विचार

स्वस्थ जीवनका लागि साइकल

दैनिक जीवनयापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागी ‘यात्रा’ मानव जीवनको अत्यावश्यक कार्य हो । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट अर्काे ठाउँको यात्रा गर्नैपर्ने हुन्छ । आदिमकालमा धर्तीका सबै मानवजाति पैदल यात्रा गर्ने गर्दथे ।

हिन्दूधर्म ग्रन्धलाई आधार मान्ने हो भने भगवानहरूले यात्राका लागि फरक–फरक वाहन प्रयोग गर्ने गरेको पाइन्छ । जस्तैः मयूर, घोडा, मुसा आदि । कालान्तरमा प्रविधि विकाससँगै यातायातका विभिन्न साधनको विकास हुँदै गयो । जसले गर्दा आजको हाम्रो यात्रा निकै सजिलो, छिटो–छरितो अनि आरामदायी हुँदै गइरहेको छ ।

मानव इतिहासको कायाकल्पमा पांग्राको आविष्कारलाई अर्थपूर्ण संघटना मानिन्छ । साइकल त्यही इतिहासको महŒवपूर्ण कडी हो । कुनै जमानामा यातायातको सबैभन्दा विशिष्ट साधन रहँदै आएको साइकल अचेल भने विश्व बजारीकरण र आधुनिकीकरणसँगै ओझेलमा परेको छ ।

दुईवटा मात्र चक्काको भरमा सन्तुलन गरेर चलाउन सकिने यो सवारीसाधन १८औं शताब्दीमा जर्मन नागरिकले पहिलो पटक प्रचलनमा ल्याइएको खोजकर्ताले दाबी गरेका छन् । सोही दशकको मध्यतिर फ्रान्सेलीहरूले यो दुई चक्के सवारीसाधनलाई ‘साइकल’ भनी नामाकरण गरेका थिए । व्यावसायिक रूपमै साइकलको पहिलो पटक उत्पादन÷आविष्कार गर्ने श्रेय भने जर्मनी नागरिक कार्ल भान ड्राइसलाई जान्छ । प्रायःजसो भागहरू काठबाट बनाइएको उक्त साइकलको तौल २२ किलोग्राम थियो ।

दोस्रो विश्वयुद्धपछि सन् १९६० को दशकमा साइकलको राजधानी मानिने नेदरल्यान्डमा जब मानिसहरूको जीवनस्तरमा क्रमिक रूपमा सुधार हुन थाल्यो तब मानिसहरूले धमाधम साइकल त्यागेर कार किन्न थाले । साइकलको संख्या घटेसँगै नेदरल्याण्डमा तीन प्रमुख समस्याहरू देखिन थाले। सहरमा मस्तिष्कघात र हृदयघातका बिरामीहरूको संख्या बढ्यो । देशले आफ्नो अर्थतन्त्रको गतिलो हिस्सा तेल आयातमा खर्च गर्न थाल्यो । अनि पेट्रोल, डिजेल र मट्टितेलको प्रयोगसँगै सुन्दर सहर एकाएक प्रदूषित बन्न थाल्यो । तर नेदरल्यान्ड साँच्चै साइकल युगमा प्रवेश गरेको चाहिँ सन् १९७१ र ७३ का दुई घटनाले नै हुन् । सडक दुर्घटनामा परी एकै वर्षमा चार सय भन्दा बढी बालबालिकाको मृत्यु भइसकेपश्चात् ‘स्टप चाइल्ड मडर’ अर्थात् बालबालिकाको हत्या बन्द गर भनी स्थानीय जनता प्रदर्शनमा उत्रन थाले । त्यस्तै इजरायललाई युद्धमा सघाएको आरोपमा साउदी अरबले नेदरल्यान्डमाथि नाकाबन्दी लगायो । दिनानुदिन हुने प्रदर्शन र तेलमा भएको नाकाबन्दीले आजित भएका डच प्रधानमन्त्रीले सन् १९७३ मा विशेष सम्बोधनमार्फत आफ्ना जनतालाई जीवनशैली नै परिवर्तन गर्न आह्वान गरे । फलस्वरूप, नेदरल्यान्ड पुनः साइकल सिटीमै रूपान्तरित भयो ।

