गाइज

मास्क लगाएका कृष्ण

महेश नेपाली

‘या बे आइटी के छ ?’ ध्यान एकाग्र भएको बेला परेको चट्याङ जसरी आइतेमाथि बर्सिन्छ रहिना ।

‘या सिसिकी छोट्टीअ क्या जर्काउँदी छै ? आज बाह (बेलुका) खेल्ल जान्या होइ ?’ एक्लै देखेपछि आइते पनि के कम रहिनालाई जिस्काइहाल्छ ।

लगभग हराइसकेको छोट्टी बस्ने चलनलाई स्मरण गर्छ । हुन त आइते आफ्ना छाउल्या (उस्तै उमेरका) केटीहरूसँग खुब खेल्न जान्थ्यो । खुब गीत गाउँथ्यो । त्यसैले अहिले पनि गीत गाउन भन्यो भने सजिलै गाइहाल्छ ।

‘ओके, डन । म रेडी खेल्ललाई पहिला तँ भन् त्यसपछि मेरो पालो’ रहिना भन्छ ।

‘जेठो भाइ नेपाल गयो, कान्छो भाइ काँसी जाऊ ।
ढुक्क मनले माया लाइजाउ, मुसुक्क हाँसीजाऊ ।।’

आइते के कम थियो र नेपाल टेलीकमको स्लो नेटको फाइदा उठाइहाल्यो, अरु साथीहरू जुममा नआउन्जेल ।

रहिनालाई आफै रचेर देउडा गाउन आउँदैन । तर उसलाई अरूले गाएको देउडा गाउन आउँछ । ‘राइझुमा’ मज्जाले गाउँछे । रेखा जोशीको ‘साइ र म परेवा जोडी, घुटुक्क भाडुली लाया ।’ लगायतका देउडा भने स्वर निकालेर गाइदिन्छे । त्यसैले ऊ भन्छे, ‘म देउडाकी फ्यान हुँ ।’

‘क्या दिइस् यार ! म के दिउँ त तलाई ?’ रहिना ।

‘के दिन्छिस् त । सुरुकै गीतमा सेन्टीफ्ल्याट भैहालिस् । यता हाम्रोतिर देउडा खेल्न गएपछि सुरुमै ‘जित्या पै झितडी लेलिस्, हा¥या पै जोइ होलिस ।’ भन्छन् केरे । तैँले त हारिहालिस केरे अब के दिनुपर्ने रहेछ आफै बुझ न, हेहे ।’

‘आबुइ ! तँलाई पख न, दिदि आउन दे तेरो जानेकी छु । के भनेछस् भन्दिन्छु ।’

‘आहो ! सरी यार ! मैले यतातिर भएको कुरा पो गरेको हुँ त, काँ दिदिसँग भन्दिने कुरा गरिरा’नी । नभन है पिल्ज !’

‘भन्दिन्छु ।’

‘प्लिज !’

‘नाइ भन्दिन्छु ।’

‘प्लिज, तैँले जे भन्यो त्यही मान्छु ।’

‘साँच्चै ?’

‘ओक ।’

‘भनँु त, मलाई तैले के दिन पर्छ ।’

‘उम ! भन न ।’

‘त्यसो भए एक कार्टुन स्याउ पठाइदे न त ।’

‘भनेपछि म तेरो माइती हुने भएँ । के सोचेथेँ यार ।’

‘ओइ ! के भनिस रे फेरि ? दिदी आउने बेला भइसक्यो रुक न ?’

