अमेरिकी राष्ट्रपति निर्वाचन परिणामको सरल व्याख्या
उग्रराष्ट्रवादी छवी बनाएका डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित हुँदा सारा विश्व तरङ्गित त भएको छ नै त्यसका साथसाथै मानिसमा केही अचम्म र केही शङ्का पनि उत्पन्न भएको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको पहिलो दिनमै उनले भविष्यमा के गर्लान् वा नगर्लान् त्यसको अनुमान गर्नुको कुनै अर्थ हुँदैन । उनले ल्याउने कार्यक्रमले नै भविष्यमा उनले गर्न चाहेको के हो भन्ने देखाउला तर अहिले निर्वाचन परिणाम र त्यसका कारणबारे मानिसमा उत्पन्न प्रतिक्रयाका बारेमा मात्र केही भन्न सकिन्छ ।
मिडिया र विश्लेषकहरूले गरेको नतिजाको पूर्वानुमानभन्दा भिन्न भएका कारण मात्र यो निर्वाचन परिणामले मानिसलाई अचम्मित बनाएको होइन । पहिलो कुरा अमेरिका जस्तो आप्रवासीहरूको देश भनिने ठाउँमा ट्रम्प जस्ता रेडिकल नेशनलिस्ट व्यक्तिका पक्षमा अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा सानदार किसिमले जानु अचम्म लाग्दो परिणाम हुँदै हो । दोस्रो कुरा सबैभन्दा पुरानो लोकतन्त्र भएको उदार व्यवस्थाको आदर्श नमुना मानिने मुलुकमा नश्लीय राष्ट्रवाद झल्कने ‘अमेरिकी फस्र्ट’ जस्तो नारा मन पराइनु अर्को आश्चर्यको कुरा मानिएको छ । कहिले आप्रवासी विरुद्ध, कहिले मुस्लिम विरुद्ध, कहिले मेक्सिकोसितको सीमानामा पर्खाल लगाउने विषयमा, कहिले सर्वोच्च अदालतको विषयमा अभिव्यक्ति दिएर अमेरिकी आदिवासीका प्रिय बनेका ट्रम्पको विजयले गैरअमेरिकी मूलका अमेरिकी र विश्वका अन्य मानिसहरू सशङ्कित हुनुलाई स्वाभाविक पनि मान्न सकिन्छ । त्यसो त अमेरिकी राष्ट्रपति को बन्ने भन्ने विषयले अमेरिकी अर्थतन्त्र, राजनीति र जनजीवन मात्र प्रभावित हुने नभइ सिङ्गो विश्वसमुदाय नै धेरैथोरै प्रभावित हुने गर्छ ।
एकथरी विश्लेषकहरूका अनुसार अहिले विश्वभरी नै जातीय तथा नश्लीय उग्र राष्ट्रवाद पुनः व्युतिने क्रममा छ । युरोपियनहरूको राष्ट्रराज्यको अवधारणा, इस्लामिक स्टेटका लागि भनेर संसारभर चलिरहेको हिंसात्मक लडाइँ, हिन्दूराज्य वा अन्य कुनै जातीय धार्मिक राज्यका लागि चलिरहेका धर्मराजनीतिक दाउपेँच यस्तै नश्लीय वा साम्प्रदायिक राष्ट्रवादका पछिल्ला परिणाम हुन् । यस्तो राष्ट्रवादले प्रकारान्तरले कुटनीतिमा जसको शक्ति उसको भक्ति भन्ने सिद्धान्तलाई स्वीकार्छ अर्थात् बलिया राष्ट्रले निर्धा राष्ट्रमाथि आक्रमण गर्नु कब्जा गर्नु र आफ्नो राज्यको शक्ति, सीमाना, प्रभुत्व र जनसङ्ख्या विस्तार गर्नुलाई न्यायोचित मान्दछ । बीसौं शताब्दी अघिको विश्वराजनीति यसै आधारमा चलेको थियो । राजनेताको कर्तब्य आफ्नो राज्यशक्तिको विस्तारका लागि अरु राष्ट्रहरूमाथि प्रभुत्व जमाउनु रहेको हुन्थ्यो । यसै आधारमा विश्वमा अनेक जातीय, धार्मिक र राजनीतिक युद्धहरू भए र विश्वराजनीति युद्धमय बनिरह्यो । खासगरी हिटलरको नश्लीय राष्ट्रवादका कारण भएको दोस्रो विश्वयुद्धपछि यसप्रकारको अन्धराष्ट्रवाद अन्त्य तथा मानवता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित परराष्ट्रनीति कायम गरी विश्वमा शान्ति र समृद्धि हासिल गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको स्थापना भएको हो ।
