छोरी मनुष्य भएर बाँच
छोरी ! तिमी मान्छे भएर बाँच
छैन, हामी बाँचेको समाज
तिमीले सोँचेजस्तो,
हरेक दिन
तिम्रा चञ्चल आँखाहरूले हेर्ने
सुन्दर बगैँचा जस्तो,
हरेक दिन
सबैको निम्ति उदाउँने
रविको प्रकाश जस्तो,
हरेक पल तिम्रो जिन्दगी भर्ने
पवित्र वायुजस्तो,
अहँ, पटक्कै छैन यो समाज
आफ्नो शरणमा आएका सबैलाई
विशाल छातीभित्र अटाउन सक्ने
शान्त सागरजस्तो,
तिम्रो बगैँचामा फलेका
मिठा फलहरू जस्तो,
मान्छे बनेर जिउन पनि
उठाउनु पर्छ यहाँ सङ्घर्षको पहाड,
तोड्नुपर्छ कुुुसंस्कारको चक्रव्यूह
फोड्नुपर्छ विवेकहीनताको द्वारमा लागेको
त्यो भोटे ताल्चा,
त्यसैले
यो समाजले बनाएको नारी भएर हैन
तिमी मान्छे भएर बाँच
हजारौँ प्रश्नहरूले भरिएका
तिम्रा सुकोमल ओँठहरू,
हजारौँ सपनाहरू उमार्न सक्ने
तिम्रो उर्वर मस्तिष्क,
प्रेमको सागर अट्न सक्ने
त्यो विशाल हृदय,
सारा सौन्दर्यलाई कैद गर्न सक्ने
तिम्रा ती नशालु आँखाहरू,
सबै सबैमा भर
संसारका सबै रङ्गहरू
भर संसारका सबै खुशीहरू
भर स्वतन्त्रताको इन्धन
तिम्रा पङ्खहरूमा,
कोही जस्तो हुनु पर्दैन तिमीले
केवल मान्छे भएर बाँच
नारी हुनुको आभाष दिइरहनेछ तिमीलाई
हामी बाँचेको समाजले
तिम्रा हरेक पाइतालाका डोबहरूमा
तिम्रो अस्तित्वको आशनमाथि
खोज्नेछन् उफ्रिन उन्मत्त साँढेहरू,
तिम्रा कानहरूमा
हरदम बजिरहनेछन्
पितृसत्ताका बेसुरका बाजाहरू,
तिम्रा हरेक यात्राहरूमा
उभिनेछन् तिमीलाई रोक्न
अग्ला चट्टानी दिवारहरू,
तिम्रा खुशीहरू रेट्न
उठ्नेछन् धारिला तरवारहरू,
ती सबैको सामना गर्न
तिमी मिसाइल बनेर बाँच
सारा फोहरहरू बगाउन
अविरल बग्ने गंगा भएर बाँच
कठोर जन्जिरहरू चुँडाउने
विराट साहस भएर बाँच
स्वाभिमानको न्यानो ओढेर जिउन
यो संसारलाई सबैको बनाउन,
छोरी तिमी !
परिवर्तनको मसाल बनेर बाँच
आत्मसम्मानको झण्डा बोकेर बाँच
न्यायको गाण्डिव उठाएर बाँच
सीता, सावित्री बनेर हैन
छोरी तिमी आपूm बनेर बाँच
तिमी मनुष्य भएर बाँच ।।
साझा बिसौनी ।