‘सरी सरी ! ल ओके तेरो लागि एक कार्टुन स्याऊ ।’

‘ए मेरो माइती ! तीज आउँदैछ कुनै एउटा सरकारी गाडीमा एक कार्टुन स्याउ हालेर पठाइदेउ ल, दाजु । हेहेहे ।’

देख्नुभयो कोसँग हारेकी छ र रहिनाले ? छुरा हो छुरा । नीउ खोज्यो की जीउ खाई ।

‘के सोचेथँे जिन्दगीका के–के भयो आज ।’

०००

‘हेलो गाइज ! रामराम ।’ थरुहटबाट बक्रामको प्रवेश भयो ।

‘हाई बक्राम । का हाल खबर बा ?’ झुमाले जिस्काई ।

अहो ! ढुङ्गा पल्टिाइदिऊँ जस्तो लागेन तपाईलाई । कहिले नजिस्कने मान्छे जिस्किएको देख्दा π

अघि देखिका आइते र रहिना चुपचाप छन् ।

यत्तिकैमा महाशंकरको शंख ध्वनि प्रकट हुन्छ । ‘के छ हो भाइ बहिनीहरू हो ?’

‘ओइ टुप्पी दिदी देख्दैनस् ? केका भाइ बहिनी दिएर भलादमी बनिराछस् ।’

‘ओ ! सरी सरी । दिदी ढोक छ है । यस्सो दिउँ के भनेको थिएँ, यो छ्यापुल्लीले डसिहाली ।’

‘यो देश पहाडियाहरूले खाएका छन्् । म र बक्राम मधेसबाट छौं । दिदी र आइते हिमालबाट । हामी हिमाल र मधेसका असी प्रतिशत छौं । तर बीस प्रतिशत मात्र भएर पनि तँ त हामीमाथि शासन गर्न खोज्छस् यार । सत्तामा तेरा शाखा सन्तान छन् भन्ने वित्तिकै हामी प्रश्न गर्न छोड्छौं क्या हो टुप्पी ?’

अब इन्द्रेका बाउ चन्द्रे आए पनि सक्लान त ?

०००

‘भयो भयो । कसैले तँ माथि शासन गरेको छैन । बरु भन तेरो ठोरीवाला राम भैयाको हालखबर के छ ?’

‘चुप लाग टुप्पी मेरो पारो चढाउने काम नगर । यो सब तिमी पहाडियाहरूले फालेको कार्ड हो । हाड फालेर कुकुर लडान कति जानेको हँ, तेरो ओली साखा सन्तानले ? राम थियो, थिएन तिमी पहाडियाहरूसँग के प्रमाण छ ? कोरोनाको कहरमा मिथकमाथि अनावश्यक बखेडा झिकेर यो के गर्न खोेज्या ? यहाँ देशमा भइरहेका असली रामहरू काम, माम नपाएर भोकभोकै मर्दैछन् । मिथकमाथि बहस गराएर के गर्न खोज्या ?

हाय बाहुनवादी सत्ता ! एकातिर आफूलाई कम्युनिष्ट भन्ने अर्कोतिर धार्मिक कार्ड फालिरहने । जनताको मानसिकता मारिरहने । हिजो विष्णुको अवतार भनेर राजालाई गद्दीमा बसालिन्थ्यो । आज ओली रामावतारमा आएर जन्मथलो खोज्न थालेका छन् । त्यसैलाई अक्षरस पालना गर्ने यो हाम्रो बाहुन ।

अरे यार तँ आफू जनै लाउँदैन भन्छस् है । मतलब तँ अजनैधारी बाहुन । कहिलेकाही मसँग बाहुनको के नै बाँकी छ र पनि भन्छस् । तर म त भन्छु भैसीको मःम खाँदैमा कोही बाहुनको जात जाँदैन रहेछ । जीनमै बाहुनवाद बोकेर आएपछि कसको के लाग्छ र बरै ?

