अपरिहार्य वित्तीय अनुशासन
‘एकका लागि सबै र सबैका लागि एक’को भावनाअनसार १८ औं शताब्दीदेखि विभिन्न चरणहरूमा सुरु भएको विश्व सहकारी इतिहास आज सबै राष्ट्रहरूले अंगिकार गरेको मोडेल हो । यो सामाजिक विभेद र उत्पीडनको अन्त्यका लागि साझा भावनामा आधारित संगठित रूप हो ।
सहकारीताले केवल जीवननिर्वाह गर्न मात्र सजिलो गरेन समाजमा पिछडिएका वर्ग–क्षेत्रको उत्थान र दिगो विकासमा अनवरत काम गरी आर्थिक, सामाजिक परिवर्तनको खम्वाको रूपमा उभियो । सहकारीको विश्वयापीकरणसँगै २०१० को दशकमा सुरुवात भएको नेपालको सहकारी अभियान विभिन्न चरणहरूमा आएर सामाजिक रूपान्तरणको कोशेढुङ्गा सावित भयो । सहकारीले समाजमा ल्याएको नयाँ आयाम र वित्तीय सहजताले सहरदेखि गाँउसम्म सहकारीको अभियान दु्रत रूपमा वृद्धि र विकास भयो । राज्यको कुल ग्राहस्थ उत्पादनमा खेलेको महत्वपूर्ण भूमिकाको कारण सहकारीलाई राज्यको अर्थयवस्थाको तीन वटा खम्बामध्ये एकको रूपमा स्वीकार गरेको छ । सहरमा भएको ठूलोठूलो परियोजनादेखि विभिन्न ग्रामीण क्षेत्रमा रहेका किसानको ढोकासम्म सहकारी कुनै न कुनै भूमिकाबाट मानव जीवनमा जोडिएको छ । चाहे साझा पसल होस् चाहे किसानका लागि सहुलियत मल र बीउविजनदेखि हाम्रो घर उज्यालो बनाउने बिजुली सबैमा सहकारीकै योगदान छ ।
संख्यात्मक रूपमा सहकारीको विकास निकै भएको छ । पूँजी बजारमा यसले कुल अर्थ व्यवस्थाको १८ देखि २० प्रतिशत भार ओगटेको हुँदा ठूलो संख्यामा सहकारीहरूले वित्तीय कारोबार गर्दछन् । करिब ३५ हजार वटा सहकारीहरूमध्ये अधिकांशले गर्ने व्यवसाय वचत र ऋण नै रहेको छ । बचत तथा ऋणको कारोवार गर्ने अन्य विषयगत वा बहुउद्देश्यीय र बचत ऋणकै कारोबार गर्नका लागि स्थापित बचत तथा ऋण सहकारी संस्था (साकोस) वा क्रेडिट युनियनहरूले हाल बजारमा आफूलाई वित्तीय रूपमा स्थापित गर्नका लागि काम गरिरहेका छन् । पछिल्लो समय नियमनकारी भूमिका प्रभावकारी नहुँदा र स्व–नियमन गर्न नसक्दा सहकारीले विभिन्न समयमा समदायको अविश्वास समेत खेप्न परेको तितो यथार्थतामा नेपालका सहकारी संस्थाहरूले विश्वमा नै उत्कृष्टता प्राप्त गरेको उदाहरण हो एसियाली ऋण महासंघद्वारा प्रदान गरिने गुणस्तर प्रमाणीकरण कार्यक्रम प्राप्त २४ वटा साकोस र नेफ्स्कूनले सहकारी विभागको समन्वयमा गर्ने नेपाल स्यन्डर कार्यक्रम प्रमाणित ३४ वटा सहकारी । यसरी संस्थालाई दिगो र सदस्य तथा समुदायमा स्थापित संस्था हुनका लागि संस्थाको पहिलो महत्वपूर्ण विषय वित्तीय सन्तुलन नै हो । आकारमा कत्रो बनाउने भन्दा पनि स्वस्थता कस्तो बनाउने भन्ने प्रमुख कुरा हुन्छ । जसका मुख्य ध्यान दिनुपर्ने कराहरूलाई यसरी हेर्न सकिन्छ ।
१. शेयर पूँजी
