विकास, कसका लागि र कस्तो ?
सुर्खेत जिल्ला । पहिले एक, त्यसपछि दुई, अब जम्मा तीन नगरपालिका । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र सुभाघाट गंगामाला नगरपालिका । वीरेन्द्रनगर नगरपालिकामा वडाहरू थप भए । विभिन्न गाउँ विकास समितिका वडाहरू गाभिए । यसो गर्दा घरधुरी तथा जनसंख्याको रूपरेखाले आफ्नो पाइला नचाल्ने त कुरै भएन । यसमा हामी जनता एकदमै खुशी छौं, सायद । किनकि, गाउँ विकास समितिमा रहेको हाम्रो घरको ठेगाना अब नगरपालिका जो बनेको छ । बाहिर जिल्लामा हामी जो कोहीलाई पनि विना हिचकिचाहट सुनाउन सक्छौं, घर नगरपालिकामा हो । प्रदेश वर्गीकरण पश्चात सुर्खेतलाई छैठौं प्रदेशको राजधानीको रूपमा नामाकरणका लागि निकै सङ्घर्षहरू भए । आन्दोलन । तोडफोड । आगजनी ।
घाइते । अनि, सहिद घोषणा पनि । यो मानेमा चाहिँ सुर्खेतवासी आफूलाई गर्वको रूपमा हेर्दैछन् । एउटा सफलताको उदाहरणको रूपमा । हामी सफल भयौँ ?
खासगरी वीरेन्द्रनगर नगरपालिका पहिले र अहिले, फरक जो कोही पनि सुनाउन सक्छौ । औंल्याउन सक्छौं, पहिले हाँडी भएको स्थान अहिले बसोवासको स्थान भएको कुरा । पहिले बाटो नभएको स्थानमा अहिले बाटो खुलेको कुरा । औषधी किन्न जिल्ला अस्पताल धाउनुपर्नेमा अहिले टोलै पिच्छे हामी स्वास्थ्य सेवा पाउन सक्छौं । पहिले स्कुल नभएको स्थानमा अहिले टोलै पिच्छे प्राइभेट विद्यालयहरू रहेको कुरा । यातायातका कुराहरू । खेतीका कुराहरू । कृषि तथा पशुपालनमा नयाँ प्रविधिका कुरा । र, मुख्यतय भूमिका कुराहरू । के साँच्चै सुर्खेत, खासगरी वीरेन्द्रनगर नगरपालिका विकासको गति लिदैंछ ? नागरिकका आवश्यकताहरू परिपूर्ति भइरहेका छन् ? सायद यो एकपल्ट भए पनि सोच्नुपर्ने विषय हो । हामी र हाम्रा, अनि फेरि हामीलाई । हाम्रो आचरण, हाम्रो व्यवहार र हाम्रो क्रियाकलाप ।
आन्तरिक द्वन्द्व पछिको शान्ति पश्चात वीरेन्द्रनगर नगरपालिकामा बसाइँ सरी आउनेको संख्या ह्वात्तै बढेको हामी आभाष गर्न सक्छौं । पहिले सुनसान हुने सडकहरूमा अहिले परिचित व्यक्ति भेट्नलाई पनि कठिन पर्छ । सुर्खेतमा मात्र नभइकन अन्य जिल्लामा पनि विभिन्न वाहनामा सदरमुकाम तानिने मानिसहरूको भीड ह्वात्तै बढेको छ । अव्यवस्थित बसाइँसराईका कारण पनि सुर्खेतका अधिकांश स्थानहरूमा सम्बन्धित निकायले आफ्नो सेवा दिन सकिरहेका छैनन् । भौगोलिक कारण तथा टोल आफै निर्माणका कारण पनि सेवा प्रदान गर्न नसकिएको केहीको गुनासो छ ।
धारामा पानी निरन्तर आउदैन । वीरेन्द्रनगर नगरपालिकाको जमिनमा पानी प्रयाप्त मात्रामा नरहेको विज्ञहरूको धारणा छ । झुप्राको पानीमा अधिकांश नागरिकका परिवार बाँचेका छन् । कुनै नयाँ धारा जडानका लागि धेरै समय पालो कुर्नुपर्ने अवस्था रहेको छ । तै पनि, विद्युतमा भएको लोडसेडिङ्गको जस्तै समस्या पानी पनि ? उपभोग बढीरहेको भएता पनि स्रोतको मात्रा भने बढेको छैन । समाचारमा आउने विभिन्न अन्य पानीका योजनाहरू समयमै सफल हुने छाँटकाँट छैन । भविष्यमा हाम्रो पुस्ता पानीको अभावमा पनि बाँच्न जान्नेछन् । मानिसले आफ्नो प्रयोगमा नआएको पुच्छर विस्तारै गुमाएझै हाम्रो पुस्ता काठमाडांैमा रहेको पानीको समस्याको झै परिस्थितिमा जीविकोपार्जनका लागि स्व–तयार रहनेछन् । स्वास्थ्य सेवा अझै पनि प्रभावकारी रहन सकेको छैन । रगत अभावका कारण सुत्केरीको ज्यान गएको समाचार हाम्रो वीरेन्द्रनगरकै हो । अझै पनि धामी झाँक्रीमा विश्वास तथा डाक्टर भन्दा अहेवद्वारा गरिएको उपचारमा विश्वास गर्छन् अधिकांश वीरेन्द्रनगरवासी, सायद कारण प्रभावकारी स्थास्थ्य सेवाको अभाव हो । टोल–टोलमा सामान्य शल्यक्रियाको लागि पनि नेपालगन्ज तथा राजधानीको यात्रामा रुचाउँछन् वीरेन्द्रनगरवासी । छैठौं प्रदेशको राजधानी जस्तो स्थानमा यस्तो स्वास्थ्य सेवा कसरी टिक्ला ?