कृपया तपाईंहरू सबैजना भन्नुस् यो हाम्रो बाहुन र ओलीभक्त विद्यार्थी नेता ऐन महरमा के फरक छ ? ऐन महर रामको मामलामा मुट्ठी कसेर गुण्डागर्दी गर्न तयार छन् । आफ्नो घर नजिक कुकुर पनि बालियो हुन्छ भनेझैं नेपालकै एक दुई ठाउँमा गएर चर्को स्वरमा भुक्न तयार छन् । लड्छु भन्न पनि तयार छन् । यहीँनेर उनी हिटलरको राष्ट्रवादी बन्न खोज्छन् । अर्कोतिर खाँटी कम्युनिष्ट भएको देखाउन जनैको विरोध पनि गरिरहेका छन् ।

ल दिदी हजुर नै भन्नुस् न हाम्रो बाहुन र सत्ताका बाहुनमा फरक के छ ?

‘हेर साथी धर्मभिरु समाजमा शासकहरू जहिले पनि जनताको मानकितामाथि हमला गरिरहन्छन् । अर्को भाषामा मानसिकता किल गरिरहन्छन् । अझ बढी देशले संकट बेहोरिरहेको बेला यस्ता चलखेलहरू हुने गरेका छन् । हामी आम जनता यी र यस्ता गफमा अलमलिएपछि कोरोनाबाट होस् की बाढी पहिरोले मान्छे मर्नु भनेको किरा, कमिला मर्नु सरह पनि मानिदैन । अनि आफू फोहोर पानीको तलाउमा जति खेले पनि भयो । ओलीहरूको सत्ता टिकिरहन्छ । हाम्रो बाहुनहरू जस्ता आफ्नो रबैया देखाइ नै रहन्छन् । त्यसैको रिफ्ल्याक्सन मात्र त हो यो ।’

‘आहो म कहाँ छु ? कति कम सोचेर बोलिरहेको छुँ । आज तैले मेरो आँखा खोलिदिइस यार सरी ल ।’ महाशंकर रियलाइज गर्छ ।

‘तेरो आँखै मै हुँ नी, टुप्पी बा π आफ्नै आँखामा छारो नहाल जिन्दगी अन्धकामै बित्ला ? कृपया बोल्दा जिब्रोलाई तराजु बनाएर तौलिएपछि मात्र फ्याँकौ न हो शब्द पनि ।’

‘जातले गुरु भएको हाम्रो महाशंकरको पनि गुरु भइ नि रहिना त । ख्याल गर है महाशंकर ! तर रहिना तिमी तिखारिदैछौं । बहस यसरी नै गर । चोक चौतारोमा पनि सामेल हुनुपर्छ है । खुला ठाउँमा बसेर चिया पसलमाझैं चुरोट तान्दै गफ लडाउन पुरुषहरूले मात्र पाउने सामाजिक संरचना तोड्ने हामीले नै हो ।’ झुमाको अभिभावकीय प्रवचन सकियो । झुमाको मिठो र सरल बोली अगाडि पतञ्जलीका रामदेवका प्रवचन फिक्का छन् ।

‘दिदीको मतससँग दुई सय प्रतिशत सहमत । कहिलेकाहीँ त यो महाशंकर बहुत चिप्लिन्छ । खासगरी भूगोलको विषयमा । कतै न कतै बाहुनवादको झल्को हाम्रो केटोबाट पनि आइरहेको छ । तर साथि यस्सो सोच्ने पनि गर ल ! म अरु केही भन्दिन । मिथक राम र राम जन्मेको ठाउँको बहसै गर्नुपर्ने भएपनि यो उपयुक्त समय होइन । तर सत्ताका कथित बुद्धिजिवीहरूले नै यो ढ्वाँग फुकिरहेका छन् । जनताको मानसिकता मार्ने काम यिनीहरूकै हो ।’ यो जुम बैठकमा दुई शब्द राख्दै बक्राम ।

‘ल मैले सबैका अगाडि सबैसँग माफी मागे है । विशेषगरी यो प्यारी छ्यापुल्लिसँग ।’

‘हेहे नो थ्यांस, नो सरी डार्लिङ ।’ रहिना फेरि पातलाई झैं महाशंकरलाई उडाउन थालिहाली ।