सहकारी संस्थामा भित्रिने प्रारम्भिक पूँजीको स्रोत शेयर पूँजी हो । शेयर पूँजीमा योगदान नगरी सहकारी संस्थामा सदस्यता प्राप्त हुँदैन र कुनै पनि कारोबार गर्नका लागि योग्य हँुदैन । तर संस्थाले एक जनालाई कुनै शेयर पूँजीको २० प्रतिशतभन्दा बढी शेयर पूँजी प्रदान गर्नु भने हँुदैन । सबै सदस्यलाई समान रूपमा औषत शेयर रकम बराबर शेयर प्रदान गर्नुपर्छ भने कम्तीमा ३० प्रतिशतभन्दा कम सदस्यले मात्र औषत शेयर पूँजी बराबर वा सो भन्दामाथि शेयर खरिद गरेको छ भने त्यो संस्था अस्वस्थ छ भन्ने बुझिन्छ जसको फलस्वरूपः संस्था थोरै व्यक्तिको अधिकतम आर्थिक नियन्त्रणमा छ भन्ने बुझिन्छ । कुल सम्पत्ति वा वासलातको १० भन्दा कम र २० प्रतिशतभन्दा बढीको शेयर पूँजी पनि अस्वस्थ हो । तर सदस्यलाई सहकारी ऐनको परिधिमा रहेर शेयर लगानीमा सन्तुष्ट प्रतिफल दिने हो भने कम्तीमा ३० प्रतिशत सदस्यले औषत शेयर रकमभन्दा माथि शेयर किनेको कुल १२ देखि १५ प्रतिशतको शेयर पूँजी संस्थाका लागि स्वस्थ पूँजी हो । शेयर पूँजीको आधारमा सदस्यहरूको वर्गीकरण र ठूला शेयर भएका सदस्यहरूलाई मात्र महŒव दियो भने संस्था कुनै पनि समय दुर्घटना हुन सक्छ । संस्थामा शेयर पूँजी फिर्ताको लागि न योजना हुन्छ न त तरलता व्यवस्थापन गरिएको हुन्छ । दीर्घकालीन दायित्वको रूपमा शेयर पूँजीलाई हेरिने हुँदा ठूलो परिमाणमा शेयर फिर्ता हुँदा दुर्घटना हुने हुन्छ । यदि करोडांै शेयर पूँजी संकलित गरेर म ठूलो संस्था भनिरहँदा माथिको जस्तो अस्वस्थता हुनु भनेको भुस केलाउनु भन्दा पहिलेको धानको थुप्रो जस्तै हो ।
२. संस्थागत पूँजी
संस्थाले दायित्व व्यहोर्न नपर्ने र संस्थाको अनन्तकालसम्म नघट्ने पूँजी नै संस्थागत पूँजी हो । जुन संस्था सबै वित्तीय सूचकसहित सुशासनमा छन् त्यस्ता संस्थाको संस्थागत पूँजी अधिक हुन्छ । संस्थागत पूँजी कुल सम्पत्तिको १० प्रतिशतभन्दा धेरै जुन बेला हुन्छ त्यस समय उसको कोषको लागत घटेर आधारभूत मूल्य कम भइ सदस्यहरूलाई सुलभ दरमा सेवाहरू दिन सक्छ । प्रशस्त आकारले ठूलो हुन मात्रै संस्थाको सवलपक्ष त्यति बेला हँुदैन जतिबेला संस्थागत पूँजी कमजोर हुन्छ । संस्थाको अल्पकालीन र दीर्घकालीन दायित्वहरूलाई व्यवस्थापन गर्न सस्थागत पूँजी महत्वपूर्ण हुन्छ । संस्थागत पूँजी कमजोर अवस्थामा अंकको आकार मात्रै ठूलो हुनु भनेको ऋणको भारीले थिचिएर उकालो लाग्नु जस्तै हो । प्रतिफल दर र सदस्यको सन्तुष्टी साथै सेवाको लागत निर्धारणको र संस्था कहिले पनि धरासायी नहुनका लागि संस्थागत पूँजी अनिवार्य रूपमा बलियो हुनुपर्छ ।
३. बचत संकलन
वित्तीय संस्था साकोसहरू सञ्चालनको मुख्य स्रोत सदस्यहरूबाट संकलित बचत नै हो । संस्थाहरूको व्यवसाय कति भयो भन्ने कुरा बचत कति संकलन भयो भन्नेमा निर्भर हुन्छ । तर यसरी संकलन हुने बचत आफैमा संस्थाका लागि कति लाभदायक छ भन्ने कुरा ख्याल राख्नैपर्छ । यदि नियमित रूपमा धेरै जनाले गर्ने मासिक बचत जसलाई हामी अनिवार्य मासिक बचत पनि भन्दछौ त्यस्तो बचतहरू, बाल बचत, नियमित, मासिक बचत, बुढेसकाल साहारा बचतहरू कम्तीमा ३० प्रतिशत वा सो भन्दा माथि जति धेरै भयो त्यति नै राम्रो मानिन्छ । त्यस्तो बचत कम्तीमा ३० प्रतिशत सदस्यको हुनुपर्छ । धन सृजना गर्न बचतहरू १५ प्रतिशत र