मलको पिरलो

बारीमा लगाइएको खेती गोडमेल गर्ने समय हो, यो । उपयुक्त गोडमेल र स्याहारले नै उत्पादन बढाउँछ । उचित संरक्षण पाएन भने लगानी अनुसारको प्रतिफल लिन सकिँदैन । त्यसैले कृषकहरू लगाइएको बालीको स्याहारमा विशेष जोड दिन्छन् । यतिबेला उनीहरू यही कार्यमा तल्लिन छन् । तर मलको अभावले कृषकलाई पिरोलेको छ । विशेष गरेर धान खेती गरिरहेका कृषक मल अभावको पीडामा छन् ।

समयमै वर्षात् भएका कारण यो वर्ष कृषकले उपयुक्त समयमै धान रोप्न पाए । साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । मल खेती हुर्काउन सघाउने वस्तु हो । गोडमेल गर्दा मल हाल्यो भने धानले राम्रोसँग गाँज हाल्छ । त्यही अनुसार बाला लाग्न पाउँछ । राम्रो बाला लाग्नु भनेको उत्पादन राम्रो हुनु हो । मलले यसकै लागि सघाउँछ । त्यसैले कृषकहरूले विशेष गरेर गोलमेल गर्दा यूरिया मलको प्रयोग गर्ने गर्दछन् । धान हुर्कने, बढ्ने र फल्ने बेलामा मलको आवश्यकता पर्ने हुँदा यो अपरिहार्य छ । गोडमेल गर्दा मलको प्रयोग गरिएन भने धानले गाँजा हाल्दैन । गाँज नफैलिँदा बाला पनि लाग्दैन । कृषकको मेहेनत खेर जान्छ । लगानी उठ्दैन । हुन त धान रोप्नेबेलामा पनि मलको प्रयोग गरिन्छ । तर त्यो मात्रै पर्याप्त नहुने हुँदा गोडमेल गर्दा थप मलको प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । चार–पाँच महिनायता रासायनिक मल (युरिया) आयात नभएपछि किसानहरू मर्कामा परेका छन् । बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन् । मल नपाएपछि खाली धान गोडमेल गर्ने काम मात्रै गरेको किसानहरूले बताएका छन् । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने उनीहरूको चिन्ता छ । रासायनिक मल नपाउँदा यस वर्ष किसानले थप सास्ती खेप्नु परेको हो । धानले मलमार्फत आफूलाई आवश्यक रसायन मात्रै लिँदैन अन्य रोधसँग लड्ने क्षमता पनि ग्रहण गर्दछ । तर समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्ने गर्दछ । जुन यहाँका कृषकका खेतमा देखिन थालिसकेको छ । जसले गर्दा यो वर्ष धान उत्पादन घट्ने चिन्ताले कृषकलाई पिरोलेको छ ।

विगतका वर्षहरूमा अहिलेजस्तो मल अभाव हुँदैनथ्यो । यस पटक भने कोरोना महामारीको कारण पनि समयमै मल आपूर्ति हुन सकेको छैन । मल नपाएर कृषक छटपटाइरहँदा सरकारले भने यसतर्फ ध्यान दिएको छैन । कर्णालीमा गत चैतदेखि नै यूरिया मल भित्रिन सकेको छैन । कृषकका समस्या समाधान गर्न अहिले संघीय सरकारकै मुख ताकेर बस्नुपर्ने अवस्था छैन । प्रदेश र स्थानीय सरकार छन् । तिनले पनि आवश्यक कदम चाल्न सक्दछन् । कृषि उत्पादन बढाउने नारा सरकारको प्राथमिकतामा परे पनि कृषकलाई आवश्यक मल आपूर्ति गर्न नसक्नु विडम्बना हो ।

प्रकाशित मितिः   २८ श्रावण २०७७, बुधबार ११:४५