जोखिम छ, सचेत बनौं

कोरोना भाइरस (कोभिड–१९)को जोखिम रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा ग¥यो । करिब चार महिना जारी लकडाउन असार अन्तिममा आएर केही खुकुलो बनाइयो, जतिबेला संक्रमितको संख्या घटिरहेको थियो, निको हुने दर बढ्दो थियो । अर्कोतर्फ लकडाउनले सबै क्षेत्र प्रभावित बनेको थियो । जसका कारण सरकारमाथि ठप्प भएको सबै क्षेत्रलाई चलायमान बनाउनुपर्ने चुनौति पनि थियो । यही चुनौतिकाबीच सबैतिरबाट लकडाउन अन्त्य गर्नुपर्ने दबाब बढ्यो । अन्ततः साउन पहिलो साता सरकारले लकडाउन खोल्ने निर्णय ग¥यो । उक्त निर्णयसँगै ठप्प रहेका अधिकांश क्षेत्र खुले । बजार खुल्यो । मानिसहरूको चहलपहल बढ्यो । तर मानिसहरूको चहलपहल मात्रै बढेन यही बेला संक्रमणको गति पनि बढ्यो । जसका कारण यतिबेला थप जोखिम देखिएको छ ।

लकडाउन खुलेयता लकडाउनको समयमा भन्दा पनि तीवै्र गतिमा संक्रमित फेला पर्न थाले । दैनिक ५÷६ सयको संख्यामा नयाँ संक्रमित पुष्टि भइरहेका छन् । मृतकको संख्या पनि बढेको छ । साथसाथै समुदायस्तरमा संक्रमण भुसको आगोझै सल्किदैं गएको छ । जसले गर्दा खतरा झन् बढेर गएको छ । कर्णाली प्रदेशमा पनि पछिल्लो समय समुदायमा संक्रमित छ्यापछ्याप्ती देखिन थालेका छन् । सुरुका दिनहरूमा भारतबाट फर्किएर क्वारेन्टाइन बसिरहेका व्यक्तिहरूमा मात्र संक्रमण देखिएको थियोे । तर, अहिले संक्रमण समुदायस्तरमा व्यापक रूपमा फैलिसकेको छ । हेलचक्य्राइँका कारण संक्रमण समुदायमा पुगेको हो । पछिल्ला केही दिनयता दैनिकजसो थपिने संक्रमित समुदायका छन् । हाल कर्णालीमा पुष्टि हुने कोरोनाका अधिकांश नयाँ संक्रमित कुनै ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका हुन् । यसले गर्दा संक्रमण समुदायमा पुगिसकेको मात्र होइन भयावह अवस्था नै आउन सक्ने देखिएको छ । संक्रमण समुदायमा छ्यापछ्याप्ती भइसकेकाले स्थिति थप जटिल र भयावह बन्ने देखिएको हो ।

अहिले लकडाउन छैन । तर स्थानीयस्तरमा संक्रमण फैलिएपछि प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा निषेधाज्ञा जारी गरिएको छ । यसले यसको थप संक्रमण फैलिनबाट रोक्ने अपेक्षा गरिएको छ । यद्यपि आवागमनमा कडाइ गरिए पनि सम्बन्धित निकायले संक्रमितहरूको ‘कन्ट्रयाक्ट टेसिङ्ग’ का आधारमा परीक्षणको दायरा बढाएर खोजपड्ताल व्यापक बनाएको भने पाइँदैन । जसले गर्दा संक्रमण भुसको आगो झै भित्रभित्रै सल्किसकेको छ कि भन्ने त्रास आमनागरिकमा परेको छ । अघिल्लो महिनासम्म कर्णालीमा देखिएका कोरोना संक्रमितहरूमा सामान्यबाहेकको लक्षण कसैमा पनि देखिएको थिएन् । कोरोनाका कारण ज्यान गएकाहरूको पनि मृत्युपछि मात्रै संक्रमण पुष्टि भएको थियो । तर पछिल्लो समय यहाँ लक्षणसहितका संक्रमित देखिन थालेको चिकित्सकहरूले बताएका छन् । ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण हुनु, लक्षणसहितका संक्रमित देखिनु र दैनिक समुदायस्तरका व्यक्तिमा संक्रमण पुष्टि हुनुले खतराको संकेत गरेको छ । त्यसैले सम्बन्धित निकाय र आम नागरिक स्वयम् कोरोनाको संक्रमणबाट बच्न सचेत हुनु अपरिहार्य छ । भयावह अवस्था आउन नदिने एकमात्र उपाय यही हो ।

प्रकाशित मितिः   ७ भाद्र २०७७, आईतवार ०६:००