आवधिक बचत जसलाई मुद्दति भन्दछौं त्यसलाई २० प्रतिशत भन्दा कम बनाई बाँकी साधारण प्रकृतिको बचत हुनुपर्छ । बचत र निक्षेप सेभिङ र डिपोजिटलाई छुट्टाछट्टै बुझेर कारोबार गर्नुपर्छ । प्राथमिक पूँजीकोष (संस्थागत कोष शेयर पूँजी) को १५ गुणाभन्दा बढी बचत संकलन गर्नु हुँदैन । एकैजना वा थोरैजना सदस्यको ठूलो बचत राख्नु हुँदैन । तीन वर्ष भन्दा लामो अवधिका आवधिक बचत स्वीकार्नु हुँदैन र त्यो भन्दा लामो अवधिका दोब्बर बनाउने, डेढ गुणा गराउने जस्ता बचतहरू लिन हुँदैन । जुनसुकै बेला ब्याजदर परिवर्तन गर्न सकिने बचत मात्रै लिनुपर्छ । माथिको जस्तै औषत वा प्रतिशतहरू नमिलाई बचत संकलन गर्नु भनेको तीन वटा टायरको गाडीमा यात्रा गर्नु जस्तै जोखिम हो । बचतको ब्याज एकै प्रकारको बचतमा सबै सदस्यलाई समान हुनुपर्छ । कर्मचारी सञ्चालकको र निजहरूको आफन्तको ब्याज र सदस्यको ब्याज फरक गर्ने गरेको पाइन्छ ।
४. बाह्य ऋण
संस्थाको व्यवसाय विस्तारको सहायक उपाय हो बाह्य स्रोतबाट ल्याइने ऋण । यस्तो ऋण कहिल्यै पनि बचत फिर्तामा प्रयोग हुनु हुँदैन यानकी तरलता व्यवस्थापनमा लगाउनु हँुदैन । बाह्य ऋणबाट मात्रै सञ्चालित संस्थाहरूले जतिसुकै ठूलो व्यवसाय गरे पनि सदस्यलाई पूर्ण रूपमा आर्थिक लाभ दिन सक्दैनौं । सदस्यको जीवन परिवर्तनका लागि सुलभ सेवाहरू दिन सक्दैनन् । कुल सम्पत्तिमा पाँच प्रतिशतभन्दा बढी ऋण ल्याएर सञ्चालित संस्था भनेको सुन्निएर ठूलो भएको जस्तै हो । अझै सञ्जालभन्दा बाहिरको पैसा ल्याएर व्यवसाय गर्ने यात्रा भनेको वित्तीय सहकारीका लागि अदूरदर्शी यात्रा हो । यसरी लिने ऋणको ब्याजदर सदस्यलाई दिने ब्याजको औषत दरभन्दा कम हुनु पर्दछ । यस्तो ऋण समान प्रकृतिका संस्थाबाट लिने–दिने गरेको हुनु हँुदैन ।
५. तरलता
संस्थाको कारोवार व्यवस्थापन गर्न आवश्यक मौज्दातमा राखिएको नगद वा तुरुन्तै नगदमा परिवर्तन गर्न सकिने सम्पत्ति तरलता हो । कुल सम्पत्तिको आधारमा १० देखि २० प्रतिशत (सम्पत्तिको गुणस्तर अनुसार) र कुल बचतको तुलनामा (१६ देखि २५) (बचतको गुणस्तर प्रकृतिअनुसार) तरलता मौज्दात राख्नैपर्छ । यदि त्यसो गरिएन भने सदस्यको विश्वास र संस्थाको व्यवसायलाई जोगाउन सकिदैंन । यस्तो तरल रकमलाई बजारमा ब्याजदर तुलना गरी अधिक ब्याजदर आउने गरी सञ्जाल, सहकारी बैंक वा अन्य बैंकहरूमा सजिलै कारोबार गर्न सकिने गरि राख्नुपर्छ । जहिले पनि बचतसँग तरलताको गणना गर्दा (१६ देखि २५ प्रतिशत) भने पनि अल्पकालीन रूपमा गर्नुपर्ने भुक्तानी र बाह्य ऋणको एक महिनाभित्र तिन्र्नुपर्ने किस्ता (साँवा–ब्याज) बराबरको रकम घटाएर मात्र गणना गर्नुपर्छ ।
६. वित्तीय लगानी
सदस्यलाई गरिने ऋण लगानीबाहेक अर्को संस्थाका लागि उपयुक्त आम्दानीको स्रोत हो वित्तीय लगानी । यस्तो लगानी दुईवटा प्रयोजनका लागि मूलतः गरिन्छ । एक सञ्जालमा ऐक्यबद्धता दोस्रो लगानीबाट प्रतिफल । तरलता बढी भइ ब्याज खर्च अत्याधिक हुने तर आम्दानी कम हुने अवस्थामा छोटो प्रकारका आवधिक बचत, सञ्जालमा राम्रो प्रतिफल दिने संघहरू वा सहकारी बैंकमा शेयर लगानी गरी आम्दानी बढाउने गर्नुपर्छ तर आर्थिक लाभको लागि नभइ ऐक्यबद्धताकै लागि मात्र गर्दा भने कुल सम्पत्तिको दुई प्रतिशतभन्दा कम हुने गरी मात्र यस्तो लगानी गर्नुपर्दछ ।
