पढाइ नभइ शैक्षिक सत्र सकिँदै

कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत पहिलो सातादेखि पठनपाठन रोकिएको छ । शैक्षिक संस्था बन्द हुँदा लाखौं विद्यार्थीको पढाइ प्रभावित बनेको हो । कोरोनाको प्रभाव सबैभन्दा बढी हिमाली जिल्लाका विद्यार्थीमा परेको छ ।

हिमाली जिल्लाहरूमा शैक्षिक सत्र सकिन अब दुई महिना मात्र बाँकी छ । यी जिल्लामा फागुन १ देखि पढाइ सुरु भएर मंसिरमा वार्षिक परीक्षा गरिन्थ्यो । तर यो पटक शैक्षिक सत्र सकिनै लाग्दासमेत विद्यार्थीले पढ्न पाएका छैनन् । कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा यो शैक्षिक सत्रको असोज र कार्तिक महिना मात्र बाँकी छ । त्यसमा पनि दशैं, तिहार, छठलगायतका पर्वहरूको बिदासमेत छ । १४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कम्तीमा भदौभरि विद्यार्थी भर्ना तथा पठनपाठन गर्न नपाउने निर्णय गरिसकेको छ । यो निर्णयले यहाँका विद्यार्थीहरूको पठनपाठन झनै अन्योल भएको हो ।

हिमाली जिल्लाहरूमा पढाइ सुरु भएलगत्तै लकडाउन सुरु भयो । शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख दलबहादुर बस्नेत हिमाली जिल्लाहरूमा फागुन एक महिना भने पढाइ भएको बताउँछन् । ‘शैक्षिक सत्र सकिन दुई महिना बाँकी छ, जम्मा पढाइ एक महिना भएको छ’, उनी भन्छन्, ‘कोरोनाले कर्णालीको पढाइ ध्वस्त पा¥यो ।’

कोभिड–१९ को बढी असर साक्षरतादर कम भएका जिल्लामा नै बढी परेको देखिन्छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार नेपालको औषत साक्षरता दर ६५ दशमलब ९ प्रतिशत हो । शैक्षिक सत्र सकिन दुई महिना मात्रै बाँकी रहेका कर्णालीका डोल्पाको ५४ दशमलब १५ प्रतिशत, मुगुको ५१ दशमलब २५ प्रतिशत र हुम्लाको साक्षरता दर ४७ दशमलब ८ प्रतिशत छ । हुम्लाको साक्षरता देश देशभरका जिल्लामध्ये सबैभन्दा न्यून हो । २४ सामुदायिक र एउटा निजी विद्यालय रहेको यो जिल्लाको महिला साक्षरता दर जम्मा ३३ प्रतिशत छ ।

साक्षरता दर न्यून भएका जिल्लामा वैकल्पिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल नै नगरेको जिल्ला इकाई प्रमुखहरूको गुनासो छ । इन्टरनेट, रेडियो, टेलिभिजन मात्रै होइन टेलिफोनको समेत न्यून पहुँचका कारण दूर शिक्षा असम्भव प्रायः रहेको उनीहरूको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुगुमा १३, डोल्पामा ६ र हुम्लामा एकजना कोरोना संक्रमित देखिएका छन् । यी तीनवटै जिल्ला संक्रमणमुक्त जिल्ला हुन् । यहाँ हाल कोरोनाका संक्रमित छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मुगुमा २२ हजार तीन सय ९०, हुम्लामा २१ हजार एक सय पाँच, डोल्पामा १२ हजार पाँच सय ४८ विद्यार्थी भर्ना भएका थिए ।

प्रकाशित मितिः   २२ भाद्र २०७७, सोमबार ०६:०३