जानेहरूका नाममा
सुशान्त सिंह राजपुत बितेको दुई महिना बितिसकेको छ । हिन्दी सिने उद्योग बलिउडका यी चर्चित कलाकारले गत ‘जुन’ मा आत्महत्या गरेदेखि सामाजिक सञ्जाल तरङ्गित छ । मैले उनको छोटो भूमिका भएको फिल्म ‘पिके’ हेरेको थिएँ । हामीबीच कलाकार र दर्शकको त्यही एउटा मात्र नाता थियो । यद्यपि उनको मृत्युले मलाई अझै पछ्याइरहेछ । यसको कारण छ । म इन्टरनेटमा उनको मृत्युपछि उठेका तरङ्गहरू पच्छ्याइरहेको छु ।
३३ वर्षको कलिलो उमेर । टेलिभिजनको पर्दामा पाएको सफलतापछि एक से एक सफल फिल्म खेलिरहेका राम्रो सम्भावना बोकेका अभिनेता । मनग्गे पैसा, चर्चा र प्रतिष्ठा । बलिउडको रङ्गिन दुनियाँका सेलिब्रेटी । आम रूपमा हामीले खोजिरहेको सफल जिन्दगी बाँचिरहेका । यस्तोमा उनको आत्महत्या सबैका लागि अप्रत्यासित खबर थियो । उनको मृत्युपश्चात् गरिएको पोष्टमोर्टम् रिपोर्टमा उनको मृत्युको कारण आत्महत्या लेखिएको छ ।
सुरुमा उनी बलिउडमा व्याप्त रहेको भनिएको सिन्डिकेट र नातावादको शिकार भएका कारण डिप्रेसनमा परेर आत्महत्या गर्न बाध्य भए भनियो । यससम्बन्धी कैयौं ‘कन्सपिरेसी थ्यौरी’को जन्मसँगै यो विवादले अहिले भने अर्कै रूप लिइसकेको छ । मृतकको डायरी, क्रेडिट कार्डको खर्च विवरण र उनको प्रेम जीवनबारे पाएसम्मका कैयौं व्यक्तिगत जानकारी टेलिभिजनका स्क्रिनदेखि सामाजिक सञ्जालका पेजहरूमा छताछुल्ल भइरहेका छन् । टेलिभिजनमा मानिसहरू चिच्याइरहेछन्, उनी जत्तिको सफल र सम्भावना भएको कलाकारले कसरी आत्महत्या गर्न सक्छ ? यो त सरासर षड्यन्त्रपूर्वक गरिएको हत्या हो ।
प्रेसरको औषधि खान्छु भनेर अरुलाई भन्न सकिने तर डिप्रेसन र एन्जाइटीको औषधि खाएको सकेसम्म अरुले थाहा नपाउन भनेर सजग हुनपर्ने अवस्थाको अन्त्य भएमा मानसिक समस्याका कारण हुने आत्महत्यामा कमी हुनेछ । मानसिक स्वास्थ्यलाई स्टिग्माटाइज गर्न बन्द गरी यसलाई स्वीकार गरेमा अकालमा हामीलाई छोडेर गएका हाम्रा प्रियजनहरूको नियति अरुले भोग्नु पनि नपर्ला ।
सुशान्त सिहं राजपुतको मृत्युको बारेमा सत्यतथ्य उनको परिवारले जान्न पाउनुपर्छ । अर्थात् उनले न्याय पाउनुपर्छ । तर त्यसका बारेमा जसरी बहस भइरहेको छ त्यसले कैयौं सवाल उठाएको छ । सामजिक सञ्जालमा, टेलिभिजनका पर्दामा र अखबारहरूमा उनको मृत्युबारे अनेक अड्कलबाजी भइरहँदा निकै कमले मात्र मानसिक स्वास्थ्यको बारेमा बोल्न आवश्यक ठाने ।
धेरैले उनलाई कुशल अभिनेता, मेहेनती र सफल व्यक्तिको रूपमा देखाउँदै उनले आत्महत्या गर्नै नसक्ने दलिल पेश गरिरहे । अझै गर्दैछन् । माफिया, डन, सिण्डिकेट जस्ता शब्द उच्चारण गर्दै उनका दुश्मन खोज्न लागिरहेकाहरूले उनको सबैभन्दा ठूलो दुश्मन उनले आफ्नै मनलाई मानिरहेका थिए कि भनेर सोचेकासम्म पनि नहोलान् ।
आफ्नो काममा दक्ष, पैसा भएका, भविष्यको योजना भएका, कुशाग्र बुद्धि भएकालाई डिप्रेसन हुँदै हुँदैन जसरी बहस अगाडि बढाइएको छ । मानसिक रोगका बारेमा हामी के सोच्छौं, समाजले यसलाई कसरी हेर्छ भनेर मानौं भारतीय टिभी च्यानलहरूले हामीलाई ऐना देखाइरहेका छन् ।
पछिल्ला दिनहरूमा नेपालमा पनि आत्महत्याको दर डरलाग्दो गरी उकालो लाग्दैछ । लकडाउनको समयमा यो दर झनै बढ्यो । लकडाउनकैबीच सुर्खेतमा केही पहिले आत्महत्या गरेकामध्ये केही मेरा परिचितहरू थिए । बलिउड स्टारको जस्तो उनीहरूको मृत्युमा सामाजिक सञ्जाल तरङ्गित नभए पनि टोलमा केही चर्चा अवश्य भयो । तर त्यो सानो तरङ्ग जसरी उठ्यो, केही दिनमा त्यसरी नै बिलायो । त्यो तरङ्ग हामीलाई झक्झक्याउन पर्याप्त भएन । हामीले मानसिक स्वास्थ्यको बारेमा अझै खुलेर कुरा गरेनौं । त्यो हाम्रा लागी अझै ‘ट्याबू’ नै रहिरह्यो ।
