शर्तसहित हट्यो वीरेन्द्रनगरको निषेधाज्ञा

  • बजार तोकिएको समयमा मात्र खुल्ने
  • फुटपाथका व्यवसाय सञ्चालन गर्न नपाइने
  • सवारी साधनमा जोर–बिजोर प्रणाली

कोरोना भाइरस ‐कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि वीरेन्द्रनगरमा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले १२ दिनपछि शुक्रवार रातिदेखि शर्तसहित निषेधाज्ञा हटाएको हो । शुक्रवार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निश्चित शर्तसहित वीरेन्द्रनगरको निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनका अनुसार निषेधाज्ञा पूर्णरूपमा हटे पनि भिडभाड नियन्त्रणका लागि व्यवसायी तथा नागरिकहरूले भने केही शर्तहरू पालना गर्नुपर्ने छ ।

वीरेन्द्रनगर बजार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र खुला गर्न दिने निर्णय भएको प्रजिअ रेग्मीले जनाए । त्यस्तै सवारी साधनहरूको हकमा भने स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबाहक तथा अत्यावश्यक सवारी साधनहरूबाहेक सार्वजनिक यातायातका साधनहरूमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । साँझ ७ बजेपछि निजी तथा सार्वजनिक दुवै खालका सवारी साधन चलाउन पाइने छैन ।

सार्वजनिक यातायातका साधनहरू सञ्चालनको हकमा भने जिल्ला भित्रमात्रै जोर–बिजोर प्रणाली अनुसार चलाउन पाइने छ । सुर्खेतबाहेक अन्य जिल्लामा जानुपर्ने वा आउनुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासनको स्वीकृति अनिवार्य लिनुपर्ने छ । ‘कोही नागरिकलाई व्यवहारिक रूपमै अप्ठ्यारो परेको समयमाबाहेक शर्तको अवज्ञा गर्नेलाई कडा कारबाही हुन्छ,’ प्रजिअ रेग्मीले भने । उनले जनसम्पर्क तथा सेवाग्राहीको चाप बढी हुने कार्यालयहरूमा र बैंकहरूमा टोकन, अनलाइन प्रणाली र सीमित सेवाग्राही राखी सेवा सुचारु गर्न भनिएको बताए । यदि सो सम्भव नभएको खण्डमा नेपाल राष्ट्र बैंकले तोकेको बार र संख्यामा सीमित जनशक्तिबाट बैंकहरू सञ्चालन गर्नुपर्ने छ ।

त्यस्तै होटेल व्यवसायीहरूले होटेलमा क्वारेन्टाइन राख्नुपर्ने भएमा जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने, दैनिक नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधि, विवाह र व्रतबन्धमा भिडभाड नगर्ने÷नगराउने शर्तमा निषेधाज्ञा खुल्ला गरिएको हो ।

अन्य व्यवसायका हकमा पार्लर, सैलुन लगायतका व्यवसाय तथा शैक्षिक संस्था, खेलकुद, पुस्तकालय, संग्रहालयहरू सञ्चालन नगर्ने, गोष्ठी, तालिम लगायतका भिडभाड हुने कार्य नगर्ने गरी निषेधाज्ञा हटाइएको छ । यस्तै फूटपाथमा बसी व्यवसाय गर्नेहरूले पनि व्यवसाय गर्न नपाउने भएका छन् । फूटपाथका ठेला, तरकारी, खुद्रा लगायतका व्यवसाय तत्काल नगर्ने गरी वीरेन्द्रनगरमा निषेधाज्ञा खुला गरिएको प्रजिअ रेग्मीले बताए । यदि कुनै वडा वा क्षेत्रमा कोरोना संक्रमणको जोखिम देखिएको खण्डमा उक्त स्थान सिल तथा निषेध गरिने प्रशासन कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा छ । यहाँ भिडभाड बढी हुने हुँदा अन्य जिल्लाका सदरमुकाम तथा बजार क्षेत्रभन्दा बढी जोखिम देखिएको हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको वीरेन्द्रनगरमा शुक्रवारसम्म संक्रमितको संख्या दुई सय सात जना पुगेको छ । तीमध्ये ५४ जना सक्रिय संक्रमित छन् । अरु एक सय ५३ जना संक्रमणमुक्त भएका हुन् । कर्णालीमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो छ । प्रदेशका ७९ मध्ये ६७ पालिकाहरूमा संक्रमण पुगिसकेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लाका स्थानीय तहहरूमा निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०७७, शनिबार ०६:०५