आजपर्यन्त विश्वका सबै सार्वभौमसत्ता सम्पन्न मुलुकहरू परस्पर हित र समान सहअस्तित्वका आधारमा परराष्ट्र नीति सञ्चालन गरिरहेका छन् भन्ने मानि आइएको छ । जाति, धर्म, नश्ल, सम्प्रदाय र रङ्गभन्दा माथि मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूमा आधारित राष्ट्रिय आन्तरिक नीति तथा बाह्य कुटनीतिको निरन्तर विकास गर्नुपर्ने आवश्यकता पनि शान्त र सभ्य विश्वसमाजको स्थापनार्थ महसुस गरिएको नै छ । तर जातीय तथा नश्लीय धार्मिक अन्धराष्ट्रवादको पुनरागमनका सशक्त सङ्केतहरूले विश्व पुनः कतै मध्ययुगीन अन्धकारतिर उल्टो बाटो हिडिरहेको कुरा सूचित गरिरहेका त छैनन् भन्ने प्रश्न विश्लेषकहरूले गरिरहेका छन् । डोनाल्ड जोन ट्रम्पीय रेडिकल नेशलिस्टिक नाराहरूको लोकप्रियताले यी प्रश्नहरूलाई अर्थपूर्ण बनाएका छन् ।
विगत केही दशकदेखि नै जातीय, नश्लीय वा धर्म–साम्प्रदायिक राज्यहरू बलिया हुँदै गइरहेका छन् । त्यसो त विश्व नश्लीय अन्धराष्ट्रियतामुक्त हुन सकेको छैन र त्यसैकारणले नै युद्ध र अशान्तिमुक्त पनि हुन सकेको छैन । भारतपाकिस्तान विभाजन र अनन्त युद्धका केन्द्रीय भागमा धार्मिक साम्प्रदायिक नश्लीय अन्धराष्ट्रवाद नै रहेको छ । इजरायल र पालेस्टाइनको विवाद होस् वा मध्यपूर्वका तमाम राजनीतिक समस्याहरू होउन् तिनको मुख्य जरो भनेकै नश्लीय धर्मसाम्प्रदायिक अन्धराष्ट्रियता हो । वर्तमान विश्वमा अशान्ति केबल दुई कारणले मात्र भएको छ : पहिलो कारण जातीय, नश्लीय, धर्म–साम्प्रदायिक अन्धराष्ट्रवाद र दोस्रो कारण उग्रबामपन्थी कथित वर्गयुद्ध । यी मध्ये दोस्रो कारण पछिल्ला समय कमजोर बन्दै गएको छ भने पहिलो कारण नै प्रमुख समस्या बनेको छ । यो समस्या समाधान हुने कुनै लक्षण देखिदैन बरु त्यसको सट्टा यो झन्झन् बल्झिदै र बलियो हुँदै गइरहेको नै दखिएको छ ।
सयौ वर्षदेखि बेलायतको अभिन्न अङ्गका रूपमा रहेको आयरल्यान्ड आइरिस नश्लीय राष्ट्रियताको पृथकतावादी चिन्तनकै कारण सन् २०१५ को जनमत सङ्ग्रहमा झन्डैले विभाजन हुन लागेको कुरा पुरानो भएको छैन । केबल झिनो मतान्तरले मात्र आयरल्यान्ड बेलायतबाट पृथक हुनबाट जोगियो । जातिपिच्छे राज्य, नश्लैपिच्छे राज्य, धर्मैपिच्छे राज्य हुने र आफ्नो जाति मात्र उच्च, अरुको जाति निच, आफ्नो नश्ल मात्र उत्तम अरुको नश्ल अधम र आफ्नो धर्म–सम्प्रदाय मात्र महान, अरुको धर्म निकृष्ट भनेर आफ्नै सुप्रिमेसीका लागि मर्न र मार्न तयार हुने हो भने विश्व साच्चै मध्ययुगीन धार्मिक अन्धकारभन्दा गहिरो गर्ततिर नजाला कसरी भन्न सकिएला । पछिल्ला राजनीतिक घटनाक्रमले अवश्य पनि राम्रो संकेत गरेका छैनन् । आफूलाई अरुभन्दा उच्च कुलीन नश्लका ठान्ने बेलायती एलिटहरूले बेलायतलाई युरोपियन युनियनबाट छुट्याउनुपर्छ भनेर लाग्दा उनीहरूविरुद्ध कम्मर कसेका बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन यूकेलाई यूएनमै कायम राख्न किन असफल भए ? हाम्रै देशमा चलेको माओवादी युद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलन र अहिलेको हिन्दूराज्य स्थापनाको आन्दोलन नै हे¥यो भने पनि देखिन्छ यहाँ जनजीविका, मानवता, मानवअधिकार, शान्ति, समृद्धि र सभ्यताको कुरा कहीँ देखिदैन केवल नश्लीय, जातीय र धर्मसाम्प्रदायिक राज्य सबैले खोजेका छन् । सबैभन्दा उदेकको कुरा त के छ भने निम्न वर्गीय जनसमुदायको मुक्तिका लागि लड्ने भन्ने माओवादी पार्टी नै सबैभन्दा बढी नश्लीय–जातीय राज्यको कुरा गरेर नश्लीय अन्ध–राष्ट्रियताको पृष्ठपोषण गरिरहेको छ ।
