गाइज

पैठ

महेश नेपाली

सधंै जुम मिटिङको होस्टिङ गर्ने आइते सुतेपछि यो हप्तालाई जुम मिटिङ हुन सकेन । आइतेले म्यासेन्जरमा लोत गाली खायो ।

सबैभन्दा बढी रहिनाले गाली गरी । आइतेलाई माफि माग्दै ठिक्क छ । ऊ भदौ पूर्णिमा र अघिल्लो रात देउताका थान लाग्ने पैठ हेर्न सिंजा गएको थियो । रातभरी संस्कृतिको अनुपम स्वाद लिन पाएपछि निद्रा के लाग्थ्यो । पढ्न लागे पो निन्द्रा लाग्छ, रमाइलोमा के मतलब ।

त्यसको असर भोलिपल्ट ऊ कुम्भकर्ण निन्द्रामा सुत्यो । कसैको फोन उठाएन । फाइनल्ली मिटिङ क्यान्सिल्ड ।

गल्ती भएपछि शान्त भएको आइतेलाई खरो स्वाभावकी रहिनाले टर्चर गरिरही, कैदीलाई पुलिसले यातना दिएझै गरी । यतिमात्र होइन आइतेलाई फोन गरेर तुल खाए जसरी गाली पनि गरि । म्यासेन्जरमा माफी मागेको आइते फोनमा पनि माफी माग्यो । तर उसले मानिन ।

‘या बे धोकेबाज भन त कहाँ गएको थिइस् र हाम्रो भेट हुन किन अवरोध गरिस् ? तँ जस्तो धोकेवाज हाम्रो आइटी भएको हुनाले हामीले मिटिङ गर्न पाएनौं ।’

‘त्यो जाबो जुम मिटङ होष्ट नर्ग क्वालिफाइट आइटी इन्जिनियर नै चाहिँदैन सिसिकि काली । तँ पनि सक्छस् । म सबै कुरा भन्नेवाला नै थिएँ । तिमीहरू मेरो कुरा सुन्ने नै होइनौँ अनि कसरी भन्नु त ?’

‘ए म मरिसकेँ र ? तेरो कुरा सुन्ने म छँदैछु नी । भन न यार के भयो र त्यो दिन ?’ अब रहिना जिज्ञासु हुँदैछ ।

‘भनौं त ? म त सबैलाई सँगै भनौंला सोचेको थिएँ ।’

‘डियर आइते भन न यार अहिल्यै । बरु यसो गरौं न तँ अहिले मलाई भन । पछि तेरो कुरा म मिटिङमा सबैलाई सुनाउँला । म स्टोरि टेलिङ कत्तिको फियर गर्न सक्छु हेरौंला नि हुन्न ।’

‘ओके, डन ।’

‘उसोभए भन न यार कती ढिलो गरिराछस् ?’

आइते बाजे–बजुले नाति–नातिनीलाई सुन्केसराको कथा सुनाए जसरी सुनाउँछ ।

‘कर्णाली सांस्कृतिक विविधताले भरिएको छ । यहाँ शुद्र भनिएकाहरूको बसोबास अनादिकालदेखि नै भएको कुरा कर्णाली र भेरी नदीको नामाकरणबाट पनि पुष्टि हुन आउँछ । कर्णालीको कर्णाल र भेरी दुवै बाजाका नाम हुन् । बाजा बजाउने र बनाउने काम अहिलेका शुद्र भनिएकाहरू बाहेकले गर्दैनन् । यो हालसम्म अलिखित भए पनि बलियो तर्क बन्न सक्ने खालको छ ।

लिखित दस्तावेज अनुसार ११औं शताब्दीमा तिब्बतबाट सिंजा आएर आफ्नो राज्यको विस्तार गरेका खसको पहिलो राजा नागराज हुन । नागराजको पालादेखि नै खसहरूले मस्टो परम्परा अंगालेको बुझ्न सकिन्छ । तथापि प्रकृति पूजक समुदाय त्यो भन्दा पहिला नै थियो ।

पछि सबैले मस्टो परम्परालाई अपनाएका हुनाले यहाँका खस, आर्य र शुद्रहरू सबै मष्टो मानिरहेका छन् । प्रकृति पूजाको रूपमा रहेको मस्टो कर्णालीबासीको इस्ट देवता हो ।

