिकार सुविधाबाट वञ्चित बालबालिकाहरूको जीवनमा खासै फरक परेको छैन । राज्यको लाखौं खर्चमा मनाइने यस प्रकारका दिवसहरूमा वास्तविक समूहको उपस्थिति खासै ख्याल गरिँदैन बरु अन्तर्राष्ट्रिय समुदायलाई नेपालले दिवस मनाएको प्रभावकारी सन्देश दिन खोजिन्छ ।

सबै बालबालिकाका लागि बचाउ, विकास, संरक्षण र सहभागितामा गुणस्तरीय सुनिश्चितता प्रदान गर्न सकेमा मात्र राज्यको चौतर्फि विकास हुन्छ । नेपालको संविधान २०७२ को धारा ३९ (९) ले असहाय, अनाथ, द्वन्द्वपीडित र जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष सु िवधा र संरक्षणको हक सुनिश्चित गरेको छ । विडम्बना राम्रो कानुनी व्यवस्थाका बाबजुत बालबालिकाहरू कुपोषण, कुलत र दुव्र्यसन, श्रम शोषण, बेचबिखन, आदि समस्याहरूसँग जुधिरहेका छन् । विभिन्न कारणहरूले सडकमा आउने बालबालिकाको संख्या प्रतिदिन बढ्दो क्रममा छ । देशका खम्बा भनिनेहरूको संख्या माग्दै हिँडेमा देशको भविष्य कस्तो होला भन्ने कुरा सहजै कल्पना गर्न सकिन्छ । त्यसैले सार्थक रूपमा नारा लाउने हो भने पहिले सडकमा बस्नेहरूको पालमा, पालमा बस्नेहरूको घर वा छानोमा र अब जन्मिने बालबालिकाहरूको पालनपोषणको जिम्मेवारी अभिभावकको सहयोगमा राज्यले लिनसक्नुपर्छ । आफैले बनाएको नियम कार्यान्वयन गर्न नसक्नु राज्यको अक्षमता हो । सबैका लागि गुणस्तरीय शिक्षाका नारा लगाए पनि कर्णाली प्रदेशको साक्षरता प्रतिशत करिब ६० मात्र रहेको तथ्याङ्क सार्वजनिक भएको छ । वर्ष २०७७ को बाल दिवस पनि ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ नाराको ब्यानरमा मनाइँदैछ । बाल अधिकार सुनिश्चितताका लागि नागरिकले नारामा झैँ मन, वचन र कर्मले विपद्मा बालबालिकाको सर्वोत्तम हितका चार आधारभूत पक्षहरू बाल बचाऊ, बाल विकास, बाल सहभागिता र बाल संरक्षणलाई जोड दिनु पर्छ । यही नै सबै बालबालिकाको अधिकारका लागि अर्थपूर्ण हुन्छ ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।)

प्रकाशित मितिः   २९ भाद्र २०७७, सोमबार ०६:०१