कोरोनाले खोसेको रौनक

अहिले कोरोना भाइरस ‐कोभिड–१९) ले प्रभाव नपारेको कुनै क्षेत्र छैन । कोरोनाले यतिबेला पूरै विश्व नै त्रसित छ । नेपालमा पनि संक्रमण बढ्दै गएको छ । कोरोनाले मानिसहरूको दैनिकीमै ठूलो बदलाब ल्याइदिएको छ । कोभिडको कहरले चाडपर्वसमेत सुनसान हुन थालेका छन् ।

आज हिन्दू महिलाहरूको पर्व हरितालिका तीज । यस पटक कोरोनाका कारण कतै पनि तीज लागेको छैन । यदि कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो । टोलटोलमा नाचगान र गीतहरू घन्किन्थे । गाउँदेखि सहर–बजारसम्म तीजको चमकधमक अर्कै हुन्थ्यो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहीबेला कतै निषेधाज्ञा जारी छ भने कतिपय स्थानहरू सिल गरिएका छन् । मानिसहरू बाहिर निस्कने र एकै ठाउँमा जमघट भएर रमाइलो गर्ने अवस्था छैन ।

तीज आउनुभन्दा एक महिना अघिदेखि नै गाउँटोलमा नाचगानसँगै दर खाने चलन थियो । सरकारले कोरोनाको जोखिम रहेकाले भिड नगर्न र चाडपर्व घरमै बसेर मनाउन भनेपछि तीज घरभित्रै सीमित भयो । रौनक हरायो ।

तीजमा माइतीमा गएर दर खाने परम्परा भए पनि यो पटक छोरी चेलीहरू आफन्तको घरमा जान पाएनन् । तीजको दिन महिलाहरू जमघट भएर वर्षभरीका दुःख, पिर र मर्कालाई तीजका भाकामार्फत व्यक्त गर्थे । तीजको मौलिकतालाई संरक्षण गर्दै संघ–संस्थाहरूबाट पनि औपचारिक कार्यक्रमहरू आयोजना हुन्थे । कोरानाले निम्त्याएको विषमपरिस्थितिका कारण सबैतिर सुुनसान छ । यसपालि घरभित्रै बसेर महिलाहरूले तीज मनाउनु परेको छ ।

कोरोनाको जोखिम बढेपछि केही दिनयतादेखि सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । बजारहरू पूर्ण रूपमा बन्द छन् भने आवतजावतमा कडाइ गरिएको छ । सुर्खेतलगायत कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा निषेधाज्ञा लागू गरिएको छ । यसले गर्दा तीज पर्वको रौंनक नै हराएको हो ।

वीरेन्द्रनगर नगरपालिका– १६ गर्पनकी मीना थापाले कोरोना संक्रमणको डरले तीज पर्व आएजस्तै नलागेको बताइन् । अघिल्ला वर्षहरूमा तीज आउनुअघि नै गाउँघरमा नाच्ने–गाउने गरे पनि यसपालि कतै नाचगान नभएको उनले सुनाइन् । ‘अहिले त तीज आएको हो कि गएको हो केही थाहा भएन,’ थापाले भनिन्, ‘घरभित्रै बस्नुु भनेका छन् । न आफन्तकोमा जान पाइयो न बोलाउन । तीज आएजस्तै लागेन ।’

वीरेन्द्रनगर–५ की लक्ष्मी शाहीले पनि कोरोना कारण तीज आएको जस्तै नभएको बताइन् । उनले वीरेन्द्रनगरमा निषेधाज्ञा भएपछि घरमै बसिरहेको र सबैतिर सुनसान भएको सुनाइन् । ‘निषेधाज्ञा छ । कतै निस्कन पाइएको छैन । न किनमेल न त नाचगान यस पटक तीजको रौनक केही छैन,’ उनले भनिन् ।

विगतका तीजहरूमा गहना र श्रृंगार सामग्रीको व्यापार पनि निकै हुने गरेको थियो । तर चैत ११ देखि सुरु भएको लकडाउनका कारण यस्ता व्यवसाय चार महिना पूर्ण बन्द भए भने त्यसपछि पनि एक महिना नहुँदै फेरि विभिन्न जिल्लाहरूमा निषेधाज्ञा र सिल गरियो । कोभिडका कारण भएको बन्दाबन्दीले तीजमा हुने व्यापारसमेत ठप्प भएको हो । यस्ता व्यवसाय महिनौंदेखि बन्द रहेका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरीदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवको तपस्या गरेको र तपस्याको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले फल नपाउँदा उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसेपछि पार्वतीले शिवलाई पाएको विश्वास छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालको पाइन्छ । तीज पर्व मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

प्रकाशित मितिः   ५ भाद्र २०७७, शुक्रबार ०६:०२