आपत, विपत, भोक, रोग संकट, व्याधी, महामारी आदि विपत्तिमा इस्ट देवता मस्टोलाई मुल आधार मानी पूजा आजा गर्ने, भाकल गर्ने, दान दिने, वली दिने चलन हालसम्म यथावत् रहेकोे छ । तथापि यो मनोवैज्ञानिक उपचार पद्धति हो । अस्पताल नभएको ठाउँमा जडिबुटी र मनोविज्ञान बाहेक अरु उपाय पनि थिएन ।

अर्काे महŒवपूर्ण कुरा हिन्दु र बौद्ध धर्मको विचारबाट प्रभावित भएर त्यसलाई अनुशरण गरि धार्मिक, सामाजिक विविधतालाई अंगाल्ने र संरक्षण गरेको पाइन्छ । जस्तो लेकपुरमा रहेको लामा विष्णुको थान । मुगु छायाँनाथ मन्दिर एउटै भए पनि बुद्ध र हिन्दु धर्म मान्नु दुवै समुदायले पूजा गर्छन् ।

कर्णालीको जुम्ला सिंजालाई राजधानी बनाएर राज्य संचालन गरेका खसले मस्टो परम्परालाई अंगालेपछि यो झन् व्यापक भयो । जुन हालसम्म यहाँका नागरिकको लागि उपहार बनेको छ । जसलाई कर्णालीबासीको मुख्य धरोहर भन्दा पनि हुन्छ ।

मष्टोका बाह्र भाइ हुन्छन् । जस अन्तर्गत थार्प मस्टो, बुडु मस्टो, ढँडार मस्टो, खापर मस्टो, तेडि मस्टो, कवा मस्टो, कालसिल्ता मस्टो, रूमाल मस्टो, गुरो मस्टो, दाह्रे मस्टो, दुधे मस्टो, बाबिरा मस्टो पर्छन् । यी सबै एउटै सन्तानका भाइहरू हुन् भन्ने जनविश्वास छ । जसको वर्षमा चार वटा पूर्णिमामा पैठ हुन्छ । वैशाख पूर्णिमा, साउन पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमा मूल रूपमा लिइन्छ । यसबाहेक कसैको भदौ पूर्णिमामा पनि पैठ लाग्छ । म त्यही हेर्न गएको थिएँ ।’

‘अनि त्यसपछि भन्न न । क्या इन्ट्रेष्टिङ मुभमेन्ट आइरहेको बेला द इन्ड गर्छस् यार ।’ रहिना सुन्न आतुर छ ।

‘अरे एक छिन तेरो थुतुनो नबजा न म भनिहाल्छु नि ।’

अरुबेला यस्तो भन्दा रहिना लतक लगाइहाल्थी । आज चुप छ । आइते क्रमश बोल्दै जान्छ ।

विशेष गरी साउन पूर्णिमामा मस्टोको थानमा धुमधामको पैठ हुन्छ । ठूलो मेला लाग्छ । एउटा मस्टाको दुई वटा थान हुन्छन् । एउटा घर नजिकको थान । जहाँ धामी बसल्ने, हेराउन कोराउन गर्ने गरिन्छ ।

अर्को घरभन्दा टाढा रहेको थान, जहाँ पैठ लाग्छ ।

मेला लाग्ने दिनको अघिल्लो राती थानमा आगो बाली रातभर खडाती गर्ने, जाग्राम बस्ने गरिन्छ । त्यो समयमा बाजा बजाएर मस्टोको अवतार धामीझाँक्रीमा हुन्छ । भारा (घण्टा शंख र विविध धातुका सामग्री) चोख्याएर विधिसम्मत् पूजापाठ गरिन्छ ।

कैयौं कोष टाढाबाट जात्रुहरू मेला हेर्न आउँछन् । धामीझाँक्रीमा मस्टो अवतार भइसकेपछि आफ्नो भूत, वर्तमान र भविष्य हेराउने गरिन्छ । आफ्नो पिर, व्यथा, वेदना, चोरी, डकैती जस्ता विविध समस्या धामीका माझ पोख्ने र धामीले त्यसको सबै समाधानका निम्ति मस्टो सधैं तत्पर भएको आश्वासन दिन्छन् । बीच बीचमा बाजाको तालमा धामीहरू लामो समयसम्म हातमा घण्टी र चौरी फुर्को (चैरी गाइको पुच्छर) लिएर नाच्छन् ।