जुन विषयका बारेमा घरबाहिर साथीसँग अनि घरमा परिवारसँग खुलेर कुरा गर्न सकिन्न, त्यो समस्या लिएर अस्पतालसम्म पुग्नु र मनोचिकित्सकको परामर्श लिनु त कल्पना बाहिरको कुरा हुने भइहाल्यो । ती मेरा परिचितहरू जसलाई म प्रायः दैनिकजसो देखिराख्थें, बाहिरबाट हेर्दा सबै ठीकठाक थियो । उनीहरू सामान्य नै लाग्थे । तर भित्रभित्र उनीहरूले भोग्नु परेको मानसिक समस्या कुन हदसम्म विकराल रहेछ भने भर्खरका ती किशोर–किशोरीहरूले आफ्नै जीवन समाप्त गर्नेसम्मको कठोर निर्णय लिनुप¥यो । बलिउडको रङ्गिन दुनियाँ होस् वा सुर्खेतको कुनै टोल, मनभित्रको उकुसमुकुस पोख्न नपाउँदा हामीले मानिरहेको बाहिरको दुनियाँ खोक्रो लाग्ने रहेछ । आफूले मानिआएको सत्य बदलिँदो रहेछ । बाँचुञ्जेल मानेको जे छ, परिवार, साथीभाइ, पैसा, प्रतिष्ठा वा करिअरले खुशी दिन नसक्दा तिनको अस्तित्व फिक्का लाग्दो रहेछ । बलिउड सेलिब्रेटीदेखि कुनै सामान्य श्रमिक युवकले जीवनभर आफूलाई खुशी दिन आफ्नै खाले प्रयास र संघर्ष गरेको हुन्छ ।
सायद आत्महत्या व्यक्तिले आफूले भोगीरहेको पिडाबाट मुक्त हुन गरेको अन्तिम प्रयास हो । पिडाबाट उम्कने कुनै उपाय नदेखेर बाध्यतावश उठाउनुपरेको कठोर कदम । हामीले मानसिक स्वास्थ्यको बारेमा बहस गर्नुपर्ने खासमा यही पिडाबाट व्यक्तिलाई पार लगाउन भरथेग मिलोस् भनेर हो ।
आत्महत्याको बारेमा कुरा गर्दा एकथरीको सदावहार प्रतिक्रिया हुन्छ ‘आत्महत्या गर्नु कायरता हो । जीवनमा दुःख कसलाई हुँदैन ? जसले दुःख झेल्न सक्छ, उ टिकिराख्छ । नसक्ने कायरहरू जीवनदेखि भाग्छन् ।’ यसो भन्दै गर्दा हामीले मृतकले बाँचेको समयमा भोगेको समस्यालाई नजरअन्दाज मात्रै गरिरहेका हुँदैनौं, तमाम समस्याहरूबीच जेनतेन टिकिरहेकाहरूको हौसला पनि टुटाइदिन्छौँ । मानौं जीवन कुनै खेल हो र हारजित भन्ने कुरा भइरहन्छ । हार्नेले हा¥यो, कुरा सकियो । जित्ने बाँचिराखेको छ । तर जीवन न कुनै खेल हो न आत्महत्या गर्नु कायरता वा बहादुरी । यो त व्यक्ति आफूले आफूभित्रको द्वन्द्वले पिल्सिएर लिएको दुःखद् निर्णय हो जसलाई समयमै सम्बोधन गरेको भए रोक्न सकिन्थ्यो ।
अस्पतालमा गएर चिकित्सकले गर्ने डायडनोसिस त छँदै छ । तर त्यो भन्दा पहिले यसलाई एउटा नियमित स्वास्थ्य समस्याको रूपमा लिन हामी तयार हुनप¥यो । मनग्गे नाम र दाम कमाएका बलिउड सेलिब्रेटी होउन् वा हाम्रै वरीपरीका परिचितहरू, कसैले आत्महत्या गर्यो भने कम्तीमा उसलाई कुनै मानसिक समस्या रहेछ भनेर स्वीकार त गरौं । हामीले पेट दुखेको वा हातखुट्टा दुखेको भनेर अस्पताल जानुलाई जसरी हेर्छौं, त्यसरी नै नरमाइलो लागिरहेको वा डर लागिरहने भएको भनेर अस्पताल जानुलाई हेर्न थाल्यौं भने मानसिक स्वास्थ समस्यासँग जुध्न सहज हुनेछ । प्रेसरको औषधि खान्छु भनेर अरुलाई भन्न सकिने तर डिप्रेसन र एन्जाइटीको औषधि खाएको सकेसम्म अरुले थाहा नपाउन भनेर सजग हुनपर्ने अवस्थाको अन्त्य भएमा मानसिक समस्याका कारण हुने आत्महत्यामा कमी हुनेछ । मानसिक स्वास्थ्यलाई स्टिग्माटाइज गर्न बन्द गरी यसलाई स्वीकार गरेमा अकालमा हामीलाई छोडेर गएका हाम्रा प्रियजनहरूको नियती अरुले भोग्नु पनि नपर्ला ।
प्रकाशित मितिः १३ भाद्र २०७७, शनिबार ०६:०६
साझा बिसौनी ।