कर्णाली राजमार्ग

बर्खा लाग्यो कि सास्ती

सुर्खेत: कर्णाली राजमार्ग यतिबेला दर्जनौं ठाउँमा अवरुद्ध छ । वर्सेनी वर्षात्को समयमा बाढी र पहिरोका कारण राजमार्गमा समस्या हुने गरेको हो । यसपालि पनि वर्षासँगै पहिरो खस्न थालेको छ । सडक अवरुद्ध भइरहँदा सुर्खेत–जुम्ला सडक खण्ड भएर यात्रा गर्ने नागरिकले सास्ती बेहोर्नुपरेको छ । पहिरोले सडक पुरिँदा यात्रुहरू अलपत्र पर्ने गरेका हुन् ।

वर्षात्को समयमा मात्र नभइ खडेरीमा समेत यो सडक खण्डमा पहिरो खस्छ । सडकको जीर्ण अवस्थाले एकातिर दिनहुँजसो सवारी दुर्घटनाका घटना भइरहेका छन् भने अर्कोतिर सडक नै पुर्ने गरी आइराख्ने पहिरोले यहाँका नागरिक सास्ती भोग्न बाध्य छन् । पहिरोमा परी धेरैले वर्षेनी ज्यान समेत गुमाउने गरेका छन् ।
गत एक हप्ता यता पहिरोका कारण कर्णाली राजमार्ग ठप्प छ । राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रामा सकस भएको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार गत एक हप्तादेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरो समयमै पन्छाउन नसकिँदा सडक अवरुद्ध हुँदै आएको छ । राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडक खण्डमा दर्जनौं स्थानमा पहिरो झरेको छ । ठाउँ–ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बास्तोलाका अनुसार दैलेखको टालेकोट, कालीकोटको गगने र राकम क्षेत्रमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । ‘पहिरो हटाउँदै यात्रु पठाउने काम भइरहेको छ,’ उनले भने ‘आज बेलुका (‐आइतवार) सम्ममा पूर्णरूपमा पहिलो पन्छाइ राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।’ राजमार्गको कालीकोट सडक खण्डको कालेखोला, दहीखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, भैंसीगौडा, बालीगाड, टिमुरे भिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका ठाउँमा करिब एक सातादेखि राजमार्ग अवरुद्ध हुँदै आएको छ । ती स्थानहरूमा भएको अवरोध भने अहिले हटाइसकिएको बताइएको छ । राजमार्गमा पर्ने सबै स्थानमा पुलसमेत बनेका छैनन् । जसले गर्दा कतै खोला बढेर गाडी पार गर्न गाह्रो छ भने कतै पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

तीन तहकै सरकारहरूले राजमार्गको सडक स्तरोन्नतिमा ध्यान नदिदा पहिरोको जोखिम झनै बढेको हो । प्राकृतिक विपद्का घटनाले मात्रै होइन मानवीय त्रुटिका कारण पनि सडक दुर्घटना बढ्दो छ । कर्णाली राजमार्गलाई मृत्युमार्गको संज्ञा समेत दिने गरिएको छ ।

१२ वटा पुल अलपत्र

साँघुरो र जीर्ण सडक तथा राजमार्गमा पर्ने खोलाहरूमा पुल नहुँदा कर्णाली राजमार्गको यात्रा थप कठिन हुने गरेको छ । जसले गर्दा वर्षाको समयमा भइरहने दुर्घटनाले ठूलो जनधनको क्षति हुने गर्छ । राजमार्गमा वर्षौदेखि निर्माण थालिएका एक दर्जन पुल अलपत्र छन् । पुलहरू समयमै नबन्दा यात्रामा सास्ती हुने गरेको छ ।

कर्णाली राजमार्गका विभिन्न सडक खण्डमा पुल निर्माण थालिएको लामो समय बित्दा पनि काम सम्पन्न हुन सकेको छैन । २०७४ सालदेखि बन्दै गरेका पुल अलपत्र भएका हुन् । यसपटक निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि लकडाउनका कारण समयमै काम नसकिएको सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इन्जिनियर देवेन्द्र भट्टराईले बताए । उनका अनुसार चारवटा प्याकेजमा राजमार्गमा पर्ने १२ वटा र तल्लो डुङ्गेश्वर सियाँकोट सडक खण्डमा तीन वटा गरी १५ वटा पुल निर्माणाधीन अवस्थामा छन् ।

२०७७ असारसम्ममा सक्नेगरी सम्झौता भएका पुलहरू लकडाउनका कारण अधुरै रहेको उनले बताए । कर्णाली राजमार्ग अन्तर्गत गुराँस गाउँपालिका दैलेख क्षेत्रमा पर्ने पातलाखोला पुल, लाम्चुडी खोलापुल, माटे खोलापुल तथा तल्लो डुङ्गेश्वर सियाँकोट खण्डमा पर्ने रतिखोला पुल, छेडाखोला पुल र लोहाखोला पुल पहिलो एउटा प्याकेजमा निर्माण गर्न लागिएको छ । उक्त पुलहरू १८ करोड ४६ लाख ८४ हजार दुई सय ५९ रूपैयाँ लागतमा निर्माण हुन लागेको भट्टराईले जनाए । ती पुलहरूको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ ।

त्यस्तै दोस्रो प्याकेजमा कर्णाली राजमार्ग अन्तर्गत दुल्लू नगरपालिका क्षेत्रमा पर्ने कुवाखोला, कालेखोला, त्यस्तै दुल्लू नगरपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिका बीचमा पर्ने पाल्तडा खोला र आठबिस नगरपालिका क्षेत्रमा पर्ने कानेगाड खोला, गुहेगाड खोला र दही खोलामा समेत पुल निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रका पुल निर्माणको लागि २०७४ साल असार २८ गते ठेक्का सम्झौता भइ २०७७ असार १६ मा सक्नुपर्ने भए पनि लकडाउनका कारण काम हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यी पुलहरूको लागत १९ करोड २६ लाख दुई हजार आठ सय ८४ रूपैयाँ रहेको छ भने हालसम्म ८५ प्रतिशत नै काम सम्पन्न भएको छ ।

त्यस्तै तेस्रो प्याकेज अन्तर्गत ढेड्नाखोला पुल र सिँजा खोला पुल समेत ११ करोड ३१ लाख एक हजार ५२ रूपैयाँमा ठेक्का सम्झौता भएको छ । चौथो प्याकेज अन्तर्गत तिलाखोला पुल १२ करोड ७१ लाख ६९ हजार एक सय ७३ रूपैयाँको लागतमा निर्माण हुन लागेको छ । उक्त पुल निर्माणको काम भने १५ प्रतिशत मात्र भएको जनाइएको छ । यी पुलहरूमा नेपाल सरकारको २० प्रतिशत र विश्व बैंकको ८० प्रतिशत लगानी छ ।

१८ दिनमा २२ जनाको मृत्यु

साउनयताका १८ दिनमा मात्र कर्णालीका विभिन्न जिल्लामा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार यो अवधिमा सबैभन्दा बढी कालीकोटमा १७ जनाको ज्यान गएको हो । रुकुम–पश्चिममा तीन, जाजरकोटमा एक र सुर्खेतमा एक जनाले पहिरोमा परी ज्यान गुमाएका छन् ।
यस्तै, कर्णालीमा तीन वर्षको अवधिमा बाढी तथा पहिरोमा परी एक सय ३६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३७ जना, २०७५÷७६ मा ५६ जना र २०७६÷७७ मा ४३ जनाले ज्यान गुमाएका हुन् ।

प्रकाशित मितिः   १९ श्रावण २०७७, सोमबार ०६:००