मन्दिरको दान, किन आएन काम ?
जब मानिसमाथि कुनै सङ्कट आइपर्छ उसले सुरुमै सम्झने एक वाक्य हो–भगवान मेरो रक्षा गर । भगवानले रक्षा गरून या नगरुन् यसैको हामीले मन्दिरको रक्षा भने जरुर गरिहाल्छौँ । खल्तीमा होस् या ऋण काढेर नै भएपनि हामीले मन्दिरको दान पेटीमा पैसा चढाएरै छोड्छौँ । तर हामी कहिल्यै सोच्दैनौ कि त्यो पैसा कहाँ जान्छ । के साँच्ची हामीले दान गरेको पैसा सिधै भगवानको खातामा पुग्छ त ? पुग्छ भने हामीलाई भौचर चाहिँ किन दिँदैनन् ? मलाई हाम्रो आस्था, हाम्रो विश्वास र हाम्रो संस्कृति विरुद्ध बोलेको आक्षेप लाग्ला तर मैले हाम्रो आस्थाको नाममा भगवानको डर देखाएर व्यापार गरिरहेका सामन्ती र भ्रस्टाचारीहरूको विरुद्ध आवाज उठाउन मात्रै चाहेको हुँ । खुशीको बेलामा होस् या दुःखको मौकामा हामी सधै भगवानलाई नै सम्झिन्छौं र मन्दिरलाई दान दिन्छाै तर जब सम्पूर्ण मानव जीवनमाथि कुनै संकट आइपर्छ तब मन्दिरले चाहिँ पूरै बेवास्ता गर्छ ।
सन् २०२० को सुरुवात मानव अस्तित्व संकटको एक सुरुवात बनेर आयो । संसारभरी कसैले कल्पना नै नगरेकोे एउटा भाइरसले हालसम्म करिब एक करोड भन्दा बढी मान्छे संक्रमित भइसकेका छन् । करिब सात लाख भन्दा बढीले ज्यान गुमाए, अझै यो क्रम बढिरहेको छ । सम्पूर्ण विश्व नै ठप्प भयो । यो संसारका प्रायः सबै मानिसहरू नै प्रभावित भए । करोडौंको रोजगारी खोसियो । यो सबै तथ्य केलाउँदा पूरै संसार ३०÷४० वर्ष पछाडि धकेलिएको अनुभूति हुन्छ । यस्तो विषम् परिस्थितिमा हाम्रो मन्दिरहरूका ढोका किन बन्द भए ? हामीमाथि कुनै संकट आइपर्दा भगवानका ठेकेदारहरूले मन्दिरको ढोका बन्द गरेर पैसा गनेर बसे । तर देखेनन् मन्दिरको ढोकैमा लाखौं मानिसहरू भोकले तड्पिएर ज्यान गुमाइरहेका छन् । ढुङ्गाको मूर्तिले पनि स्याउ, केरा, अनार, नरिवल खान्छ भनेर चढाउने पूजारी महोदयहरूले चाहिँ यस्तो अवस्थामा जनातालाई अन्न बाँड्न किन नसक्नु भएको होला । स्थानीयस्तरका, प्रादेशिकस्तरीय, राष्ट्रिय हुन या अन्तर्राष्ट्रियस्तरका कुनै पनि मन्दिर, मस्जिद, गुम्बा या चर्च कसैले पनि गरिब जनतालाई भनेर न त एक छाक अन्न दान गरेको देखियो न त एक पैसा ।
बलिउड नायक आमिर खानले अभिनय गरेको ‘पिके’ नामक चलचित्रमा एउटा बहस सिर्जना भएको थियो । जो एकदम सान्दर्भिक पनि छ । मन्दिरको पूजारी, मस्जिदका मौलाना हुन् या चर्चका पास्टर सबैले डरको व्यापार कसरी गरिरहेका छन् भन्ने कुरा सो चलचित्रमा निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । विश्वमा सबैभन्दा बढी मन्दिर भएको देशमध्ये भारत पछि नेपालकै नाम आउँछ । मन्दिरै मन्दिरहरूको सहर काठमाडांै विश्वकै सबैभन्दा बढी मन्दिर भएको सहरको रूपमा चिनिन्छ । पशुपतिनाथ, स्वयम्भुनाथ, बौद्धनाथ जस्ता अन्तर्राष्ट्रिय रूपमै परिचित मन्दिर छन् । यसको अलवा जनकपुरधाम, मुक्तिनाथ, लुम्बिनी र पोखराको तालबाराही मन्दिर पनि निकै चर्चित मन्दिरहरूमध्ये पर्दछन् ।
