ठोस योजनाको अभाव

कर्णाली प्रदेशका अधिकांश जिल्लामा यतिबेला निषेधाज्ञा जारी गरिएको छ । कतिपय जिल्लामा पूर्ण तथा कतिपयमा आंशिक निषेधाज्ञा छ । सुर्खेतसहित दैलेख, रुकुम–पश्चिम, जाजरकोट र जुम्लाका केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ भने मुगु र कालीकोटमा अत्यावश्यकबाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको छ । पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम उच्च छ । समुदायस्तरमा संक्रमण व्यापक भएपछि प्रदेशका विभिन्न ठाउँमा निषेधाज्ञाका साथै आवतजावतमा कडाइ गरिएको हो ।

कोरोना संक्रमित दिनप्रति दिन बढ्दैछन् । मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । तर, कोरोना प्रतिकार्यमा प्रभावकारी कदम सरकारी तहबाट चालिएको छैन । हचुवाका भरमा जिल्ला तथा पालिकाहरूमा निषेधाज्ञा जारी गरिएको भए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी भएको छैन । न त संक्रमण नियन्त्रणको कुनै ठोस योजना नै बनाइएको छ । सम्बन्धित निकायहरू यतिबेला निषेधाज्ञा गरेर हाइसञ्चो जसरी बसिरहेको छन् । निषेधाज्ञा मात्रै संक्रमण रोक्ने उपाय होइन । तर सरकारी निकाय यसैमा जोड दिइरहेका छन्, अन्य उपाय अवलम्बन गर्ने वा विकल्प खोज्नेतर्फ लागिरहेका छैनन् । स्वास्थ्य पूर्वाधार थप्ने, नियन्त्रणको ठोस कार्ययोजना बनाउने र सचेतना तथा परीक्षणको दायरा बढाउनेतर्फ गम्भीर बन्न सकेको देखिदैंन । भिडभाड नियन्त्रण गरेर जोखिम घटाउनु स्वाभाविक भए पनि त्यो पर्याप्त छैन । लामो समय सबै क्षेत्र बन्द गर्दा त्यसले जनजीवन नै कष्टकर हुने गरेको छ ।

निषेधाज्ञा र आवतजावतमा कडाइ गरेर संक्रमण रोकथाम तथा नियन्त्रण गर्न खोजिए पनि संक्रमित भेटिएका समुदायमा भने परीक्षणको दायरा बढाइएको छैन । प्रदेश सरकार तथा स्थानीय तहले संक्रमित पुष्टि भएका समुदायमा परीक्षणको दायरा बढाउन नसकेका हुन् । कर्णालीका ७९ मध्ये ६७ स्थानीय तहमा संक्रमण पुगिसक्दा ‘कन्ट्याक ट्रेसिङ’का आधारमाबाहेक समुदायमा परीक्षण गर्न सकेको छैन । हाल संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति र सेवाग्राही बढी हुने तथा केही सार्वजनिक स्थानमा ‘सेम्पल टेष्ट’ मात्र गर्ने गरिएको छ । प्रदेश सरकारले यसअघि नै नमुनाका रूपमा समुदायमै पुगेर परीक्षण गर्ने भने पनि त्यसो हुन नसकेको हो । जोखिम तथा संक्रमित भेटिएका ठाउँमा परीक्षण गरे पनि नमुनाका रूपमा समुदायस्तरमा परीक्षण भएको छैन । ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित भेटिएका समुदायमा परीक्षण नगरिँदा संक्रमणको स्रोत समेत पत्ता लाग्ने गरेको छैन । जसका कारण संक्रमण झनै भयावह बन्दै जाने देखिएको छ । संक्रमण देखिएका र जोखिम रहेका समुदायस्तरसम्म भने परीक्षणको दायरा बढाउन ध्यान पुगेको छैन ।

पहिले भारत तथा अन्य मुलुकबाट फर्किएर आएका व्यक्तिमा मात्र पुष्टि हुने गरेको कोरोना संक्रमण पछिल्लो समय समुदायस्तरमा व्यापक बन्दै गएको छ । तर परीक्षणको गति सुस्त छ । दैनिक औषतमा पाँच सय जनामा परीक्षण भइरहेको छ । परीक्षणको गति बढाउनु अपरिहार्य छ । सरोकारवाला निकायले निषेधाज्ञाको विकल्पमा अन्य ठोस योजना बनाएर कार्यान्वयन गर्न ध्यान दिनुपर्दछ ।

प्रकाशित मितिः   ११ भाद्र २०७७, बिहीबार ०६:००