महामारीले दिएको शिक्षा

कोरोना भाइरस (कोभिड–१९) ले अहिले जुन अवस्थाको सिर्जना गरेको छ यो कसैले कल्पना गरेको थिएन । तर त्यही जटिल अवस्थाको सामना विश्वले गरिरहेको छ । नेपाल यसबाट मुक्त छैन । कर्णाली प्रदेशले पनि संकट बेहोरिरहेको छ । चार महिना लामो लकडाउन र पटक–पटकको निषेधाज्ञाले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन । संक्रमित दिनप्रति दिन बढ्दै छन् । समुदायस्तरमा फैलिदंै गएको संक्रमणले जोखिम झन् बढाएको छ । जोखिम कम नभइरहेको समयमा पनि हेलचक्य्राइँ भइरहेको छ । पछिल्लो समय आरटी–पीसीआर परीक्षण घटाइएको छ । लक्षण देखिएका बिरामीलाई मात्रै परीक्षण गर्ने निर्णय गरिएको छ । यसले जोखिम थप बढाउने चिन्ता पनि व्यक्त भइरहेको छ ।

कर्णाली प्रदेशमा लक्षणसहितका संक्रमितको संख्या न्यून छ । चिकित्सकहरूका अनुसार प्रदेशमा कोरोना पुष्टि भएर अस्पताल भर्ना हुने झण्डै ९८ प्रतिशत संक्रमित लक्षणविहीन छन् । संक्रमितलाई सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटरमा राख्नु परेको छैन । संक्रमितहरू धमाधम निको भइरहेका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरूको संख्या पनि बढ्दैछ । जसले गर्दा नागरिकमा त्रास पनि घटेको छ । तर यसो हुँदैमा हेलचक्य्राइँ गर्नु उपयुक्त हुँदैन । हाल अधिकांश युवा उमेर समूहमा संक्रमण पुष्टि हुँदै गएकाले थप जटिल परिस्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । समुदायमा संक्रमण व्यापक भए वृद्ध तथा दीर्घरोगीलाई समेत संक्रमण फैलिने खतरा उत्तिकै छ । लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम छँदैछ । लक्षणविहीन भए पनि कोरोनाको जोखिम समूह ठानिएका बुढापाका, रोग प्रतिरोधक क्षमता कम भएका, सुत्केरी र दीर्घरोगीमा संक्रमण सार्न सक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले सुझाएका छन् ।

कोरोनाको महामारीसँग जुधिरहँदा यसले हामीलाई सिकाएको महŒवपूर्ण पाठ के हो भने हाम्रो जीवनशैलीमा परिवर्तन जरुरी छ । घरभित्र होस् या बाहिर सतर्कता अपनाउनुपर्दछ । भौतिक दूरी अनिवार्य छ । आफ्नै नजिकका आफन्त र परिचित व्यक्तिसँगको सामिप्यताबाट पनि संक्रमणको जोखिम हुने ज्ञान सबैले पाइसकेका छन् । हात मिलाउँदैमा मात्र पनि प्राणकै जोखिम हुन सक्ने खतरा रहेको सत्य उजागर भएको छ । यसले के देखाउँछ भने हिजोसम्म हामीले जनु तरिकाले जीवनयापन गरिरहेका थियौं त्यो नै हाम्रो स्वास्थ्यका लागि जोखिमयुक्त छ । कोरोना महामारीले सिकाएको सबैभन्दा महŒवपूर्ण पाठ यही हो । चीनको एउटा प्रान्तबाट सुरु भएको यो रोगको वास्तविक प्रकृति बुझ्न नपाउँदै संसारका सम्पूर्ण भागमा यसको संक्रमण फैलियो र लाखौं मानिसको जनजीवन तथा सारा विश्वको अर्थतन्त्रमै प्रतिकूल प्रभाव पारिरहेको छ । यो हेर्दा हामीले के पनि बुझ्न जरुरी भयो भने यस्तो महामारी र विषम परिस्थितिको सामना गर्न हाम्रा भएका सामाजिक तथा भौतिक संरचना अझै परिमार्जित हुनुपर्ने रहेछ । हाम्रो दैनिक जीवनयापनको पद्धति होस् या हाम्रो सुविधाका लागि निर्माण गरिने संरचनाहरूको विकास गर्दा अपनाउनुपर्ने सजगता नै कोरोनाको पाठ हो ।

प्रकाशित मितिः   २२ भाद्र २०७७, सोमबार ०६:०१