अपाङ्गता भएकालाई छाक टार्नै धौ–धौ

मदन कार्की

वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका भक्तबहादुर पौडेलको शरीरको तल्लो भाग चल्दैन । २०७५ सालमा कामको सिलसिलामा भारतमा रहँदा घरको छतबाट खसेर उनको मेरुदण्ड भाँचियो । आर्थिक अभाव भएपछि राम्रोसँग उपचार पाएनन् । कमाउने व्यक्ति नै थला परेपछि तीन वर्षदेखि उनकी श्रीमती सरीता गुरुङ्ग (पौडेल) ले ज्याला–मजदुरी गरी परिवारको गुजरा चलाउँदै आएकी छन् । उनीहरूका दुई सन्तान छन् । एक छोरा र एक छोरी  । ‘दाजुको घरमा बस्दै आएको छु,’ पौडेलले भने ‘मेरो अवस्था यस्तो भएपछि श्रीमतीले ज्याला–मजदुरी गरी परिवार पाल्दै आएकी छिन् । कोरोनाका कारण कामधन्दा बन्द हुँदा बिहान बेलुकीको छाक टार्नै मुस्किल परेको छ ।’

दैलेखको भैरवी गाउँपालिका–७ स्थायी घर भएपनि पौडेल परिवार वीरेन्द्रनगरमा रहेको दाइको घरमा बस्छन् । ‘बाहिरबाट आएर बसेकाले उधारो पनि कसैले पत्याउँदैनन् । वडा कार्यालयले एक पटक दिएको राहतले १५ दिन पनि चलेन,’ पौडेलले दैनिक भोगिरहेको दुखेसो पोखे ।
वीरेन्द्रनगर–१ की गीता सार्कीलाई गरिबीको पहाडले सधैं थिचेकै थियो । यसपटकको कोरोना महामारीले उनको दैनिकी झनै पिडादायी बनेको छ । ‘दाइ कमाउनको लागि भारत जानुभएको थियो,’ उनले भनिन् ‘कोरोनाको संक्रमण फैलिन थालेपछि फर्किनु भयो । यहाँ पनि केही काम नपाउँदा हातमुख जोड्नै धौ–धौ भएको छ ।’

गीता पनि अपाङ्गता भएकी व्यक्ति हुन् । उनी लडेर ढाडमा लागेको गहिरो चोटको अप्रेशन गर्दा गर्दै आँखाको ज्योति नै गुम्यो । अहिले उनको शरीर पनि चल्दैन । उनले बिहान आधा पेट खाएपछि बेलुका के खाने भन्ने चिन्ताले सताउने गरेको सुनाइन् । ‘वडा कार्यालयले एक पटक दिएको १०/१५ किलो राहतले के गुजरा चल्थ्यो । अपाङ्गता भएकाहरूको परिवारलाई स्थानीय तह तथा प्रदेश सरकारले विशेष राहत वितरण गरोस् ।’

वीरेन्द्रनगर–१ कै मदन कार्कीले पनि यो समयमा अरु बेलाभन्दा झनै समस्या झेल्नुपरेको बताए । ‘६ जनाको परिवारमा कसैको रोजगारी छैन । राहतसमेत पाइएन,’ उनी भन्छन् । कार्की ह्वीलचियर प्रयोग गर्छन् । ह्वीलचियर प्रयोग गर्नेहरूलाई यूरिन ब्याग लगायतका सामग्री समेत निरन्तर आवश्यक पर्ने भएपनि यतिबेला सामग्री नपाउने र पाइहाले महङ्गोमा किन्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । कोरोनाका कारण देशभर बन्दाबन्दी हुँदा अपाङ्गता भएकाहरूले थप कष्ट बेहोर्नुपरेको उनी बताउँछन् ।

अपाङ्गता भएका व्यक्तिहरूका सवालमा काम गर्ने संस्था ब्रास ईन्टरनेशनल नेपालकी सशक्तिकरण अधिकृत रीतु चन्दले कोरोना भाइरसका कारण सबैभन्दा बढी मारमा अपाङ्गता भएका व्यक्तिहरू परेको बताइन् । ‘धेरैलाई हातमुख जोड्नै मुस्किल छ,’ उनी भन्छिन्, ‘यही बेला अपाङ्गता भएका महिलाहरू यौन हिंसामासमेत परेका छन् ।’ ‘हिँड्डुल गर्न नसक्ने तर लघु उद्यममा लागेर जिविकोपार्जन गर्दै आएकाहरू पनि यतिबेला मारमा परेको चन्दले बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको अन्य आयस्रोत नहुँनु तथा व्यवसायबाट हुने आम्दानी समेत रोकिएकाले उनीहरूले थप समस्या झेल्नु परेको हो ।

२०६८ को जनगणना अनुसार सुर्खेतमा मात्रै दश हजार बढी अपाङ्गता भएका नागरिकहरू रहेको सरकारी तथ्याङ्क छ । नौ वर्षको अवधिमा त्यो संख्या झनै बढेको छ । अपाङ्गता भएकाहरू परिवारका अन्य सदस्यको भरमा आश्रित हुनुपर्ने भएकोले पनि अरुभन्दा बढी नै कष्ट भोग्नु परिरहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले मन्त्रालयबाट छुट्टै राहतको कार्यक्रम नभएको बताइन् । उनले कर्णालीका दशवटै जिल्लाबाट गार्मेन्ट सिलाइ सिक्न आएका केही अपाङ्गता भएका व्यक्तिहरूलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट राहत दिइएको जनाइन् ।

१५ जनालाई एक सय ६५ केजी चामल, २८ केजी दाल, पाँच लिटर तेल र नुनसमेत प्रदान गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । ‘सबै अपाङ्गता भएकाहरूलाई होइन,’ उनले भने ‘असाध्यै समस्या भएको खण्डमा सामाजिक विकास मन्त्रालयको सिफारिसका आधारमा हामीले राहत स्वरूप चामल दिन्छौं ।’ सामाजिक विकास मन्त्रालयले वितरण गर्ने राहत प्रदान गरिएको उनले बताए ।

कोरोना महामारीका कारण गत चैत महिनादेखि मुलुकभर आर्थिक गतिविधि ठप्पप्रायः छन् । जसले गर्दा निजी क्षेत्रमा काम गर्ने कामदारहरूको रोजगारी खोसिएको छ भने विकास निर्माणका काम रोकिँदा दैनिक ज्यालामजदुरी गर्नेहरूले पनि काम पाएका छैनन् । यतिबेला अरुको सहारामा गुजरा चलाउँदै आएकाहरूको दैनिकी कष्टकर बनेको छ । छाक टार्न हम्मेहम्मे परिरहेको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७७, शुक्रबार ०६:०५