संकटमा सम्हालिँदै कर्णाली

कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिनुअघि कर्णाली निकै त्रसित थियो । नागरिक मात्र होइन यहाँ कार्यरत चिकित्सकहरू पनि कोरोना संक्रमण फैलिहाले कसरी नियन्त्रण गर्ने भन्नेमा चिन्तित देखिन्थे । कारण थियो, स्वास्थ्य पूर्वाधारको अभाव ।

कर्णाली मुलुककै दुर्गम जिल्लाहरू भएको प्रदेश हो । यहाँको भौगोलिक अवस्थिति जटिल र स्वास्थ्य पूर्वाधारको अवस्था निकै कमजोर थियो । अहिले पनि कमजोर नै छ । कर्णालीलाई विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरससँग लड्न पक्कै सजिलो थिएन । संक्रमितको उपचार र व्यवस्थापन अहिले पनि चुनौतीको विषय बनेको छ । यद्यपि स्वास्थ्य पूर्वाधारको अभाव र अप्ठ्यारो परिस्थितिका बीच कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना महामारीलाई सम्हालिरहेका छन् ।

कर्णालीका लागि कोरोना महामारी मात्रै भएर आएन यसले यहाँको स्वास्थ्य पूर्वाधार सुधार गर्ने अवसरसमेत जुटाइदियो । सामान्य अवस्थामै पनि कर्णालीमा कैयौंले झाडापखाला र सिजनल फ्लूका कारण अकालमै ज्यान गुमाउने गरेका छन् । कोरोना भाइरसको महामारी सुरु हुनुअघि प्रदेशका सुर्खेत र जुम्लामा गरी सघन उपचार कक्ष (आईसीयू) १७ शैया र भेन्टिलेटर ६ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन् । तर, अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरूमा गरी ६२ शैया आईसीयू र २६ वटा भेन्टिलेटर थपिएको छ । सामाजिक विकासमन्त्री दल रावल भन्छन्, ‘कोरोनाले चुनौती मात्र दिएन स्वास्थ्य क्षेत्रमा लगानी गर्ने अवसर पनि दियो ।’ उनका अनुसार स्थापनाको वर्षौंसम्म आईसीयू र भेन्टिलेटर नदेखेका कर्णालीका अस्पतालले यो अवधिमा स्वास्थ्य पूर्वाधारमा फड्को मारेका छन् ।

कर्णालीमा कोरोना अन्य प्रदेशको दाँजोमा सबैभन्दा ढिलो देखिएको थियो । जेठ ५ गते पहिलो संक्रमित पहिचान भएको प्रदेशमा झण्डै चार महिनाको अवधिमा संक्रमितको संख्या दुई हजार सात सयभन्दा बढी पुगेको छ । प्रदेशका १० वटै जिल्ला र अधिकांश पालिकासम्म फैलिएको कोरोना संक्रमणको जालो तोड्न स्वास्थ्यकर्मीहरू नै अंग्रपक्तिमा खटिएका छन् । संक्रमणदर बढी भए पनि उनीहरूकै सक्रियताका कारण संक्रमणमुक्त हुनेहरूको संख्या पनि ठूलो छ । कूल संक्रमितमध्ये शुक्रवारसम्म दुई हजार तीन सय ८९ जनाले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा तीन सय ७० जना कोरोनाका सक्रिय संक्रमित छन् । यति धेरैमा संक्रमण हुँदा मृत्युदर भने न्यून छ । प्रदेशमा कोरोनाबाट हालसम्म ६ जनाको ज्यान गएको छ । यो कुल संक्रमितको शून्य दशमलब २१ प्रतिशत मात्रै हो । कर्णालीमा संक्रमणदर ४ प्रतिशत हाराहारीमा छ ।

सम्भावित संक्रमितको पहिचान, आइसोलेसन र उपचारका लागि पर्याप्त तयारी नहुँदा नहुँदै पनि स्वास्थ्यकर्मीहरूले उच्च जोखिम मोलेर दिनरात गरेको मेहेनतले कोरोना त्रास विस्तारै घट्दै गएको छ । प्रदेशमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । तीमध्ये कतिपय संक्रमणमुक्त भएर पुनः ड्युटीमा फर्किसकेका छन् ।