यस्ता धार्मिक क्षेत्रमा बर्सेनी लाखौ भक्तजनहरूले दर्शन गर्दछन् । यिनीहरूबाट संकलित दानवापत रकम वा जिन्सी सामग्री प्राप्त गर्दछन् । २०७६ साल जेठ २२ गतेका प्रायः सबै दैनिक समाचार पत्रहरूले उल्लेख गरेका छन् कि देशको सबैभन्दा प्रसिद्ध मन्दिरको रूपमा रहेको पशुपतिनाथ मन्दिरसँग करिब एक अर्ब २० करोडभन्दा बढी चल सम्पत्ति र १८,३४२ रोपनी अचल (जमिन) सम्पत्ति रहेको छ । देशभरीका सबै मन्दिरहरूमा एक वर्षभित्र ठ्याक्कै कति रकम दानवापत रकम संकलन हुन्छ भन्ने हिसाब–किताब त कसैसँग छैन तर अनुमान गर्ने हो भने वार्षिक एक अर्ब भन्दा बढी नै रकम संकलन हुन्छ होला । तर यो रकम न त कुनै विकास निर्माणमा प्रयोग भएको देखिन्छ न त सबै रकम सरकारलाई नै प्राप्त हुन्छ । यसको केही भाग चाहिँ मन्दिर पुनः निर्माण तथा कर्मचारीपालनमै सीमित रहेको देखिन्छ । बाँकी रकम कहाँ जान्छ, अहिलेसम्म कोही कसैलाई पनि जानकारी छैन । वर्षौंदेखि सङ्कलित रकम कुन मन्दिरसँग कति छ सरकार वा जनता कसैको पनि ध्यान गएको देखिँदैन ।
हामीले आफ्नो पसिनाको कमाईबाट गरेको दानले मन्दिरभित्रका पूजारी या त मन्दिर व्यवस्थापन समितिले आफ्ना घरका तल थप्ने काम गरिरहेका त छैनन् । देशमा एउटा नीति र नियामक संस्थाको मौनताको कारणले मन्दिर, मस्जिद जस्ता पवित्र स्थानहरूमा समेत भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । हाम्रो जस्तो अविकसित देशमा मन्दिरमा चढाइएको लाखौ दानलाई पनि पारदर्शी तरिकाबाट सामाजिक हित एवम् विकास निर्माणमा लगाएर देशलाई अलि छिटो आर्थिक रूपले मजबुद बनाउन सकिन्छ । मन्दिर मस्जिद हाम्रो आस्था हुन्, यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो तर यिनैका नाममा जनताको आस्थाको फाइदा उठाएर दानमा समेत भ्रष्टाचार गर्नेलाई कुनै कारबाही गर्ने मापदण्ड समेत नबन्नु निकै दुःखद् कुरा हो । जनताले पनि अब निकै सोच्नुपर्ने बेला आएको छ । घरबाट लगेको फलफूल ढुङ्गाको मूर्तिमा चढाएर पूण्य प्राप्त हुन्छ भन्ने सोच हाम्रो पुरातन र अविश्वासको चिह्न मात्रै हो ।
महाभारतमा कृष्णले अर्जुनलाई आफ्नो वास्तविक रूप जनाउँदै भनेका छन् कि उनी नै ब्रह्माण्ड हो । र ब्रह्माण्डको प्रत्येक कणकणमा उनी छन् । संसारको सबै मान्छेको हृदयमा उनकै बास छ । उनको पूजा गर्नलाई कुनै मठ मन्दिर जान पर्दैन, केवल सदैव सत्य, इमान्दारिता र गरिब दिनदुखीलाई सहयोग गरेर नै उनी खुशी छन् । त्यसैले पनि हामीले भगवानको खोजीमा मन्दिर मन्दिर भौंतारिनुले हामीलाई सुखको बाटोमा डो¥याउन सक्दैन । वास्तविक सुख नै खोज्ने भए सबैले आफूभन्दा गरीब दुखीहरूको सेवा गरौं । मन्दिरभित्रको दानपेटीमा एक हजार हाल्नुभन्दा मन्दिर बाहिर बसेर भिख मागिरहेकाहरूको खल्तीमा हालिदिनु उत्तम हुन्छ । तपार्इंको लागि थोरै हुने रकम उनीहरूको लागि धेरै हुन पनि सक्छ । तपाईंको एक पटकको फजुल खर्चले कसैको एक छाकको पूरा खाना खाएर छाक टार्न सक्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि ‘यात्री’ कवितामा भक्तहरूले भगवान खोज्न कुनै मन्दिरमा जानु नपर्ने उल्लेख गरेका छन् ।