आजका दिनमा, आठमध्ये सात डच नागरिक साइकल चलाउँछन् । बाइस हजार माइल त साइकल चलाउनकै लागि भनी बनाइएका साइकलपथ रहेका छन् । त्यहाँका प्रधानमन्त्रीले साइकलमै चढेर राजदरबार पुगेको अनि कार्यालय जान–आउन नै साइकल प्रयोग गरेका तस्बिरहरू बेलाबखत भाइरल हुने गरेका छन् । युरोप, अमेरिका लगायत पश्चिमी विश्वमा साइकलको प्रयोग संस्कृतिकै रूपमा विकास भइरहेको छ । त्यहाँ मोटरसाइकल, कार, सार्वजनिक बस र तीव्र गतिका ट्रेनहरूको प्रयोगसँगै दैनिक जीवन र अन्तरबाह्य पर्यटनमा साइकलको उपभोग लोभलाग्दो स्तरमा छ ।

नेपालमा भने साइकलको इतिहास त्यति लामो छैन । सन् १९२५ मा स्थापना भएको पञ्च अष्टनारायण साइकल पसललाई नै नेपालको पहिलो आधिकारिक साइकल बिक्रेता मानिंदै आएको छ । तर त्योभन्दा अघि नै तराईका विभिन्न जिल्लाहरूमा फाट्टफुट्ट साइकल देखा परिसकेको थियो । ती भू–भागमा केही समय अघिसम्म पनि साइकल छटो र मध्यम दूरीको यात्राका लागि एकमात्र यातायातको साधन थियो । तर समयसँगै साइकलको प्रयोगमा धेरै हदसम्म कमी आइसकेको छ । युरोपको साइकल संस्कृतिको प्रभाव भारत हुँदै नेपाल भित्रिएको हो । नेपाली आम नागरिकले साइकलको उपभोग गर्न थालेको सात दशक पार भइसकेको छ, तर यो संस्कृतिको अङ्ग बन्न सकेको छैन ।

नेपालमा पनि साइकल निकै लोकप्रिय सवारीसाधनको रूपमा प्रयोगमा आएको पाइन्छ । विशेषतः तराइ–मधेशका सर्वसाधारणले साइकलको प्रयोग गर्ने गरेका छन् । तुलनात्मक रूपमा सस्तो, शारीरिक परिश्रमद्वारा चलाउन मिल्ने, कुनै प्रकारको इन्धनको आवश्यकता नपर्ने, चालक अनुमति पत्रको आवश्यकता नपर्ने, अन्य
सवारीसाधन जस्तो दर्ता गर्नु नपर्ने आदि कारण पनि साइकल लोकप्रिय बनेको हो । तर विगतमा तराईका गाउँ–सहरको आर्थिक–सांस्कृतिक जीवनको मेरुदण्ड बनेको साइकल अहिले प्रयोगमा कमि आएको छ ।

स्वास्थ्यका लागि साइकल

सन् २०१४ मा प्रकाशित विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा हुने कुल मृत्युको ६० प्रतिशत कारण नसर्ने रोगहरू रहेका छन् । त्यसमा पनि मधुमेह, मुटुको रोग, क्यान्सर, दम प्रमुख चुनौती बनिरहेका छन् । अझ परिवर्तित खानपिन र जीवनशैलीका कारण युवावर्ग नै उच्च रक्तचाप र मधुमेहको जोखिममा पर्न थालेका छन् । यस्तो अवस्थामा साइकलका विभिन्न फाइदाहरूलाई अङ्गिकार गर्दै यसको प्रवद्र्धन गर्नसके अकालमा हुने त्यस्ता मृत्यु केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्थ्यो कि?