मस्टो धामीझाँक्रीको शरीरमा चढेपछि आगोमा नाच्ने, कराइको तातो तेल पिउने, चामल माडेर सिकापाती (तिलक)निकाल्ने, घण्टी भित्र भएको फलामको रालो निल्ने जस्तो आश्चर्यजनक कार्य गर्छन् । यसले पनि आम मान्छेमा विश्वास रही आएको देखिन्छ ।

पैठमा मस्टोहरूको नाच फरक, फरक बाजाको तालमा हुन्छ । बाह्र भाइ मस्टाका १२ भन्दा बढी ताल हुन्छन् । ती आफ्नो आफ्नो तालमा नाच्ने
गर्छन् । एक मस्टोले अर्को मस्टोलाई बाजाको तालमा नाच्न सहयोग गर्छन् । धामीझाँक्री एक आपसमा अंगालो हालेर भाइचारा रूपमा रमाइलो तवरले नाचेको दृश्य हेर्न पाइन्छ ।

घरभन्दा टाढा रहेको थानमा हजारौं भक्तालु दर्शकहरूको भिड लाग्छ । त्यहाँ बोकाको बली दिने, टाटे (पुरी) बनाउने, खिर पकाउने, विभिन्न परिकार बनाएर देवतालाई चढाइ पाठ पूजा गरी बाँडीचुडी खाइन्छ ।

मस्टो अवतार भए पछि दिनभर धामीझाँक्री नाच्ने नव आगन्तुकको भूत वर्तमान र भविष्य हेराउने, मानिसको थामी नसक्नु भिड हुन्छ ।
हेराएका भक्तालुहरू चित्तबुझ्दो भएमा खुशी हुन्छन् त कोही चित्त नबुझेका निराश भएर फर्किन्छ्न् ।

फेरि अर्को पूर्णिमाको पखाईमा समस्या समाधान हुने आशामा हुन्छन् ।

मेला लागेको वन थानमा केही आर्थिक उपार्जनको लागि विभिन्न खाले फलफूल, खाजा, नास्ता, चाउचाउ, बिस्कुट आदि बिक्री वितरण गर्छन् । केटाकेटी साली, भिनाजु, आफन्त, साथी, भाइ, दिदीबहिनीको यसै दिन भेट्घाट, सम्बन्ध विस्तार, वर्ष पछिको मायाजाल साटासाट हुन्छ ।

सालीले भिनाजुलाई, केटीले केटालाई घरबाट ल्याएका रोटी, काँक्रो, स्याउ आदि दिने गर्छन् भने पुरुषले महिलालाई आफूले ल्याएको कोसेली दिन्छन् । अहिले मेलामा बेच्न राखेका चाउचाउ, बिस्कुट किनेर दिने गर्छन् भने छोट्टी खेल्न जाने कुराकानी पनि यसै बेला मिलाइन्छ । जसले पैठलाई थप रोचक र आकर्षक बनाउने काम गर्छ ।

धामीले पडेली भन्ने, खाम (भोटे जातिको भाषा) गर्ने, ४० अध्याय वेदको मौखिक वाचन गर्ने, आफ्नो नरको भविष्य हेर्ने जस्ता यावत क्षेत्रका रहस्यमय तान्त्रिक विद्याका माध्यमबाट व्यक्त गर्छन् ।

धामीझाँक्रीले लामो समय देखिको विवाद मिलाउने, मुद्दा छिन्ने, वनको मुद्दा मिलाउने, पानी बाराबार आदि समाधान गरि न्यायाधीशको कार्य पनि गर्छन् । एक आपसी सम्बन्ध स्थापित गराउने, ऐन नियम र केही आफ्नो चरन स्थापित गरि जनलाई सुमार्गमा हिँडाउने मार्गनिर्देशन गर्नु मस्टोको मूल कार्य हो । तर यो चलन बिस्तारै हराउँदै गएको छ ।

