‘सपनामा पनि किताबका पात्र भेट्छु’

विद्या बुढा

हुम्लाकी विद्या बुढा अहिले अध्ययनको शिलशिलामा काठमाडौंमा छिन् । स्नातकोत्तर तह अध्ययन गरिरहेकी उनी ‘वमेन आईडिया ईन्टरप्रेटर’ नामक संस्थामा काम पनि गर्छिन् । सामाजिक कार्य सँगसँगै अध्ययनमा रुचि भएकी विद्यासँग गरिएको अध्ययन संवादः

अहिले कुन पुस्तक पढिरहनु भएको छ ?

अहिले म भारतीय लेखक चेतन भगतको ‘द गर्ल इन रुम–१०५’ पढ्दै छु ।

यो पुस्तकमा के छ ? के कारणले पढ्नका लागि छनौट गर्नुभयो ?

चेतन भगत मलाई मन पर्ने लेखक हुन् । योभन्दा अघि मैले उनको ‘रिभोलुसन–२०२०’ पढेको थिएँ । त्यो पुस्तक पनि निकै राम्रो लाग्यो । उनको धेरै किताबमा सामाजिक मुद्दा केन्द्रित विषयहरू उठान भएको हुन्छन् । अनि मेरो एउटा साथीले मलाई यो किताब पढ्नु भनेर तीजको उपहार दिएकाले पनि पढ्न लागेकी हुँ ।

कस्ता पुस्तकहरू तपाईंको रुचिमा पर्दछन् ?

म प्रायः सबैप्रकारका पुस्तकहरू पढ्छु । अलि बढी चाहिँ आख्यान पढ्छु । पुस्तक जुनसुकै होस् तर पढ्दा चाहिँ आनन्द आओस्, फेरि पढ्न मन लागोस् बस । हरेक पुस्तकबाट केही न केही नयाँ कुरा पाइयोस् भन्ने लाग्छ मलाई । जिउँदो छु भन्नका लागि र जीवनलाई झक्झकाउनुका लागि भए पनि पुस्तक पढ्नुपर्छ जस्तो लाग्छ ।

पुस्तकको छनौट कसरी गर्नुहुन्छ ?

प्रायः किताबहरू इतिहासको बारेमा छन् भने इन्टरनेटमा हेरेर किन्छु । अरु पुस्तकको सन्दर्भमा भन्नु पर्दा पुस्तकको समीक्षा हेरेर र पढेर मात्र छनौट गर्छु । कुन उद्देश्यले लेखिएको त्यसको आधारमा विचार गरेर मात्र छनौट हुन्छ ।

पाठ्यक्रमबाहिरका पुस्तक पढ्दा के फाइदा हुन्छ, नपढ्दा के गुमाइदो रहेछ ?

अहिले डिजिटलको जमाना बढ्दै गएपछि किताब पढ्ने बानी हराउँदै गएको छ । जानकारीको लागि मात्र होइन किताब पढ्नु स्वास्थ्यको लागि पनि लाभदायिक हुन्छ । जतिसुकै महान मान्छे किन नहोस् सबैको लागि किताब उपयोगी हुन्छ । किताब पढ्ने बानीले पहिलो कुरा त हाम्रो जानकारी बढ्छ, साथै बौद्धिक क्षमतामा पनि वृद्धि हुन्छ । किताब पढ्ेर पाइने आनन्द र सन्तोष सायद फिल्म हेरेर पाइदैन जस्तो लाग्छ ।

जब हामी राम्रो किताब पढ्न सुरु गर्छौं, तब यसले हाम्रो मनलाई आनन्द महसुस हुन्छ र तनावबाट आराम मिल्दछ र मन नै खुशी भएर आउँछ । किताब पढ्ने बानीले हामीभित्र मानिसप्रति सहानुभूति विकास हुन्छ र यसले हामीमा सामाजिक सेवाको भावना जागृत गर्दछ । हामी हाम्रो वरपरका मान्छेहरूप्रति संवेदनशील हुन पुग्दछौं । किनभने किताब पढ्दा हामीले अर्को पक्षलाई पनि पढ्न पुग्छौ । यसकारण हामी एकै चिजको धेरै किसिमबाट हेर्न, प्रयोग गर्न सिक्दछौं । साथै मानिसको साथै हाम्रो सम्बन्धमा पनि फाइदा हुन पुग्छ ।