  • मानसिक स्वास्थ्यमा सुधारः दैनिक तीस मिनेटको साइकल यात्राले मानिसको स्मरणशक्ति, सोच्न सक्ने र योजना बनाउन सक्ने क्षमतामा व्यापक वृद्धि गराउँछ । साइकलले आत्मविश्वास बढाउँछ । यति मात्र नभएर यदि तपाइँ ‘इन्सोम्निया’ अर्थात् निद्रा नपर्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने पनि साइकल यात्राले त्यसमा धेरै सहयोग पु¥याउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
  • मोटोपनको अचुक औषधिः एक घण्टाको साइकल यात्रामा करिब ४ सयदेखि हजार क्यालोरी कार्बोहाइड्रेट नष्ट हुन्छ । यसको अर्थ यदि तपाईं नियमित रूपमा साइकल चलाउनुहुन्छ भने खानपानमा उति साह्रो बन्देज नलगाई पनि आफ्नो तौल घटाउन सकिन्छ । अझ महत्वपूर्ण कुरा त के छ भने, उति नै समय हिँड्ने र साइकल चलाउने दुई बीचमा, हिँड्ने मानिसको तुलनामा साइकल चलाउने मानिसले लगभग दुई गुणा ज्यादा क्यालोरी नष्ट गर्न सक्छ । हिँड्दाभन्दा दौडँदा र दौड्दाभन्दा साइकल चलाउँदा चाडो तौल घटाउन सकिन्छ । साइकलको तुलनामा हिँड्दा वा कुद्दा शरीरको अतिरिक्त भार घुँडा र कुर्कुच्चामा पर्ने हुँदा तौल घटाउनका लागि कुद्नु भन्दा साइकिलिङ्ग गर्नु थप फाइदाजनक मानिन्छ । यस्तै साइकिलिङ्ग गर्दा पेटका मांसपेशीमा थप बल पुग्ने हुँदा, घटाउन सबैभन्दा गार्हो मानिने पेटको बोसो सजिलै पग्लन्छ ।
  • मुटु रोगको जोखिम कम गर्नः सन् २०१८ को ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित सो अध्ययनले सहरी क्षेत्रमा साइकलको प्रयोग व्यापक रूपमा बढाउनु पर्ने कुरा पनि औँल्याइएको छ । साइकल चलाउँदा मटुुको धड्कन र रक्त सञ्चार दुवै सन्तुलनमा रहन्छन् जसले समग्र रक्त प्रणालीलाई नै ठीक राख्न मद्दत पु¥याउँछ ।
  • स्वस्थ फोक्सोका लागिः साइकलले दुई तरिकाले हाम्रो फोक्सोलाई फाइदा पु¥याउँछ । पहिलो त साइकलका कारण कम हुने वातावरणीय क्षति र प्रदूषणले फोक्सोलाई सफा र स्वस्थ राख्न मदत गर्दछ । भनिन्छ गाडीको प्रयोग छाडेर प्रत्येक दिन दस किलोमिटर मात्रै पनि साइकलमा आवतजावत गर्ने हो भने प्रतिव्यक्ति बराबर एक वर्षमा १५ सय किलो कार्बन उत्सर्जन कम हुनेछ । साइकलको प्रयोगले इन्धनको खपतमा कमी आउनुका साथै धुवाँ, धूलो र प्रदूषण व्यापक रूपमा कम हुनेछ । दोस्रो भनेको साइकल चलाउँदा फोक्सोमा हुने रक्तसञ्चार र श्वासप्रश्वासले पनि यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ ।
  • जिमको विकल्पः स्वस्थ अनि स्फूर्त रहन साथै फिट देखिनका लागि अहिले ठूलो संख्यामा युवा जमात जिम सेन्टरहरू धाउने गरेका छन् । कुनै कारणवश यदि तपाईं जिम गर्न असमर्थ रहँदै आउनु भएको छ भने त्यसको भरपर्दो विकल्प साइक्लिङ हुनसक्छ ।

साइकलको नियमित प्रयोगले तौल घटाउनुका साथै मांसपेशी र हड्डीको सन्तुलित विकासमा सहयोग गर्छ । विशेषगरी पेडलिङ गर्दा खुट्टामा र ओरालो झर्दा हातमा बल पुग्ने हुदाँ साइकिलिङ्ग गर्दा मांसपेशी कसिलो, साह्रो र मोटो बन्दछ । समग्र रूपमा हड्डीको विकासमा पनि साइकिलिङ्गले टेवा पु¥याउँछ ।

