पहिरो प्रभावितको बिजोग
कर्णालीका विभिन्न जिल्लामा अविरल वर्षाका कारण आएको बाढीपहिरोले जनजीवन कष्टकर बनेको छ । प्राकृतिक विपद्मा परेपछि जाजरकोट, कालीकोट र रुकुम–पश्चिमलगायत जिल्लाका बासिन्दाको विचल्ली भएको हो । विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने उद्धार, राहत र उपचारजस्ता काम हुन नसक्दा पीडितहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । बर्खा लागेयता बाढी र पहिरोका कारण कर्णालीमा ४० जना बढीको ज्यान गएको छ । साउनयता मात्र पहिरोका कारण १८ जनाले ज्यान गुमाएका छन् भने सयौं घरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोले थातथलो बगाएपछि यहाँका स्थानीय त्रिपालमुनी बसेका छन् । पीडित परिवारहरूले खाद्यान्नलगायतका राहत सामग्री अझै पाउन सकेका छैनन् ।
जाजरकोटको पहिरो प्रभावित क्षेत्र बारेकोटका स्थानीयले खाद्यान्न नपाएको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बारेकोट गाउँपालिकाका घाट र काउली डिपोमा खाद्यान्न आपूर्ति गरेको छ । तर, बाढीपहिरोबाट विस्थापित भएकाहरूले आफूहरूसँग पैसा नभएका कारण खाद्यान्न खरिद गर्न नसकिएको जनाएका छन् । बारेकोट–४ सार्कीटोलका सबै आफन्त गुमाएका तुले सार्की अहिले पालमा बस्छन् । उनलाई राहतका लागि दिएको दुई केजी चामल उहिले नै सकिसकिएको थियो । अहिले उनी अरु छिमेकीसँग पैचो मागेर छाक टार्दै आएका छन् ।
अर्का पहिरो प्रभावित रामबहादुर सार्कीको १३ जनाको परिवारलाई प्रतिव्यक्ति दुई केजी चामल, प्रतिपरिवार चार प्याकेट बिस्कुट, एक थान कम्मल र त्रिपाल उपलब्ध गराएको थियो । सो खाद्यान्न हप्ता दिन नपुग्दै सकिएको रामबहादुरले बताए । लकडाउनका कारण बाहिर काम गर्न जान नपाएका सार्की टोलका सर्वसाधारणले पैसा नहुँदा खाद्यान्न खरिद गर्न नपाएको बताएका छन् । ‘खोजीमा सुक्को छैन, माल भएर पनि के गर्नु,’ पहिरो प्रभावित भीम सार्की भन्छन् ।
बारेकोटमा असार २५ गते पहिरोमा परी १४ जनाको मृत्यु र एक हजार दुई सयभन्दा बढी विस्थापित भएका छन् । पहिरोका कारण बारेकोटमा ५५ घर पूर्णरूपमा भत्किएका छन् भने विस्थापित भएका स्थानीयबासी विद्यालय र खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।
६ महिना आफ्नै उत्पादनले खाना पुग्ने बारेकोट गाउँपालिकामा बाँकी समय आयातित खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ । यहाँको डिपोमा पहिलो चरणमा तीन सय क्वीन्टल चामल ढुवानी गरिएको र अन्य खाद्यान्न ढुवानी गर्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
पटक–पटक प्राकृतिक विपत्तिको मारमा पर्ने गरेको बारेकोटवासीका पीर, बेदना थामी नसक्नु भएको स्थानीय तीर्थराज बोहोराले सुनाए । अघिल्लो वर्ष असिनाले गहुँको बीउसम्म बाँकी नरहेको बारेकोटमा यो पटक पहिरोले अधिकांश ठाउँमा जनधनको ठूलो क्षति पु¥याएको छ ।
भूगर्भविद्मार्फत अहिले बस्ती रहेका ठाउँमा बस्न योग्य छ कि छैन भनेर जाँच गरेर मात्र अब बस्ती बसाउने काम हुने प्रजिअ पन्तले जानकारी दिए । विस्थापित परिवार र भत्किएका घरको विवरण सङ्कलन कार्य करिब–करिब पूरा भएको भन्दै प्रजिअ पन्तले सबैको नाम गृह मन्त्रालयमा सिफारिस गरिने र सो ठाउँमा नयाँ घर निर्माणको काम सुरु हुने बताए ।
यस्तै, अविरल वर्षाले कालीकोटका रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणीमा पनि ठूलो जनधनको क्षति पुगेको छ । यी पालिकामा खानेपानी, सिँचाइ र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको हो । बाढी पहिरोले कालीकोटमा २२ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्लाभर एक सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पाँच सय घरहरूमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाइ कुलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए । ‘पहिरोले हिँड्ने सडक बगाएको छ । पिउने पानी र विद्युतलगायतका अत्यावश्यक सबै संरचनामा क्षति पुगेको छ,’ नगर प्रमुख बराल भन्छन्, ‘यतिबेला यहाँका नागरिकहरूको विजोग छ ।’ उनका अनुसार रास्कोटमा मात्र तीन सय ६० परिवार विस्थापित भएका छन् । पालिकाका बडोलतोला, बलेढुङ्गा, घट्टेगडा, लहरेला, चोक्टेबगर, तामाकोटलगायतका १८–१९ वटा बस्तीका बासिन्दालाई जोखिमबाट बचाउन विद्यालय र चौरहरूमा राखिएको छ ।
त्यस्तै बाढीपहिरोले कालीकोटकै नरहरिनाथ गाउँपालिकामा झण्डै पाँच सय घर परिवार विस्थापित भएका छन् । पालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार आठ सय ८५ घर पहिराको उच्च जोखिममा रहेका छन् । यहाँका २१ वटा घर पहिरोले भत्किएका छन् ।
कर्णाली प्रदेश सरकारले पहिरोले पूर्ण रूपमा घर क्षति भएका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ । तर, एक लाख रूपैयाँले घर बनाउन सम्भव नभएको भन्दै प्रभावितहरूले राहत रकम बढाउन र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाइदिन सरकारलाई आग्रह गरेका छन् ।
प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ०६:०४
साझा बिसौनी ।