घरैमाथि पहिरो

कर्णाली प्रदेशका विभिन्न बस्तीमा वर्षेनी पहिरो खस्छ । धनजनको क्षति हुन्छ । गत वैशाख यतामात्रै ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मबजारमा आइतवार बिहानै सुख्खा पहिरो खस्यो । बस्तीमाथिबाट खसेको पहिरोले चार वटा घर पुरिए । पहिरोमा पुरिएर एकै घरका चारजनासहित दश जनाले ज्यान गुमाए ।

यस्तै गत साउन २९ गते कालीकोटकै महावै गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भयो । त्यसअघि गत असार २५ गते जाजरकोटको बारेकोटमा पहिरोले बस्ती बगाउँदा १४ जनाले ज्यान गुमाएका थिए । बस्तीमाथिबाट पहिरो खस्दा ५५ घर पुरिएका थिए ।

कर्णालीका धेरै बस्ती पहिरोको उच्च जोखिममा छन् भन्ने उदाहरण हुन्, यी । प्रदेशमा विभिन्न बस्तीमा वर्षेनी पहिरो खस्छ । धनजनको क्षति हुन्छ । हरेक वर्ष पहिरोले क्षति पु¥याउँदै आएको छ । यहाँका सैयौं बस्ती जोखिममा छन् । जोखिमयुक्त बस्तीको एकिन तथ्याङ्क छैन । तर तत्कालीन कर्णाली विकास आयोगले २०७५ मा कर्णालीका जुम्ला, कालिकोट, मुगु र हुम्लामा गरेको अध्ययनअनुसार चार जिल्लाका एक हजार २५ बस्तीमध्ये तीन सय १८ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको थियो । उक्त तथ्याङ्कले पनि प्रदेशका जोखिमयुक्त बस्तीको अवस्था देखाउँछ ।

प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भू–भागमा अवस्थित छन् । यहाँको भौगोलिक अवस्था जटिल छ । अधिकांश भू–भागमा भिरालो जमिन छ । त्यही भिरालो जमिनमा घर बनाइएका छन् । बढी भिरालो भएका कारण पहिरोको सम्भावना अधिक हुने गरेको हो । घरैमाथि पहिरो खस्नुको कारण पनि यही हो । हरेक वर्ष वर्षात्मा होस् या खडेरीको सुख्खा पहिरोले कर्णालीमा क्षति पु¥याइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वैशाखयता प्रदेशमा बाढी–पहिरोबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । जसमा परेर ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

जोखिम भएको थाहा पाए पनि सचेत नहुँदा क्षति बेहोर्नुपर्ने गरेको तिलागुफा–१ नाग्मका प्रकाश उपाध्याय बताउँछन् । उनले नाग्म बजार पहिलेदेखि नै पहिरोको उच्च जोखिममा रहेको बताए । ‘बजार नै जोखिममा छ’ उनले भने, ‘अहिले केही घर पुरिएका छन्, पछि सिङ्गो बजार पहिरोमा पर्ने समय नआउँला भन्न सकिदैंन ।’ उनले हरेक घरकैमाथि पहिरोको जोखिम रहेको बताए । आइतवार पनि घरैमाथिबाट पहिरो खसेको उनको भनाइ थियो । ‘कुनै घर सुरक्षित छैन’ उनले थपे, ‘समयमै सजग नहुने हो भने थप क्षति बेहोर्नुपर्छ ।’

पहिरोको जोखिम उच्च पहाडी र हिमाली क्षेत्रमा मात्र होइन, सुर्खेत र प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाभित्रै पनि छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाको १६ वटा वडामध्ये आठ वटा वडा बाढीको उच्च जोखिममा छन् भने चार वटा वडा पहिरोको जोखिममा रहेका छन् । सुर्खेतकै भेरीगंगा नगरपालिकाका पाँच वटा वडा बाढीको उच्च जोखिममा छन् । दुई वटा वडा पहिरोको जोखिममा रहेका छन् । यहाँका सबैजसो स्थानीय तहका कुनै न कुनै वडा पहिरोको जोखिमै रहेका छन् ।

जोखिम न्यूनीकरणका लागि भने स्थानीय सरकार सजग हुन सकेको देखिदैंन । यद्यपि सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद् प्रतिकार्य योजना बनाएर सम्बन्धित पालिका र सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको बताए । उनले कुनै घटना भइहालेमा उद्धार र राहतका लागि टोली तयारी अवस्थामा रहेको जनाए । प्रशासनले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिदका लागि तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   १६ भाद्र २०७७, मंगलवार ०६:०४