७. ऋण लगानी
वित्तीय सहकारीको प्रमुख आम्दानीको स्रोत र व्यवसाय नै ऋण लगानी भएको हुँदा कसलाई कहिले कसरी किन लगानी गर्दछांै भन्ने कुराले व्यवसायको भविष्य निर्धारण गरेको हुन्छ । सदस्य बनेको तीन महिना अगावै वा लगातार तीन महिनादेखि मासिक बचत गर्न नआएको सदस्यलाई ऋण प्रक्रियामा नै सहभागी गराउनु हुँदैन । पूराना ऋण, पुराना ब्याजहरूलाई एकमुष्ट पारी नयाँ लगानी देखाउने वा नविकरण गर्ने कार्य गर्नु हँुदैन । प्राकृतिक व्यक्ति सदस्यबाहेक अन्य संस्थागत सदस्यलाई ऋण लगानी कानुन विपरीत हो । एक जनालाई कति ऋण दिने भन्ने कुरा प्राथमिक पूँजी कोषको १० प्रतिशत हुने रकम हुन्छ । कुल सम्पत्तिमा ऋण लगानी ७० देखि ८० प्रतिशत रहनुपर्छ तर यो रकम सदस्यको बचत भन्दा बढि भने हुनै पर्छ । ऋण लगानी गर्दा कुनै पनि सदस्यलाई ५ वर्ष भन्दा लामो अवधि नभएको राम्रो मानिन्छ । सबै सदस्यहरूलाई उसको आम्दानी अनुसारको मासिक किस्ता प्रणालीमा बहेक एकमुष्ट भुत्तानी वा ब्याज मात्र भुक्तानी गर्ने गरी ऋण लगानी गर्नु हुँदैन । एकै घरपरिवारका एक जना व्यक्तिभन्दा बढी व्यक्तिलाई ऋण लगानी गर्नुहँुदैन यदि गर्नैपर्ने विषम् परिस्थितिमा गर्नै परेमा दुई जनाको ऋण रकम जोड्दा प्राथमिक पूँजी कोषको १० प्रतिशतभन्दा बढी हुनु हुँदैन । कर्मचारी र सञ्चालकले आफ्ना अनुकूलताका ऋणहरूलाई मनोमानी थोरै ब्याजदर वा शून्य ब्याजदर गरी सदस्यहरूलाई पनि विभिन्न लाभ लिई ब्याजदर मिलाउने विकृतिले ठूलाठूला संस्थाहरू धरासयी भएको देखिन्छ ।
८. नकमाउने सम्पतिः (ऐनको दफा ५० सँग सम्बन्धित)
संस्थाको आम्दानी कम भइ सदस्यहरूलाई सुलभ ऋण, बचतमा उत्कृष्ट ब्याजदर र शेयरको लाभांश राम्रो दिन नसक्नुको प्रमुख कारण संस्थाको नकमाउने सम्पत्ति बढी हुनु हो । यस्तो भएको अवस्थामा संस्थाको संस्थागत पूँजी कमजोर छ भने र नकमाउने सम्पत्ति बढी छ भने सदस्यलाई गरिएको लगानीभन्दा सदस्यको बचत बढी हुन्छ । संस्थागत पूँजीको ५० प्रतिशतभन्दा बढी नकमाउने सम्पत्ति जोड्नु भनेको जग्गा बेचेर महङ्गो खाट किनेर सुत्नु जस्तै हो । राम्रो घर राम्रो बगैँचा, राम्रो गाडी, टाइलमार्बल एसीलगाएर संस्था ठूलो हुन्छ तर सक्षम र सबल हुँदैन, सदस्यको हित गर्न सक्दैन । संस्था त्यतिबेला राम्रो हुन्छ जतिबेला सन्तुष्ट सदस्य, समुदायको पहिलो रोजाइँको संस्था बन्छ । जुन संस्था वित्तीय गुणस्तर राख्छ । वासलातको अंक त सबै सदस्यको सम्पत्ति हो संस्थाको दायित्व हो । ठूलो मात्र होइन राम्रो र ठूलो दुवै बन्न वित्तीय अनुशासन जरुरी हुन्छ ।
(लेखक हाम्रो एकीकृत साकोस काठमाडौंका सीइओ हुन् ।)
प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार १०:१०
साझा बिसौनी ।