संक्रमित घट्दै, जोखिम उस्तै

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि नयाँ संक्रमित थपिने क्रम भने घट्दो छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तीन महिनाको तथ्याङ्क हेर्दा जेठ, असार र साउनमा क्रमशः संक्रमितको दर घट्दै गएको पाइएको छ । पछिल्लो समय परीक्षणको क्षमता र दायरा बढाइए पनि संक्रमितको संख्यामा भने कमी आएको हो ।

गत जेठ ५ गतेदेखि ३२ गतेसम्म प्रदेशभर १५ हजार ६ सय ७० जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा नौ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कर्णालीमा पहिलो पटक जेठ ५ गते संक्रमण भेटिएको थियो । त्यस्तै असार महिनामा परीक्षणको दायरा बढाइयो । उक्त महिना मात्र १९ हजार चार सय ९४ जनामा पीसीआर परीक्षण गरिएकोमा सात सय ५७ जनामा संक्रमण पुष्टि भयो । यो संख्या अघिल्लो महिना भेटिएका संक्रमितभन्दा दुई सयले कम हो ।

महाशाखाका अनुसार साउन महिनाको ३१ गते ‐हिजो) सम्म मात्र ११ हजार आठ सय ४० जनाको परीक्षण भएकोमा तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्ला दुई महिनाभन्दा यो महिना भने कम संख्यामा परीक्षण भएको देखिएको छ । यद्यपि संक्रमितको संख्या भने अघिल्ला महिनाको तुलनामा कम नै छ । प्रदेशमा हालसम्म ४७ हजार चार जनामा आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसको जोखिम उच्च भए पनि संक्रमितको तथ्याङ्क भने घट्दो क्रममा देखिएको छ । प्रत्येक महिना स्वाब जाँच गराउनेको संख्या समेत बढेको देखिए पनि संक्रमणको दर भने घट्दै गएको तथ्याङ्कले देखाएको हो ।

प्रदेशका चार जिल्लामा परीक्षणका लागि पीसीआर मेसिन राखिएको छ । सुर्खेत, दैलेख, जुम्ला र रुकुम–पश्चिममा कोरोना परीक्षण हुँदै आएको छ । पहिले क्वारेन्टाइनमा रहेका व्यक्तिमा मात्र सीमित परीक्षणलाई समुदायस्तरमा समेत लगिएको छ । तर पनि कोरोना संक्रमितको संख्या भने प्रत्येक महिना घट्दै गएको देखिएको छ । हुम्ला र डोल्पामा नयाँ संक्रमित नभेटिएपछि यी दुई संक्रमणमुक्त छन् ।

एकातिर तथ्याङ्कले कर्णालीमा संक्रमितहरूको संख्या घटेको देखाएको छ भने अर्कोतिर जोखिम उच्च भएको भन्दै कर्णालीका विभिन्न जिल्ला तथा स्थानीय तहहरू धमाधम सिल गरिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले लकडाउन खुकुलो भएयता कोरोना भाइरसको जोखिम उच्च भएको बताए । ‘पछिल्लो समय तथ्याङ्कमा संक्रमितहरूको संख्या घटे पनि जोखिम भने उच्च छ, उनले भने ‘चाडवाडहरू नजिकिँदै गर्दा संक्रमणको जोखिम उच्च देखिएको हो ।’ चाडपर्वका समयमा भिडभाड हुँदा संक्रमण बढ्ने जोखिम उच्च रहेको उनको भनाइ छ । लापरबाही बढ्दै गएकाले कर्णालीमा आगामी दिनहरूमा थप संक्रमणको जोखिम देखिएको चिकित्सकहरूले बताउने गरेका छन् ।

लकडाउन हटेसँगै सहरी बजार क्षेत्रमा भिडभाड निकै बढेको छ । संक्रमणको जोखिम बढेको भन्दै सुर्खेत लगायतका केही जिल्लाहरूमा स्थानीय प्रशासनले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरू समेत बन्द गरेको छ । पछिल्लो समय वीरेन्द्रनगरमा संक्रमणको दर बढेको देखिन्छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा संक्रमण थप फैलने देखिएपछि भदौ १ गतदेखि ५ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ । प्रदेश सरकारले समेत जोखिम बढेको भन्दै कर्णाली भित्रिने सबै नाकाहरूमा कडाइ गरेको छ । अबदेखि प्रदेश भित्रिनेहरूले पीसीआर रिपोर्ट अनिवार्य रूपमा देखाउनुपर्ने छ । त्यस्तै यो अवधिमा भिडभाड, जात्रा–मेला लगायतका कुनै पनि क्रियाकलाप गर्नमा रोक लगाइएको छ ।

देशभर द्दट हजारलाई संक्रमण

नेपालमा थप चार सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार चार सय ४७ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै शनिवार साँझसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरूमध्ये एक सय दुई जनाको मृत्यु भएको छ भने १७ हजार दुई सय एक संक्रमणमुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच लाख बढीमा पीसीआर टेष्ट गरिएको छ । हालसम्म पाँच लाख पाँच हजार ६ सय ६० जनाको पीसीआर परीक्षण गरिएको हो । यस्तै, कर्णाली प्रदेशमा शनिवार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका पाँच र सुर्खेतका तीन जनामा संक्रमण देखिएको हो । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या दुई हजार ६५ पुगेको छ । तीमध्ये एक हजार नौ सय १३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित एक सय ४६ रहेका छन् । प्रदेशमा ४७ हजारभन्दा बढीमा आरटी–पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३२ श्रावण २०७७, आईतवार १०:१४