यी बाहेक पनि मस्तिष्कघातमा (स्ट्रोक) कमी आउने, मानिसको ‘न्याभिगेसन स्किल’ अर्थात भूगोललाई बुझ्न सक्ने क्षमतामा वृद्धि हुने, तार्किक क्षमता बढ्ने, यौन क्षमतामा वृद्धि हुने आदि फाइदाहरूबारे विभिन्न अध्ययनहरू भएका छन् । यसका अलावा पनि अनुसन्धान नभएका साइकलका अनेकौं फाइदाहरू छन् , जसबारे विस्तृत अध्ययन र खोज हुन बाँकी नै छ ।

साइकल यात्राको चुनौती र सम्भावना

हामीमध्ये धेरैलाई अघिल्लो पटक साइकल चढेको सम्झना नै नहुन सक्छ । हामी कसैले सानो केटा–केटी छँदै साइकल चढेका थियांै, कसैले कलेज जाँदा मात्रै चढेको हो । त्यसपछि भने छैन । कतिपयले भने जागिरे जीवन सुरु भएपछि साइकल चढ्न छाडेका छौं । हामी कतिले भने आफ्नो व्यापार–व्यवसाय सुरु भएपछि र अलिक फस्टाएपछि साइकल चढ्न छाड्यौं । यसको निचोड के हो भने जब हामी आर्थिक रूपमा सबल बन्दै जान्छौ, समाजमा नेतृत्वदायी भूमिका निभाउँदै माथिल्लो ओहोदामा पुग्छौ– तब साइकलको प्रयोगलाई ‘अनावश्यक’ भन्न थाल्छौं ।

अधिकांश अभिभावकले साइकल किनेका छौं, तर आफ्नो लागि होइन, आफ्ना बालबालिकाका लागि मात्र । हाम्रा बालबच्चा सानो छँदा खेलौना साइकल, अलि ठूला भएपछि तीनचक्के साइकल, अझ केही ठूला भएपछि दुई चक्के साइकल घरमा राख्ने बाध्यता झैं हुन्छ । तर, जब हाम्रा छोराछोरी माध्यमिक तथा उच्च माध्यमिक तहमा पुग्छन्, तब ती साइकल प्रयोगविहीन हुन् थाल्छन् । हाम्रो समाजमा संस्कार नै यसरी बिकसित भएको छ कि ठूलो भएपछि साइकल चढ्ने होइन अथवा आफूसँग केही पैसा कमाई भएको छ भने साइकल चढ्ने होइन ।

‘अफिसमा जागिर खान जाँदा कसरी साइकलमा जाने ? बाटोमा साथीभाइले देखेमा के भन्लान ?’ यस्तै सोच र धारणाका बीचमा हराइरहेको छ, हाम्रो–साइकल संस्कार । निश्चय नै लामो दूरी साइकलमा तय गर्न कठिन हुन्छ । समयको हिसाबले पनि साइकल यात्रा अलि बढी समय लाग्ने नै हुन्छ । अन्य सवारी साधनजस्तो छिटो–छरितो नभए पनि छोटो दूरीको यात्रा तय गर्दा वा ४/५ किलोमिटर क्षेत्रभित्र यात्रा गर्नुपर्दा हामीले साइकलको प्रयोग बढाउन सके यसले वातावरण र हाम्रो स्वास्थ्यमा ठूलो सकारात्मक असर ल्याउन सक्छ ।

साइकल चढ्नुका फाइदा मात्रै छन्, हानी एउटै छैन । यो सस्तो त छँदै छ, स्वास्थ्यवद्र्धक पनि छ । नियमित साइकल चालकको शरीर स्वतः तन्दुरुस्त हुन्छ । जिम र एरोबिक्समा अतिरिक्त पैसा खर्चिनुपर्दैन । पेट्रोल र डिजेलको खर्च जोगिन्छ । त्यसबाट हुने प्रदूषणको कारक हुनुपरेन । पार्किङ्ग गर्न पनि सजिलो छ । मर्मत खर्च कारको तुलनामा बीसौं गुणा कम लाग्छ । साइकल यसै पनि सामाजिक सवारी हो । साइकल चढ्न थालेपछि मोटरसाइकल र कारसँगै हुत्तिएर कुदिरहँदा छुटेको सामाजिक सम्बन्धको तन्तु फेरि जोडिन थाल्छ । साइकल सवारीलाई अभिन्न जीवनशैलीका रूपमा लोकप्रिय बनाउन यति कारण पर्याप्त छन् ।

