गुरुयोजना बनाऊ

मानिस सुविधामुखी हुन्छ । आफ्नो सुविधाका लागि मानिसले नयाँ नयाँ आविस्कारहरु गरिरहेको छ । विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । गाउँहरु शहरमा परिणत हुँदैछन् । शहरमा सुविधाहरु थपिदै छन् । जसले गर्दा गाउँका मानिस शहरमा आकर्षित भइरहेका छन् । सरकारले दिने सेवा र सुविधा पनि शहर केन्द्रीत हुनाले पनि मानिसहरु धमाधम गाउँबाट बसाई सरेर शहरमा केन्द्रित भइरहेका छन् । सुर्खेत पनि यसबाट अछुतो छैन ।

मुलुक प्रदेश संरचनामा जाने निश्चित भइसकेकाले अहिले प्रदेशका सम्भावित राजधानीको चर्चा पनि चलिरहेको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा सुर्खेतलाई हेरिएको छ । प्रदेश नम्बर ६ को राजधानी हुने चर्चा भएसँगै वीरेन्द्रनगरमा जग्गा खरिद र नयाँ घर निर्माणको होडबाजी सुरु भएको छ । हाल मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगरमा प्रादेशिक राजधानीको चर्चासँगै घडेरी किन्नेहरूको लर्को नै लाग्न थालेको हो । यस्तै पछिल्लो एक वर्षको अवधिमा मात्र वीरेन्द्रनगरमा तीन हजार भन्दा बढी नयाँ घर थपिएका छन् । यो तथ्यांकले सुर्खेतमा जनसंख्या र घरको चाप बढ्दै गएको देखिन्छ । यो क्रम दिनप्रति दिन बढ्दै जाने निश्चित छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय राजधानी सुर्खेत भेरी र कर्णाली अञ्चलको केन्द्र पनि हो । त्यसकारण यस क्षेत्रका विकट जिल्लाहरुबाट समेत बसाई सरेर सुर्खेत आउने क्रम बढ्दो छ । विगतमा कर्णाली अञ्चलबाट बसाइँ सरेर आउनेहरूले मात्र फाटफूट रूपमा वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए । तर अघिल्लो वर्ष अखण्ड मध्यपश्चिमको आन्दोलनपछि छैठौं प्रदेश घोषणा भएसँगै वीरेन्द्रनगरमा घरजग्गाको कारोबार एकाएक बढेको हो । सर्वसाधारणले धमाधम नयाँ घर निर्माण गर्न थालेका हुन् । यस्तै अधिकांशले राजधानी घोषणा भएपछि मूल्य बढ्ने आशमा अहिले नै घडेरी खरिद गर्न थालेका छन । हिजोआज वीरेन्द्रनगरमा दैनिक ५० भन्दा बढी घडेरी किनबेच भइरहेको तथ्यांक वीरेन्द्रनगर नगरपालिकासँग छ ।

यस्तै घर निर्माणका लागि नक्सा पास गर्न आउनेहरूको नगरपालिका कार्यालयमा भीड लाग्न थालेको छ । नगरपालिका कार्यालयका अनुसार बितेको एक वर्षमा वीरेन्द्रनगरमा तीन हजार तीन सय २६ वटा नयाँ घर थपिएका छन् । यो त केवल नक्सा पास भएको तथ्याङ्क हो, कार्यालयबाट नक्सा पास नगरेर पनि घर निर्माण भएका हुन सक्छन् । पहिला भन्दा तेब्बरले वीरेन्द्रनगरमा नयाँ घर निर्माण भएका छन । एक वर्षको अवधिमा नै वीरेन्द्रनगर घरहरूले भरिएको छ ।

वीरेन्द्रनगरमा जनसंख्याको चाप बढेसँगै अब नगरपालिकाले पनि केही कुराहरुमा ध्यान दिनैपर्ने आवश्यकता महसुस हुन थालेको छ । अहिले पनि वीरेन्द्रनगरको बजार व्यवस्थित हुन सकेको छैन । भोलीका दिनहरुमा घर र भवनहरुको संख्या झन थपिदै जाँदा थप अव्यवस्थित बन्नेछ । त्यसैले सुर्खेत उपत्यकाको विस्तृत गुरुयोजना बनाएर कार्यान्वयन गर्न जरुरी छ । हुन त विगतमा पनि नगर विकास समितिले गुरुयोजना नबनाएको होइन । तर त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगरलाई व्यवस्थित शहरको रुपमा स्थापित गर्न अहिलेदेखि नै गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याइएन भने भविष्यमा वीरेन्द्रनगर अव्यवस्थित मात्र होइन असुरक्षित शहर बन्नेछ ।

खेत मासेर धमाधम घडेरी निर्माण गर्ने र त्यसमा घर बनाउने कामलाई नियन्त्रण गर्न जरुरी छ । सडकलाई अहिले देखि नै चौडा बनाउनुपर्दछ । ढल निकासको ढोका अहिलेदेखि नै खोलिराख्न आवश्यक छ । फोहोर व्यवस्थापनको विकल्प पनि अहिलेदेखि नै तय गरिरहन आवश्यक छ । यी सबै काम गर्नका लागि जतिसक्दो छिटो गुरुयोजना बनाउन जरुरी छ । गरुयोजना बनाउनु मात्र पनि महत्वपूर्ण कुरा होइन त्यसको कार्यान्वयनमा पनि उत्तिकै तदारुकता जरुरी छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०७३, शुक्रबार ०५:२३