पैठको दिन धामीझाँक्रीहरू केही समय थान बाहिर चौरमा आएर नाच्ने र केही समय थानभित्र गाथमा बसी अन्य काम गर्छन् । धामीझाँक्रीको तीन, चार दशकदेखि पालेको लठो (कपाल) हुन्छ । त्यस लठोमा कसैले सुन लगाएको हुन्छन् भने कसैले चाँदीले मुडेका हुन्छन् । धामीझाँक्री नाच्ने बेला मात्रै लठो खोल्ने र अन्य समयमा त्यसलाई छोप्नका लागि भित्र टोपी र बाहिर टाउकोमा पद्दुन्नीले बेरेर छोपिएको हुन्छ ।

लठोलाई विशेष प्राथमिकता दिइएको हुन्छ । कसैले लठो छोयो भने जरिवाना तिर्नुपर्छ नत्र देउता लागेर अनिष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।
थानमा पूजा गर्नका लागि धामी, डाँग्री, पूजारी र खावा चार जनाको पदीय मन्डल हुन्छ । धामीले नाच्ने र हेराउने, पूजारीले पूजा गर्ने, डाँग्रीले भित्री काम गर्ने र खावाले सरसफाइ र सामान ओसारपसार गर्ने आफ्नो आफ्नो काम गर्छन् ।

सबैको भूमिका महत्वपूर्ण भए पनि यो दिनको मूल आकर्षक पात्रको रूपमा धामीझाँक्री नै हुन्छ्न् ।

पैठका धामीसँग सम्बन्धित गीत पनि छन् । त्यसमध्ये एउटा भन्छु है ।

जन्त राम्रा बेहुला बेहुली पैठ राम्रा धामी ।
टाढाबाट धामी हेर्न पुगिसक्यौं हामी ।।

रात दिनको पैठ सकिएपछि धामीमा अवतार भएको मस्टाले छोड्छ र धामीझाँक्री सामान्य स्थितिमा फर्कन्छ्न् । उनीहरू सामान्य मानिस
सरह हुन्छन् । टाढा टाढाबाट आएका महिला, पुरुष, पाहुना, स्थानीय, धामीझाँक्री सबै जना देउडा खेलमा जुट्छन् । एउटा सवाल जवाफ यस्तो छ ।

पक्ष

सालसालै बेसाह (किनेर खाने) गरी हाम्मा जौ लिँदाछौ ।
लाइकन ढल्कन्या टोपी यसै डौलिदाछौ ।।

विपक्ष

कल्ले ग¥यो ठीक्क ठाक्क नलगाओ फूर्ति ।
रूपैया हालेर लियौ तुम्मा बाउका बुर्की ।।

यो सामूहिक रुमा खेलिने देउडाको सवाल जवाफ भयो यसैबीच छोट्टी खेल्न जाने काम पनि हुन्छ । छोट्टी खेल्दाको सवाल जवाफ पनि सुन है ।

छोट्याः

मेरि प्यारी अब तँलाई कहिले मो भेटुला ।
गाली(गाला) माम खाइकन तेरो तिर्सना मेटुला ।।

छोट्टी ः

पारी वन घाँस काट्न्या छु ताँइ आया भेटौला ।
दिन भरी पिरती लाउला तिर्सना मेटौला ।।

रातभरी खडाराती गरियो । दिनभर धामीझाँक्री हेरियो । अर्काे राति देउडामै बाइगो । अनि कसरी जुम मिटिङ हुन्छ त ? तिमीहरू कुरै नसुनी मेरो छाला तडौंला झैं गर्छाै ।’

‘ल अब चित्त बुझ्यो । क्या मज्जा आयो । अनि तँ गइनस् त छोट्टी खेल्न हेहे !’
‘के जानू खेल्न मेरा लागि त,

नक्कल पाड्न्या ऐना छियो, उही पुनि फुटिगो ।
नआयै पूनिका (पूर्णिमा) रात, माया जाल छुटिगो ।।

भनेजस्तै छ नी हेहे ।
‘हैट ! क्या सेन्टी बनाइस यार ।’

प्रकाशित मितिः   २७ भाद्र २०७७, शनिबार ०६:०२