‘ल भयो भयो यो विषयलाई यहीँ लिभ गरौं ।’ होष्टले मिटिङलाई नियन्त्रण गर्छ ।

‘ल ठीक छ हाम्रो रामको कुरा सकियो । आइते अस्ति तिम्रातिरको कृष्ण पनि जन्मने थियो नी । के भयो ? कस्तो भयो सुना न यार ।’

रहिनाको कुरा सुनेपछि झुमाले आइतेलाई भनको इशारा गरी । आइते तयार भयो ।

‘जुम्ला हरेक वर्ष कृष्ण जन्माइरहेको छ । कृष्ण जन्माष्टमीमा कृष्ण जन्माउनको लागि ठूलो तामझाम गरिन्छ । जुम्ला लगायत साविकको कर्णालीका पाँच जिल्ला र जाजरकोटबाट समेत २० हजार बढी मान्छेहरू कृष्ण हेर्न आउँछन् । कृष्ण जीले लाखे (कंश) नास गरेको हेर्छन् । जान्छन् ।

कृष्ण जन्माइएको दृश्य हेर्न लायक हुन्छ । उबेला कृष्ण जन्मिएको जेलमा भएपनि यहाँ कसैको घरमा जन्माइन्छ । विशेष श्रृंगार गरिएको हुन्छ । त्यो भन्दा बढी राधिकाहरू श्रृंगारिएका हुन्छन् विभिन्न बहुराष्ट्रिय कम्पनीका बासनादार मालहररुले । कृष्ण जन्मेको खुशीयाली उनीहरू मनाउन लाग्छन् ।

उनीहरूलाई लाग्दो हो अबा सोल्टीसँग डेटिङ गइन्छ । त्यसैको खुशीयाली होला उनीहरूको कुकुरे बैंस भरिएको हुन्छ । उत्साह प्रेम विवाह हुन आँटेको भन्दा फरक हुन्छ ।

तर यो पाली कृष्ण कोरोनाको कहरमा जन्मे । राधिकाहरू सुतिरहेको समयमा जन्मे । उनी जन्मेको हेर्न कोही आउन सकेननन् । डेटिङ जानु त के कल्पना पनि गर्न पाएनन् । कसैले उत्सव मनाउन सकेनन् । उनी जान्मेको खुशीयालीमा रातभर देउडा खेल भएन ।

ह्याँउको क्यान पानी पोख्यौ ? नानो भाउ रडला,

अष्टमीमा जन्म्या कृष्ण, खेल्लै त पडला … भनी कसैले गीत गाएन । उनले लाखो मार्न पाएनन् । उनी जन्मेको २४ घण्टामा ठूलो भइसक्नु पर्ने थियो, त्यो केही हुन पाएन । मुख्य कुरा उनी जन्मने वित्तिकै माक्स लाउनु प¥यो ।’

‘ल स्टोरी टेलिङमा केटो फरवार्ड भएछ । खुसी लाग्यो । टुप्पी बाजे केही कृष्णबाट पनि सिक्ने कि राम राज्य खडा गर्न मात्र लाग्ने ?’ रहिनाले आइतेको प्रशंसा गर्दा पनि महाशंकरलाई छोडिन ।

‘यसले मार्ने भइ मलाई । हे प्रभु बचाउ मलाई यो भूतिनीबाट ।’

‘हेहेहे ! फेरि देखाइहाल्यो नी पारा सोल्टीले ।’ किन छोड्थी र ?

‘हैन तिमीहरू झगडा मात्र गर्ने हो की अब बिदा हुने पनि हो ? हेर त्याँ घडिको सेकेन्ड सुई मात्र चलिराछ,अरु सुइको आयु सकियो ।’ बक्राम सबैलाई नियन्त्रण गर्छ ।

‘ओइ आइते, अघिको कुरा दिदीलाई भन्दिउँ ?’ समय सकियो । रहिनाको कुरा सबैले सुन्न पाएनन् ।

प्रकाशित मितिः   ३१ श्रावण २०७७, शनिबार ०६:०६