साइकल सीटी

हामी पुनः एकपटक हाम्रो धुलोले ढाँकिएको र खिया लागेको साइकल घरको कुनाबाट निकालांै, सफा गरौं, हावा भरौं र चलाऔं । साइकलको माध्यमले स्वास्थ्यको अनि हाम्रो वातावरणको सुधार गर्न मद्दत गरौं । त्योभन्दा पनि महत्वपूर्ण कुरा ‘ठूलो भएपछि साइकल चलाउन छाड्नुपर्छ’ भन्ने संस्कार विकसित भइरहेको यो समयमा त्यसलाई गलत सावित गरौं र साइकल संस्कारको विकास गरौं । साइकल चढ्न सुुरु गरेपछि मात्र यसका कठिनाइहरू, अलग साइकल लेन, साइकल सुरक्षा जस्ता विषयमा छलफल सुरु गर्न सकिन्छ ।

त्यसैले साइकल रहर मात्रै हैन यसले सहर विकासमा पनि महत्वपूर्ण भूमिका रहन्छ । सार्वजनिक, निजी सवारी र मोटरसाइकलले सडक क्षेत्र ओगट्दा साइकलयात्रीलाई चुनौती छ । त्यसमाथि बस, टेम्पो, मोटरसाइकलजस्ता सवारीले पेल्ने गर्छन्, विविध चुनौती स्विकार्दै हामी अघि बढ्नुपर्ने बाध्यता छ । सडकमा अन्य यातायातका साधनको अधिकार जति छ, त्यति नै अधिकार साइकलको हुनुपर्छ । साइकलयात्रीका लागि अलग्गै लेनको व्यवस्था हुनुपर्छ । साइकलयात्रीले प्रदूषण नियन्त्रण र वातावरण संरक्षणमा योगदान गरेका छन् । व्यक्तिको फिटनेस र स्वास्थ्यका लागि साइकलको महत्व ठुलो छ । तर, हाम्रो समाजमा साइकलयात्रीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । साइकल चढ्नेलाई हाम्रो समाजले आर्थिक हैसियतविहीन र निरीह ठान्छ । यो विडम्बना हो ।

साइकल सीटीका लागि हामीले सडकमा समान अधिकार माग गर्नु पर्दछ । अभियानको अर्थ साइकल मात्रै चढ्नुपर्छ भन्ने होइन । सडक साइकलमैत्री हुनुपर्छ, साइकलयात्री सुरक्षित हुनुपर्छ भन्ने हो । सवारीले प्रदूषण फैलाइरहेका छन् । प्रदूषणमुक्त सहर बनाउन साइकलको प्रयोग बढाउनुको विकल्प छैन । इन्धनको खपत कम हुन्छ र प्रदूषण घट्छ, आर्थिक फाइदा बढ्छ । नागरिकको स्वास्थ्य अवस्था सुध्रन्छ । साइकलयात्राका यस्ता धेरै फाइदा छन् ।

पुष्कर शाहले शान्तिको सन्देश बोकी साइकलमै विश्व भ्रमण गरे । जम्मा तीन वटा साइकल, दुई सय सत्तरी वटा टायर, एक सय पन्चानब्बे वटा ट्यूब, एक सय चालीस वटा चेन, छब्बीस जोडी प्याडल, चौध वटा हेल्मेट र त्रिपन्न जोडी पन्जा फेरेरै भए पनि उनले विश्व भ्रमण गरिछाडे । हामीले त यो भन्दा साह्रै सानो सोचेका छौँ । मात्र केही सय युवालाई साइकलप्रति आकर्षित गर्न सकियो भने पनि देशमा दिनानुदिन बढ्दै गएको दीर्घरोग त्यही सयको हाराहारीमा भए पनि कम गर्न सकिन्छ । झन् भविष्यमा प्रमुख सहरहरूलाई नै साइकल सिटी बनाउन सकियो भने ‘सफा, सुन्दर र स्वस्थ’ नेपाल बनाउने सबैको चाहना पनि पूरा हुनेछ  ।

(लेखक बुलबुले साइकिलिङ्ग ग्रुप, सुर्खेतसँग आवद्ध छन् ।)

प्रकाशित मितिः   ३१ श्रावण २०७७, शनिबार ०६:०७