भारतमा ट्रम्पको विजयले सबैभन्दा बढी खुशी हुनेमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरू र हिन्दू धर्मका गेरुवस्त्रधारी गुरुज्यूहरू देखिनु बढो ताजुपपूर्ण छ । नेपालमा पनि आफूलाई राष्ट्रवादी भन्ने हिन्दूवादी राजाका भारदारहरू र विजेपीकै छत्रछहारीमा रहेका धर्मभीरु गेरुवस्त्रधारीहरू ट्रम्प विजयको उत्सब मनाइरहेको सामाजिक सञ्जालहरूमा देखियो । आफ्नो जस्तै नश्लीय अन्धराष्ट्रवादी नारा (नेपालमा हिन्दू फस्र्ट भनेझैं युएसमा अमेरिका फस्ट) दिएको हुनाले यी हिन्दूवादीहरू ट्रम्प विजयले खुशी भएका भने पक्कै होइनन् होला । यिनीहरू खुशी हुनुपर्ने एउटै कारण भनेको महामहिम ट्रम्पले इस्लामिक आतङ्कवाद नियन्त्रणको निहुँमा अमेरिकामा रहेका मुसलमानहरूमाथि गर्नसक्ने ज्यादती र मुसलमानलाई अमेरिका प्रवेश गर्नमा लगाउनसक्ने अभिव्यक्त प्रतिबन्धबाट गुरुहरूलाई मिल्ने अलौकिक ब्रह्मानन्दसहोदर मनोशान्ति र आत्मसन्तुष्टि नै होला । तर यस्तो आत्मसन्तुष्टि उनीहरूका लागि केवल मुतको न्यानो हो भन्ने ख्याल गरिएको देखिदैन ।
हालसम्मका ट्रम्पका अभिव्यक्ति, वक्तव्य र घोषणाहरूले के देखिन्छ भने उनी मुस्लिमका दुश्मन र हिन्दूका मित्र कदापि होइनन् । इस्लाम धर्मका नेतृत्वमा वर्तमान विश्वमा धेरै राज्यहरू रहेका, उनीहरूसित हतियार र आर्थिक स्रोत पनि रहेका कारणले मात्र अमेरिकाली गोराहरूको नश्लीय राज्यमा इस्लाम धर्मका अनुयायी विश्वभरी इस्लामिक स्टेट चाहने मुसलमानहरू जति खतरनाक हुन सक्छन् र अरु धर्मका जोगीहरूबाट त्यति खतरा छैन भन्ने ट्रम्पले नबुझेका छैनन् होला । त्यसैले उनले अहिले इस्लामिक आतङ्कवादका विरोधी गोरा अमेरिकीहरूको सहानुभूति पाउन मुसलमान विरोधी कुरा गरे पनि हिन्दू विरुद्ध बोल्न आवश्यक ठानेनन् । अहिले हातमा पर्स र पावर केही नभएका र दक्षिण एशियामा दान नगरे मरेपछि स्वर्ग जान पाइदैन भन्दै हिन्दू धार्मिक सम्प्रदायका सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेर सप्ताह नवाह आदि बहानामा धर्मलुट र आतङ्क फैलाइरहेका हिन्दू धर्मभिरुहरू ट्रम्पका लागि कुनै खतरा होइनन् बरु अमेरिकामा मजदुर र भोटर पठाउने शुभचिन्तक मान्छे मात्र हुन् ।
यसरी हेर्दा के देखिन्छ भने धेरै पहिलेदेखि आवश्यकता महशुस गरिएको र दोस्रो विश्वयुद्धपछि टड्कारै देखिने गरी सुरु भएको मानवअधिकार, लोकतन्त्र, मानवता र उदारवादी व्यवस्था अब कमजोर बनिरहेको छ र नश्लीय, जातीय, धर्मसाम्प्रदायिक सङ्कीर्ण अन्धराष्ट्रवाद विश्वभरी नै बलियो हुँदै गइरहेको छ । समाज यसरी पछाडि फर्केर कुदिरहेको कुरा ट्रम्पका रेडिकल नेसनलिस्टिक नाराहरूको लोकप्रियताले पुनः एकपटक पुष्टि गरिदिएका छन् । समयको यस दुश्चक्रले कतै तेस्रो विश्वयुद्ध खोजिरहेको त होइन भन्ने शङ्कालाई आधार मिलेको छ । कामना गरौँ यो विश्लेषण गलत होस् । अमेरिका मानवअधिकार र उदार लोकतन्त्रका मूल्यहरूलाई आत्मसात गरेर नश्लीय सङ्कीर्णताविरुद्ध शान्तिपूर्वक उभिन सक्षम होस् । एक्काइसौं शताब्दीको विश्व मानवसमुदाय जातिनिरपेक्ष, धर्मसम्प्रदायनिरपेक्ष, नश्लनिरपेक्ष, रङ्गनिरपेक्ष र केवल मानवतामा आधारित सभ्य समाज बनोस् । कहिकतै भेदभाव नहोस् । कही पनि अमेरिकी वा अरु कुनै नश्लकाहरू फस्र्ट र अरु नेक्स्ट नहोउन् सबै समान होउन् ।
प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार ०५:४२
साझा बिसौनी ।