जब तपाईं कुनै महान व्यक्तिको जीवनी तथा लेखकद्वारा लेखिएको आख्यान पढ्नुहुन्छ, उसको जीवनी तथा आख्यानले तपाईं धेरै कुरा सिकाउँछ । यसले तपार्इंको जीवनमा आउने कुनै पनि प्रकारको समस्यामा तपाईंलाई किताबमा बताए अनुसारको अनुभवलाई आफूमा लागू गर्न कोशिस गर्न सक्नुहुन्छ । यसैले हामीलाई आफ्नो समस्याको हल गर्नको लागि धेरै कुराको मद्दत मिल्दछ । यसको साथै तपार्इंलाई नयाँ–नयाँ चुनौतिको सामना गर्ने प्रेरणा पनि मिल्दछ । म विद्यार्थी नै भएर होला यो पाठ्यक्रमबाहिरका पुस्तक पढ्न थालेपछि पाठ्यक्रमभित्रको पुस्तक पढ्न चाहिँ मन नलाग्ने रहेछ मेरो आफ्नो भोगाई ।

सार्वजनिक पुस्तकालयहरूको आवश्यकता कत्तिको देख्नुहुन्छ ?

विद्यालय पछिको ज्ञान प्रदान गर्ने र चेतनाको किरण फैलाउने ठाउँ भनेको नै पुस्तकालय हो । सार्वजनिक पुस्तकालयको त एकदम धेरै नै आवश्यकता छ । प्रत्येक स्थानीय तह र प्रत्येक टोल टोलमा, गाउँ गाउँमा पुस्तकालय स्थापनामा हुनु जरुरी छ र अहिलेको युवाहरूलाई पुस्तक र पुस्तकालयको महŒवको बारेमा राम्रोसँग बुझाउन पनि राज्यले जोड दिनुपर्छ । समाजका सबै जातजाति भाषा–भाषीहरूको प्रतिनिधित्व हुने किसिमका सामग्रीको व्यवस्थापन गर्नु पनि आवश्यक छ जस्तो लाग्छ ।

त्यस्तो पुस्तक कुनै छ, जुन खोजेर पनि पढ्न पाइएको छैन ?

त्यस्तो पूरै किताब खोजेर नै पढ्ने मान्छेमा चाहिँ म पर्दिन तर पनि म कर्णालीको चेली भएकोले मलाई त्यहाँको प्राचीन इतिहास, त्यहाँको भ–धरातल, प्रकृति सम्पदा, भाषा, संस्कृति, जातजाति लगायतका बारेमा जान्न, बुझ्न, पढ्न निकै इच्छुक छु ।

पुस्तकसँग सम्बन्धित कुनै रमाइलो क्षण छ, जुन अहिलेसम्म विर्सनु भएको छैन ?

कुनै पुस्तक पढिसकेपछि म प्राय कल्पनामा डुबेर त्यसका पात्रहरूसँग रमाइरहेको हुन्छु । अनि राति सपनामा पनि म पुस्तकका पात्रहरूसँग संवाद गरिरहेको हुन्छु, खुब रमाइरहेकी हुन्छु । अनि म सपनाबाट ब्यूँझन्छु, र त्यो पल सम्झिँदा मलाई निकै खुशी लाग्छ । यो पुस्तक अध्ययन नगरेको भए सायद त्यस्तो खुशी हुन्न थिए होला जस्तो लाग्छ । कहिले काहीँ कुनै मान्छेको बानी व्यवहार पुरै उपन्यासको पात्रसँग मिलेको जस्तो लाग्छ अनि सोच्छु लेखकले त्यो मान्छेको नै जीवन र भोगाई लेखिरहेछन् ।

  • कस्ता पुस्तक अझै लेखिनुपर्छ जस्तो लाग्छ ?

ठ्याक्कै यस्तै पुस्तक लेखिनुपर्छ म भन्दिनँ । तर पुस्तक अध्ययन गरेपछि पाठकलाई आनन्द आओस् र हरेक पुस्तकले नयाँ कुराहरू समेट्नुपर्छ । इतिहासका धेरै विषयबारे हामी अनभिज्ञ छौं । यस्ता विषयमा लेखिनुपर्छ जस्तो लाग्छ । हामीलाई हामीले बाँचिरहेको वर्तमानकै कैयौं कुरा थाहा छैन, त्यसैले संसारमा त्यस्ता धेरै नयाँ कुराहरू छन् जुन पुस्तकमा लेखिनुपर्छ र सबैले जान्ने अवसर पाउन
जस्तो लाग्छ ।

  • मन परेका पाँच पुस्तक, जुन अरुलाई पढ्नका लागि सिफारिस गर्न चाहनुहुन्छ ?

मलाई मन परेको किताब त धेरै नै छन् तर अध्ययन गरेकाहरूमध्येका मलाई राम्रो लागेको पाँच वटा पुस्तक म भन्छु ।

(१) जीवन काँडा कि फूल–झमक घिमिरे
(२) रिभोलुसन–२०२०–चेतन भगत्
(३) करोडौं कस्तुरी–अमर न्यौपाने
(४) रिच ड्याड, पोर ड्याड–रोबर्ट कियोसकी
(५) चिरहरण–निलम कार्की निहारिका ।