प्राइभेट स्कुलहरू च्याउँ उम्रिए झैं उम्रिएका छन् । नगरपालिका केन्द्रित विद्यालयहरूलाई जिल्लामै अन्य स्थानमा स्थानान्तरण गरी शिक्षालाई प्रभावकारी पहुँचमा पु¥याउन सकिएको छैन । वीरेन्द्रनगरमा भने टोलै पिच्छे कलेज तथा माध्यमिक विद्यालय शिक्षाका लागि हर समय तयार अवस्थामा रहेका छन् । जिल्लालाई पूर्ण साक्षरको घोषणा त गरियो तर जिल्लावासीको व्यवहार तथा क्रियाकलाप हेर्दा साक्षर घोषणा गरिएको सुर्खेत अब कहिले शिक्षित बन्ने ? आगलागी भएमा के ? कहाँ ? धारामा पानी कति आउँछ ? कुँवा ? बाख्लिदै गएको जनसंख्या र अव्यवस्थित सहरीकरणका कारण भविष्यमा आगलागी जस्ता समस्याहरू नआउँला भन्न सकिन्न । आगलागी भएमा ? दमकल ? सायद हामीले आगलागी भएमा दमकल यसको उपचार हो भन्ने पनि भुलिसक्याँै । प्रहरी तथा सुरक्षासेवा जिल्लाका सबै स्थानहरूमा समयमा उपलब्ध रहन सक्ने अवस्था छैन । स्रोतसाधन तथा जनशक्तिको अभाव विद्यमान नै छ । रातीको समयमा अतिआवश्यक काम भएता पनि हामी घर बाहिर एक्लै निस्कन डराउँछौ भने सुरक्षा सेवाप्रति हाम्रो विश्वासमा कमी आएको हो ।
फरक कुरा, सबैलाई आफ्नो घर अगाडि बाटो पक्की चाहिएको छ । बाटोमा धुलो उड्न थाले नागरिक (हामी) सडकमा आन्दोलन गर्छौं । वाह हामी ? हामी कति फरक छौं ? हामी हाम्रो हक खोस्न चाहन्छौं । किनकी सरकार तथा सार्वजनिक निकाय र उनीहरूको कामप्रति हाम्रो सकारात्मक धारणा छैन । वीरेन्द्रनगरमा प्रचलित शब्द ‘दले’ । जग्गाको कारोबार । कसैले ‘भुमाफियाँ’ भन्दै कराउँछन् पनि । जग्गा कारोबार पश्चात् अव्यवस्थित बसोवासका कारण पनि भविष्यमा सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा कमी आउनेबारे जानकारहरू बताउने गर्छन् । एकातिर खेतीयोग्य जमिनलाई घडेरीको रूपमा विकास गर्दै जमिन नाश गरिदैंछ । अर्कोतर्फ कृषि तथा पशुपालनमा आधुनिकीकरण नारासहित विभिन्न अत्याधुनिक यन्त्रहरू जिल्लामा भिœयाइँदैछ । रासायनिक मलको प्रयोग उच्च मात्रामा बढ्दैछ । जिल्लामा उत्पादित वस्तुको बजार मूल्य रहेता पनि कृषक तथा उत्पादक मारमा परिरहेको समाचारहरू विभिन्न समयमा समाजमा निराशा लिएर आउने गर्छन् । विकास के हो ? छाप्रो रहेको स्थानमा चार तले भवन बन्नु विकास हो ? सरकारी विद्यालयमा अध्ययन गरिरहेको बालक चिरिच्याट्ट भएर निजी विद्यालयको सवारी चढ्छ, के त्यो विकास हो ? साइकल चढ्नेले मोटरसाइकल किन्दैमा के त्यो विकास हो ? गाउँमा गाडिएमा बत्तीका पोलमा करेन्ट बग्न वर्षौ कुर्नुपर्ने हुन्छ, के करेन्टको आँगमन विकास हो ? सुर्खेतको कुनै बालकको हात भाच्चिँदा नेपालगन्ज लानुपर्ने भएमा के प्रयोग गरिएको यातायात विकास हो ? सामान्य अर्थमा विकास नागरिकका दैनिकीलाई सरलताका लैजाने साधन हो । जहाँ हरेक नागरिकका आधारभूत आवश्यकता सँगसँगै उनीहरूका हकअधिकारहरू सहयात्री भएर यात्रा गरिरहेका हुन्छन् । सँगै कर्तव्यहरूले नागरिकलाई पछ्छाइरहेको अवश्य छ ।
साझा बिसौनी संवाददाता ।