स्वास्थ्य पूर्वाधारमा सुधार देखिए पनि संक्रमितको उपचार र व्यवस्थापन अहिले हरेक अस्पतालका लागि चुनौतीको विषय बनेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटमा १३ जना स्वास्थ्यकर्मी छन् । जहाँ ४७ जनाको दरबन्दी हो । कालीकोट प्रदेशमा धेरै कोरोना संक्रमित भएको जिल्लामध्ये पर्छ । जनशक्ति अभावमा अस्पताललाई स्वास्थ्य सेवा प्रवाहमा हम्मे–हम्मे परेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जनाए । उनका अनुसार जिल्लाभर एक सय बढी कोरोनाका संक्रमित फेला परिसकेका छन् । हाल २० जना सक्रिय संक्रमित छन् । उनी भन्छन्, ‘यहाँ सबैभन्दा बढी अभाव खट्किने भनेकै जनशक्तिको हो ।’ जिल्लामा कोरोना विशेष अस्पताल सञ्चालनको तयारी हुँदैछ । त्यसका लागि विभिन्न तहका ५८ जना स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकोले सामाजिक विकास मन्त्रालयलाई माग गरिएको व्यवस्थापक महतले बताए । कालीकोटमा विशेषज्ञ डाक्टरको समेत अभाव छ । जिल्लामा एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । जसका कारण कोरोना नियन्त्रण तथा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा कालीकोटले असहजता भोग्दै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । ६५ जनाको दरबन्दी रहेको अस्पतालमा १९ जना मात्रै स्थायी र अन्य करारका कर्मचारी छन् । करिब ९० जना जनशक्ति रहे पनि विशेषज्ञ डाक्टरहरूसहित अझै २० जना जनशक्ति अभाव रहेको कार्यालय प्रमुख दशरथ श्रेष्ठ बताउँछन् । सल्यानमा हालसम्म दुई सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । ‘हामीलाई जनशक्ति र भौतिक संरचनाको अभाव छ,’ श्रेष्ठले भने ‘अस्पतालको भवन नहुँदा क्याम्पसको भवन प्रयोग गरेर आइसोलेसन कक्ष सञ्चालन गरिरहेका छौं ।’
कर्णालीमा कोरोनाका पुष्टि भएकाहरूलाई गम्भीर प्रकृतिका लक्षण देखिएका छैनन् ।

चिकित्सकहरूका अनुसार अहिलेसम्म भेटिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नै छैन । न्यून संक्रमितमा मात्रै कोरोनाका सामान्य लक्षणहरू देखिएका छन् । उनीहरूका अनुसार संक्रमितमध्ये झण्डै ९८ प्रतिशतमा मात्र सामान्य खालका लक्षण देखापरेको छ । लक्षणविहीन संक्रमितको संख्या अधिक हुँदा स्वास्थ्यकर्मी र आम नागरिकमा कोरोना सामान्य बन्दै जान थालेको हो ।

दैलेखको प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । यहाँ एक हजार भन्दा बढीमा कोरोना संक्रमण देखिइसकेको छ । दैलेखले पनि स्वास्थ्य पूर्वाधारको अभाव झेलिरहेको छ । पर्याप्त जनशक्ति नहुँदा विकास समिति तथा करारका कर्मचारीहरूबाट अस्पतालले सेवा दिँदै आएको छ । अस्पताल प्रमुख डा. पूजा बिसीले त्यहाँ मेडिकल अफिसरको अभाव रहेको जनाइन् । उनका अनुसार हालसम्म दुल्लू नगरपालिकामा मात्रै एक सय ५६ जना संक्रमित पुगेका छन् । उनले कोरोनाका जटिल केशहरू नै नदेखिएको बताइन् ।

प्रदेशको स्वास्थ्य क्षेत्रमा केही सुधार हुँदै गए पनि अधिकांश स्वास्थ्य संस्थामा जनशक्तिदेखि पूर्वाधारसम्मको अभाव उस्तै छ । कर्णालीले पर्याप्त स्वास्थ्य पूर्वाधारको अभावमै कोरोनाजस्तो महामारीसँग जुध्नु परिरहेको छ । कोरोना संक्रमण भयावह हुने आँकलन गरिए पनि चिकित्सक र स्वास्थ्यकर्मीको प्रयासले अहिलेसम्म सम्हालिएको अवस्था छ ।

प्रकाशित मितिः   २७ भाद्र २०७७, शनिबार ०६:०१