दुग्ध उत्पादनमा चरम परनिर्भरता

कर्णाली प्रदेश दुग्धजन्य उत्पादनमा आत्मनिर्भर छैन । प्रदेशमा आवश्यक पर्ने दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत मात्रै उत्पादन हुन्छ भने ७० प्रतिशत दुध बाहिरबाट आयात गर्ने गरिएको छ । कर्णालीमा हुने न्यून आन्तरिक उत्पादनले मात्रै माग धान्न नसकेपछि दुग्धपदार्थमा चरम परनिर्भरता देखिएको हो । व्यवसायिक पशुपालन र पशुपालनसम्बन्धी सरकारी कार्यक्रम प्रभावकारी हुन नसक्दा बर्सेनी करोडौंको दुग्धजन्य पदार्थ आयात गरिँदै आएको छ । गाई–भैसीलगायतका पशुपालनमा लगानी नहुँदा कर्णाली दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्न सकिरहेको छैन ।

प्रदेश पशुपन्क्षी विकास निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले दुग्ध क्षेत्रमा कर्णाली परनिर्भर रहँदै आएको बताए । उनले व्यावसायिक रूपमा गाई–भैसी पालन नगरिनु नै परनिर्भर हुनुको मुख्य कारण रहेको औंल्याए ।

यहाँ वार्षिक प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्छ । प्रदेशमा वार्षिक सरदर १४ लाख लिटर दुध उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा भने ७८ हजार तीन सय आठ लिटर बढी दुध उत्पादन भएको थियो । गएको आर्थिक वर्ष २०७६/७७ मा थप ९८ हजार चार सय ७६ लिटर दुध उत्पादन भएको छ । पछिल्लो समय दुध उत्पादन केही बढे पनि आत्मनिर्भरको अवस्थामा भने पुगेको छैन । प्रदेश सरकारले दुई वर्षयता निजी तथा सरकारी निकायको सहयोगमा कर्णालीका विभिन्न जिल्लामा झण्डै एक हजार दुई सय गाई–भैसी किसानलाई वितरण गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले सुर्खेतमा मात्रै तीन सय ३४ वटा उन्नत जातका भैसी वितरण गरेको थियो । गएको वर्षमा प्रदेश सरकार र केही निजी क्षेत्रको सहकार्यमा आठ सय भैसी र एक सय गाई प्रदेशका विभिन्न जिल्लामा वितरण गरिएको सूचना अधिकारी गिरीले जानकारी दिए ।

प्रदेश सरकारले दुग्ध उत्पादनको क्षेत्रमा किसानहरूलाई उन्नत जातको भैसी वितरण, अनुदान, बजारीकरणलगायतका कार्यक्रमहरू सञ्चालन गरेपनि ती कार्यक्रम भने प्रभावकारी बन्न सकेका छैनन् । मुख्यगरी गाई–भैसी सुर्खेत, सल्यान, रुकुम–पश्चिम र जाजरकोटमा पाल्ने गरिन्छ । ती क्षेत्रका किसानले परम्परागत रूपमा नै पशुपालन गर्ने गरेकाले दुग्ध उत्पादनमा योगदान पुग्न सकेको छैन । प्रदेश सरकारले दुग्ध क्षेत्रमा आत्मनिर्भर गराउन पाँच वर्षीय कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सूचना अधिकारी गिरीका अनुसार पाँच वर्षमा ५० प्रतिशत दुध उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ । पछिल्लो समय किसानहरू व्यावसायिक रूपमा गाई–भैसी पालनमा लाग्न थालेकाले केही वर्षभित्र आत्मनिर्भर हुन सकिने संकेतहरू देखिएको उनको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेशमा दुध उत्पादनको सम्भावना राम्रो भएको भन्दै दुग्ध प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन भइरहेका बताइन् । बजारीकरणको पाटो सुधारिँदै गएकाले पछिल्लो समय किसानहरू पनि दुध उत्पादनतर्फ आकर्षित हुँदै गएको उनको दाबी छ । उनी भन्छिन्, ‘कर्णाली दुधमा परनिर्मर भएपनि दुग्ध पदार्थको उत्पादन सम्भावना राम्रो भएको प्रदेश हो । सरकारले पनि किसानहरूलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ ।’

मन्त्री केसीले दुग्ध उत्पादनमा कर्णाली आत्मनिर्भर हुने प्रक्रियामा रहेको बताइन् । दुधबाट बन्ने परिकारहरू दही, घ्यू, नौनी, चिज, पनिर, छुर्पी लगायतका परिकार उत्पादन गरेर बेच्न सकिने हुनाले पनि बजारमा दुधको माग दैनिक बढ्दो छ । तर, बहुसंख्यक किसानहरूको जीविकोपार्जन र प्रदेशकै अर्थतन्त्रसँग जोडिएको दुग्ध उत्पानको बृद्धि भने अझै सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

प्रकाशित मितिः   २५ श्रावण २०७७, आईतवार ०६:०१