यो विषयमा ध्यान पु¥याउने हो भने तपाईं हामीले दुई वटा कदम चाल्न जरुरी देखिन्छ । पहिलो कुरो, तपार्इं हामीले धार्मिक क्षेत्रलाई दिने दान नै रोकिदिने । बरु त्यस्तो रकम आफ्नो टोल छिमेक या त वृद्धाश्रम, मानवआश्रम, बालगृह वा सुधारगृहहरूलाई सहयोग गर्ने, उनीहरूले सो रकम सिधै मानव हितमा खर्च गर्ने गर्दछन् । दोस्रो कुरो, मन्दिरमा संकलित दान पनि हाम्रै हितमा खर्च गराउने बाध्य गराउने जस्तै टोल समाजमा कुनै पूर्वाधार विकास, खानेपानी व्यवस्था या जलविद्युत परियोजना निर्माण आदि । मन्दिरको दान केवल मन्दिरको दान मात्रै होइन । त्यसमा हाम्रो पसिनाको थोपा मिसिएको छ । हाम्रो रगतका छिटाहरू पनि मिसिएका छन् । सो रकम कहाँ खर्च हुन्छ, कसरी खर्च हुन्छ जान्न पाउनु एक नागरिक हक पनि हो ।
वर्तमान परिस्थितिमा कोभिड–१९ को कारणले जनधनमा थुप्रै क्षति भइरहेको अवस्थामा मन्दिरहरूसँग भएको सम्पत्ति जनताको कुनै काम आउन नसक्नु निकै दुःखद् कुरा हो । मन्दिर हुन या चर्चका व्यवस्थापन समितिले आफूसँग भएको संकलित दानले, भोकभोकै तड्पिएका जनतालाई एक छाक खाना खुवाउन सकेनन् । म वीरेन्द्रनगर सुर्खेत निवासी हुँ । मेरो ठाउँको सबैभन्दा प्रसिद्ध मन्दिर देउतीबज्यै मन्दिर हो । वर्षाैंदेखि मैले पनि यसै मन्दिरका दान पेटिकामा दान गर्दै आएको छु । मेरै नगरपालिकाका मेयर नै यो मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि हुन् । लकडाउनको अवधिमा जनतालाई राहत दिन रातदिन सरकारकै मुख ताकेर बस्नु प¥यो । कतिलाई राहत पु¥याए त कति जनता भोकै पर्न बाध्य भए तर उनको ध्यान आफै अध्यक्ष भएको मन्दिरको सम्पत्तितिर गएन । यसलाई नगरपालिका र नेतृत्वको असक्षमता भनम या बाध्यता । मन्दिरसँग भएको सम्पत्तिलाई राहत वितरणमा प्रयोग गरेको भए सरकारको सम्पत्ति विकास निर्माणमा प्रयोग गर्न सकिन्थ्यो । छिमेकी मुलुक भारतमा पनि करिब ६ लाखभन्दा बढी मन्दिरहरू छन् भने यिनीहरूसँग खरबौं सम्पत्ति रहेको छ । यस्तो महामारिको अवस्थामा मन्दिरहरू चुपचाप बसेको भन्दै मन्दिरहरूप्रति जनआस्था नै धर्मराएको देखिन्छ । सामाजिक सञ्जालमा मन्दिरमा दान नदेउ भन्ने अभियान सञ्चालन भइरहेको छ । लाखौं जनताले यसको समर्थन पनि गरेका छन् । छिमेकी देशमा चलिरहेको एउटा राम्रो अभियानलाई हाम्रो समर्थन मात्र होइन धर्मको नाममा ठगी गरिरहेकाहरूको विरुद्धमा समर्थन पनि आवश्यक छ । यस्तो किसिमको कदमबाट सम्पूर्ण धर्मको नै रक्षा हुने देखिन्छ ।
अन्त्यमा धर्म हाम्रो आस्था, विश्वास र संस्कार हो तर धर्मको बाटो देखाएर हाम्रो डरको फाइदा उठाएर नाजायज फाइदा लिएर यस्तो महामारीको अवस्थामा चुप बसेका सबैकोविरुद्ध एकै स्वरको आवाज उठ्न जरुरी छ । बाटोमा भोकले छट्पट्दिै मर्न लागेकाहरूको दुर्दशाको बेवास्ता गरेर मन्दिर भित्रका निर्जिव ढुङ्गालाई फलफूल र मन्दिरका दान पेटीहरूमा खसालिएको दानले कदापी पूण्य प्राप्ती हुन सक्दैन ।
प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ०६:०६
साझा बिसौनी ।